पुरुष शरीरमा अदृश्य रूपमा रहेको, एउटा महत्त्वपूर्ण ग्रन्थी हो ‘प्रोष्टेट’ । महत्त्वपूर्ण भए पनि यो अंग खासै वास्ताको विषय हुन्न । पिसाबको थैलीमुनि ओखरजत्रो भएर रहेको ग्रन्थीको नाम हो ‘प्रोष्टेट’ । यसले वीर्यको तरल पदार्थ बनाउने कार्य गरेर प्रजनन्मा ठूलो भूमिका खेल्दछ । अर्को थाहा पाउनुपर्ने महत्त्वपूर्ण कुरा हो यो ग्रन्थीको बीचबाट मूत्रनलीको सुरुको भाग मूत्रथैलीको घाँटीबाट उत्पन्न भएर रहेको हुन्छ । प्रायः ४० वर्षपछि धेरै पुरुषमा यो अंग बढ्ने हुन्छ । यस्तो सामान्य वृद्धिको अर्थ क्यान्सर भन्ने होइन । ग्रन्थीको वृद्धि नभए पनि लचकतामा कमी भएका खण्डमा बीचमा रहेको मूत्रनलीले पिसाबको वेग र धारामा असर पार्न सक्छ ।
प्रोष्टेट क्यान्सर पुरुषमा देखिने एउटा अर्वुद रोग हो । यद्यपि नेपालमा पेट, फोक्सो र आन्द्राका क्यान्सर बढी देखा पर्दछन् । विश्वका विकसित थुप्रै देशमा भने प्रोष्टेट क्यान्सर निकै देखापर्ने रोग हो । नेपालमा पनि अहिले प्रोष्टेट क्यान्सरका बिरामीहरूको संख्या निकै वृद्धि भएको महसुस हुँदैछ । धेरै अर्वुद रोग जस्तै प्रोष्टेट क्यान्सर सुरुको अवस्थमा निदान गर्न त्यति सजिलो हुँदैन । यो लेख प्रमुखतः प्रोष्टेट क्यान्सर सचेतना बढाउन तथा फैलाउन लेखिँदैछ । विश्वका थुप्रै देशमा सेप्टेम्बर महिना प्रोष्टेट क्यान्सर सचेतना फैलाउन मनाइन्छ । यद्यपि सचेतना एकदिन वा महिना फैलाएर हुने कुरो हुँदै होइन । तर, बुझ्नुपर्छ कि सचेतनाले डर घटाउँछ र परीक्षणले समय किन्न सक्छ ।
प्रोष्टेटको गर्भमा क्यान्सर हुर्कनु भनेको पुरुषको स्वास्थ्यमा मौन आक्रमण हो । प्रोष्टेट ग्रन्थीका हजारौं कोषिका क्यान्सरमा परिणत हुँदा पनि ती मूत्रनलीमा दबाब पार्दैनन् । त्यस्तै ती ग्रन्थीको खोल क्यान्सरबाट बाहिर पनि प्रायः फैलिने गर्दैनन् । त्यसैले पिसाबमा देखिने लक्षण तथा सम्पूर्ण शरीरमा पर्ने लक्षण जस्तै हड्डी दुख्ने, दुब्लाउने, कमजोरी महसुस हुने, रक्तअल्पता, क्याल्सियमको कमी इत्यादि केही हुँदैनन् । यस्ता लक्षण प्रायः विभिन्न अंगमा प्रोष्टेट क्यान्सर फैलिएपछि मात्र देखा पर्दछन् ।
१. प्रोष्टेट र यसको क्रिया :
पुरुषमा मात्र हुने प्रोष्टेट ग्रन्थी प्रजनन्मा महत्त्वपूर्ण भूमिका खेल्ने अंग हो । सामान्यतया दशदेखि पच्चीस ग्रामको भए पनि यो शरीरका लागि महत्त्वपूर्ण छ । यो ग्रन्थीले वीर्यको ३० प्रतिशत जति तरल पदार्थको हिस्सा बनाउँछ र शुक्रकिटलाई पौडिन सहज पार्ने तथा पोषण उपलब्ध गराउँछ । प्रोष्टेट ग्रन्थी मूत्रनलीको सुरुको भागको चारैतिर घेरेर रहने भएकाले जुनसुकै कारणले (संक्रमण, सामान्य ग्रन्थीको वृद्धि (बिपिएच वा क्यान्सर) यो ठूलो भए पनि पिसाबको धारा तथा वेगमा असर पार्न सक्छ । कुनै मानिसको ग्रन्थी सुकेर सानो भए त्यसको लचकता प्रायः कम हुन्छ र मूत्रनलीलाई साँघुरो पारेर मूत्र वेग कम गर्न सक्छ ।
प्रोष्टेटको बाहिरी भागलाई झुट्टा खोल भन्ने गरिन्छ र त्यसको लचकता न्यून हुने भएकाले नै ग्रन्थीको वृद्धि मूत्रनलीको भित्रतिर फैलिन्छ । यही कारणले पिसाब फेर्न गाह्रो गराउँछ । प्रोष्टेट ग्रन्थीको मूत्रनलीतिर भएको, प्रायः २० प्रतिशत ओगट्ने भागभन्दा बाहिरी भाग, जसले ७० प्रतिशतसम्म स्थान लिन्छ, त्यहाँ क्यान्सर रोग बढीमात्रामा हुने गर्दछ । प्रोष्टेट वृद्धि र प्रोष्टेट क्यान्सर भिन्न व्याधि हुन् भन्ने कुरो प्रष्टसँग बुझ्न जरूरी छ । यो लेखमा प्रोष्टेट क्यान्सरलाई केन्द्रमा राखेर सबै बेलिविस्तार गरिनेछ ।
२) प्रोष्टेट क्यान्सर के हो र के होइन ?
प्रोष्टेट ग्रन्थीमा भएका कोषहरू अनियन्त्रित रूपमा बढ्ने प्रक्रियाबाट क्यान्सरको सुरुवात हुन्छ । सबै प्रोष्टेट क्यान्सर उत्तिकै छिटो बढ्ने र उत्तिकै फैलिन सक्ने शक्ति–क्षमताका हुँदैनन् । बिपिएच तथा प्रोष्टेटको संक्रमणमा ग्रन्थी ठूलो हुन सक्ने भए पनि त्यो भने क्यान्सर वा अर्वुद रोग होइन । परन्तु यी दुवै अवस्था र प्रोष्टेट क्यान्सरमा पनि केही हदसम्म सबै व्याधिका लक्षण समान देखिन सक्छन् । पिसाबको वेग कम हुनु, धारा लुलो वा कमजोर हुनु, पिसाब फेर्न गएपछि केहीबेर कुरेरमात्र शौच हुनुले यकिन कुन रोगले यसो भएको हो भन्न मिल्दैन । त्यसका निम्ति विभिन्न अनुसन्धान तथा परीक्षण हुनु अनिवार्य हुन्छ ।
पिसाबमा रगत देखापर्नु वा वीर्यमा रगत देखा पर्नुलाई पनि प्रोष्टेट क्यान्सरकै मात्र लक्षण भनेर लिन मिल्दैन । एकै प्रकारका लक्षण यी तीनै प्रोष्टेट ग्रन्थीका रोगमा देखा पर्न सक्ने हुँदा कुन रोगसँग ती लक्षण संलग्न छन् त्यो छुट्याउन विशेषज्ञलाई देखाएर परीक्षण गर्नु{ प्रोष्टेटको क्यान्सर छैन भनी यकिन हुन अनिवार्य हुन्छ । प्रोष्टेट क्यान्सरको निदानमा चिकित्सकलाई खुद बिरामी र उसको परिवारले विभिन्न प्रश्नका वास्तविक सूचना उपलब्ध गराएर सघाउनु नितान्त आवश्यक हुन्छ ।
३) को बढी जोखिममा हुन्छ ?
प्रोष्टेट क्यान्सरका निम्ति सबैभन्दा ठूलो जोखिम नै उमेर हो । पचास वर्षपछिको उमेर जोखिमको हिसाबले मानो एभरेष्ट टुप्पोमा पुग्न सय वर्षसम्म निरन्तर उकालो चढ्छ । सामान्यतः प्रोष्टेट क्यान्सर निदान ६५ वर्षमाथि हुन्छ । परन्तु नगिचका नातेदारमा यस्तो क्यान्सर भएमा ४० वा कम उमेरमा पनि यो रोग विद्यमान हुन सक्छ । बाबु तथा दाजुभाइमा प्रोष्टेट क्यान्सर भए यो रोगको जोखिम दोब्बरसम्म हुन सक्छ । त्यसैले ४० वर्षमाथिका सबै छोरा वा दाजुभाइमा प्रोष्टेट क्यन्सर रोग निदान गर्न स्क्रिनिङ गर्नु सुरक्षित हुन्छ । यौन गतिविधिले प्रोष्टेट क्यान्सरको जोखिम बढाउँदैन भन्ने वैज्ञानिकहरूको मान्यता छ । सबैले बुझ्नुपर्ने मुख्य सन्देश यो हो कि उमेर र परिवारको इतिहास कसैले नियन्त्रण गर्न सक्दैन । परन्तु स्क्रिनिङ, परीक्षण र जीवनशैली भने प्रत्येकले आफैं रोज्न सक्छ ।
४. प्रोष्टेट क्यान्सर निदान किन गाह्रो ?
प्रोष्टेटको गर्भमा क्यान्सर हुर्कनु भनेको पुरुषको स्वास्थ्यमा मौन आक्रमण हो । प्रोष्टेट ग्रन्थीका हजारौं कोषिका क्यान्सरमा परिणत हुँदा पनि ती मूत्रनलीमा दबाब पार्दैनन् । त्यस्तै ती ग्रन्थीको खोल क्यान्सरबाट बाहिर पनि प्रायः फैलिने गर्दैनन् । त्यसैले पिसाबमा देखिने लक्षण तथा सम्पूर्ण शरीरमा पर्ने लक्षण जस्तै हड्डी दुख्ने, दुब्लाउने, कमजोरी महसुस हुने, रक्तअल्पता, क्याल्सियमको कमी इत्यादि केही हुँदैनन् । यस्ता लक्षण प्रायः विभिन्न अंगमा प्रोष्टेट क्यान्सर फैलिएपछि मात्र देखा पर्दछन् ।
यौन दुर्बलता, वीर्यमा रगत देखा पर्नु, स्खलन पीडादायी हुनु तथा लिंग उत्तेजनामा ह्रास आउनु प्रायः रोग विस्तार भएपछि मात्र प्रदर्शित हुन्छन् । यो बुझ्न नितान्त आवश्यक छ कि मूत्रलक्षण वा शरीरले देखाउने लक्षण तथा रक्तपरीक्षणमा देखिने उच्चस्तरको पिएसए प्रोष्टेट क्यान्सरमा मात्र देखा पर्ने हुन्छन् भन्ने छँदै छैन । प्रोष्टेट तन्तु जाँच वा बायोप्सीमा क्यान्सरका कोषिका देखा परेपछि मात्र यो रोगको निदान मान्न सकिन्छ । फलानो लक्षण देखा परे वा यस्तो भएमात्र परीक्षण गराउँला भनेर पर्खेर प्रोष्टेट क्यान्सरको पूर्ण निदान गराउन सकिन्न ।
५. प्रोष्टेट परीक्षण किन र कहिले ?
प्रोष्टेट क्यान्सर स्क्रिनिङ-छानबिन, खोतल्नु भनेको लक्षण नहुँदै रोग सूक्ष्म अवस्थामै खोज्ने प्रक्रिया हो । यो सुरुमा प्रायः रक्तपरीक्षणमा पिएसए र मलद्वारबाट औंलाले गरिने प्रोष्टेटको जाँचबाट प्रारम्भ गरिन्छ । मेरो ५० वर्ष बढीको अनुभवले भन्छ औंलाको प्रोष्टेट परीक्षण खासै कोही रुचाउँदैनन् । परन्तु यो बिरामी तथा चिकित्सक दुवैका निम्ति बाध्यता हो । प्रोष्टेट क्यान्सर स्क्रिनिङबारे नेपालमा कुनै नियम बनाइएको छैन । सामान्यतया पचास कटेका पुरुषलाई प्रोष्टेट क्यान्सर स्क्रिनिङ उपयुक्त हुन्छ । परन्तु बाबु, दाजुभाइमा यो रोग हुने परिवारका पुरुषले ४० वर्षपछि यो प्रक्रिया अपनाउनु उपयुक्त हुन्छ ।
के स्क्रिनिङपछि प्रोष्टेट क्यान्सर छैन भनेर सधैं ढुक्क हुन सकिन्छ ? वा स्क्रिनिङ गर्दा यी दुवै मानकमा प्रोष्टेट क्यान्सर शंका भए त्यो क्यान्सर भएको ठोकुवा हो त ? क्यान्सर छैन भनी ढुक्क हुन धेरै परीक्षणहरू गर्नुपर्ने हुन्छ र त्यो प्रक्रियाले बिरामी, चिकित्सक र नातेदारलाई समेत द्विविधामा केही समय राखेर दोधारको अवस्थामा झुलाउन सक्छ । त्यसैले मैले मेरो पुस्तक ‘डाक्टरको द्विविधा’मा यो व्याधिलाई पनि समावेश गरेको छु उदाहरण दिएर ।
पिएसए बढ्नुका विभिन्न कारण हुन्छन् । त्यसैले एकपल्ट त्यसको परिणाम चार नानो ग्राम/मिलिलिटरभन्दा उच्च अंक नम्बर आउँदैमा त्रासमा डुब्नुपर्ने हुँदैन । चिकित्सकले त्यो उच्च अंकको पूर्ण लेखाजोखा गर्छन् । स्क्रिनिङ गर्दा सुरु भइसकेको प्रोष्टेट क्यान्सर भेटिन पनि सक्छ तर त्यसलाई निकै ढिला बढ्ने क्यान्सर हो वा आक्रमक त्यसको विस्तृत परीक्षणले छुट्याउनुपर्ने हुन्छ ।
६. प्रोष्टेट क्यान्सर निदान कसरी हुन्छ ?
पिएसए उच्च आए वा औंला परीक्षणमा कडा ग्रन्थी फेला परे थप परीक्षण गर्नुपर्छ । प्रायः मल्टिपारामेट्रिक एमआरआईले शंकास्पद स्थान देखाउँछ । परन्तु क्यान्सर निदान तन्तु परीक्षण, बायोप्सीले मात्र गर्न सक्छ । तन्तु जाँचका आधारमा क्यान्सर कति आक्रामक छ भन्ने अनुमान गर्न सकिन्छ । व्याधि नजिकैका तन्तु तथा हड्डीमा फैलिएको बोन स्क्यान तथा इमेजिङबाट पत्ता लगाइन्छ । यी सबै जानकारीले उपयुक्त उपचार राजमार्ग पहिल्याउँछ ।
फेरि एकपल्ट दोहोर्याउँदा बढी नहोला । बायोप्सी, तन्तु जाँच प्रोष्टेट क्यान्सर निदानको एकमात्र कसी हो । परन्तु पिएसए, एमआरआई, बोनस्कान इत्यादिको पनि यो व्याधि निदान तथा उपचारमा महत्त्वपूर्ण स्थान छ । यी परीक्षणले सही क्यान्सर निदानमा पुग्न गोरेटोको भूमिका खेल्दछन् तथा उपचारपछि पनि फाइदाको मापन लेखाजोखा गर्दछन् ।
७. प्रोष्टेट क्यान्सर उपचार कसरी हुन्छ ?
के प्रोष्टेट क्यान्सरको निदान हुनु भनेको शल्यक्रिया नै हो त ? निदान भन्नु शल्यक्रियामात्र भन्ने हुँदै होइन । उपचार व्याधिको चरण, आक्रामकता, पिएसए स्तर, उमेर र समग्र स्वास्थ्यमा भर पर्छ । ग्रन्थीभित्र सीमित र कम जोखिमको क्यान्सरमा सक्रिय निगरानी अपनाउन सकिन्छ । त्यसका निम्ति आवश्यकता अनुरूप नियमित पिएसए परीक्षण र दोहोर्याएर बायोप्सीबाट निगरानी गरिन्छ । रोग वृद्धि भएको प्रमाण पाइएपछि उपचारमा संलग्न गराइन्छ ।
ग्रन्थीभित्र सीमित क्यान्सरमा प्रोष्टेट पूर्णरूपमा र नजिकका केही अरू अंग पनि शल्य-तरिकाले निकालिन्छ । परन्तु ग्रन्थी केन्द्रित रोगमा विकिरणले पनि उपचार गर्न सकिन्छ । ग्रन्थीबाट बाहिर फैलिएको क्यान्सरमा प्रमुखतः पुरुष हर्मोन टेष्टो स्टेरोन घटाउन औषधोपचार वा शुक्राशयमा शल्यक्रिया गरिन्छ । मूत्रवेग ज्यादै कमजोर भएमा प्रोष्टेटको पनि शल्यक्रिया गरिन्छ । यी उपायले हड्डीमा फैलिएको रोग पनि वृद्धि हुनबाट रोक्छ ।
ग्रन्थीभित्र सीमित क्यान्सरमा प्रोष्टेट पूर्णरूपमा र नजिकका केही अरू अंग पनि शल्य-तरिकाले निकालिन्छ । परन्तु ग्रन्थी केन्द्रित रोगमा विकिरणले पनि उपचार गर्न सकिन्छ । ग्रन्थीबाट बाहिर फैलिएको क्यान्सरमा प्रमुखतः पुरुष हर्मोन टेष्टो स्टेरोन घटाउन औषधोपचार वा शुक्राशयमा शल्यक्रिया गरिन्छ । मूत्र वेग ज्यादै कमजोर भएमा प्रोष्टेटको पनि शल्यक्रिया गरिन्छ । यी उपायले हड्डीमा फैलिएको रोग वृद्धि हुनबाट रोक्छ । पछिल्लो समयमा अरू रसायन उपचार, लक्षित औषधि र दुखाइको व्यवस्थापन विकिरणबाट हुन सक्छ । सबै उपचार विधिका आ-आफ्ना साइड इफेक्ट हुन्छन् । परन्तु उपचारले ग्रन्थीकेन्द्रित रोगबाहेक फैलिएका रोग पूर्णमात्रामा निको हुँदैनन्, उन्मूलन गर्न सकिने कुरै भएन । उल्टै ती केही समयका लागि सूक्ष्म अवस्थामा पुगेर पुनः सक्रिय हुन उपयुक्त वातावरण ढुकी बसेका हुन्छन् ।
८. प्रोष्टेट क्यान्सर रोगथाम कसरी ?
प्रोष्टेट क्यान्सर उन्मूलन गर्न सकिने व्याधि होइन । परन्तु केही जीवनशैलीको परिवर्तनले यो रोगको जोखिम घटाउन र स्वास्थ्यमा सुधार भने ल्याउन सकिन्छ । शरीरको तौल नियन्त्रण, मधुमेहको उपयुक्त उपचार, पोषणमा फलफूल, सागसब्जी र पूरा अन्नको मात्रामा वृद्धिले स्वस्थ रहन बढी सहयोग पुग्छ । फलस्वरूप मानिसको औषत उमेरमा विश्वमा जस्तै नेपालमा वृद्धि भइरहेको छ । उमेर र वंशाणुको कारणले जो प्रोष्टेट क्यान्सरका मुख्य जोखिम हुन्, घट्ने छैन बरू बढ्दै जानेछ । त्यसैले समयमै प्रोष्टेट क्यान्सर स्क्रिनिङ गरेर, यो रोग सुरु भएर ग्रन्थी सीमित अवस्थामा निदान गरेर यसबाट मुक्त हुन सकिन्छ । ५० नाघेका पुरुषले प्रोष्टेट क्यान्सर स्क्रिनिङ गरेर यो रोग छैन भन्नेमा यकिन हुन उपयुक्त हुन्छ ।
९. के नेपालमा प्रोष्टेट क्यान्सरको उपचार हुन सक्छ ?
हामी आफ्नै देशमा प्रोष्टेट क्यान्सरको उपचार गर्न सक्षम छौं । कुन स्तरको प्रोष्टेट क्यान्सर उपचार, सरकारी अस्पतालबाट सरकारले उपलब्ध गराउने निर्णय लिन सक्छ । त्यसको लेखाजोखा गरेर प्रदान गर्छु भनेको सेवा पूरा गर्न सक्छ । आमजनताले देशमा उपलब्ध सबै उपचार पछिल्लो वैज्ञानिक नियम अनुरूप प्राप्त हुन्छ भन्नेमा ढुक्क हुन सक्छन् ।
के देशभरि रोबोटिक सर्जरीबाट सबैको प्रोष्टेट निकाल्नै पर्छ ? अरू तरिकाले त्यही ग्रन्थी निकाल्दा के त्यो उपचार होइन ? के सबैभन्दा महँगो रासायनिक औषधि नै उपलब्ध गराउनुपर्ने ? नेपालका सरकारी अस्पताल जहाँ यी रोगको उपचार गरिन्छ, ती नागरिकको पहुँच बाहिरका छन् भन्ने लाग्दैन ।
आशा राखौं हाम्रा खास गरेर बाजे स्तरका पुरुषले आफ्नै देशमा उपलब्ध सुविधाले यो व्याधिबाट मुक्त भएर वा सक्दो गुणस्तरीय जीवन जिउन सक्नेछन् । ती जसको प्रोष्टेट क्यान्सर ग्रन्थीकेन्द्रित छैन तिनीहरू पनि देशमा उपलब्ध उपचारबाट बढी गुणस्तरीय जीवनयात्रा पूरा गर्न सक्नेछन् । ती व्यक्ति जो प्रशस्तमात्रामा खर्च गरेर देशमै रोबोटिक सर्जरी र महँगा रासायनिक उपचार गराउन सक्छन् तिनीहरूलाई पनि साधन सम्पन्न तरिकाले निजी क्लिनिकमा उपचार उपलब्ध छन् । हाम्रा क्यान्सर अस्पतालहरू काठमाडौं र प्रान्तका निकै अनुभवी तथा दक्ष चिकित्सकबाट सञ्चालित छन् ।







क्यासिनोमा नेपाली प्रवेश गराई जुवा
पहिरोको जोखिम मोलेर बजारसम्म कृषि
बाढीपछि रसुवामा हैजाविरुद्ध २१ हजार
कृष्णभीरमा खोलिएको ‘ट्रयाक’ लाई फराकिलो
खेतमा पानी तान्ने क्रममा करेन्ट
वर्षासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम