दुई महिनाको अस्पताल बसाइपछि नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य अहिले घरमै आराम गरिरहनुभएको छ । असार अन्तिम साता अकस्मात् हृदयाघात भएपछि उहाँको मुटुको शल्यक्रिया गरिएको थियो । लामो अस्पताल बसाइले शरीर केही कमजोर बनाए पनि मुलुकको राजनीति र दलहरूको अवस्थाप्रति उहाँको चासो भने घटेको छैन । सक्रिय राजनीतिबाट बिदा लिइसक्नुभएकी एमाले पूर्वउपाध्यक्ष तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री शाक्य अहिले राजनीतिलाई केही परबाट नियालिरहनुभएको छ । आफूहरूले त्याग, संघर्ष र बलिदान गरेर ल्याएको लोकतन्त्र र गणतन्त्रको उद्देश्यअनुसार मुलुक अघि बढ्न नसकेकोमा उहाँ चिन्तित हुनुहुन्छ । राजनीतिक दलहरू विचार, नीति र विधिबाट भन्दा गुट, स्वार्थ र सत्ताकेन्द्रित राजनीतिमा फस्दै गएको उहाँको बुझाइ छ । विशेषगरी पुराना दलका नेतृत्वले समयअनुसार आफूलाई रूपान्तरण गर्न नसकेको उहाँको टिप्पणी छ । नयाँ पुस्ता राजनीतिमा आउनुलाई उहाँ स्वाभाविक परिवर्तनका रूपमा लिनुहुन्छ । तर, नयाँ शक्तिहरूले पनि देश, संविधान र गणतन्त्रप्रतिको जिम्मेवारीलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उहाँको धारणा छ । त्यसैले अबको निकास पुराना दललाई विस्थापित गरेरमात्रै नभई तिनलाई रूपान्तरण गरेर र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर खोजिनुपर्ने उहाँ बताउनुहुन्छ । स्वास्थ्यलाभ गरिरहनुभएकी अष्टलक्ष्मी शाक्यसँग वर्तमान राजनीतिक अवस्था, पुराना दलको संकट, नयाँ पुस्ताको आगमन, नेतृत्व हस्तान्तरण र अबको राजनीतिक बाटोबारे हिमालय टाइम्सका लागि डिबी शर्माले गरेको कुराकानी :-
तपाईंको स्वास्थ्य अवस्था अहिले कस्तो छ ?
स्वास्थ्य त अहिले सुधार भइरहेको छ । तर, दुई महिना अस्पताल बस्नुपर्यो । त्यसले गर्दा हातहरू जाम भए । कुमहरू चलाउन समस्या भइरहेको छ । अहिले फिजियोथेरापी गरिरहेकी छु ।
स्वास्थ्यमा सुधार हुँदैछ ?
हो, सुधार हुँदैछ, औषधि नियमित छ । लामो समय खानुपर्छ भन्नुभएको छ डाक्टरले । यो सबैले ख्याल गर्नुपर्ने कुरा हो । अहिले धेरै युवाहरूमा पनि हर्ट अट्याकको समस्या देखिन थालेको छ । मैले त्यही अस्पतालमा पनि धेरै युवाहरू देखेँ । युवाहरूलाई नै किन यस्तो बिरामी भयो भन्ने लाग्छ । ख्याल गर्नुपर्छ, मलाई त राती दुई बजे अट्याक भयो । त्यही भएर अलिकति कमजोरै बनायो ।
दिनचर्या कसरी बितिरहेको छ नि ? कुनै राजनीतिक गतिविधि गर्ने कुरा त भएन है ?
खानपिनमा एकदमै कमजोर छ । खान मन लाग्दैन । औषधि धेरै खानु परेर हो कि ! अब विस्तारै कभर होला, ठीकै छ । अचेल राजनीतिक चासो र चिन्ता खासै लिएकै छैन, अलि-अलि त हेर्छु । समाचारहरू हेर्छु । सुसूचित हुन मन त लाग्छ । तर, धेरै अब चिन्ता नगर भन्नुहुन्छ डाक्टरले । स्ट्रेसले पनि मुटु रोगको समस्या हुँदोरहेछ ।
पुराना नेताहरूलाई हामी आदर-सम्मान गर्छौं । तर, अब उहाँहरूबाट चल्दैन । उहाँहरूले स-सम्मान बिदा लिनुपर्छ । अहिले दोस्रोमात्रै होइन, तेस्रो र चौथो पुस्ता आइसक्यो । अरू विकल्प छैन । दलहरू रूपान्तरित हुनै पर्छ । नयाँ सोचका साथ जान सक्नुपर्छ ।
राजनीतिक भेटघाट के छ ? नेता-कार्यकर्ताहरू भेटघाट गर्न त आइरहनुभएको होला नि !
भेटघाट त भइरहन्छ, घरमै आउनुहुन्छ । अस्पतालमा पनि साथीहरूले माया गर्नुभयो । धेरै राम्रै स्याहार भयो । अनि घरमा पनि साथीहरूको धेरै माया नै देखाउनुभयो, सहयोग गर्नुभयो ।
बाहिर बसेर राजनीति नियाल्दा कस्तो देखिँदोरहेछ ?
राजनीतिमा आफूले जे सोचिएको थियो- अहिले हेर्दा बिल्कुल विपरीत गइराखेजस्तो लाग्छ । हिजो हामीले राजनीति गर्दा निरंकुश पञ्चायती व्यवस्था थियो । केही सुविधा थिएन । बलिदानको भावना लिएर राजनीति गरियो । त्याग, बलिदान र जेलनेल अहिले छैन । हामी लोकतन्त्र, गणतन्त्र, समाजवाद, जनतालाई खुसी र सुखी बनाउन, समृद्ध देश निर्माण गर्न लागियो । समानता, विभेदमुक्त र न्यायपूर्ण समाज निर्माणका लागि भनेर हामी लागेको हो । तर, अहिले राजनीति विकृतिमा फस्यो, अत्यन्तै अराजकतातिर फस्यो भन्ने पिर लाग्छ । अनि त्यस्तो हुँदाहुँदै पनि झन् अराजकतातिर गएको र हिंसाहरू बढेको देखिन्छ । जनतालाई महँगीले थिचेको छ । अनेकौं दुख–कष्ट जनताले झेल्नुपरेको छ ।
यस्तो बेला अलि बढी चिन्ता चाहिँ केको लाग्दो रहेछ ? सरकार बिग्रियो भन्ने कि दलहरू दलहरू फसे भन्ने ?
दुइटै लाग्छ, त्यसमा पनि दलहरू बिग्रिए । पुराना दलहरू बिग्रिनु हुँदैनथ्यो । सात सालदेखि कांग्रेसको इतिहास बिपी कोइरालादेखि गणेशमानसम्म छ । इतिहासहरू हेर्ने हो भने त्याग र बलिदानकै छ । अनि हाम्रै नेकपा स्थापना भयो, कम्युनिष्ट पार्टी स्थापना पनि जनताको हकहितका लागि, लोकतन्त्रका लागि र समृद्ध नेपाल बनाउन भएको थियो । हाम्रो लक्ष्य समाजवाद र साम्यवादसम्म पुग्ने थियो तर अहिले सुविधाको राजनीति आयो । सरकार, सत्ता, सुविधामा नेताहरू चिप्लिँदै गए, फस्दै गए । स्वार्थ पलाउँदै गयो, हिजो स्वार्थबिनाको राजनीति, अब अहिले स्वार्थ बढ्यो । कांग्रेसको, एमालेको र माओवादीकै भनौं । सशस्त्र द्वन्द्वबाट आएको माओवादी कता–कता पुगे जस्तो लाग्छ ।
दलहरू किन बिग्रिएका होलान् ?
पुराना दलहरू कमजोर भएको हुनाले अन्तरविरोध भयो, द्वन्द्व सिर्जना भयो, गुट सिर्जना भयो, विधि र विचार प्रणालीबाट चल्न सकेन । त्यसमा पनि सबभन्दा धेरै नेतृत्वकर्ताहरू नै कमजोर भए । असक्षम भए । अहिलेको परिवर्तित सवालमा नयाँ सोच लिएर, लोकतान्त्रिक सोच लिएर, सकारात्मक सोच लिएर र सबैलाई समेटेर देश बनाउने जिम्मा लिने हो । गणतन्त्रलाई बलियो बनाउँदै जनतालाई खुसी बनाउने र समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्य हो । तर, त्यसो हुन सकेन ।
पुरानाहरू बिग्रिए भनेर नयाँहरू आए । नयाँ आउँदा पनि अवस्था खासै फेरिने संकेत देखिएको छैन । यसलाई कसरी हेर्नुहुन्छ ?
पुराना दल बिग्रिए । एमाले विचार, सिद्धान्त, पद्धति प्रणालीबाट चल्न सकेन । सामूहिक नेतृत्वबाट चल्नै सकेन । मेरो मान्छे बनाउन थाल्यो । गुट बनाउन थाल्यो । कमरेड पुष्पलालले भन्नुभएको थियो- गुटले चल्ने होइन नीतिबाट चल्ने हो । त्यो त कता पुग्यो कता पुग्यो । अहिले हेरिरहँदा झन् पीडा हुन्छ, अब कांग्रेसमा पनि समस्या आयो । पुरानाहरू बिग्रिए भनेर ‘जेन–जी’ आन्दोलन भयो । नयाँहरू आए । पहिलो कुरा त नयाँमा देशभक्तिको भावना छ कि छैन भन्ने शंका लाग्छ मलाई । महत्त्वपूर्ण कुरा त देशप्रतिको माया हो । देश रह्यो भने न हामी सबै रहन्छौं, त्यहीमाथि मलाई शंका लाग्छ, अप्ठ्यारो लाग्छ । अरु त धेरै कुराहरू छन्, कहाँबाट कसरी र कसरी भयो- त्यो सबैलाई थाहा छ । कम्तीमा पनि जनताले मत हालेरै आएको हो । जेहोस् आइसकेपछि जनताका लागि र देशका लागि गणतन्त्रलाई बलियो बनाउने र संविधान कार्यान्वयन गर्ने तथा पारदर्शी ढंगले जाने चाहियो । सबैलाई समेटेर जाने हुनुपर्ने । त्यो नयाँ दलमा पनि देखिएन ।
नयाँ र पुरानाहरू उस्तै उस्तै भए भन्ने गुनासाहरू सुनिन थालेका छन् । अब निकास चाहिँ कसरी निस्केला ?
सुध्रिनुपर्छ । अब अरू विकल्प कहाँ खोज्ने ? त्यो सोच्न पनि सकिन्न । यत्रो दुःख गरेर बलिदानबाट आएको गणतन्त्र जोगाउनुपर्छ, संविधान जोगाउनुपर्छ । संविधानको अझै प्रभावकारी कार्यान्वयन गर्नुपर्छ, केही थपघट छ भने त्यसमा सुधार गर्नुपर्छ । त्यहीअन्तर्गत कानुनहरू निर्माण गर्दै जानुपर्छ । तर सुध्रिनुपर्छ । यदि सुध्रिएन भने अब त्यो नेतृत्व स्थापित हुँदैन । त्यो आफैं पनि विस्थापित हुन्छ र अरू पनि बर्बाद पार्छ । दलहरू रूपान्तरित हुन सक्नुपर्छ, नयाँ सोचका साथ जान सक्नुपर्छ । पुराना दल र नेताहरूलाई हामी आदर गर्छौं, सम्मान गर्छौं । तर, अब उहाँहरूबाट चल्दैन । अहिले विज्ञानको युग हो । संसार परिवर्तन भएर कहाँ पुगिसक्यो । हिजोको जस्तो दुनियाँ छैन अब । विश्वसँग तुलना गरेर अब अगाडि बढ्नुपर्ने भइसक्यो । पुराना दलहरू अब पुरानै नेताहरूबाट चल्दैनन्, उहाँहरूले स–सम्मान बिदा लिनुपर्छ । अब दोस्रो, तेस्रो र चौथो पुस्ता आइसक्यो । दोस्रो पुस्ताकै नेताहरू पनि संघर्ष गरेर र संगठन निर्माण गरेर आन्दोलनमा लागेर स्थापित भएका हुन् । कांग्रेसमा भनुँ, एमालेमा भनुँ वा माओवादीमा भनुँ सबैमा उनीहरूले कहिले पनि चान्स पाएनन्, अवसरै पाउँदैनन् । अरू नेताहरू पनि छन् भन्ने देखाउन नेतृत्वले चाहेन । सर्भेसर्वा एक्लो नेताजस्तो भएर बिग्रेको हो । एमालेभित्र पनि अहिलेको संघर्ष त्यही हो । अब नसच्चिकन मुलुक हाँक्छु, अहिलेको परिवर्तित परिस्थितिमा म नेतृत्व गर्छु भन्ने सोचलाई म गलतै मान्छु ।
लामो समय सक्रिय राजनीति गर्नुभयो । विगत फर्केर हेर्दा कस्तो लाग्दोरहेछ ?
मैले पार्टीको जिम्मेवारीबाट बिदा लिइसकेकी छु तर पनि म एमालेको सदस्य छु । त्यो हिसाबले पनि दलहरू सुध्रिनुपर्छ भन्ने तहमा छु । अब नेतृत्व नयाँ ढंगले स्थापित गरेर एउटा सक्षम र योग्य तथा अहिलेको स्थितिलाई बुझ्न सक्ने, विश्वलाई बुझ्न सक्ने खालको नेतृत्व स्थापित गरेर जानुपर्छ । मैले हिजोको दिनमा त्याग गरेँ, दुःख गरेँ भनेर कुनै पश्चाताप छैन । किनभने यदि त्यसरी हिजो नलागेको भए आज यो लोकतन्त्र आउने थिएन । गणतन्त्र आउने थिएन, त्यही निरंकुशतामा बस्नुपर्थ्यो होला । तर, त्यही त्याग र बलिदानबाटै आज यो अवस्था आएको हो । राजनीतिक हक अधिकार प्राप्त गरेको हो । त्यसमा म खुसी छु ।
अहिलेको परिस्थितिमा अब नेपाली समाज र राजनीतिमा तपाईको योगदान के हुन्छ ? अझै के गर्छु जस्तो लाग्छ ?
राजनीतिक मान्छे भएपछि चिन्ता नगरौँ भन्दा पनि लाग्दोरहेछ । तपाईंले जति गर्नुपर्ने गरिसक्नुभयो । अब नगर्नुस् भन्नुहुन्छ । अब हामी गर्छौं भन्नुहुन्छ । त्यो त कुरा ठीकै हो तर राजनीतिक मान्छे भएपछि अलि-अलि चासो लाग्दोरहेछ । चिन्ता हुँदोरहेछ । राजनीति बिग्रियो, देश बिग्रियो, कहाँबाट कहाँ पुग्नुपर्ने देश, आज नेपाल कस्तो हुनुपर्ने । सुशासनयुक्त नेपाल, न्यायपूर्ण नेपाल भएर अगाडि बढ्नुपर्ने, समृद्ध नेपाल तर कहाँ पुग्यो भन्ने अलि-अलि त लाग्दोरहेछ । त्यसमा पनि अरूलाई दोष दिएर हुँदैन । विदेशीलाई दोष दिने वा फलानोलाई दोष दिने भनेर हुँदैन । मुख्य कुरा नेतृत्वकर्ताले स्वमूल्यांकन गर्नुपर्छ । मैले नेतृत्व दिन सकेँ कि सकिनँ भन्ने कुरा सोचेर अगाडि बढ्नुपर्छ । त्यसैले अब पुरानाहरूले बिदा लिने, नयाँलाई सघाउने हो । आफ्नो अनुभव र जानेका आधारमा जे काम गरियो त्यो नयाँहरूलाई सिकाउने र सम्झाउने गर्नुपर्छ । नयाँ पुस्ता अगाडि बढ्दा राम्रो हुन्छ । त्यसमा चाहिँ म लागिनै राख्छु । फेरि राजनीतिमात्रै सबैथोक होइन, म सामाजिक क्षेत्रमा पनि लागिरहेकी छु । महिलाको क्षेत्रमा लागिरहेकी छु । त्यो सकुन्जेल म लागिहाल्छु तर शरीरले दिएसम्म, निराश हुनुपर्ने कुरा छैन ।







कति छ आज विदेशी मुद्राको
दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक
चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर
भोटेकोशी बाढी : आठ जिल्लामा
एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी