बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–८ लामुनी गाउँमा पहिरोले एक घर पूर्णरूपमा क्षति पुर्याएको छ भने १० घर उच्च जोखिममा परेका छन् ।
सोमबार राति करिब ९ बजे घरमाथिबाट खसेको पहिरोले गैरगाउँका गणेशदत्त जोशीको घर पूर्णरूपमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सेनाका अनुसार पहिरो खस्न थालेपछि परिवारका सदस्यले समयमै घर छाडेकाले मानवीय क्षति हुन पाएन ।
घर पहिरोले पुरिएपछि जोशीको परिवार अहिले आफन्तको घरमा आश्रय लिएर बसिरहेको छ । पहिरोका कारण गोठमा पुरिएका १० वटा बाख्रालाई प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
पहिरोका कारण लामुनी गाउँ नै जोखिममा परेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक तिमिल्सेनाका अनुसार रघुनाथ जोशी, बलदेव जोशी, दत्तराम जोशी, परमानन्द जोशी, चन्द्रदेव जोशी, हिराप्रसाद जोशी, पदमराज जोशी, काशी भण्डारी, दत्तराज जोशी र अम्बादत्त जोशीका घर पहिरोको उच्च जोखिममा रहेका छन् ।
जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीले स्थानीयवासीलाई समेत सतर्क रहन र सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।







पुरानो बस नचलाउन भनेका थियौँ
कति छ आज विदेशी मुद्राको
आश्विन कृष्ण औँसी : सोह्र
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल
भोटेकोशी बाढी : एक हजार
बिपी राजमार्ग अवरुद्ध