काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा नियमावली, २०८३ का दुई विवादित प्रावधान तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
नेपाली काँग्रेसका सांसदहरूले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित पाँच सदस्यीय संवैधानिक इजलासले बुधबार यस्तो आदेश दिएको हो । इजलासमा न्यायाधीशहरू कुमार रेग्मी, डा. नहकुल सुवेदी, विनोद शर्मा र शारङ्गा सुवेदीसमेत हुनुहुन्छ ।
सर्वोच्चले नियमावलीको नियम १४० को उपनियम (११) र नियम २५९ तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।
नियम १४०(११) संविधान संशोधनको प्रक्रियासँग सम्बन्धित छ । उक्त व्यवस्थामा प्रतिनिधिसभा र राष्ट्रियसभाको मत जोडेर संविधान संशोधनका लागि आवश्यक दुईतिहाइ बहुमत पुग्ने व्यवस्था गरिएको थियो । रिट निवेदकहरूले संविधानले प्रत्येक सदनमा छुट्टाछुट्टै दुईतिहाइ बहुमत आवश्यक हुने व्यवस्था गरेको भन्दै उक्त प्रावधान संविधानविपरीत रहेको दाबी गरेका थिए ।
त्यस्तै, नियम २५९ मा प्रतिनिधिसभा नियमावलीलाई विशेष कानुनसरह लागू हुने व्यवस्था गरिएको थियो । उक्त प्रावधानअनुसार प्रचलित कानुनमा जुनसुकै व्यवस्था भए पनि प्रतिनिधिसभा नियमावलीमा उल्लिखित विषय नै सांसदका हकमा लागू हुने भनिएको थियो ।
रिट निवेदकहरूले नियम २५९ ले संविधानले नदिएको अधिकार प्रयोग गर्दै सारवान् कानुनी व्यवस्था गरेको दाबी गरेका थिए ।
संवैधानिक इजलासले प्रारम्भिक रूपमा हेर्दा नियमावलीका ती व्यवस्था संवैधानिक प्रबन्धको प्रतिकूल रहेको देखिएको भन्दै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । ती व्यवस्था कार्यान्वयनमा आए संवैधानिक प्रावधानमा अपूरणीय क्षति पुग्न सक्ने इजलासको आदेशमा उल्लेख छ ।
प्रतिनिधिसभा नियमावली, २०८३ गत जेठ १७ गते प्रतिनिधिसभाबाट पारित भएको थियो । नियमावलीका केही प्रावधानप्रति विपक्षी दलहरूले पारित हुनुअघि नै प्रश्न उठाउँदै आएका थिए । प्रतिनिधिसभाको आधिकारिक अभिलेखमा पनि नियमावली, २०८३ प्रकाशित रहेको छ।
नियमावलीका विवादित प्रावधानविरुद्ध नेपाली काँग्रेसका राष्ट्रियसभा संसदीय दलकी नेता कमला देवी पन्त, सचेतक पदमबहादुर परियार, प्रतिनिधिसभा संसदीय दलका उपनेता अभिषेकप्रताप शाह र प्रमुख सचेतक बासना थापाले रिट दायर गरेका थिए । उनीहरूका तर्फबाट अधिवक्ता अमृतकुमार केसीले प्रतिनिधित्व गर्नुभएको थियो ।







बाँदरले दुःख दिएपछि सामूहिक मार्सी
सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग
कृष्णभीरको पहिरोले हेटौँडा–काठमाडाैं सडकमा सवारीको
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको
५३ हजार बढी ग्यास सिलिन्डर
तरकारीको विषादी परीक्षण बढाइँदै