काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनमा सक्रिय हुथी विद्रोहीविरुद्ध गर्न लागिएको अमेरिकी हवाई आक्रमण अन्तिम समयमा रोक्न आदेश दिएको दाबी सार्वजनिक भएको छ । यसबीच हुथीहरूले यमनका रणनीतिक पहाडी क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार गर्ने प्रयास तीव्र पारेका छन् ।
‘द न्युयोर्क टाइम्स’को रिपोर्टअनुसार साउदी युवराज मोहम्मद बिन सलमानको आग्रहपछि ट्रम्प प्रशासनले आइतबार हुथीविरुद्ध सैन्य कारबाहीको तयारी गरेको थियो । अमेरिकी सैनिकहरूले विमानमा बमसमेत लोड गरिसकेको अवस्थामा ट्रम्पले आक्रमण रोक्न निर्देशन दिएको रिपोर्टमा उल्लेख छ ।
यद्यपि, उक्त दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन । अमेरिकी सेनाको सेन्ट्रल कमान्डले यस विषयमा सोधिएको प्रश्न ह्वाइट हाउसतर्फ पठाएको छ भने ह्वाइट हाउसले तत्काल प्रतिक्रिया दिएको छैन ।
यसैबीच यमनको साउदी समर्थित सरकारका राष्ट्रपति रशिद अल–अलिमीले ट्रम्पसँग टेलिफोनमार्फत कुराकानी गरी सैन्य सहयोग मागेको चार स्रोतले रोयटर्सलाई बताएका छन् । स्रोतहरूका अनुसार ट्रम्पले प्रत्यक्ष सैन्य सहयोगको प्रतिबद्धता भने जनाएका थिएनन् ।
रणनीतिक पहाडी क्षेत्रतर्फ हुथीको नजर
यमनमा सन् २०१४ देखि राजधानी साना नियन्त्रणमा राख्दै आएको हुथी समूहले पछिल्लो समय लाल सागर आसपासका क्षेत्रमा पनि आफ्नो प्रभाव विस्तार गरेको छ। साउदी समर्थित सरकारी सेनालाई पछि हटाउँदै हुथीहरूले आफ्नो नियन्त्रण बढाएपछि द्वन्द्व थप चर्किएको हो ।
पछिल्लो समय हुथीहरूले ताइज र लहिज प्रान्तमा पर्ने कहबुब पर्वत क्षेत्र कब्जा गर्ने प्रयास गरिरहेको यमनी सेनाका स्रोतहरूले बताएका छन्। यो क्षेत्र रणनीतिक रूपमा महत्वपूर्ण मानिन्छ ।
विशेषगरी लाल सागरको मुखमा रहेको बाब अल–मन्देब आसपासको भूभागमाथि नियन्त्रण कायम गर्न सकिएमा हुथीहरूले आफूले कब्जा गरेको तटीय क्षेत्रलाई यमन सरकारको नियन्त्रणमा रहेका दक्षिणी भूभागबाट अलग गर्न सक्ने अवस्था बन्न सक्छ ।
यस क्षेत्रमा ताइजको अल–वाजियाह पहाडी क्षेत्र र रास अल–आरा आसपास भीषण लडाइँ भइरहेको स्रोतहरूले बताएका छन् ।
यमनी राजनीतिक विश्लेषक तथा पत्रकार मोहम्मद अल–काधीका अनुसार बाब अल–मन्देब आसपासको क्षेत्र गुमेपछि सरकारी सेना अहिले मुख्यतः रक्षात्मक अवस्थामा पुगेको छ। हुथीहरू भने निरन्तर हवाई आक्रमणको सामना गरिरहे पनि आफ्नो सैन्य अग्रता कायम राख्ने प्रयासमा छन् ।
करिब ७०० जनाको मृत्यु
संयुक्त राष्ट्रसंघका अनुसार पछिल्लो चरणको संघर्षमा करिब ७०० जनाको मृत्यु भइसकेको छ भने हजारौँ घाइते भएका छन् । करिब १ लाख ३० हजार यमनी देशभित्रै विस्थापित भएको र ३ हजारभन्दा बढी मानिस लाल सागर पार गरेर अफ्रिका पुगेको बताइएको छ ।
हुथीहरूले साउदी अरबले आफ्ना सैन्य अखडालाई लक्षित गरी पछिल्ला दिनमा सयौँ हवाई आक्रमण गरेको आरोप लगाएका छन् ।
यसैबीच शनिबार पहिलोपटक साउदी राजधानी रियादमा समेत आक्रमण भएको देखिएको थियो । राजधानीको विमानस्थल आसपास विस्फोटको आवाज सुनिनुका साथै धुवाँ देखिएको थियो। हुथीहरूले रियादतर्फ क्षेप्यास्त्र प्रहार गरेको दाबी गरे पनि साउदी पक्षले घटनाबारे तत्काल प्रतिक्रिया जनाएको छैन ।
तेल आपूर्तिमा बढ्दो दबाब
यमनमा बढ्दो सैन्य तनावले विश्व ऊर्जा बजारमा समेत चिन्ता बढाएको छ। लाल सागर र होर्मुज क्षेत्रको सुरक्षा जोखिम बढ्दै जाँदा साउदी अरबको तेल निर्यात प्रभावित हुने सम्भावना देखिएको छ ।
हुथीहरूको नियन्त्रण विस्तारसँगै साउदी अरबले होर्मुज स्ट्रेट हुँदै तेल ढुवानी बढाएको बताइएको छ । केही ट्यांकरले उच्च जोखिमबीच उक्त मार्ग प्रयोग गरिरहेका छन् ।
रोयटर्सका अनुसार साउदी अरबले यो महिना र अर्को महिना गरी करिब ६ करोड ब्यारेल तेल बिक्री गरेको छ । पछिल्ला दिनमा होर्मुज हुँदै साउदी तेल निर्यात प्रतिदिन करिब २९ लाख ब्यारेल पुगेको छ, जबकि अगस्टमा यो मात्रा करिब ७ लाख ब्यारेल प्रतिदिन थियो ।
यमन र साउदीबीचको तनावले विश्व बजारमा कच्चा तेलको मूल्यमा समेत दबाब सिर्जना गरेको छ । गत साता करिब ११० डलर प्रतिब्यारेल पुगेको कच्चा तेलको मूल्य अहिले १०० डलर आसपास झरे पनि प्रशोधित इन्धनको मूल्य उच्च रहेको बताइएको छ ।
होर्मुज क्षेत्रमा समेत सुरक्षा चुनौती देखिएको छ। बेलायतको समुद्री सुरक्षा निकाय यूकेएमटीओका अनुसार स्ट्रेटतर्फ गइरहेको एउटा जहाजमा प्रक्षेप्यास्त्र वा अन्य वस्तु प्रहार भएको थियो। घटनामा चालक दलका केही सदस्य सामान्य घाइते भएका थिए। यसअघि एउटा ग्यास ट्यांकरमाथि पनि आक्रमण भएको जानकारी दिइएको थियो ।
यसैबीच अमेरिका र इरानबीच जुनमा भएको अस्थायी सम्झौता केही सातामै भंग भएपछि मध्यपूर्वको व्यापक द्वन्द्व समाधानका लागि भइरहेका कूटनीतिक प्रयाससमेत सुस्ताएका छन्। इरानी राष्ट्रपति मसुद पेजेस्कियन मंगलबार संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जाने कार्यक्रम रहेको छ ।







चितवनमा फेला परेका ३६२ शवमध्ये
बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना
भोटेकोशी-त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यबद्धता
आज साँझसम्म यातायात सञ्चालन गर्ने
देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र,
नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२