पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका-६ स्थित घाँगी भीरबाट पछिल्लो ६ महिनादेखि निरन्तर धुँवाको मुस्लो निस्किरहेको छ ।
पेलेगा र भडारी गाउँको बीचमा पर्ने पहाडमा दुई वर्षअघि पहिरो गएको थियो । त्यही ठाउँमा जमिनमुनिबाट गत चैतदेखि निरन्तर धुँवा निस्किरहेको स्थानीय दानबहादुर राना मगरले बताउनुभयाे ।
करिब १८ वर्ष पहिले सोही क्षेत्रको दक्षिण भेगमा पनि धुँवाको मुस्लो निस्किएको थियो । केही समयपछि त्यहाँ आफैँ निभ्यो, अहिले फेरि अर्को ठाउँमा धुँवाा निस्किएको हो । ‘धुँवा अमिलो, वारुदजस्तो स्वादको मानेका छौँ । नजिकको बस्तीका बासिन्दालाई श्वास फेर्न गाह्रो बनाइसक्यो,’ उहाँले भन्नुभयो ।
धुँवाको मुस्लो निस्किरहेको ठाउँमा सुकेको घाँस, दाउरा राखिएमा आफैँ आगो बल्ने गरेको छ ।
हुप्सेकोट गाउँपालिका-६ फलाम खानी भएको क्षेत्र हो । अहिले धुँवा निस्किरहेको स्थानको तल्लो भागको खोला किनार सबै पहेँलो छ भने त्यहाँको पानी फिटकिरीको स्वादजस्तो छ । पहिले बाजेको पालामा त्यहाँ फलाम निकाल्ने र त्यसबाट खुकुरी निर्माण गर्ने गरिएको स्थानीय ७० वर्षिय गमबहादुर सुनारी मगरले सुनाउनुभयो ।
पहिरो गएको स्थानमा गन्हाउने धुँवा निस्कनुले पेलेगामा बसोबास गर्ने ५ सय नागरिक जोखिममा रहेकाले अध्ययन गरी समाधान गर्नुपर्ने उहाँले बताउनुभयो । ‘पानी परेको समयमा पनि धुँवा निस्कन रोकिँदैन, अनि रातभर जाग्रम बस्छाैँ, कतै बस्ती नै लैजाने हो कि आगो लागेर भन्ने डर लागिरहन्छ,’ उहाँले भन्नुभयो ।
धुँवा निस्किएको ठाउँभन्दा करिब ५ सय मिटर टाढा पेलेगामा ४४ घरधुरी बस्छन् । पहिरोसँगै जमिनमुनिबाट निरन्तर धुँवा निस्कने क्रम नरोकिएपछि बस्ती नै जोखिम पर्ने चिन्ता स्थानीयको छ । यस क्षेत्र नजिकै धैवादी फलाम खानी छ । फलाम खानी नजिक भएको, ग्यास वा धातुको खानीसमेत हुनसक्ने हुँदा यसको तत्काल अनुसन्धान गर्नुपर्ने स्थानीयको माग छ ।
लामो समयदेखि स्थानीयले धँवा निस्किरहेको जानकारी गराएपछि विस्तृत अध्ययन गरेर वास्तविकता पत्ता लगाउन केन्द्र सरकारसँग अनुरोध गरिएको र आवश्यक समन्वय भैरहेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । ‘पानी परेको समयमा धुँवा झनै फैलिएको भन्ने जानकारी भएपछि स्थलगत अनुगमन गर्दा भासिएको जमिनमा धुँवा निस्किरहेको र वरपरका बोटविरुवा पोलिएको भेटियो । अब जमिनबाट धुँवा निस्कने विषय सामान्य होइन भनेर यसको कारण पत्ता लगाएर समाधानतर्फ लाग्छौँ,’ उहाँले भन्नुभयो ।
घाँगी भीरमा देखिएको असामान्य गतिविधिलाई सामान्य घटनाका रूपमा नलिन नवलपुर-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजन गौतमले आकस्मिक समय लिएर सरकारको ध्यानाकर्षण गराउनु भएकाे थियो । खानी तथा भूगर्भ विभागले यस विषयमा अध्ययन गर्ने तयारी गरेको छ ।






सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा