तीज नेपाली हिन्दु महिलाहरूको जीवनसँग गहिरोसँग जोडिएको एउटा ठूलो धार्मिक तथा सांस्कृतिक पर्व हो । यो केवल भगवान् शिव र पार्वतीको पूजा गर्ने, निरहार व्रत बस्ने, नयाँ लुगा र गहना लगाउने दिनमात्र होइन, यो त नेपाली नारीको भावना, आस्था, त्याग, प्रेम, पीडा, आशा, पारिवारिक सम्बन्ध र सामाजिक जीवनको जीवन्त अभिव्यक्ति पनि हो । वर्षभरि घरपरिवारको जिम्मेवारी, काम, सम्बन्ध र सामाजिक भूमिकामा व्यस्त रहने नेपाली महिलाका लागि तीज केही समय आफ्ना मनका कुरा बोल्ने, माइती सम्झने, दिदीबहिनी तथा साथीहरूसँग भेटघाट गर्ने र आफ्ना सुख-दुःख साट्ने अवसरका रूपमा पनि स्थापित भएको छ ।
तीज आउँदा नेपाली गाउँघरदेखि सहरसम्मको वातावरण नै फरक देखिन्छ । रातो सारीमा सजिएका महिलाहरू, हातमा हरिया चुरा, गलामा पोते, निधारमा सिन्दूर, समूहमा गाइएका तीजका गीत र शिव-पार्वतीको पूजा यी सबैले नेपाली समाजको एउटा विशिष्ट सांस्कृतिक चित्र प्रस्तुत गर्छन् तर यी बाहिरी दृश्यभित्र एउटा गहिरो कथा पनि लुकेको हुन्छ । त्यो कथा नेपाली नारीको जीवनकथा हो, उनीको प्रेम, प्रतीक्षा, जिम्मेवारी, संघर्ष, त्याग, स्वतन्त्रताको चाहना र सुखी जीवनको कथा हो ।
‘हरितालिका’ शब्दको उत्पत्ति र पौराणिक आधार
‘हरितालिका’ संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ शब्दबाट बनेको मानिन्छ । ‘हरित’को अर्थ हरण गरिएकी वा लगिएकी र ‘आलिका’को अर्थ सखी वा साथी भन्ने बुझिन्छ । त्यसैले हरितालिकाको पौराणिक कथामा पार्वतीलाई उनका सखीहरूले पिता हिमालयको निर्णयबाट टाढा लगेर लुकाएको प्रसंग जोडिन्छ । पौराणिक कथाअनुसार हिमवान् पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि नै भगवान् शिवलाई आफ्नो पति बनाउने इच्छा राखेकी थिइन् । तर पार्वतीका पिता हिमालयले उनको विवाह भगवान् विष्णुसँग गरिदिने इच्छा गरे । आफूले मनदेखि चाहेको जीवनसाथी शिव नै भएको अवस्थामा पिता आफ्नो इच्छाविपरीत निर्णयमा पुगेपछि पार्वती अत्यन्त दुःखी भइन् ।
पार्वतीको मनोभाव बुझेर उनका सखीहरूले उनलाई त्यहाँबाट टाढा लगे । घना वनमा पुगेर पार्वतीले भगवान् शिवलाई प्राप्त गर्ने संकल्पसहित कठोर तपस्या गरिन् । उनले अन्न-जल त्याग गरी शिवलिंग स्थापना गरेर निरन्तर साधना गरिन् । उनको अटल निष्ठा, त्याग र तपस्याबाट प्रसन्न भएर भगवान् शिव प्रकट हुनुभयो र पार्वतीलाई पत्नीका रूपमा स्वीकार गर्नुभयो भन्ने धार्मिक विश्वास छ । यही पौराणिक घटनाको स्मरणमा हरितालिका तीजको व्रत बस्ने परम्परा चलेको मानिन्छ तर यस कथालाई केवल देवी पार्वतीले पति प्राप्त गर्न गरेको तपस्याका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन । यसमा आफ्नो जीवनका बारेमा स्वयं निर्णय गर्न चाहने एक महिलाको संकल्प पनि देख्न सकिन्छ । पार्वतीले आफ्नो मनको इच्छा पहिचान गरिन्, त्यसलाई प्राप्त गर्न कठिन बाटो रोजिन् र आफ्नो निर्णयप्रति दृढ रहिन् । त्यसैले आजको सन्दर्भमा पनि पार्वतीको कथा नारीको आत्मबल, धैर्य र दृढ इच्छाशक्तिको प्रतीकका रूपमा बुझ्न सकिन्छ ।
तीजको धार्मिक महत्त्व
हरितालिका तीजको मूल आधार भगवान् शिव र माता पार्वतीप्रतिको आस्था हो । हिन्दु धार्मिक परम्परामा शिवलाई आदर्श पुरुष, पति र योगीका रूपमा तथा पार्वतीलाई शक्ति, प्रेम, समर्पण र नारीशक्तिको प्रतीकका रूपमा लिइन्छ । विवाहित महिलाहरूले तीजको व्रत बस्दा श्रीमानको दीर्घायु, सुस्वास्थ्य, पारिवारिक सुख र दाम्पत्य जीवनको स्थायित्वको कामना गर्ने परम्परा छ । अविवाहित महिलाहरूले पनि आफूले चाहेको असल, इमानदार र योग्य जीवनसाथी प्राप्त होस् भन्ने कामनासहित व्रत बस्ने चलन छ । तर तीजको धार्मिक अर्थलाई केवल ‘पति प्राप्ति’ वा ‘पतिको दीर्घायु’मा सीमित गर्नु आजको समयमा साँघुरो बुझाइ हुनसक्छ । धर्म र संस्कृतिको मूल भावना प्रेम, कल्याण, आत्मसंयम, श्रद्धा र पारिवारिक सुखसँग जोडिएको हुन्छ ।
त्यसैले आज तीजको व्रतलाई आफ्नो परिवार, जीवनसाथी, सन्तान, माइती, आफन्त र समग्र समाजको सुख–शान्तिका लागि गरिने आध्यात्मिक संकल्पका रूपमा पनि बुझ्न सकिन्छ । परम्परागत रूपमा हरितालिका तीज चार दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक विधिसहित मनाइन्छ । प्रत्येक दिनको आफ्नै धार्मिक तथा सामाजिक महत्त्व छ ।
दर खाने दिन
तीजको सुरुवात दर खाने दिनबाट हुन्छ । यो दिन विशेषगरी चेलीबेटीलाई माइतीमा बोलाउने चलन नेपाली समाजमा निकै भावनात्मक परम्परा हो । विवाहपछि छोरी आफ्नो घरबाट टाढा पुगेकी हुन्छिन् । उनको दैनिक जीवन घरपरिवारको जिम्मेवारीमा बितिरहेको हुन्छ । यस्तो अवस्थामा तीज माइतीसँग पुनः जोडिने एउटा बहाना बन्छ । आमाले छोरीलाई बोलाउँछिन्, दिदीबहिनी भेटिन्छन्, पुराना साथीहरू जम्मा हुन्छन् र घरमा विशेष परिकार पकाइन्छ । खीर, मिठाई, फलफूल, अचार, तरकारी, रोटी, घिउलगायत विभिन्न परिकार तयार गरिन्छ । पहिले दर मुख्यतः भोलिपल्टको व्रतका लागि आवश्यक ऊर्जा प्राप्त गर्ने उद्देश्यसँग जोडिएको थियो । मध्यरातअघि दर खाने परम्परा पनि यसैसँग सम्बन्धित छ तर दर केवल खाना होइन । दर भनेको माइतीको माया हो भनी मान्न सकिन्छ । विवाह गरेर पराई घर पुगेकी छोरीलाई आमाले मायाले बोलाएर ‘छोरी, आउनू’ भन्नु, दाजुभाइले बाटो हेर्नु, दिदीबहिनी भेटिनु र केही समयका लागि बाल्यकालमा फर्किनु, दर खाने दिनको वास्तविक मानवीय सुन्दरताको पक्ष हो ।
तीजको व्रत
भाद्र शुक्ल तृतीयाको दिन हरितालिका तीजको मुख्य व्रत बसिन्छ । महिलाहरू बिहानै उठेर स्नान गरी शुद्ध भई रातो वा हरियो पहिरनमा सजिन्छन् । पोते, चुरा, सिन्दूर तथा विभिन्न गहनाले सजिएको महिलाको रूप तीजको सांस्कृतिक पहिचान बनेको पाइन्छ । धेरै महिलाहरू निर्जला व्रत बस्ने परम्पराको पालना गर्छन् । अर्थात् दिनभरि अन्नमात्र होइन, पानीसमेत ग्रहण नगरी भगवान् शिव र पार्वतीको पूजा–आराधना गरिन्छ । शिवलिंग स्थापना गरी पूजा गर्ने, दीप प्रज्वलन गर्ने, धूप-नैवेद्य अर्पण गर्ने तथा शिव-पार्वतीको कथा सुन्ने वा वाचन गर्ने परम्परा छ । यो व्रत बाहिरबाट हेर्दा कठिन देखिन्छ तर धेरै महिलाका लागि यो केवल शारीरिक कष्ट सहने अभ्यासमात्र होइन आफ्नो आस्थाप्रतिको समर्पण र त्यागको अभ्यास पनि हो ।
नेपाली नारीको जीवनकथामा तीजको तपस्या
तीजको व्रतलाई नेपाली नारीको जीवनसँग जोडेर हेर्दा यसको अर्को गहन पक्ष देखिन्छ । नेपाली समाजमा महिलाले जीवनको विभिन्न चरणमा अनेक प्रकारका जिम्मेवारी निर्वाह गर्दै आएका छन् । छोरी हुँदा आमाबुबाको घरको जिम्मेवारी बुझ्छिन्, विवाहपछि नयाँ परिवारमा आफूलाई समायोजन गर्छिन्, बुहारीका रूपमा घर सम्हाल्छिन्, पत्नीका रूपमा जीवनसाथीको साथ दिन्छिन् र आमा बनेपछि सन्तानको भविष्यका लागि आफ्ना धेरै इच्छा र चाहना पछाडि सार्छिन् ।
त्यसैले तीजको व्रतमा गरिएको तपस्या कतिपय महिलाका लागि आफ्नो जीवनमा भोगेको त्याग र धैर्यको प्रतीकजस्तो पनि हुन्छ । एक महिला बिहानदेखि साँझसम्म घरको काम गर्छिन्, परिवारका सदस्यको खाना, सरसफाइ र आवश्यकताको ख्याल गर्छिन्, सन्तानको पढाइ र भविष्यबारे सोचिरहन्छिन्, वृद्ध अभिभावकको सेवा गर्छिन् । यति धेरै जिम्मेवारीबीच पनि जब उनी तीजको दिन भगवान् शिव-पार्वतीको अगाडि बसेर व्रत बस्छिन्, त्यसमा केवल धार्मिक कर्मकाण्डमात्र हुँदैन, त्यहाँ उनको आफ्नै जीवनप्रतिको एउटा मौन प्रार्थना पनि हुन्छ । ‘मेरो परिवार सुखी रहोस् ।’ ‘मेरो जीवनसाथी स्वस्थ रहून् ।’ ‘मेरा सन्तानको भविष्य राम्रो होस् ।’ ‘माइती र घर दुवैमा सुख-शान्ति रहोस् ।’ यस्ता भावनाले धेरै नेपाली महिलाको तीजलाई अर्थपूर्ण बनाउँछन् ।
तर, यहाँ एउटा महत्त्वपूर्ण कुरा पनि बुझ्नुपर्छ, नारीको प्रेम र समर्पण प्रमाणित गर्न उसको स्वास्थ्यलाई जोखिममा पार्नु उचित ठानिँदैन । व्रतको वास्तविक अर्थ श्रद्धा, भक्ति र आध्यात्मिक भावना हो । आफ्नो स्वास्थ्य अनुसार व्रत बस्नु, आवश्यक परे पानी तथा औषधि सेवन गर्नु वा स्वास्थ्य समस्याको कारणले व्रतको स्वरूप परिवर्तन गर्नु धार्मिक आस्थाको अपमान होइन । धर्मले जीवनको कल्याण खोज्छ, स्वास्थ्यलाई नोक्सान पुर्याउनु धर्मको अनिवार्य शर्त हुन सक्दैन ।
शिव-पार्वती पूजा र दाम्पत्य जीवनको आरधना
तीजको पूजा भगवान् शिव र पार्वतीको सम्बन्धसँग प्रत्यक्ष जोडिएको छ । शिव र पार्वतीको सम्बन्धमा प्रेमसँगै संवाद, समानता, विश्वास र एकअर्काको अस्तित्वप्रतिको सम्मान देखिन्छ । आजको समाजमा तीजले दाम्पत्य सम्बन्धबारे पनि सकारात्मक सन्देश दिनसक्छ । श्रीमतीले मात्र श्रीमानको दीर्घायुको कामना गर्नेभन्दा श्रीमानले पनि श्रीमतीको स्वास्थ्य, दीर्घायु, सम्मान र खुसीको कामना गर्ने संस्कार विकास हुनु आवश्यक छ । त्यसैले के भन्न सकिन्छ भने तीज प्रेमको पर्व हो भने त्यो प्रेम एकतर्फी होइन, दोहोरो र पारस्परिक हुनुपर्छ । तीज परिवारको सुखको पर्व हो भने त्यो सुखमहिलाको मात्र त्यागबाट होइन, सबै सदस्यको साझा जिम्मेवारीबाट आउनुपर्छ । यस अर्थमा तीज आधुनिक नेपाली समाजलाई सम्बन्धमा समानता, सम्मान र सहकार्यको पाठ सिकाउने उचित अवसर पनि बन्नसक्छ ।
गणेशचतुर्थी र ऋषि पञ्चमी
तीजको मुख्य व्रतपछि भाद्रशुक्ल चतुर्थीका दिन गणेश चतुर्थी मनाइन्छ । भगवान् गणेशलाई विघ्नहर्ता तथा शुभारम्भका देवताका रूपमा पूजा गरिन्छ । तीजको व्रत र पूजा निर्विघ्न रूपमा सम्पन्न भएकोमा भगवान् गणेशप्रति श्रद्धा व्यक्त गर्ने धार्मिक परम्परा छ । त्यसपछि आउने ऋषि पञ्चमी तीजको अन्तिम चरण हो । यसदिन सप्तऋषिको पूजा गर्ने परम्परा छ। कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठलाई सप्तऋषिका रूपमा पूजा गरिन्छ । परम्परागत रूपमा यस दिन दत्तिवनले दाँत माझ्ने, स्नान गर्ने तथा विभिन्न शुद्धीकरणसम्बन्धी विधि पूरा गर्ने चलन छ । कतिपय समुदायमा पञ्चगव्य सेवन गर्ने परम्परा पनि पाइन्छ । यस्ता परम्पराहरूको धार्मिक अर्थ आफ्नो ठाउँमा भए पनि आजका दिन स्वास्थ्य र वैज्ञानिक चेतनालाई पनि ध्यान दिनुपर्छ । धार्मिक परम्परा जोगाउँदा त्यसको मूल भावना, प्रतीकात्मक अर्थ र सामाजिक मूल्यलाई जोगाउँदै स्वास्थ्यका दृष्टिले सुरक्षित अभ्यास अपनाउनु आवश्यक छ ।
आधुनिक तीजका चुनौती
परिवर्तनसँगै तीजमा केही सकारात्मक पक्ष आएका छन् भने केही विकृति पनि देखिएका छन् । तीजको नाममा अत्यधिक खर्च गर्ने, महँगा पहिरन र गहनाको प्रदर्शन गर्ने, एकअर्कासँग प्रतिस्पर्धा गर्ने, सामाजिक सञ्जालमा देखासिकी गर्ने तथा धेरै दिनअघिदेखि पार्टी आयोजना गरेर फजुल खर्च गर्ने प्रवृत्ति बढेको देखिन्छ । दर खाने परम्परा पनि कतिपय ठाउँमा एक दिनको पारिवारिक आत्मीयताबाट परिवर्तन भएर लामो समयसम्म चल्ने भोजभतेर र प्रतिस्पर्धामा परिणत भएको छ । यसले तीजको मूल भावनाश्रद्धा, आत्मीयता, संयम र सामाजिक एकतालाई कमजोर पार्न सक्छ । तीज महँगो साडी, गहना र भोजको प्रतिस्पर्धा होइन । एउटा सामान्य सारीमा सजिएकी आमा र उनकी छोरीले सँगै बसेर गाएको गीतमा पनि तीजको त्यत्तिकै सुन्दरता हुन्छ ।
तीजमा स्वास्थ्य र जिम्मेवारी
तीजको व्रत धार्मिक आस्थाको विषय हो तर शरीरको स्वास्थ्य पनि त्यत्तिकै महत्त्वपूर्ण छ । विशेषगरी गर्भवती महिला, वृद्ध महिला, दीर्घरोग भएका व्यक्ति वा नियमित औषधि सेवन गर्नुपर्ने महिलाले कठोर निर्जला व्रत बस्नुअघि स्वास्थ्यकर्मीको सल्लाह लिनु उचित हुन्छ । धर्मको उद्देश्य मानिसको कल्याण हो । त्यसैले व्रतको नाममा शरीरलाई अत्याधिक कमजोर बनाउनु आवश्यक छैन । आजको पुस्ताले तीजको धार्मिक भावना कायम राख्दैस्वास्थ्य, विज्ञान र विवेकलाई पनि सँगसँगै अगाडि बढाउनु आवश्यक छ ।
तीजलाई कसरी मौलिक र मर्यादित बनाउने ?
तीजलाई जीवन्त राख्न यसको बाहिरी स्वरूपमात्र होइन, मूल भावना पनि जोगाउनुपर्छ । माइती र चेलीको सम्बन्धलाई प्राथमिकता दिने, अनावश्यक खर्च घटाउने, परम्परागत लोकगीत तथा नृत्यको संरक्षण गर्ने, सामाजिक समस्याविरुद्ध सकारात्मक सन्देश दिने, महिला अधिकार र समानताको विषयमा संवाद गर्ने र व्रतलाई आफ्नो स्वास्थ्यअनुसार मनाउने संस्कार विकास गर्न सकिन्छ । तीजको अवसरमा गरिब तथा असहाय महिलालाई सहयोग गर्ने, वृद्ध आमाहरूलाई सम्मान गर्ने, छोरीहरूको शिक्षाका लागि सहयोग गर्ने वा महिला स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने काम गरियो भने पर्वको सामाजिक महत्त्व अझ बढ्नसक्छ ।
नारीले आफ्नो स्वास्थ्य, सम्मान, स्वतन्त्रता र खुशीलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ । त्यसैले आधुनिक तीजको मूल सन्देश यस्तो हुनसक्छ-आस्था रहोस्, परम्परा रहोस्, संस्कृति रहोस् तर त्यससँगै विवेक, समानता, स्वास्थ्य, आत्मसम्मान र नारीको स्वतन्त्र आवाज पनि रहोस् । तीज विगतको स्मृतिमात्र होइन, वर्तमानको उत्सव र भविष्यको समाज निर्माण गर्ने अवसर पनि हो । नेपाली नारीको जीवनसँग जोडिएको यस महान् पर्वले हरेक पुस्तालाई प्रेम गर्न, सम्बन्ध जोगाउन, दुःख बाँड्न, अन्यायविरुद्ध बोल्न र आफ्नो अस्तित्वलाई सम्मान गर्न प्रेरणा दिइरहोस् । यही नै हरितालिका तीजको वास्तविक महत्त्व हो । धर्ममा आस्था, संस्कृतिमा गर्व, सम्बन्धमा आत्मीयता र नारी जीवनमा सम्मान प्रदान गर्नु यस पर्वको मूल धेय हो ।







अपहरणमा परेको १२ दिनपछि १५
विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय
मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा
एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,
विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति