काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा संगीतकार संघहरूको महासंघ (सीआईएसएसी) र संगीत रोयल्टी संकलन समाज नेपाल (एमआरसीएसएन)ले नेपालमा प्रतिलिपि अधिकार संरक्षण, संगीत इजाजतपत्र प्रणाली र रोयल्टी व्यवस्थापन प्रभावकारी बनाउन कानुनी तथा संस्थागत सुधार आवश्यक रहेको बताएका छन् ।
सीआईएसएसीका एसिया-प्यासिफिक क्षेत्रीय निर्देशक बेन्जामिन एनजीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलसहित सरकारी अधिकारी तथा सांस्कृतिक क्षेत्रका सरोकारवालासँग भेटवार्ता गर्दै प्रतिलिपि अधिकारसम्बन्धी विद्यमान कानुनी संरचनाको समीक्षा र कार्यान्वयन प्रणाली सुधारमा जोड दिएको हो ।
प्रतिनिधिमण्डलले नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान, प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय तथा एमआरसीएसएनका पदाधिकारीसँग पनि छलफल गरेको थियो । छलफलमा सामूहिक व्यवस्थापन संस्था (सीएमओ)को क्षमता विकास, रोयल्टी संकलन तथा वितरणमा पारदर्शिता, डिजिटल दर्ता र अनुगमन प्रणाली सुधार तथा सिर्जनशील क्षेत्रका अधिकारधनीलाई उचित प्रतिफल सुनिश्चित गर्ने विषय उठाइएको थियो ।
एनजीले प्रसारक, संगीत सेवा प्रदायक, डिजिटल प्लेटफर्म तथा एआई विकासकर्तालगायत सबै संगीत प्रयोगकर्ताले प्रतिलिपि अधिकार कानुन पालना गर्नुपर्ने बताउनुभयो । संगीतको व्यावसायिक प्रयोगबापत सिर्जनाकर्ताले उचित रोयल्टी पाउने व्यवस्था आवश्यक रहेको उहाँको भनाइ थियो ।
एमआरसीएसएनका प्रमुख कार्यकारी अधिकृत सागर पाण्डेले प्रतिलिपि अधिकार संरक्षण सिर्जनाकर्ताप्रति गरिने सौजन्य नभई कानुनी अधिकार भएको बताउनुभयो । उहाँले स्पष्ट इजाजतपत्र, भरपर्दो प्रयोग विवरण र पारदर्शी रोयल्टी वितरण प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधिमण्डल र नेपाली सरोकारवालाबीच प्रतिलिपि अधिकारबारे राष्ट्रव्यापी जनचेतना अभियान सञ्चालन, सरकारी संरचनाको आधुनिकीकरण तथा संस्थागत क्षमता अभिवृद्धिका विषयमा पनि छलफल भएको थियो । भ्रमणका क्रममा एमआरसीएसएनको रोयल्टी संकलन तथा वितरण प्रणाली सुधारका विषयमा समेत समीक्षा गरिएको जनाइएको छ ।







पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका
कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच
कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ?
कपालमा चाया परेर हैरान हुनुहुन्छ
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा