काठमाडौँ, २८ भदौ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी, सङ्कीर्णतावादी तथा स्वतन्त्रताविरोधी कदम लामो समय टिक्न नसक्ने बताउनुभएको छ ।
जनचेतना र राजनीतिक परिवर्तनको प्रभाव निकै अघि बढिसकेको उल्लेख गर्दै उहाँले परिवर्तनको यात्रालाई यस्ता कदमले लामो समय रोक्न नसक्ने दाबी गर्नुभएको हो ।
आइतबार एमाले केन्द्रीय कार्यालय, च्यासलमा छापा माध्यम बचाउ सुझाव कार्यदलले बुझाएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै अध्यक्ष ओलीले नेपाली जनताको सङ्घर्ष निरन्तर उपलब्धितर्फ अघि बढिरहेको बताउनुभयो ।
उहाँले नेपालको राजनीतिक परिवर्तनको यात्रामा राणा शासन, पञ्चायत व्यवस्था तथा विभिन्न समयमा देखिएका अधिनायकवादी सोचले अवरोध पुर्याए पनि जनताको सङ्घर्ष नरोकिने बताउनुभयो । आन्दोलन कहिलेकाहीँ सुस्त भएको वा अवरोध आएको देखिए पनि त्यसलाई स्थायी रोकावटका रूपमा लिन नहुने उहाँको भनाइ थियो ।
अध्यक्ष ओलीले राणा शासन १०४ वर्ष र पञ्चायत व्यवस्था करिब ३० वर्ष चलेको तथा तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते प्रत्यक्ष शासनको प्रयास गरे पनि २०६३ वैशाख ११ गते त्यसको अन्त्य भएको स्मरण गर्नुभयो । त्यसपछि २०६५ जेठ १५ गते राजतन्त्र नै समाप्त भएको उल्लेख गर्दै उहाँले राजनीतिक परिवर्तन उल्ट्याउने प्रयास लामो समय सफल हुन नसक्ने बताउनुभयो ।
“अहिले जनचेतना जुन स्तरमा पुगेको छ र स्वतन्त्रता तथा परिवर्तनको ऐतिहासिक महत्त्व जनताले जुन रूपमा बुझेका छन्, त्यस अवस्थामा प्रतिगामी वा स्वतन्त्रताविरोधी कदमले लामो समयसम्म टिक्न सम्भव छैन,” उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले अधिकार र स्वतन्त्रताको पक्षमा उठेको आवाजलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले समर्थक तथा नागरिकलाई धैर्य गर्न आग्रह गरे पनि निष्क्रिय भएर पर्खेर नबस्न सुझाव दिनुभयो ।
“गिभ अप नगर्नुहोस्, ह्यान्ड्स अप नगर्नुहोस् । तपाईंहरूको आवाज सही छ । त्यसलाई निरन्तरता दिनुहोस्,” उहाँले भन्नुभयो ।
संघर्षबाट पछि हटे प्राप्त उपलब्धि गुम्न सक्ने उल्लेख गर्दै अध्यक्ष ओलीले परिवर्तन र अधिकारका पक्षमा निरन्तर आवाज उठाइरहन आग्रह गर्नुभयो ।







प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै
उत्तरगयाका १६५ बाढीपीडित परिवारलाई पोखराबाट
आज ऋषिपञ्चमी : ऋषेश्वर मन्दिरमा
बाढीले क्षति पुर्याएका झोलुङ्गे पुल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रु
कन्काइ पुल १४ वर्ष अलपत्र