काठमाडौं । नेपाली कांग्रेसले विपद्पछिको राहत, उद्धार तथा पुनःस्थापनाको कामलाई प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गराएको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मंगलबार सभामुख डोलप्रसाद अर्याललाई भेटेर विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति गठन गर्न माग गर्नुभएको हो ।
भेटमा उहाँले विपद् आएको १७–१८ दिन बितिसक्दा पनि सर्वदलीय बैठकमा उठाइएको संसदीय उच्चस्तरीय समिति गठनको विषय कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । राहत व्यवस्थापनदेखि पुनःस्थापनासम्मका कामलाई जिम्मेवार, पारदर्शी र व्यवस्थित बनाउन तत्काल समिति गठन आवश्यक रहेको उहाँको भनाइ थियो ।
विपद् व्यवस्थापनमा राज्यका सबै निकाय तथा राजनीतिक दलबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै नेता आङ्देम्बेले संसदीय समितिमार्फत सरकारका कामको अनुगमन र समन्वय गर्नुपर्ने बताउनुभयो ।
उहाँले विपद्बाट प्रभावित बालबालिका, सुत्केरी महिला तथा अन्य पीडितको अवस्था, उनीहरूको सुरक्षित पुनःस्थापना, नयाँ बस्तीको सुरक्षित व्यवस्थापन तथा राहतका लागि प्राप्त सहयोगको सदुपयोगबारे समितिले प्रभावकारी अनुगमन गर्नुपर्ने धारणा राख्नुभयो ।
‘संसदीय उच्चस्तरीय समिति गठन गर्नु सरकारको विरुद्धमा उभिनु होइन, सरकारकै कामलाई थप व्यवस्थित र जिम्मेवार बनाउनका लागि हो,’ उहाँले भन्नुभयो, ‘कहाँ काम भइरहेको छ, कहाँ पुग्न सकेको छैन र कतिपय विषयमा राज्यको नजर पुग्न नसकेको अवस्था छ कि छैन भन्ने कुराको अनुगमन र समन्वयका लागि पनि यस्तो समिति आवश्यक छ ।’
सर्वदलीय बैठकमा विपत्तिपछिको अवस्थाको सर्वदलीय ढङ्गबाट अनुगमन गर्ने, आवश्यक निर्देशन दिने, पारदर्शिता कायम राख्दै व्यवस्थापनलाई व्यवस्थित गर्ने तथा पुनःस्थापनामा गम्भीरतापूर्वक काम गर्ने निर्णय भएको स्मरण गराउँदै उहाँले उक्त निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
विपत्तिको समयमा राज्य साथमा रहेको अनुभूति पीडितलाई दिलाउन पनि संसदीय उच्चस्तरीय समिति आवश्यक रहेको उहाँको भनाइ थियो ।
यसैगरी नेता आङ्देम्बेले प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रम तत्काल सञ्चालन गर्न पनि सभामुखको ध्यानाकर्षण गराउनुभएको छ । संसद्को नियमावली र कार्यतालिकाअनुसार प्रश्नोत्तर कार्यक्रम संसद् र कार्यकारीबीच प्रत्यक्ष संवादको महत्वपूर्ण माध्यम भएकाले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो ।
सभामुख अर्याल यस विषयमा सकारात्मक रहेको र प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम चाँडै सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभएको नेता आङ्देम्बेले बताउनुभयो ।
भेटका क्रममा उहाँले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिकाबारे पनि सभामुखलाई जानकारी गराउनुभएको छ । उहाँका अनुसार कांग्रेसको वडा अधिवेशन असोज ३ र ४ गते, प्रदेश तथा क्षेत्रीय अधिवेशन असोज १० गते तथा केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुनेछ ।







विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा
एमालेको केन्द्रीय कमिटीमा १३ जना
गेरुवा नदीमा माछा मार्न गएकी
सरकार उल्टो बाटोमा हिँडिरहेको छ