केही दिनदेखि लगातार भइरहेको वर्षा अब विस्तारै उत्तरार्द्धमा पुगेको देखिँदैछ । सम्पूर्ण नेपालभरि नै भइरहेको वर्षका कारण जनजीवन कष्टकर बन्न पुगेको छ तर मौसम पूर्वानुमानविद्हरूले पहिलेदेखि नै यस विषयको जानकारी दिएर सतर्कता अपनाउन आग्रह गरेका कारण तुलनात्मक रूपमा त्यति ठूलो क्षति भने भएको छैन । केही ठाउँमा बाढीपहिरो आएको र त्यसले क्षति पुर्याएको छ तर केही ठाउँमा पहिरोबाट एक-दुईजनाको मृत्यु भएको बाहेक धेरै ठूलो मानवीय क्षति हुन पाएन । कोशी नदीमा आएको बाढीका कारण कोशीका ब्यारेजका धेरैजसो ढोका खोल्नुपरेको अवस्था छ भने मौसममा केही सुधार हुँदै गएको हुँदा पूर्वी नेपाल अब तुलनात्मक रूपमा सहज बन्दै गएको छ ।
बंगालको खाडीबाट पैदा भएको न्यूनचापीय वायुको प्रभावले भारतका अधिकांश ठाउँहरूका साथै नेपालका पनि सम्पूर्ण ठाउँमा यस वर्षाको प्रभाव परेको छ । तर सुरुदेखिकै सचेतताको आग्रहका कारण नकारात्मक प्रभाव कमै मात्र पर्यो । अब मौसम पूर्वानुमान महाशाखाले वर्षा हुने भनेर तोकेको समय समाप्त हुनै लागेको छ । जसले गर्दा अब यस्ता अप्रिय समाचारहरू कमैमात्र सुनिएलान् । गत भदौ १० गतेमात्र रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा मिसिएको अकल्पनीय विनाशकारी प्रलयले थङ्थिलो भएको जनजीवनमा हालको तीन-चार दिनको वर्षाले साप्रोमाथि पिँडो थप उखानलाई चरितार्थ गरिदिएको छ । भोटेकोशी बाढी प्रभावितहरू अस्थायी होल्डिङ सेन्टर र त्रिपालमा बस्दै आएकामा यो वर्षाले ती अस्थायी शिविरहरूले नधानेर पीडितहरू थप पीडामा परेका छन् ।
अरू ठाउँमा आफ्नो घरवास भएका व्यक्तिहरू सुरक्षित रूपमा बसेका छन् तर बाहिरी गतिविधि भने अहिले पूर्ववत रूपमा सञ्चालित हुन पाएनन् । यस वर्षाले सबैभन्दा बढी मार मजदुर वर्गलाई पारेको छ । दैनिक ज्यालादारी गरी कमाउँदै खाँदै गर्नुपर्ने वर्ग तीन–चार दिनसम्म काम गर्न नपाएर बस्नुपर्दा उनीहरूको चुलो नबल्न सक्छ तर मुख्य कुरा सबैको ज्यान भने जोगिएको छ । सम्बन्धित निकायले यातायात सञ्चालनमा केही जिल्लालाई पूर्णरूपमा र केहीलाई आंशिक रूपमा रोक लगाएको छ । न्यून प्रभाव रहेका जिल्लाहरूमा भने यातायात सञ्चालनमा रोक लगाएको छैन । सुरुदेखि नै सूचना पाएका कारण नदीतटीय क्षेत्रका बासिन्दाहरूले सुरक्षित हुने मौका पाए । खोलापहिराको जोखिमका क्षेत्रहरूका बासिन्दाले सुरक्षित ठाउँमा सर्ने समय पाए ।
यति गर्दागर्दै पनि केही छुटपुट रूपमा अप्रिय घटना भने हुन पुगे । पूर्वसावधानी अपनाउनाले अरू ठाउँका बासिन्दाहरू त्यति प्रभावित भएनन् तर ठूला नदी तटका बस्तीहरूमा भने पानी पसेर त्यहाँका बासिन्दाहरूलाई सुरक्षाकर्मीहरूले उद्धार गर्नुपर्यो । कोशीको पानी पसेको सप्तरीका केही ठाउँ र नारायणीको पानी पसेको नवलपरासीका केही ठाउँका बासिन्दालाई प्रहरीले उद्धार गर्नुपरेको छ । राजधानी काठमाडौं उपत्यकामा पनि पानी परिरहेकै छ । शनिबार कम वर्षा भयो र झल्याकझुलुक घाम पनि देखियो तर पुनः शनिबार रातिदेखि आइतबार लगातार वर्षा भयो । प्रकृतिले आफ्नो चक्र निरन्तररूपमा सञ्चालन गरिरहन्छ । सावधानी अपनाउनु र जोगिनु मानिसको कर्तव्य हुन आउँछ । सावधानीले मानिसको जिउधनको सुरक्षा हुन्छ ।
यसपटकको अविरल वर्षामा त्यति ठूलो क्षति हुन नपाउनुमा सावधानी नै प्रमुख कारक बन्न पुग्यो । प्राकृतिक विपत्तिको बेला त्यसलाई मनोरञ्जनको विषय बनाउने, जोखिमपूर्ण ठाउँमा उभिएर फोटो खिच्ने तथा भिडियो बनाउने गर्नाले त्यसो गर्नेहरू त्यसको चपेटामा परेको दृष्टान्त गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाउनेहरूलाई लिन सकिन्छ । महाप्रलयकारी बाढी आउँदै गरेको सूचना पाएर पनि खोला किनारका मानिसहरू सुरक्षित ठाउँतिर दौडिनुको सट्टा खोलाका पुल, किनार र छेउछाउमा उभिएर भिडियो खिच्न थाल्दा ठूलो संख्यामा बाढीमा लपेटिन पुगे । त्यसरी मृत्युवरण गर्न पुगेकाहरूको संख्या आँकलन गर्नै नसकिने खालको छ । नेपालको इतिहासमै प्राचीनकाल र माध्यमिककालतिर यस्ता विनाशकारी घटनाहरू भएका थिए होलान् तर पछिल्लो समयमा भने यस प्रकारको विनाश भएको थिएन ।
विकासवादी वैज्ञानिक भनेर चिनिने चार्ल्स डार्बिनले प्राणीहरूको विकासको सिद्धान्त प्रतिपादन गर्ने क्रममा प्रकृतिले आफ्नो सन्तुलन आफैं मिलाउँछ भनेका थिए । प्राणीहरूले विभिन्न कुरासँग संघर्ष गर्नुपर्छ । यसरी गरिने आन्तरिक तथा बाह्य संघर्षमा शक्तिशाली बाँच्छ र कमजोर मर्छ । त्यसरी मानिस तथा अन्य प्राणीहरूको समूहमा खानमा प्रकृतिसँगको सामनामा र प्रजनन् जस्ता विषयमा हुने संघर्षबाट शक्तिशालीमात्र जोगिँदै आउँछन् कमजोरहरू मर्छन् र सन्तुलन कायम भइरहन्छ भन्ने सिद्धान्तलाई मान्ने हो भने वर्षौंवर्ष लगाएर विकास भएको सभ्यता छिनभरमै ध्वस्त हुन्छ । मानिसको संख्या पनि धेरै वर्ष लगाएर वृद्धि भइरहेको हुन्छ र क्षणभरमै त्यो पनि नासिन्छ । विशेषगरी युद्धलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ ।
नेपालको सन्दर्भमा १०० वर्षयतालाई मात्र लिने हो भने १९९० सालको भुइँचालो, त्यसपछिका अन्य भुइँचालाहरू २०४५ साल, २०६८ साल र २०७२ सालका भुइँचालाहरूमा पनि धेरै मानिसको मृत्यु भयो । माओवादी सशस्त्र विद्रोहका बेला सरकारी तथ्यांक अनुसार १७ हजार मानिसले ज्यान गुमाउनु पर्यो । त्यसको केही वर्षपछि कोरोना महामारीमा परेर पनि धेरै मानिसहरूले मृत्युवरण गरे । बीचबीचमा बाढीपहिरो, स्थल तथा हवाई यातायातमा भएका दुर्घटनाहरूबाट पनि मानिसहरू मृत्युको मुखमा पर्नेगरेका छन् । यसरी मानिसले कहिले प्रकृतिसँग, कहिले महामारीसँग र कहिले आन्तरिक रूपमा संघर्ष गर्नुपर्छ । हालै आएको भोटेकोशीको बाढीमा परेर धेरै मानिसहरू मरे । अज्ञात व्यक्तिहरूको संख्या कतैबाट पुष्टि नभए पनि त्यो संख्या धेरै नै हुनसक्छ ।
यसरी गितलाई हेर्ने हो भने यस घटनामा पनि धेरै मानिसको मृत्युभयो । सावधानीले मानिसको ज्यान जोगिनसक्छ । यो निर्विवाद तथ्य हो । त्यसकारण अहिले भइरहेको वर्षा अब मत्थर हुने अवस्थामा पुग्यो भन्दैमा ढुक्क भएर बस्न मिल्दैन । धेरै दिनको निरन्तरको वर्षाबाट वर्षा रोकिएपछि पनि भिजेको, गलेको र कमजोर भएको माटो पहिराको रूपमा खस्नसक्छ । यस्ता भूस्खलनहरू केही दिनसम्म हुने सम्भावना रहन्छ । नदी तटका बस्तीहरू नदीमा पानी नघट्दासम्म प्रभावित बन्न सक्छन् । त्यसकारण सधैँ सचेत र सावधान रहौं । आफ्ना दैनिकीहरू पनि सावधानीपूर्वक मात्र सञ्चालन गरौं । यो नै बुद्धिमानीपूर्ण काम हो किनभने यसबाट धनजनको ठूलो क्षति हुन पाउँदैन ।







सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन
चितवनमा फेला परेका ३६२ शवमध्ये
बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना
भोटेकोशी-त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यबद्धता
आज साँझसम्म यातायात सञ्चालन गर्ने
देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र,