नयाँदिल्ली । भारतले अफगानिस्तानविरुद्धको तीन खेलको टी-२० शृंखला एक खेल बाँकी छँदै २-० ले आफ्नो पक्षमा पारेको छ । दिल्लीस्थित अरुण जेटली स्टेडियममा भएको दोस्रो टी-२० खेलमा भारतले अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै यो सफलता हात पारेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । अफगानिस्तानका लागि इब्राहिम जादरानले ३७ रन, राशिद खानले २८ रन र मोहम्मद नबीले २० रनको योगदान दिनुभयो । भारतका लागि बलिङतर्फ नितिशकुमार रेड्डीले ३ विकेट लिँदा अर्शदीप सिंहले पनि २ विकेट हात पार्नुभयो ।
जवाफमा १६० रनको लक्ष्य पछ्याएको भारतले ३१ बल बाँकी छँदै ३ विकेटको क्षतिमा १६३ रन बनाउँदै लक्ष्य भेट्टायो । भारतको जितमा ओपनर सन्जु सामसनले मात्र २२ बलमा ७ चौका र ४ छक्कासहित ५७ रनको विस्फोटक अर्धशतकीय पारी खेल्नुभयो । यस्तै, अभिषेक शर्माले १९ बलमा ३९ रन बनाउनुभयो । इशान किशनले नटआउट ३८ रन बनाउनुभयो । अफगानिस्तानका लागि राशिद खानले ३ विकेट लिए पनि टोलीलाई हारबाट बचाउन सक्नुभएन ।
यो खेलसँगै भारतीय ओपनर सन्जु सामसन टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ओपनरका रूपमा एक हजार रन पूरा गर्ने पाँचौँ भारतीय ब्याटर बन्नुभएको छ । उहाँको नाममा अब एक हजार २६ रन पुगेको छ भने यस सूचीमा तीन हजार सात सय ५० रनसहित रोहित शर्मा पहिलो स्थानमा हुनुहुन्छ ।
यो जितसँगै भारतले अफगानिस्तानविरुद्ध लगातार १०औँ टी-२० म्याच जितेको छ । यो कुनै एक टोलीविरुद्ध भारतको लगातार सबैभन्दा बढी टी-२० जितको कीर्तिमान हो । यससँगै सन् २०१० देखि २०२६ को बीचमा भारतसँग लगातार १० वटा म्याच गुमाएको अफगानिस्तानले भारतविरुद्ध लगातार सबैभन्दा बढी टी-२० म्याच हार्ने टोलीको रेकर्डसमेत आफ्नो नाममा बनाएको छ । एजेन्सी







अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक
सरकारी प्रक्रियामै अल्झियो काभ्रेका बाढीपीडितको