काठमाडौं । राष्ट्रिय विपत्तिका कारण यस वर्षको ‘१३औं छायाँछवि तीज म्युजिक अवार्ड’को भौतिक कार्यक्रम स्थगित गरिएको छ । देश शोकमा रहेका बेला औपचारिक मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्नु उपयुक्त नहुने भन्दै आयोजक छायाँछवि क्रिएसनले अनलाइनमार्फत अवार्डको नतिजा सार्वजनिक गरेको हो । आयोजक संस्था छायाँछविका अध्यक्ष शान्तिप्रियका अनुसार गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि नियमित रूपमा आयोजना हुँदै आएको अवार्ड समारोह तत्कालका लागि स्थगित गरिएको हो ।
परिस्थिति सहज भएपछि पुरस्कृत सर्जक तथा कलाकारलाई छुट्टै कार्यक्रम आयोजना गरी अवार्ड तथा सम्मान प्रदान गरिने कार्यक्रम संयोजक कृष्णा आचार्य रोशनीले जानकारी दिनुभयो । सार्वजनिक नतिजाअनुसार अञ्जु श्रेष्ठको ‘एक वर्षमा एक चोटी’ले सर्वोत्कृष्ट तीज गीतको अवार्ड जितेको छ । यस्तै, ‘लाली लपक्कै’बाट प्रकाश सपुत सर्वोत्कृष्ट दोहोरी तीज गीत गायक तथा निसा सुनार सर्वोत्कृष्ट दोहोरी तीज गीत गायिका घोषित हुनुभएको छ ।
अन्य विधातर्फ सरिता भारतीको ‘भिजायो फरिया बर्खैले’ सर्वोत्कृष्ट तीज गीत गायिकातर्फ पुरस्कृत भएको छ । गंगा गौतमको ‘नक्कल पार्ने बानी’ले सर्वोत्कृष्ट मौलिक तीज गीत गायिका तथा शंकर थापा ‘स्माइल’को ‘रानीहार’ले सर्वोत्कृष्ट मौलिक तीज गीत लयको अवार्ड प्राप्त गरेको छ ।
त्यसैगरी मनु पन्तको ‘जन्मेर हुर्केको घर’ले सर्वोत्कृष्ट तीज गीत लय तथा दीपक शर्माको ‘नौरति फूली’ले सर्वोत्कृष्ट तीज गीत शब्दको अवार्ड पाएका छन् । ‘लाली लपक्कै’बाट गम्भीर विष्ट सर्वोत्कृष्ट भिडियो निर्देशक घोषित हुँदा ‘माइतीघरको आँगन’बाट झरना रिसाल सर्वोत्कृष्ट मोडल महिला र ‘मेरो माया जुनीभरिलाई’बाट सुमन सागर जंग केसी सर्वोत्कृष्ट मोडल पुरुष घोषित हुनुभएको छ । सोही गीतबाट आशा कार्कीले सर्वोत्कृष्ट मोडल नवप्रतिभाको अवार्ड जित्नुभएको छ ।
‘छमछमी नाचौँ न’बाट विपिन आचार्य सर्वोत्कृष्ट एरेन्जर तथा ‘छम छम नाचीदेउ’बाट प्रकाश मिश्र सर्वोत्कृष्ट मिक्सिङतर्फ पुरस्कृत हुनुभएको छ । यस्तै, ‘ह्वीस्की फोरिन्छ’बाट रश्मी पाण्डेले सर्वोत्कृष्ट जुरी अवार्ड प्राप्त गर्नुभएको छ ।







भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज