काठमाडौं । नेपाली केम्पोले पोर्चुगलमा भएको केम्पो अन्तर्राष्ट्रिय ओपन कपमा उत्कृष्ट प्रदर्शन गर्दै पाँच पदक जितेको छ । पोर्चुगलको अल्बुफेरामा जारी च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण, दुई रजत र एक कांस्यसहित पाँच पदक जितेको हो । केम्पोलाई मार्सल आटर््सकै हाइब्रिड विधाका रूपमा चिनिन्छ ।
१४ वर्षीय रोशनकुमार यादवले एक्लैले पाँच पदक जित्दै नेपाली केम्पोमा उल्लेखनीय उपलब्धि दिलाएको नेपाल केम्पो खुकुरी फेडेरेसनले जनाएको छ । रोशनले विभिन्न पाँच विधामा प्रतिस्पर्धा गर्नुभएको थियो । उहाँले फुल केम्पो ४० केजी र सबमिसन केम्पो ४० केजी विधामा स्वर्ण पदक जित्नुभयो । एम्प्टी ह्याण्ड काटा र सेमी केम्पोमा भने रोशन रजत पदकमा नै सीमित हुनुभयो । उहाँले लाइट केम्पोमा कांस्य पदक जितेको नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल शाहले जानकारी दिनुभयो ।
एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा १४ वर्षे रोशनले पाँच पदक जित्नु नेपाली केम्पोका लागि महत्त्वपूर्ण उपलब्धि रहेको फेडेरेसनले जनाएको छ । पोर्चुगिज केम्पो तथा इन्टरनेसनल केम्पो फेडेरेसन (आइकेएफ) ले आयोजना गरेको प्रतियोगितामा उहाँको प्रदर्शनले अन्तर्राष्ट्रियस्तरमा नेपाली खेलाडीको क्षमता र नयाँ पुस्ताको सम्भावनासमेत देखाएको फेडेरेसनको विश्वास छ ।
नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल शाहले पोर्चुगलमा प्राप्त सफलतालाई नेपाली केम्पोका लागि ठूलो उपलब्धि र ऐतिहासिक रहेको बताउनुभयो । ‘यो हाम्रा लागि अत्यन्तै गर्वको क्षण हो । एउटै खेलाडीले दुई स्वर्णसहित पाँच पदक जित्नु सामान्य होइन । यसले नेपाली केम्पोको क्षमता अन्तर्राष्ट्रियस्तरमा बलियो हुँदै गएको देखाउँछ’, अध्यक्ष शाहले भन्नुभयो ।
गत अप्रिलमा सम्पन्न केम्पो विश्व च्याम्पियनसिपमा नेपालले विभिन्न विधामा २५ पदक जितेको फेडेरेसनले जनाएको छ । केम्पोमा विभिन्न सात विधामा हरेक खेलाडीले प्रतिस्पर्धा गर्ने गरेका छन् ।






अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा
एमालेको केन्द्रीय कमिटीमा १३ जना
गेरुवा नदीमा माछा मार्न गएकी