काठमाडौं । नेपाल साइन्स ओलम्पियाड (नेसो), नेपाल-रुसिया साइन्स एण्ड टेक्नोलोजी सोसाइटी, सेवा नेपाल, त्रिमूर्ति एकेडेमी, एआइडिआईए (AIDIA) र सर्भिस फर पिसलगायत संस्थाको संयुक्त आयोजनामा १४औँ राष्ट्रिय विज्ञान दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

काठमाडौंको कमलपोखरीस्थित रसियन हाउसमा आयोजित कार्यक्रममा विद्यालयस्तरीय विज्ञान प्रदर्शनी तथा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (STEAM) मा महिलाको सहभागितासम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति प्रा. डा. जनार्दन लामिछाने, नास्टका पूर्व उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाह, रसियन हाउसकी निर्देशक अनास्तासिया कोक्लोभा, नेसोका अध्यक्ष केशवराज लम्साल, सेवा नेपालकी अध्यक्ष कल्याणी शाहलगायत आयोजक संस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी, वैज्ञानिक तथा विभिन्न सङ्घसंस्था र विज्ञानमा चासो राख्ने व्यक्तिको उपस्थिति थियो ।

‘Get inspired, learn and connect’ नारासहित आयोजित पहिलो सत्रको अन्तरविद्यालय विज्ञान प्रदर्शनीमा काठमाडौं, भक्तपुर र ललितपुरका १५ विद्यालयका विद्यार्थीले विभिन्न वैज्ञानिक परियोजना तथा नमुना प्रस्तुत गरेका थिए ।
प्रस्तुत परियोजनालाई विद्यार्थीको वैज्ञानिक ज्ञान तथा बुझाइ, सिर्जनात्मकता र मौलिकता, कार्यविधि तथा अनुसन्धान प्रक्रिया, व्यावहारिक प्रयोग र सान्दर्भिकता, प्रस्तुतीकरण तथा सञ्चार र दृश्य प्रदर्शन तथा नमुनाको गुणस्तरलगायत आधारमा मूल्याङ्कन गरिएको थियो ।

मूल्याङ्कनमा भक्तपुरको मध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतन पहिलो, काठमाडौंको युनिग्लोब स्कुल दोस्रो र काठमाडौंकै भ्याली भ्यू स्कुल तेस्रो भएका थिए ।
प्रदर्शनीसँगै क्याथफोर्ड कलेजका प्रधानाध्यापक डा. सुनिल पोख्रेलले ‘नेपालमा विद्यालय विज्ञान शिक्षा पुनर्विचार’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा ‘STEAM मा महिला’ विषयक अन्तरक्रिया आयोजना गरिएको थियो। सेन्टर फर न्याचुरल एन्ड एप्लाइड साइन्सकी निर्देशक डा. बबिता पौडेलले विद्यालयदेखि विश्वविद्यालयसम्मको STEAM शिक्षामा रहेको लैङ्गिक खाडलका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
त्यस्तै, काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्सकी अनुसन्धान निर्देशक डा. हेमु खरेल काफ्लेले नेपालका महिला वैज्ञानिक तथा आविष्कारकको अवस्थाबारे र नास्टकी वरिष्ठ वैज्ञानिक अधिकृत डा. दीपा धितालले STEAM क्षेत्रमा महिलाका लागि आवश्यक नीतिगत तथा संस्थागत सहयोगका विषयमा प्रस्तुति दिनुभयो ।

कार्यक्रममा नास्टका उपकुलपति प्रा. डा. जनार्दन लामिछानेले अन्तरविद्यालय विज्ञान प्रदर्शनीले विद्यार्थीलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनका विषयमा सिक्ने र ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गरेको बताउनुभयो ।
नास्टका पूर्व उपकुलपति तथा नास्टअन्तर्गत महिला वैज्ञानिक मञ्च नेपालका संस्थापक सदस्यमध्येका एक डा. सुनिलबाबु श्रेष्ठले STEAM क्षेत्रमा महिलाको आकर्षण बढाउन राज्यले विभिन्न तहमा व्यवस्था गरे पनि महिलाले आफैं अवसर खोज्दै आफ्नो अधिकारका लागि अघि बढ्नुपर्ने बताउनुभयो ।

काठमाडौंस्थित रसियन कल्चर सेन्टरकी निर्देशक अनास्तासिया कोक्लोभाले विज्ञान तथा प्रविधिको महत्त्वबारे चर्चा गर्दै विज्ञान प्रदर्शनीले विद्यार्थीको सिर्जना, सीप, कला, क्षमता र रुचि उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सोही अवसरमा विज्ञान तथा प्रविधिको क्षेत्रमा उदाउँदै गरेकी युवा महिला रुविता मगरलाई अन्तरिक्ष विज्ञानअन्तर्गत उनको ‘म्याक२४ अर्बिटल्स’ स्टार्टअपका लागि विशेष सम्मान गरिएको थियो ।
नेपालमा हरेक वर्ष असोज १ गते विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय विज्ञान दिवस मनाउने गरिएको छ ।






कृष्णभीरमा खोलिएको ‘ट्रयाक’ लाई फराकिलो
खेतमा पानी तान्ने क्रममा करेन्ट
वर्षासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम
भोटेकोशी बाढी : शिक्षण अस्पतालमा
पाल्पाको लोपउन्मुख लाखे संस्कृति जोगाउँदै
कृष्णभीरमा खोलिएको ट्र्याक फराकिलो बनाइँदै,