अमेरिका । नेपाली व्यवसायीहरूको समूहले नर्थ क्यारोलाइनाको मेबन सहरमा १०३ कोठाको होटल सञ्चालनमा ल्याएको छ । ‘ला क्विन्टा इन’ र ‘हथोर्न एक्सटेन्डेड स्टे’ गरी दुई ब्रान्डअन्तर्गत एउटै भवनमा सञ्चालित होटलमा दुई करोड ३० लाख अमेरिकी डलर, अर्थात् करिब तीन अर्ब ५२ करोड नेपाली रुपैयाँ, लगानी भएको लगानीकर्ताहरूले बताएका छन् ।
सेप्टेम्बर २४ मा आयोजित औपचारिक समारोहमा साझेदारहरूको प्रतिनिधित्व गर्दै सुमित सञ्जेल, सुधीर मरहट्टा र राधेश पण्डितले संयुक्त रूपमा रिबन काटेर होटल उद्घाटन गर्नुभयो । कार्यक्रममा स्थानीय व्यवसायी, समुदायका अगुवा तथा काउन्टी र नगरका अधिकारीसहित करिब छ दर्जन व्यक्तिको उपस्थिति थियो । होटल मेबनको २९० लोव्स बुलेभार्डमा अवस्थित छ ।
अलामान्स चेम्बरले आयोजना गरेको कार्यक्रममा साझेदार पण्डितले जग्गा खरिददेखि योजना, अनुमति र निर्माण हुँदै उद्घाटनसम्म आइपुग्न आठ वर्ष लागेको बताउनुभयो । उहाँका अनुसार यो लगानीकर्ता समूहको स्वामित्व र सञ्चालनमा रहेको आठौँ होटल हो । विश्वव्यापी अर्थतन्त्रमा देखिएको सुस्तताका बाबजुद होटलको भविष्यप्रति आफू आशावादी रहेको उहाँले बताउनुभयो ।
लगानीकर्ता सञ्जेलले लामो तयारीपछि होटलको औपचारिक उद्घाटन गर्न पाउँदा खुसी लागेको सुनाउनुभयो । होटल व्यवस्थापन समूहले राम्रो काम गरिरहेको र पाहुनाबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा अलामान्स चेम्बरकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रेगन सी. गुराल, अलामान्स काउन्टी बोर्ड अफ कमिसनर्सकी अध्यक्ष केली एलेन र मेबनका मेयर एड हुक्सलगायतले मन्तव्य राख्नुभएको थियो । उहाँहरूले मेबनमा भएको लगानीको स्वागत गर्नुभयो ।
पछिल्लो समय अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली व्यवसायीले नर्थ क्यारोलाइनामा लगानी बढाएका छन् । होटलका साझेदार मरहट्टा र पण्डित आयोवामा बस्नुहुन्छ भने सञ्जेल भर्जिनियामा बस्नुहुन्छ ।
व्यवसायसँगै नर्थ क्यारोलाइना बसाइँ सर्ने नेपालीहरूको संख्या पनि बढिरहेको छ । राले, ग्रिन्सबोरो, हाई प्वाइन्ट र सार्लोट क्षेत्रमा नेपालीहरूको बसोबास बढ्दै गएको छ । मौसम, विद्यालय र रोजगारीका अवसरले उनीहरूलाई आकर्षित गरेको बताइन्छ ।
नर्थ क्यारोलाइनामा बसोबासको वातावरणबारे वैज्ञानिक तथा साहित्यकार डा. चन्द्र गिरी भन्नुहुन्छ, ‘अमेरिकाको पूर्वी क्षेत्रका राज्यहरूमध्ये नर्थ क्यारोलाइनाको मौसम राम्रो छ । यसले लगानीकर्तालाई पनि आकर्षित गरेको छ ।”






तीन दिनमै ८७ हजारभन्दा बढी
मुक्त हलियाको समस्या स्थायी समाधान
साउदी अरेबियालाई ५ विकेटले हराउँदै
बालेनलाई गगनको सुझाव : ‘महासभामा
बाढीले मनास्लु पदमार्ग अवरुद्ध, लार्केपास
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द,