काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानका राजदूत मेइदा तोरुले शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्री शाहले नेपालका बाढीपहिरो प्रभावितप्रति जापानका समकक्षी सानाए ताकाइची र परराष्ट्रमन्त्री तोशिमित्सु मोतेगीले व्यक्त गर्नुभएको सद्भाव, ऐक्यबद्धता, सहानुभूति तथा समवेदनाप्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री शाहले जापान सरकारले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत उपलब्ध गराएको राहत सामग्री तथा अनुदान सहयोगका लागि समेत धन्यवाद दिनुभयो ।
जापान नेपालको महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उहाँले विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापनामा समेत जापानबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
भेटमा राजदूत तोरुले जापान सरकारले नेपाललाई विपद् प्रभावितको पुनःस्थापना तथा पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल बाढी तथा अन्य प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै राजदूत तोरुले विपद्का कारण र त्यसबाट हुने क्षतिबारे थप वैज्ञानिक अध्ययन तथा अनुसन्धान आवश्यक रहेको बताउनुभयो ।
उहाँले नेपाल–जापानबीच लामो समयदेखि कायम आपसी सम्बन्धका विविध आयामबारे धारणा राख्दै पूर्वाधार विकास, प्रविधि हस्तान्तरण तथा शिक्षा क्षेत्रको सुधारलगायत विषयमा सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
जापान लामो समयदेखि नेपालको विकास साझेदारका रूपमा रहँदै आएको छ ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न