काठमाडौँ । सरकारले बाढीपहिरोबाट घरबारविहीन भएका नागरिकलाई तत्काल अस्थायी आवासको व्यवस्था गर्नेदेखि दीर्घकालीन पुनःस्थापनासम्मका काम अघि बढाएको जनाएको छ ।
बुधबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रभावित नागरिकको पुनःस्थापनाका लागि विभिन्न मन्त्रालयले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल होल्डिङ सेन्टरमा रहेका घरबारविहीन नागरिकलाई अस्थायी आवासको व्यवस्था गर्ने तयारी भइरहेको छ । घर र जग्गा पूर्ण रूपमा क्षति भएका परिवारलाई अन्यत्र स्थानान्तरण गर्न आवश्यक जग्गाको खोजीसमेत भूमि मन्त्रालयले अघि बढाएको उहाँले बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयले बाढीपहिरो प्रभावित नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिरहेको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।
अभिभावक गुमाएका बालबालिकाको जिम्मा सरकारले लिने
बाढीपहिरोका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा, आवासलगायत आवश्यक व्यवस्थापनको जिम्मेवारी सरकारले लिने मन्त्री पोखरेलले बताउनुभयो ।
नुवाकोट र रसुवाका स्थानीय तह तथा शिक्षा क्षेत्रका निकायसँग समन्वय गरी बाबुआमा दुवै वा एक जना अभिभावक गुमाएका बालबालिकाको विवरण माग गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्ता बालबालिकालाई आवासीय सुविधासहित पूर्ण छात्रवृत्ति उपलब्ध गराउने र आवश्यक व्यवस्थापनको जिम्मेवारी मन्त्रालयले लिने उहाँको भनाइ छ । महिला तथा बालबालिका मन्त्रालयले पनि अभिभावक गुमाएका महिला तथा बालबालिकाका लागि आवश्यक व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।
क्षतिग्रस्त विद्यालयमा अस्थायी सिकाइ केन्द्र
बाढीपहिरो प्रभावित क्षेत्रमा पठनपाठन नरोकियोस् भनेर क्षतिग्रस्त विद्यालयमा ‘टेम्पोररी लर्निङ सेन्टर’ सञ्चालनमा ल्याइएको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।
क्षतिग्रस्त विद्यालयको विवरण तथा आवश्यक तथ्याङ्क सङ्कलन भइरहेको र विद्यालय पुनःसञ्चालनका लागि प्रक्रिया अघि बढिसकेको उहाँले बताउनुभयो ।
तत्काल नजिकको अर्को विद्यालयमा सार्नुपर्ने विद्यार्थीलाई स्थानान्तरण गरिसकिएको र आवश्यक परे काठमाडौं ल्याएर संस्थागत विद्यालयमा स्थानान्तरण गर्ने व्यवस्थासमेत मिलाइने उहाँले जानकारी दिनुभयो ।
रिक्त राजदूत पदमा नियुक्ति प्रक्रिया अघि बढेको दाबी
मन्त्री पोखरेलले लामो समयदेखि रिक्त रहेका विभिन्न मुलुकका राजदूत पदमा नियुक्ति गर्नुपर्ने आवश्यकता सरकारले महसुस गरेको बताउनुभयो ।
परराष्ट्र मन्त्रालयबाट सम्बन्धित प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै उहाँले राजदूत नियुक्तिको काम ‘चाँडोभन्दा चाँडो टुंगिने’ बताउनुभयो ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न