काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले कला, संस्कृति तथा राष्ट्रिय महत्त्वका विषयवस्तुमा आधारित चलचित्रको संरक्षण, प्रवर्द्धन र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । विश्वप्रसिद्ध एकेडेमी अफ मोसन पिक्चर आर्टस् एण्ड साइन्सेज (अस्कर अवार्ड)को ९९औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गरिरहेको चलचित्र ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’को टोलीसँग बुधबार मन्त्रालयमा भएको भेटमा मन्त्री तिमिल्सिनाले कला क्षेत्रको जगेर्ना गर्नु राज्यको दायित्व भएको बताउनुभएको हो ।
भेटमा चलचित्रका निर्माता अनुप पौडेल, कलाकार एलिज घिमिरेलगायत सहभागी टोलीले नेपाली चलचित्र क्षेत्रको विकास तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रको प्रवर्धनका लागि सरकारको सहयोग र सहकार्यको अपेक्षा राखेका थिए ।
जवाफमा मन्त्री तिमिल्सिनाले समग्र चलचित्र क्षेत्रको विकास र प्रवर्धनका लागि मन्त्रालयबाट आवश्यक सहयोग उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभयो । नेपाली कला, संस्कृति तथा राष्ट्रिय महत्त्वका विषयवस्तुलाई चलचित्रमार्फत अन्तर्राष्ट्रियस्तरमा पुर्याउने प्रयासलाई सरकारले प्रोत्साहन गर्ने उहाँको भनाइ थियो ।
मन्त्री तिमिल्सिनाका अनुसार सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न सरकारले नीतिगत रूपमा काम अघि बढाइरहेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्न तीन करोड ५० लाख रुपैयाँ अनुदान विनियोजन गरिएको छ ।
उक्त बजेट कार्यान्वयनका लागि मन्त्रालयले ‘सांस्कृतिक तथा राष्ट्रिय महत्त्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रमसम्बन्धी कार्यविधि, २०८३’ निर्माणको काम अन्तिम चरणमा पुर्याएको मन्त्री तिमिल्सिनाले जानकारी दिनुभयो । कार्यविधिमार्फत सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषय समेटिएका यथार्थपरक, मौलिक र उत्कृष्ट चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने सरकारको उद्देश्य रहेको उहाँले बताउनुभयो ।
चलचित्र क्षेत्रको विकासका लागि आवश्यक नीतिगत सुधारलाई पनि सरकारले प्राथमिकतामा राखेको मन्त्री तिमिल्सिनाले बताउनुभयो । संसद्मा विचाराधीन चलचित्र विधेयकलाई बलियो र कार्यान्वयनयोग्य बनाउनेगरी काम भइरहेको उहाँको भनाइ थियो ।
चलचित्र क्षेत्रमा लामो समयदेखि अपेक्षा गरिएको नीतिगत तथा संरचनागत परिवर्तनलाई व्यवहारमै अनुभूत हुनेगरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले चलचित्र क्षेत्रको विकासका लागि राज्यको सहयोगलाई नीतिगत, कानुनी तथा आर्थिक पक्षसँग जोडेर अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
अविनाशविक्रम शाह निर्देशित ‘तिनीहरू’ यसअघि कान्स फिल्म फेष्टिभलमा समेत पुरस्कृत भएको थियो । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्राप्त उपलब्धिको सम्मान गर्दै चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डले चलचित्रलाई दुई लाख ५० हजार रुपैयाँसहित सम्मान गरेका थिए ।
निर्माता पौडेलका अनुसार अस्करको ९९औं संस्करणका लागि छनोट भएसँगै चलचित्रले अन्तर्राष्ट्रियस्तरमा नेपालको चलचित्र उद्योग, कला, संस्कृति र मौलिक कथावस्तुको प्रतिनिधित्व गर्नेछ । यसैबीच, चलचित्रको बिहीबार विशेष प्रदर्शन गर्ने तयारी गरिएको पौडेलले बताउनुभयो । विशेष प्रदर्शनमार्फत चलचित्रको विषयवस्तु, यसले उठाएका मुद्दा तथा राष्ट्रिय महत्त्वका पक्षबारे नीतिनिर्माता र सरोकारवालालाई जानकारी गराउने उद्देश्य रहेको उहाँले बताउनुभयो ।







ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न