काठमाडौँ। रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न १९ स्वास्थ्य संस्थामा भर्ना हुनुभएका ३४१ बिरामीमध्ये २७८ जना उपचारपछि निको भएर घर फर्किनुभएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार हाल २७ जना घाइते तथा बिरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उपचारका क्रममा चार जनाको मृत्यु भएको जनाइएको छ।
बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन स्वास्थ्य मन्त्रालयले हैजाविरुद्धको खोप अभियानलाई समेत तीव्रता दिएको छ। मन्त्रालयका अनुसार नुवाकोटमा लक्षित ७१ हजार ६३५ जनामध्ये २८ हजार ९९ जनाले खोप लगाउनुभएको छ। यो कुल लक्षित जनसङ्ख्याको ३९.२२ प्रतिशत हो।
त्यस्तै, रसुवामा लक्षित ३१ हजार ४७४ जनामध्ये नौ हजार ७३१ जनाले खोप लगाउनुभएको छ। यो ३०.९१ प्रतिशत हो। पछिल्लो २४ घण्टामा थप एक जनामा कडा झाडापखाला पुष्टि भएको मन्त्रालयले जनाएको छ।
बाढी प्रभावित चार जिल्लाका ३६ वटा होल्डिङ सेन्टरमा हाल दुई हजार ८९५ जना आश्रित हुनुहुन्छ। नुवाकोटका २३ सेन्टरमा एक हजार ७०१, काठमाडौँका तीन सेन्टरमा ५८५, धादिङका चार सेन्टरमा ३९० र रसुवाका छ सेन्टरमा २१९ जना बाढीपीडितले आश्रय लिइरहनुभएको छ।
बाढी प्रभावितको उपचार तथा स्वास्थ्य सेवाका लागि हाल ३४ वटा टोलीमा १४९ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ। हालसम्म आकस्मिक चिकित्सा टोलीमार्फत सात हजार ७०७ जनाले स्वास्थ्य सेवा लिनुभएको मन्त्रालयले जनाएको छ।
सरकारले बाढी प्रभावित नागरिकका लागि मानसिक स्वास्थ्यसम्बन्धी परामर्श लिन निःशुल्क हेल्पलाइन ११६६ तथा सुरक्षित मातृत्वसम्बन्धी परामर्शका लागि १११५ सञ्चालनमा ल्याएको छ।







राशिफल २४ असोज, कन्या :
पश्चिमी र मनसुनी वायुको प्रभाव
नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित
अण्डाको उत्पादन र खपत बढाउन
पुरानो बस नचलाउन भनेका थियौँ
कति छ आज विदेशी मुद्राको