पुस्तक समीक्षा
डिजिटल प्रविधिको तीव्र विकाससँगै सञ्चारको स्वरूप, पाठकको रुचि र समाचार उपभोग गर्ने शैलीमा व्यापक परिवर्तन आएको छ। इन्टरनेट, सामाजिक सञ्जाल र अनलाइन सञ्चार माध्यमको विस्तारले परम्परागत छापा पत्रकारितासामु अस्तित्वकै प्रश्न खडा गरेको छ। यही बदलिँदो सञ्चार परिवेशलाई केन्द्रमा राखेर पत्रकार नुमा कान्त पौडेलले अनुसन्धानमूलक कृति ‘अनलाइन मिडियाले प्रिन्ट मिडियामाथि पारेको प्रभाव’ पाठकमाझ ल्याउनुभएको छ।
पत्रकारितामा साढे दुई दशकभन्दा लामो अनुभव बटुल्नुभएका पौडेलले नेपालको अग्रणी दैनिक पत्रिका प्रकाशन गृह कान्तिपुर पब्लिकेसन्सको न्यूजरुममा करिब २५ वर्ष काम गर्नुभएको छ। उहाँको यही लामो व्यावसायिक अनुभव र पत्रकारिताको बदलिँदो स्वरूपप्रतिको गहिरो चासो पुस्तकमा प्रतिबिम्बित भएको देखिन्छ। यो उहाँको पहिलो पुस्तकसमेत हो।
विश्वभर परम्परागत छापा माध्यम क्रमशः ओरालो लागिरहेको र कतिपय स्थापित पत्रपत्रिका प्रिन्ट संस्करण बन्द गरेर डिजिटल माध्यममा रूपान्तरण हुन बाध्य भइरहेको समयमा पुस्तकको प्रकाशन निकै सान्दर्भिक देखिन्छ। विशेषतः नेपालमा पनि छापा माध्यमका पाठक घट्दै गएको, विज्ञापन बजार खुम्चिँदै गएको र सञ्चार गृहहरू आर्थिक संकटमा पर्दै गएको अवस्थामा पुस्तकले उठाएका विषय समकालीन पत्रकारिताका महत्वपूर्ण सवाल हुन्।
छापा माध्यममाथि बढ्दो संकट
पुस्तकको मुख्य विषयवस्तु अनलाइन मिडियाको उदयले छापा माध्यममा पारेको प्रभाव हो। लेखकले विश्वव्यापी सञ्चार परिदृश्यमा आएको परिवर्तनसँगै छापा माध्यमले सामना गरिरहेका चुनौतीलाई विभिन्न कोणबाट विश्लेषण गर्नुभएको छ।
अनलाइन समाचार माध्यमको तत्काल सूचना दिने क्षमता, सहज पहुँच र न्यून लागतका कारण पाठकको ठूलो हिस्सा डिजिटल प्लेटफर्मतर्फ आकर्षित भएको छ। यसको प्रत्यक्ष प्रभाव छापा माध्यमको पाठक संख्यामा परेको छ। विश्वका थुप्रै चर्चित पत्रपत्रिकाले आफ्ना प्रिन्ट संस्करण बन्द गरी डिजिटल संस्करणलाई प्राथमिकता दिन थालेको उदाहरण प्रस्तुत गर्दै पुस्तकले छापा माध्यमको भविष्यबारे गम्भीर प्रश्न उठाएको छ।
नेपालमा पनि यही प्रवृत्ति देखिन थालेको पुस्तकको निष्कर्ष छ। समाचारका लागि पत्रिका पर्खिनुपर्ने बाध्यता हटेर पाठकले मोबाइल तथा अन्य डिजिटल उपकरणमार्फत क्षणभरमै समाचार प्राप्त गर्न सक्ने अवस्था सिर्जना भएको छ। यसले छापा माध्यमको परम्परागत शक्ति र प्रभावलाई चुनौती दिएको छ।
आर्थिक संकट र पत्रकार कटौती
अनलाइन मिडियाको विस्तारले छापा माध्यमको पाठक मात्र घटाएको छैन, यसको आर्थिक आधारलाई समेत कमजोर बनाएको पुस्तकले औँल्याएको छ। विज्ञापन बजार डिजिटल प्लेटफर्मतर्फ सर्दै जाँदा परम्परागत सञ्चार गृहको आम्दानीमा दबाब बढेको छ।
आर्थिक संकटको प्रत्यक्ष असर सञ्चारकर्मीमाथि परेको छ। विभिन्न सञ्चार गृहले पत्रकार तथा कर्मचारी कटौती गर्नुपरेको र कतिपय सञ्चार संस्था नै बन्द हुने अवस्थामा पुगेको तितो यथार्थलाई लेखकले पुस्तकमा समेट्नुभएको छ।
यस अर्थमा पुस्तक केवल प्रविधिको प्रभावको अध्ययनमा सीमित छैन। यसले प्रविधिगत परिवर्तनसँग जोडिएको आर्थिक संकट, रोजगारीको असुरक्षा र पत्रकारिताको भविष्यलाई समेत बहसमा ल्याएको छ।
नागरिक पत्रकारिताको विस्तार
नयाँ मिडियासँगै विकसित भएको नागरिक पत्रकारिता पनि पुस्तकको महत्वपूर्ण विषय हो। सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मले सर्वसाधारणलाई सूचना उत्पादन तथा प्रसारणमा प्रत्यक्ष सहभागी हुने अवसर दिएका छन्।
यसले सूचना प्रवाहलाई लोकतान्त्रिक र व्यापक बनाएको भए पनि त्यससँगै सूचना विश्वसनीयता, तथ्य परीक्षण र पत्रकारिताको व्यावसायिक मापदण्डसम्बन्धी प्रश्न पनि जन्मिएका छन्। पुस्तकले नागरिक पत्रकारिताको अवस्था, प्रभाव र मूलधारको पत्रकारितामाथि यसले पारेको असरलाई विमर्शको विषय बनाएको छ।
समस्यासँगै समाधानको खोजी
पुस्तकको विशेषता यसले छापा माध्यमको संकटलाई मात्र चित्रण नगरी त्यसबाट बाहिर निस्कने सम्भावित बाटोसमेत खोजेको पक्ष हो।
लेखकले परम्परागत मिडियाको अस्तित्व जोगाउन सञ्चार गृहका लगानीकर्ता, प्रकाशक, सम्पादक तथा पत्रकार सबैले बदलिँदो समयअनुसार नयाँ रणनीति अपनाउनुपर्नेमा जोड दिनुभएको छ।
सामाजिक सञ्जालमा अभ्यस्त नयाँ पुस्तालाई पुनः परम्परागत मिडियातर्फ आकर्षित गर्न सामग्रीको गुणस्तर, प्रस्तुति र प्रविधिको प्रयोगमा परिवर्तन आवश्यक रहेको पुस्तकको संकेत छ। अब छापा माध्यमले केवल आफ्नो परम्परागत स्वरूपमा टिकेर मात्र प्रतिस्पर्धा गर्न नसक्ने भएकाले नयाँ सञ्चार प्रविधिलाई आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
यसका लागि ‘हाइब्रिड मोडल’ अर्थात् छापा र डिजिटल दुवै माध्यमलाई सँगसँगै अघि बढाउने रणनीति उपयुक्त हुन सक्ने लेखकको निष्कर्ष देखिन्छ। विश्वसनीयता, गहिरो सामग्री र व्यावसायिक पत्रकारिताको मूल चरित्रलाई कायम राख्दै डिजिटल प्रविधिको गति र पहुँचलाई उपयोग गर्न सके परम्परागत मिडियाले नयाँ पुस्तासँग सम्बन्ध स्थापित गर्न सक्ने सम्भावना पुस्तकले देखाएको छ।
समग्र मूल्याङ्कन
‘अनलाइन मिडियाले प्रिन्ट मिडियामाथि पारेको प्रभाव’ नेपाली सञ्चार जगत्को समकालीन अवस्था बुझ्न सहयोग गर्ने महत्वपूर्ण अनुसन्धानमूलक कृति हो। पुस्तकले प्रविधिगत परिवर्तनका कारण पत्रकारितामा आएको रूपान्तरणलाई मात्र हेरेको छैन, त्यससँगै जोडिएका आर्थिक, व्यावसायिक र सामाजिक प्रभावलाई समेत बहसमा ल्याएको छ।
पौडेलको लामो न्यूजरुम अनुभव पुस्तकको महत्वपूर्ण पक्ष हो। पत्रकारिताको व्यवहारिक अनुभव र अनुसन्धानको संयोजनले पुस्तकलाई विषयसँग नजिक बनाएको छ। यद्यपि छापा माध्यमको संकटलाई केवल अनलाइन मिडियाको प्रभावबाट मात्र व्याख्या गर्नुभन्दा पाठकको बदलिँदो रुचि, विज्ञापन बजार, मिडिया व्यवस्थापन, सामग्रीको गुणस्तर र सामाजिक सञ्जालको व्यापक प्रभावजस्ता पक्षलाई अझ विस्तृत रूपमा जोड्न सके पुस्तकको विश्लेषण थप व्यापक बन्न सक्थ्यो।
त्यसका बाबजुद पनि नेपाली पत्रकारिता अहिले कुन मोडमा उभिएको छ र आगामी दिनमा परम्परागत मिडियाले आफूलाई कसरी रूपान्तरण गर्नुपर्छ भन्ने प्रश्नको खोजीमा पुस्तक उपयोगी देखिन्छ।
छापा माध्यमको भविष्यप्रति चिन्तित सञ्चार गृहका सञ्चालक, सम्पादक, पत्रकार, सञ्चार तथा पत्रकारिता अध्ययन गर्ने विद्यार्थी र समग्र सञ्चार क्षेत्रप्रति रुचि राख्ने पाठकका लागि यो पुस्तक सन्दर्भ सामग्री र मार्गनिर्देशक कृति बन्न सक्ने देखिन्छ। डिजिटल युगमा छापा माध्यमको संकटलाई बुझ्न र त्यसबाट सम्भावित निकास खोज्न पुस्तकले सुरु गरेको बहस आफैंमा महत्वपूर्ण छ।
पुस्तक विवरण
- पुस्तकको नाम: ‘अनलाइन मिडियाले प्रिन्ट मिडियामाथि पारेको प्रभाव’
(The Impact of Online Media on Print Media) - लेखक: नुमा कान्त पौडेल
- विधा: सञ्चार/अनुसन्धान
- प्रकाशन: गोरक्ष राष्ट्रिय दैनिक







बिपी राजमार्ग अवरुद्ध
कांग्रेसको मतगणना दिउँसो १ बजेपछि
१३ वर्षअघिको रक्तचन्दन तस्करी मुद्दामा
सडक भासिएपछि कलंकीमा मालवाहक सवारीसाधन
पृथ्वी राजमार्ग अवरुद्ध, बसपार्कभित्रै रोकिए
दूरसञ्चार प्राधिकरणले भन्याे : इन्टरनेटको