न्युयोर्क । जर्मन शीर्ष वरीयताका टेनिस स्टार अलेक्जेन्डर जेभेरेभले युएस ओपन २०२६ को उपाधि जित्नुभएको छ । न्युयोर्कस्थित आर्थर आशे स्टेडियममा आइतबार राती सम्पन्न पुरुष एकलको फाइनलमा जेभेरेभले घरेलु युवा खेलाडी बेन शेल्टनलाई पराजित गर्दै आफ्नो खेलजीवनको दोस्रो ग्राण्डस्लाम उपाधि उचाल्न सफल हुनुभएको हो । आफ्नो उत्कृष्ट अनुभव र परिपक्व खेल प्रस्तुत गर्दै जेभेरेभले शेल्टनलाई ६-३, ७-६ (७-२), ५-७, ६-२ को सेटमा पराजित गर्नुभयो ।
यस वर्षको सुरुवातमा फ्रेन्च ओपनका रूपमा आफ्नो पहिलो मेजर उपाधि जित्नुभएका २९ वर्षीय जेभेरेभले निकै छोटो अन्तरालमै दोस्रो ग्राण्डस्लाम थप्न सफल हुनुभएको हो । खेलको पहिलो सेटदेखि नै आक्रामक रूपमा प्रस्तुत हुनुभएका जेभेरेभले शेल्टनको कमजोर ब्याकह्याण्ड र अदूरदर्शी सर्भिसको फाइदा उठाउनुभयो । पहिलो सेटको सुरुवातमै शेल्टनले डबल फल्ट गरेपछि जेभेरेभले सहजै खेलमा पकड बनाउनुभयो । पहिलो दुई सेट आफ्नो पक्षमा पार्दै जर्मन खेलाडी जेभेरेभले खेलमा अग्रता बनाउनुभएको थियो ।
यद्यपि, तेस्रो सेटमा २४ हजारभन्दा बढी घरेलु दर्शकको भारी समर्थन पाउनुभएका २३ वर्षीय अमेरिकी खेलाडी शेल्टनले पुनरागमनको प्रयास गर्नुभएको थियो । उहाँले जेभेरेभको सर्भिसमा निरन्तर दबाब सिर्जना गर्दै तेस्रो सेट ७-५ ले आफ्नो पक्षमा पार्नुभयो र घरेलु दर्शकहरूमा नयाँ आशा जगाउनुभयो । तर, चौथो सेटको सुरुवातमै शेल्टनले आफ्नो सर्भिस जोगाउन नसक्दा जेभेरेभले पुनः खेलमा पूर्ण नियन्त्रण कायम गर्नुभयो र सहजै सेट र खेल आफ्नो नाममा लेखाउनुभयो ।
म्याच प्वाइन्टमा शेल्टनको सट बाहिरिएपछि जितको निश्चिततासँगै जेभेरेभले आफ्नो टोलीसँग खुसियाली साटासाट गर्नुभएको थियो । उपाधि जितेपछि खुसी व्यक्त गर्दै जेभेरेभले भन्नुभयो, ‘हामीले ग्राण्डस्लाम जित्न ३० वर्ष पर्खनुपर्यो र अहिले तीन महिनाको अन्तरालमा दुईवटा जितेका छौँ । हामीले गरेको कडा परिश्रम र संघर्षको यो सुखद परिणाम हो ।’ एजेन्सी






अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा
एमालेको केन्द्रीय कमिटीमा १३ जना
गेरुवा नदीमा माछा मार्न गएकी