रिना थापामगर नेपाली लोकदोहोरी तथा म्युजिक भिडियो क्षेत्रमा परिचित नाम हो । नृत्य प्रतियोगिता ‘प्रतिभाको आँगन-२०११’ की विजेता बनेपछि व्यावसायिक रूपमा कला क्षेत्रमा प्रवेश गर्नुभएकी उहाँले त्यसयता निरन्तर अभिनय र नृत्यलाई अगाडि बढाउँदै आउनुभएको छ । लोकदोहोरी तथा आधुनिक गीतका म्युजिक भिडियोमा अभिनयसँगै नृत्यमा समेत सक्रिय रिनाले अहिलेसम्म २५ सयभन्दा बढी गीतका भिडियोमा अभिनय गरिसकेको बताउनुहुन्छ । पद्मकन्या क्याम्पसबाट नृत्य विषयमा स्नातक तथा स्नातकोत्तर तहको अध्ययन पूरा गर्नुभएकी रिना अहिले म्युजिक भिडियोसँगै फेशन डिजाइन तथा व्यवसायमा समेत सक्रिय हुनुहुन्छ । काठमाडौंमा आफ्नै ‘रिना बुटिक’ सञ्चालन गरिरहनुभएकी उहाँ विभिन्न नृत्य प्रतियोगितामा निर्णायकका रूपमा समेत देखिँदै आउनुभएको छ । देश तथा विदेशका विभिन्न कार्यक्रमहरूमा पुगेर आफ्नो कला प्रस्तुत गरिरहनुभएकी रिनाले थुप्रै म्युजिक तथा लोकदोहोरी अवार्डसमेत प्राप्त गर्नुभएको छ । कलाकारिता भनेको निरन्तर सिकिरहने यात्रा भएको बताउनुहुने रिना थापामगरसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशःं-
यहाँको बाल्यकाल कहाँ बित्यो ?
मेरो स्थायी घर काभ्रेपलाञ्चोकको पाँचखाल हो । त्यही नै मेरो बाल्यकाल बित्यो मेरा बुबा लीलाबहादुर थापामगर र आमा इन्द्रकुमारी थापामगर हुनुहुन्छ । हामी पाँचजना दिदीबहिनी हौं । परिवारबाट पनि मैले धेरै माया, साथ र हौसला पाए । विशेषगरी आफूले रोजेको क्षेत्रमा अगाडि बढ्न परिवारको साथ निकै महत्त्वपूर्ण हुन्छ । मलाई पनि परिवारले आफ्नो रुचि र क्षमता अनुसार अघि बढ्न प्रेरित गर्नुभयो ।
सानैदेखि नृत्यमा रुचि थियो ?
हो, सानैदेखि नै नृत्यप्रति मेरो असाध्यै धेरै रुचि थियो । गीत बज्यो कि नाच्न मन लाग्ने, कुनै कार्यक्रम भयो कि नृत्यमा सहभागी हुन खोज्ने स्वभाव थियो । नृत्य मेरो लागि केवल मनोरञ्जन थिएन, विस्तारै मेरो जीवनकै एउटा महत्त्वपूर्ण हिस्सा बन्दै गयो । त्यही नृत्यप्रतिको प्रेमले अन्ततः मलाई कलाकारिताको क्षेत्रमा ल्यायो ।
व्यावसायिक रूपमा कला क्षेत्रमा प्रवेश गर्ने अवसर कसरी जुर्यो ?
मेरो व्यावसायिक यात्रा ‘प्रतिभाको आँगन-२०११’ बाट सुरु भएको हो । त्यो नृत्य प्रतियोगितामा मैले सहभागिता जनाए र विजेता बन्न सफल भए । त्यसपछि मलाई नृत्य र मोडलिङको क्षेत्रमा अगाडि बढ्ने थप आत्मविश्वास मिल्यो । प्रतियोगिताबाट प्राप्त सफलता नै मेरो लागि कलाकारितामा औपचारिक रूपमा अघि बढ्ने महत्त्वपूर्ण आधार बन्यो ।
प्रतिभा आवश्यक छ, तर प्रतिभामात्र पर्याप्त हुँदैन । मिहिनेत, अनुशासन, निरन्तरता, सिक्ने इच्छा र सही अवसर पनि चाहिन्छ । मैले पनि सुरुवातदेखि आजसम्म धेरै कुरा सिक्दै आएकी छु । अझै पनि सिक्न बाँकी छ भन्ने लाग्छ । कलाकारिता भनेको निरन्तर सिकिरहने यात्रा हो ।
त्यसपछि म्युजिक भिडियोतर्फ कसरी आउनुभयो ?
नृत्यमा सक्रिय हुँदै जाँदा म्युजिक भिडियोमा पनि अवसरहरू आउन थाले । मेरो पहिलो औपचारिक म्युजिक भिडियो खुमन अधिकारी र देवी घर्तीको तीज गीत थियो । त्यो भिडियो मेरो कलाकारिता यात्राको एउटा महत्त्वपूर्ण सुरुवात थियो । त्यसपछि लगातार गीतका भिडियोमा काम गर्ने अवसर पाए । आज फर्केर हेर्दा त्यो सुरुवात यति लामो यात्रामा परिणत हुन्छ भन्ने त्यतिबेला कल्पना गरेको थिइन् ।
अहिलेसम्म कतिवटा म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ ?
मैले अहिलेसम्म २५ सयभन्दा बढी गीतका भिडियोमा अभिनय गरिसकेकी छु । लोकदोहोरी, आधुनिकलगायत विभिन्न विधाका गीतका भिडियोमा काम गरेकी छु । यो संख्या आफैंमा ठूलो हो भन्ने मलाई पनि लाग्छ । तर, मेरो लागि संख्यामात्र महत्त्वपूर्ण होइन, हरेक गीत र हरेक पात्रबाट मैले केही न केही सिक्ने अवसर पाएकी छु । दर्शकले मलाई निरन्तर स्वीकार गरिरहनुभएको हो । एउटा कलाकारका लागि दर्शकको माया र विश्वासभन्दा ठूलो कुरा अरू के हुन्छ र ? अवार्ड र सम्मान पनि आफ्ना ठाउँमा महत्त्वपूर्ण छन् । मैले पनि विभिन्न लोकदोहोरी तथा म्युजिक अवार्डहरू प्राप्त गरेकी छु । तर, वर्षौंसम्म काम गरिरहँदा दर्शकले सम्झिनु, आफ्ना गीतका भिडियोमा हेर्न चाहनु र नयाँ पुस्ताले पनि चिनिरहनु मेरो ठूलो उपलब्धि हो ।
कलाकारितामा यति लामो समय टिकिरहनुको कारण के हो जस्तो लाग्छ ?
मलाई लाग्छ, निरन्तरता र कामप्रतिको इमानदारी मुख्य कुरा हो । यो क्षेत्रमा अवसर आउँछन्, जान्छन् । कहिले धेरै काम हुन्छ, कहिले कम हुन्छ । तर, आफूले कामलाई सम्मान गर्न छोड्नु हुँदैन । मलाई नृत्य र कलाकारिता दुवै मन पर्छ । त्यसैले यो क्षेत्रमा काम गर्दा मैले कहिल्यै बोझका रूपमा लिइन । बरू सिक्ने र आफूलाई सुधार्ने अवसरका रूपमा लिए ।
तपाईंले बीचमा केही समय कलाकारिताबाट ग्याप पनि लिनुभएको थियो । त्यो समय कस्तो रह्यो ?
हो, बीचमा केही समय ग्याप भयो । कलाकारिताबाट केही समय टाढा रहनुपर्यो । तर, त्यो समयमा पनि मेरो मन भने यही क्षेत्रमा थियो । त्यसैले लामो समय टाढा बस्न सकिन । फेरि अभिनय र नृत्यमा फर्किए । कहिलेकाहीँ जीवनमा अन्य जिम्मेवारीहरू पनि आउँछन् । त्यसलाई व्यवस्थापन गर्दै आफूलाई मन परेको काममा फर्किनुपर्छ भन्ने मैले त्यही समयबाट सिकेँ । यस वर्षको तीजमा करिब पाँचवटा जति गीतका भिडियोमा अभिनय गरेँ । तीज मेरा लागि विशेष अवसर पनि हो, किनभने तीजका गीतसँग नेपाली लोकसंस्कृति र नृत्यको गहिरो सम्बन्ध छ ।
तपाईं नृत्य विषयमै उच्च शिक्षा हासिल गर्नुभएको छ । अध्ययन र व्यावसायिक नृत्यलाई कसरी जोड्नुभयो ?
मैले पद्मकन्या क्याम्पसबाट नृत्य विषयमा स्नातक र स्नातकोत्तर तहको अध्ययन गरेकी छु । नृत्यलाई केवल रुचिका रूपमा मात्र होइन, विषयका रूपमा पनि बुझ्ने प्रयास गरेँ । व्यावसायिक रूपमा नृत्य गरिरहँदा त्यसको सैद्धान्तिक र प्राविधिक पक्ष बुझ्नु उत्तिकै आवश्यक हुन्छ । अध्ययनले मेरो नृत्यलाई अझ फराकिलो ढंगले बुझ्न मद्दत गरेको छ ।
तपाईं स्कुलमा नृत्य प्रशिक्षकका रूपमा पनि काम गर्नुभएको छ नि ?
हो । केही समय मैले स्कुलमा नृत्य प्रशिक्षकका रूपमा पनि काम गरेँ । आफूले जानेको कुरा नयाँ पुस्तालाई सिकाउन पाउनु निकै आनन्दको कुरा हो ।
नृत्य सिकाउँदा आफूले पनि धेरै कुरा सिकिन्छ । बालबालिकाको सिर्जनशीलता, उनीहरूको ऊर्जा र सिक्ने चाहनाबाट आफू पनि प्रेरित हुन्छु ।
अहिले पनि नृत्यलाई नै आफ्नो मूल परिचय मान्नुहुन्छ ?
निश्चय नै । मेरो कलाकारिता यात्राको आधार नै नृत्य हो । नृत्यकै माध्यमबाट म यो क्षेत्रमा आएकी हुँ । त्यसैले अभिनय, मोडलिङ र अन्य काम गरे पनि नृत्यसँग मेरो सम्बन्ध कहिल्यै टुट्दैन ।
पछिल्लो समय तपाईं मोडलिङसँगै व्यवसायमा पनि सक्रिय हुनुहुन्छ । ‘रिना बुटिक’ कसरी सुरु भयो ?
कलाकारितासँगै केही आफ्नै व्यवसाय गर्ने सोच थियो । त्यसै क्रममा फेशन डिजाइन र बुटिक व्यवसायमा पनि हात हालेँ । अहिले काठमाडौंमा ‘रिना बुटिक’ सञ्चालनमा छ । बुटिकको काम मसँगै मेरी दिदीले पनि हेर्नुहुन्छ । कलाकारिता र व्यवसाय दुवैलाई सँगसँगै अघि बढाउनु चुनौतीपूर्ण छ, तर व्यवस्थापन गर्न सकियो भने सम्भव हुँदो रहेछ ।
कलाकारिता र व्यवसायमध्ये कुन काम बढी चुनौतीपूर्ण लाग्छ ?
दुवैका आ–आफ्नै चुनौती छन् । कलाकारितामा समय, अवसर र बजारसँग आफूलाई निरन्तर अपडेट राख्नुपर्छ । व्यवसायमा ग्राहकको चाहना, डिजाइन, बजार र व्यवस्थापनका पक्ष महत्त्वपूर्ण हुन्छन् । तर, मलाई नयाँ कुरा सिक्न मनपर्छ । त्यसैले चुनौतीलाई समस्याका रूपमा भन्दा सिक्ने अवसरका रूपमा लिन्छु ।
कलाकारका रूपमा तपाईंले देशविदेशमा पनि थुप्रै कार्यक्रम गर्नुभएको छ । कहाँ-कहाँ पुग्नुभएको छ ?
नेपालका विभिन्न भागमा कार्यक्रमका लागि पुगेकी छु । विदेशतर्फ हङ्कङ तीनपटक, मलेसिया दुईपटक, दुबई चारपटक, बेलायत तीनपटक, जापान दुईपटक र कोरिया एकपटक पुगेकी छु । त्यस्तै बंगलादेश र भारतमा पनि स्टेज कार्यक्रमका लागि पुगेकी छु ।
विदेशमा रहेका नेपाली दर्शकसँग प्रत्यक्ष भेटेर प्रस्तुति दिन पाउनु निकै सुखद् अनुभव हो । देशभन्दा टाढा रहेर पनि नेपाली गीत, संगीत र नृत्यप्रतिको उहाँहरूको माया देख्दा आफूले गरिरहेको कामप्रति अझ गर्व लाग्छ ।
विदेशमा प्रस्तुति दिँदाका सम्झनलायक क्षण केही छन् ?
धेरै छन् । विशेषगरी विदेशमा नेपाली दर्शकहरूले कलाकारलाई दिने सम्मान र माया सम्झनलायक हुन्छ । आफू हजारौं किलोमिटर टाढा पुगे पनि त्यहाँ नेपाली गीत बज्दा दर्शकहरू रमाउनुहुन्छ, नाच्नुहुन्छ र कलाकारलाई हौसला दिनुहुन्छ । त्यसले नेपाली कला र संस्कृतिको प्रभाव नेपालबाहिर पनि कति बलियो छ भन्ने महसुस गराउँछ ।
तपाईंले विभिन्न अवार्ड पनि प्राप्त गर्नुभएको छ । अवार्डलाई कसरी लिनुहुन्छ ?
अवार्ड कलाकारका लागि प्रेरणाको स्रोत हो । मैले पनि विभिन्न लोकदोहोरी तथा म्युजिक अवार्डहरूमा सम्मान र उपाधि प्राप्त गरेकी छु । सर्वोत्कृष्ट महिला मोडललगायत विभिन्न सम्मान पाएकी छु । मैले धेरैजसो प्राप्त गरेको छु, तर त्यसलाई अन्तिम उपलब्धि मानेर बस्ने पक्षमा छैन । एउटा अवार्ड पाएपछि अझ राम्रो काम गर्ने जिम्मेवारी थपिन्छ भन्ने लाग्छ ।
विभिन्न नृत्य प्रतियोगितामा निर्णायकका रूपमा पनि देखिनुहुन्छ । कस्तो अनुभव हुन्छ ?
नृत्य प्रतियोगितामा निर्णायकको भूमिका पाउनु मेरो लागि सम्मानको कुरा हो । आफूले कुनै समय प्रतियोगितामा सहभागी भएर विजेता बनेकी थिए । अहिले त्यस्तै प्रतियोगितामा अरूको प्रस्तुति मूल्यांकन गर्ने ठाउँमा पुग्दा आफ्नो यात्रालाई सम्झिन्छु । प्रतियोगीहरूमा प्रतिभा देख्दा निकै खुशी लाग्छ । नयाँ पुस्तामा धेरै राम्रो सम्भावना छ । उनीहरूलाई सही मार्गदर्शन र अवसर दिनसके नेपाली नृत्य अझ समृद्ध बन्नसक्छ ।
तपाईंको विचारमा नेपाली म्युजिक भिडियो क्षेत्रमा अहिले के परिवर्तन आएको छ ?
पहिलेको तुलनामा अहिले म्युजिक भिडियोको निर्माण शैली धेरै परिवर्तन भएको छ । प्रविधि, छायांकन, लोकेसन, सम्पादन, कोरियोग्राफी सबै क्षेत्रमा विकास भएको छ । सोसल मिडिया र डिजिटल प्लेटफर्मका कारण गीत तथा भिडियो दर्शकसम्म पुग्ने माध्यम पनि फराकिलो भएको छ । कलाकारका लागि अवसर बढेका छन्, तर प्रतिस्पर्धा पनि त्यत्तिकै बढेको छ । त्यसैले आफूलाई समयानुसार परिवर्तन र परिमार्जन गर्दै जान आवश्यक छ ।
लामो समयदेखि यो क्षेत्रमा रहँदा कलाकारका लागि सबैभन्दा कठिन कुरा के देख्नुभयो ?
कलाकारका लागि आफ्नो इज्जत र विश्वास जोगाइराख्नु सबैभन्दा महत्त्वपूर्ण र चुनौतीपूर्ण कुरा हो । म सधैं एउटा कुरा भन्ने गर्छु–इज्जत कमाउन वर्षौं लाग्छ, तर गुमाउन धेरै समय लाग्दैन । त्यसैले कलाकारले आफ्नो कामसँगै आफ्नो व्यवहार र चरित्रलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ । एउटा गलत कदमले वर्षौंको मिहिनेतमा असर पार्न सक्छ ।
यो क्षेत्रमा लागेर के पाउनुभयो र के गुमाउनुभयो ?
मैले यो क्षेत्रमा लागेर धेरै कुरा पाएकी छु । दर्शकको माया, सम्मान, चिनारी, अवसर र अनुभव पाएकी छु । नृत्य र कलाकारिताले नै मलाई आजको अवस्थामा पुर्याएको हो । मैले यस क्षेत्रबाट पाएकीमात्रै छु, गुमाएको छैन भन्ने लाग्छ । संघर्ष र व्यस्तताका कारण जीवनका केही सामान्य कुरामा समय कम दिनुपरेको होला, तर कलाकारिताले दिएको आत्मविश्वास र पहिचान ठूलो कुरा हो ।
नयाँ पुस्ताका कलाकारलाई तपाईंको सुझाव के छ ?
सबैभन्दा पहिले आफूलाई मन परेको कामप्रति इमानदार हुनुपर्छ । नृत्य वा अभिनयमा आउन चाहनेले केवल चर्चाका लागि होइन, सीप विकासका लागि मिहिनेत गर्नुपर्छ । अहिले सामाजिक सञ्जालमा छिट्टै चर्चित हुने अवसर छ । तर, क्षणिक लोकप्रियता र लामो समयको करिअर फरक कुरा हुन् । निरन्तर सिक्ने, अनुशासनमा रहने र आफ्नो कामप्रति जिम्मेवार हुने हो भने यो क्षेत्रमा राम्रो भविष्य बनाउन सकिन्छ ।
कलाकार बन्न प्रतिभामात्र पर्याप्त छ ?
प्रतिभा आवश्यक छ, तर प्रतिभामात्र पर्याप्त हुँदैन । मिहिनेत, अनुशासन, निरन्तरता, सिक्ने इच्छा र सही अवसर चाहिन्छ । मैले पनि सुरुवातदेखि आजसम्म धेरै कुरा सिक्दै आएकी छु । अझै सिक्न बाँकी छ भन्ने लाग्छ । कलाकारिता भनेको निरन्तर सिकिरहने यात्रा हो ।
आगामी योजना ?
आगामी दिनमा पनि अभिनय र नृत्यलाई निरन्तरता दिने योजना छ । नयाँ पुस्तासँग जोडिएर नृत्यका क्षेत्रमा पनि केही नयाँ काम गर्ने इच्छा छ । आफूले सिकेको र जानेको कुरा नयाँ पुस्तालाई हस्तान्तरण गर्नसके त्यसलाई पनि आफ्नो उपलब्धि मान्नेछु । दर्शकले अहिलेसम्म जसरी माया दिनुभएको छ, त्यसलाई सम्मान गर्दै अझ राम्रो काम गर्ने प्रयास गर्नेछु । अभिनय, नृत्य र फेशनको क्षेत्रमा आफूलाई अझ सक्रिय बनाउनेछु । मलाई कलाकार बनाउने भनेकै दर्शकको माया र नृत्यप्रतिको मेरो प्रेम हो । त्यसैले जीवनभर नृत्य र कलाकारितासँग जोडिएर केही राम्रो गर्ने इच्छा छ । दर्शकको माया र साथ यसरी नै पाइरहने विश्वास छ ।







भोटेकोशी बाढी : ट्रमा सेन्टरमा
लागुऔषध खैरो हेरोइनसहित मकवानपुरमा तीन
कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य
भोटेकोशी बाढी : एक हजार
बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र,
क्यासिनोमा नेपाली प्रवेश गराई जुवा