हेटौँडा । मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध कारबाही बढाइए पनि सवारी दुर्घटनामा भने अपेक्षित कमी आउन सकेको छैन । आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ४१४ वटा सवारी दुर्घटना हुँदा ६४ जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार उक्त अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजार १९२ जना चालक कारबाहीमा परेका छन् । कारबाहीबाट एक करोड ७२ लाख ५४ हजार ५०४ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख रमेश विष्टका अनुसार आर्थिक वर्षको पहिलो छ महिनामा ७ हजार ३९० जना र पछिल्लो छ महिनामा १० हजार ८०२ जना चालक कारबाहीमा परेका छन् । पहिलो छ महिनाको तुलनामा पछिल्लो छ महिनामा कारबाहीमा पर्ने चालकको सङ्ख्या ३ हजार ४१२ ले बढेको हो ।
तर, कारबाहीको सङ्ख्या बढे पनि दुर्घटनामा भने उल्लेख्य कमी आउन सकेको छैन । आर्थिक वर्ष २०८२/८३ मा भएका ४१४ दुर्घटनामा ६४ जनाको मृत्यु, ११४ जना गम्भीर र ७११ जना सामान्य घाइते भएका छन् ।
तथ्याङ्कअनुसार आर्थिक वर्षको पहिलो छ महिनामा १९७ वटा दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको थियो । पछिल्लो छ महिनामा दुर्घटनाको सङ्ख्या बढेर २१७ पुगे पनि मृत्यु हुनेको सङ्ख्या २९ मा झरेको छ ।
ट्राफिक प्रहरी प्रमुख विष्टले दुर्घटना न्यूनीकरणका लागि नियम उल्लङ्घन गर्नेलाई कारबाहीसँगै चालक तथा सडक प्रयोगकर्तामा ट्राफिक नियमसम्बन्धी चेतना र जिम्मेवारी बढाउन आवश्यक रहेको बताउनुभयो ।
“कारबाही मात्रै गरेर हुँदैन, चेतना पनि हुनुपर्यो । दुर्घटना घट्नुपर्ने हो तर घटेको छैन । चालकको लापरबाही पनि दुर्घटनाको प्रमुख कारण हो,” उहाँले भन्नुभयो ।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७१३ जना कारबाहीमा परेका छन् । त्यस्तै, लागूपदार्थ सेवन गरी सवारी चलाएको आरोपमा ४५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।






चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा
एमालेको केन्द्रीय कमिटीमा १३ जना