काठमाडौं । जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले समूह चरणका दुईमध्ये कम्तीमा एउटा खेल जिते क्वाटरफाइनलमा स्थान बनाउनेछ । क्वाटरफाइनलमा पुगेपछि नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्ने सम्भावना छ । एसियाली खेलकुदको पुरुष क्रिकेटमा १० टोली सहभागी हुँदैछन् । नेपालसहित अफगानिस्तान र आयोजक जापान समूह ‘ए’मा छन् । समूह ‘बी’मा हङकङ, मलेसिया र ओमान छन् । भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले भने सोझै क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
समूह चरणमा प्रत्येक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । तीन टोली रहेको समूह ‘ए’मा नेपालले दुईमध्ये एउटा खेल जिते शीर्ष दुईमा रहने निश्चित हुनेछ । नेपालले सेप्टेम्बर २५ मा अफगानिस्तान र सेप्टेम्बर २६ मा आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ । दुवै खेल जापानको निसिनस्थित क्रिकेट मैदानमा हुनेछन् ।
समूह चरणको नतिजाले क्वाटरफाइनलमा नेपालको प्रतिद्वन्द्वीसमेत निर्धारण गर्नेछ । प्रतियोगिताको खेल तालिकाअनुसार समूह ‘ए’को विजेताले श्रीलंकासँग तथा दोस्रो स्थानमा रहने टोलीले भारतसँग क्वाटरफाइनल खेल्नेछ । यसअनुसार नेपाल समूह विजेता बने श्रीलंकासँग र समूहको दोस्रो स्थानमा रहे भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
भारत सन् २०२३ मा चीनको हाङझाउमा भएको एसियाली खेलकुदको पुरुष क्रिकेटको स्वर्ण विजेता हो । अघिल्लो संस्करणको प्रदर्शनका आधारमा भारतसँगै पाकिस्तान, बंगलादेश र श्रीलंकाले यसपटक सोझै क्वाटरफाइनलमा स्थान पाएका हुन् ।
पुरुष क्रिकेट प्रतियोगिता सेप्टेम्बर २४ देखि अक्टोबर ३ सम्म सञ्चालन हुनेछ । क्वाटरफाइनलका खेल सेप्टेम्बर २८ र २९ मा, सेमिफाइनल अक्टोबर १ तथा स्वर्ण पदकका लागि फाइनल अक्टोबर ३ मा हुनेछ ।
एसियाली खेलकुदका लागि क्यानले सार्वजनिक गरेको टोलीमा दीपेन्द्रसिंह ऐरीलाई कप्तानको जिम्मेवारी दिइएको छ । त्यस्तै टोलीका अन्य खेलाडीमा कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुल्शन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललितराज राजवंशी र शेर मल्ल रहनुभएको छ । आगामी असोज ३ देखि १८ गतेसम्म जापानको आइची नायोगमा २०औँ एसियाली खेलकुद प्रतियोगिता हुँदैछ ।







अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक
नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी
बाँदरले दुःख दिएपछि सामूहिक मार्सी
सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग
कृष्णभीरको पहिरोले हेटौँडा–काठमाडाैं सडकमा सवारीको
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको