ब्युनस आयर्स । अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरिसक्नुभएका अर्जेन्टिनाका महान् स्टार खेलाडी लियोनल मेसीलाई अर्जेन्टिनाको राष्ट्रिय टोलीमा समावेश गरिएको छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले मंगलबार घोषणा गरेको २८ सदस्यीय टोलीमा मेसीलाई पनि राखिएको हो । अर्जेन्टिनाले आगामी मैत्रीपूर्ण खेलअन्तर्गत आफ्नै भूमिमा तीनवटा खेल खेल्ने तयारी गरेको छ ।
मेसीले टोलीमा सहभागी हुने वा नहुनेबारे औपचारिक रूपमा पुष्टि गरिनसके तापनि अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडियो तापियाका अनुसार मेसीले अक्टोबर ६ मा ब्युनस आयर्समा बेनिनविरुद्ध हुने खेलका लागि निमन्त्रणा स्वीकार गर्नुभएको छ । उक्त खेललाई मेसीको अन्तर्राष्ट्रिय करिअरको बिदाइका रूपमा प्रस्तुत गरिएको छ । अध्यक्ष तापियाले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक स्कालोनीसँगको कुराकानीपछि विश्वकै उत्कृष्ट खेलाडी र कप्तान मेसीलाई अक्टोबर ६ मा पाउनुपर्ने उचित सम्मान र बिदाइ दिनका लागि निमन्त्रणा गर्ने निर्णय गरिएको बताउनुभयो । मेसीले निमन्त्रणा स्वीकार गरेपछि सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिनाका सबै खेलाडीलाई पनि परिवारसहित उक्त कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरिनेछ ।
यसअघि, अर्जेन्टिनाले मेसीको राष्ट्रिय टोलीबाट २१ वर्ष लामो यात्राको अन्त्यपछि पहिलो चरणका मैत्रीपूर्ण खेलहरूमा बोलिभिया, बुर्किना फासो र बेनिनसँग प्रतिस्पर्धा गर्ने घोषणा गरेको थियो । जसअनुसार बोलिभियाविरुद्धको घरेलु खेल सेप्टेम्बर ३० मा कोर्डोबास्थित मारियो अल्बेर्तो केम्पेस रंगशालामा हुनेछ भने बुर्किना फासो र बेनिनविरुद्धका खेलहरू अक्टोबर ३ र ६ मा ब्युनस आयर्सस्थित एस्टाडियो मोनुमेन्टलमा हुनेछन् । अक्टोबर ६ को बेनिनविरुद्धको खेल नै मेसीको सम्भावित बिदाइ खेल बन्नेछ ।
यता, कोलम्बियाका अनुभवी मिडफिल्डर जेम्स रोड्रिग्वेजले पनि मंगलबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको औपचारिक घोषणा गर्नुभएको छ । कोलम्बियाका लागि १३१ खेल खेल्दै ३१ गोल गर्नुभएका ३५ वर्षीय रोड्रिग्वेजले सामाजिक सञ्जालमार्फत् भिडियो सन्देश जारी गर्दै राष्ट्रिय टोलीको जर्सी लगाएर देशको रक्षा गर्न पाउनु जीवनकै सबैभन्दा ठूलो सम्मानमध्ये एक भएको बताउनुभएको छ ।
सन् २०११ मा कोलम्बियाको सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गर्नुभएका रोड्रिग्वेजले लामो समय टोलीको कप्तानी सम्हाल्नुका साथै तीनवटा विश्वकप र चारवटा कोपा अमेरिकामा सहभागिता जनाउनुभएको थियो । उहाँ सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा ६ गोल गर्दै ‘गोल्डेन बुट’ जितेपछि विश्व फुटबलमा चर्चामा आउनुभएको थियो । एजेन्सी







उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक