काठमाडौँ । भारतको नयाँ दिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनमा नेपाल सहभागी हुन नपाएपछि भारतले निमन्त्रणा नगरेको विषयमा बहस भइरहेका बेला परराष्ट्र मामिलाका विश्लेषक अरुण सुवेदीले यसलाई नेपालको कूटनीतिक कमजोरीका रूपमा हेर्नुपर्ने बताउनुभएको छ ।
उहाँका अनुसार नेपाल ब्रिक्सको सदस्य वा साझेदार देश नभएकाले सम्मेलनमा आमन्त्रण पाउनुपर्ने कुनै कानुनी वा संस्थागत अधिकार थिएन । तर कूटनीतिमा कानुनी प्रावधानसँगै आफ्नो रणनीतिक सान्दर्भिकता निर्माण गर्नु महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।
“भारतले नेपाललाई किन बोलाएन ?” भन्ने प्रश्न गर्नुभन्दा पहिले ब्रिक्सजस्तो मञ्चमा नेपाललाई बोलाउँदा भारतसहित सम्बन्धित मुलुकहरूको रणनीतिक वा भूराजनीतिक हित हुन्छ भन्ने अवस्था नेपालले कति बलियोसँग निर्माण गर्न सक्यो भन्ने प्रश्न गर्नुपर्ने सुवेदीको तर्क छ ।
उहाँले ब्रिक्सका विषय भारत एक्लैले निर्धारण नगर्ने उल्लेख गर्दै नेपालले भारत, चीन, रुसलगायत सदस्य राष्ट्रसँग छुट्टाछुट्टै कूटनीतिक पहल गर्नुपर्ने बताउनुभयो । कुनै देशले नेपाललाई आमन्त्रणका लागि प्रस्ताव गर्नुपर्ने अवस्था सिर्जना गर्न पनि नेपाल आफैँले पहल गर्नुपर्ने उहाँको भनाइ छ ।
ब्रिक्सका निर्णायक देशमै कूटनीतिक उपस्थिति कमजोर
सुवेदीले ब्रिक्स सम्मेलनको पूर्वसन्ध्यामा नेपालको कूटनीतिक उपस्थिति र तयारी कमजोर रहेको टिप्पणी गर्नुभएको छ । उहाँका अनुसार ब्रिक्सका संस्थापक सदस्य ब्राजिल र दक्षिण अफ्रिकाबाट नेपालले दूतावास हटाउने निर्णय गरेको छ भने भारत, चीन र रुसमा नेपाली राजदूतको पदसमेत रिक्त रहेको अवस्था थियो ।
यस्तो अवस्थामा ती देशबाट उच्चस्तरीय मञ्चमा नेपाललाई आमन्त्रण गर्नुपर्ने आधार कमजोर हुने उहाँको तर्क छ । कूटनीतिक नोट, राजदूतहरूको सक्रियता र स्पष्ट कार्ययोजनाबिना निमन्त्रणा नआएकोमा गुनासो गर्नु कूटनीतिक कमजोरी भएको उहाँले बताउनुभयो ।
२०१६ को गोवा र २०२६ को दिल्ली फरक
नेपालमा सन् २०१६ को गोवा ब्रिक्स सम्मेलनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएको घटनासँग अहिलेको अवस्थालाई तुलना गर्ने गरिएको छ । तर सुवेदीले दुई घटनालाई समान रूपमा हेर्न नमिल्ने बताउनुभएको छ ।
उहाँका अनुसार त्यतिबेला नेपाल बिमस्टेकको अध्यक्ष रहेकाले भारतले बिमस्टेकलाई जोड्ने संस्थागत आधारका कारण नेपाललाई सहभागी गराएको थियो । अहिले ब्रिक्सको संरचना र विश्व राजनीतिको परिवेशसमेत बदलिएको उहाँको भनाइ छ ।
उहाँले ब्रिक्स पाँच देशको समूहबाट विस्तार भएर इरान, संयुक्त अरब इमिरेट्स, इजिप्ट र इथियोपियालगायत मुलुकको सहभागिता रहेको रणनीतिक मञ्च बनेको उल्लेख गर्नुभयो । साथै सार्क र असंलग्न आन्दोलनजस्ता पुराना मञ्चप्रति मात्र भावनात्मक रूपमा निर्भर नभई ब्रिक्स, एससीओ र बोआओजस्ता नयाँ संरचनासँग पनि नेपालले आफ्नो कूटनीतिक संलग्नता बढाउनुपर्ने सुझाव दिनुभयो ।
भारत–चीन सम्बन्धमा आएको सुधार अवसर
सुवेदीले ब्रिक्स सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको उच्चस्तरीय भेटवार्ता तथा दुई देशबीच सीमा क्षेत्रमा तनाव कम गर्ने दिशामा देखिएको सहमतिलाई नेपालका लागि अवसरका रूपमा व्याख्या गर्नुभएको छ ।
उहाँका अनुसार भारत र चीनबीच तनाव कम हुँदै गएको अवस्थामा नेपालले आफ्नो परराष्ट्र सम्बन्धलाई पुनःसमायोजन गर्न सक्ने अवसर प्राप्त भएको छ । तर यसका लागि नेपालले आफ्ना राष्ट्रिय आवश्यकता र प्राथमिकता स्पष्ट रूपमा राख्न सक्नुपर्ने उहाँको भनाइ छ ।
‘आवेगको कूटनीति’ त्याग्न सुझाव
सुवेदीले नेपालले परराष्ट्र नीतिलाई घरेलु राजनीतिको लोकप्रियतावादी भाष्य र भावनात्मक राष्ट्रवादसँग जोडेर अघि बढाउन नहुने बताउनुभएको छ ।
भारतसँगको सम्बन्धमा समस्या आउँदा चीनबाट भारतको विकल्प खोज्ने जस्ता आवेगपूर्ण धारणा निर्माण गर्नेभन्दा भौगोलिक यथार्थ र नेपालको राष्ट्रिय हितका आधारमा कूटनीति सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । नेपाल र भारतबीच आपूर्ति प्रणाली, जलस्रोत तथा भौगोलिक अवस्थाका कारण रहेको अन्तरनिर्भरतालाई बेवास्ता गर्न नहुने उहाँले बताउनुभयो ।
कूटनीतिक विश्वसनीयता पुनःस्थापित गर्नुपर्ने
नेपालको कूटनीतिक क्षमता, दक्षता र परिपक्वतामा पछिल्ला वर्षमा ह्रास आएको सुवेदीको टिप्पणी छ । राजदूत नियुक्तिमा हुने ढिलाइ, राजनीतिक लेनदेनमुखी प्रवृत्ति र पूर्वतयारीबिना सार्वजनिक अभिव्यक्ति दिने शैलीले नेपालको कूटनीतिक विश्वसनीयतामा असर गरेको उहाँको भनाइ छ ।
उहाँका अनुसार कूटनीति सामाजिक सञ्जालमा भाइरल हुने अभिव्यक्ति वा घरेलु राजनीतिक भाषणबाट सञ्चालन हुँदैन । बाह्य साझेदारका लागि नेपालको राज्य व्यवहार पूर्वानुमानयोग्य, विश्वसनीय र स्थिर देखिन आवश्यक छ ।
‘नेपाल सिङ्गापुर बन्ने कि यमन ?’
सुवेदीले नेपालको भूराजनीतिक अवस्थालाई सही ढंगले उपयोग गर्न नसके मुलुकले अवसरभन्दा जोखिम बढी व्यहोर्नुपर्ने चेतावनी दिनुभएको छ ।
उहाँले सिङ्गापुर र जिबुटीले आफ्नो भूराजनीतिक अवस्थालाई उपयोग गरेर समृद्धि हासिल गरेको, यमन र इथियोपिया भूराजनीतिक संवेदनशीलता व्यवस्थापन गर्न नसक्दा द्वन्द्वको प्रभावमा परेको तथा श्रीलङ्का र नेपाल राष्ट्रिय स्वार्थ स्पष्ट गर्न नसक्दा अलमलमा परेको उदाहरण दिनुभएको छ ।
नेपालले कुनै एउटा शक्ति वा ध्रुवसँग मात्र निकटता कायम गर्नेभन्दा राष्ट्रिय स्वार्थअनुसार विषयकेन्द्रित र लचिलो कूटनीति अपनाउनुपर्ने उहाँको सुझाव छ । भारतले क्वाड र ब्रिक्स दुवैमा सहभागिता जनाउँदै विभिन्न शक्ति केन्द्रसँग सम्बन्ध कायम राखेको उदाहरणबाट नेपालले पनि सिक्नुपर्ने उहाँको भनाइ छ ।
अब भारतसँग उच्चस्तरीय रणनीतिक संवाद आवश्यक
ब्रिक्स सम्मेलनबाट नेपालले अब कसैले निमन्त्रणा देला भनेर पर्खिनुभन्दा आफ्ना राष्ट्रिय हितलाई केन्द्रमा राखेर सक्रिय कूटनीति अघि बढाउनुपर्ने सुवेदीले बताउनुभएको छ ।
उहाँले नेपालको जलस्रोत, जलजन्य विपद् र जलवायुजन्य जोखिमलाई भारतसँगको राजनीतिक तथा कूटनीतिक संवादको प्राथमिक विषय बनाउन सुझाव दिनुभएको छ । भोटेकोशी र त्रिशूलीमा आएको बाढीजस्ता घटनाको प्रभाव नेपालमा मात्र सीमित नरहने भएकाले भारतसँग जल व्यवस्थापन र विपद् न्यूनीकरणका विषयमा उच्चस्तरीय संवाद आवश्यक रहेको उहाँको भनाइ छ ।
त्यस्तै, नेपालले नयाँ दिल्लीसँग उच्चस्तरीय संवाद बढाउँदै ब्रिक्सले अघि सारेका जलवायु न्याय, नवीकरणीय ऊर्जा, आपूर्ति शृङ्खला र डिजिटल पूर्वाधारजस्ता विषयमा आफ्नो धारणा र स्वामित्व स्थापित गर्नुपर्ने उहाँको सुझाव छ । यसबाट नेपाललाई ‘छुटाइएको देश’का रूपमा नभई साझा एजेन्डाको साझेदारका रूपमा प्रस्तुत गर्न सकिने उहाँको तर्क छ ।
सुवेदीले विपद्पछि पुनर्निर्माणका लागि विदेशी सहयोगमा मात्र निर्भर हुने प्रवृत्ति अन्त्य गर्दै आन्तरिक निजी क्षेत्र र कर्पोरेट पुँजीलाई परिचालन गर्नुपर्ने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय मञ्चमा निमन्त्रणा पाउनु प्रतिष्ठाको प्रमाण नभई रणनीतिक सान्दर्भिकताको परिणाम भएको उहाँको निष्कर्ष छ । नेपालले ‘कसैले बोलाउला कि नबोलाउला’ भनेर पर्खिने कूटनीतिभन्दा आफ्नो राष्ट्रिय स्वार्थमा आधारित सक्रिय कूटनीति अवलम्बन गर्नुपर्ने उहाँको सुझाव छ ।
-सविन धमला/न्युज एजेन्सी नेपाल







मतदाता नामावली अद्यावधिक : काभ्रेमा
खेतमा बेसार, किसानलाई बजारको चिन्ता
पृथ्वी राजमार्गको गलौदी सडकखण्ड अपराह्न
विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको
झलारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता
चौध लाखभन्दा बढीका सामान र