हेटौँडा । केही दिन लगातार परेको वर्षासँगै मकवानपुरमा हरेक वर्ष देखिने दृश्य यसपटक पनि दोहोरिएको छ। कतै पहिरोले सडक थुन्यो, कतै सडक भासियो। कतै विद्युत्का पोल ढले भने कतै नदी तथा खोलाको छेउमा रहेका बस्ती जोखिममा परे।
आइतबार बिहान जिल्लाका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भए। हेटौँडा–१६ हटियामा १० वटा विद्युत्का पोल ढले। मकवानपुरगढी–५ स्कुलडाँडामा दुई घर पूर्ण रूपमा क्षतिग्रस्त भए। हेटौँडा–११ थानाभर्याङस्थित बुद्ध पार्कमा पहिरोले क्षति पुर्यायो भने पाथिभरा मन्दिर जाने बाटोसमेत जोखिममा परेको छ। केही महिनाअघि मात्रै निर्माण गरिएको कैलाश जाने सडक पनि भासिएको छ।
यसपटक मानवीय क्षति भने भएन। स्कुलडाँडामा घरमा मानिस नबसेकाले दुई परिवार जोगिए। जोखिम बढेपछि समयमै सुरक्षित स्थानमा सरेकाले सम्भावित दुर्घटना टरेको हो। यसले विपद्को समयमा पूर्वसूचना र समयमै हुने स्थानान्तरण कति महत्वपूर्ण हुन्छ भन्ने देखाएको छ। तर पहिरो हटेपछि जोखिम पनि हट्छ भन्ने हुँदैन ।
मकवानपुरमा पहिरो खस्नेबित्तिकै सामान्यतया डोजर पुग्छ। सडकमा थुप्रिएको माटो, ढुंगा र लेदो हटाइन्छ। केही समयपछि सडक खुल्छ, सवारीसाधन चल्न थाल्छन् र जनजीवन सामान्य बन्छ। तर वर्षा जारी रहे त्यही ठाउँमा फेरि पहिरो खस्ने जोखिम रहन्छ।
हेटौँडा–भैँसे–भीमफेदी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा वर्षायाममा पटकपटक पहिरो जाने गरेको छ। इन्द्रसरोवर–२ किटनीमा सडक भासिएको छ। भीमफेदी–८ बगुवाखोला नजिक कान्तिलोकपथमा पहिरो गएको छ। हेटौँडा–१९ नेवारपानीमा पहिरो र ढुंगा खसेपछि पूर्वपश्चिम राजमार्गको आवागमनसमेत प्रभावित भएको छ।
यी ठाउँमा तत्काल डोजर पुगेर सडक खुलाउनु आवश्यक छ। तर एउटै स्थानमा पटकपटक पहिरो जाने अवस्था छ भने माटो र ढुंगा हटाएर मात्र समस्या समाधान हुँदैन। सडक निर्माणको डिजाइन, पानीको निकास, भिरको अवस्था र सडक आसपासको जमिनको स्थायित्वबारे समेत अध्ययन आवश्यक हुन्छ।
सडक चाहिन्छ, सुरक्षित सडक अझ बढी
मकवानपुरका ग्रामीण क्षेत्रमा सडक विस्तार आवश्यक छ। सडक पुगेपछि गाउँका नागरिकलाई बजारसम्म पुग्न सहज हुन्छ। बिरामीलाई अस्पताल लैजान, विद्यार्थीलाई विद्यालय पुग्न र किसानलाई कृषि उत्पादन बजारसम्म पुर्याउन सडकले महत्वपूर्ण भूमिका खेल्छ।
त्यसैले सडक विकास रोक्ने होइन, त्यसलाई सुरक्षित र दिगो बनाउने विषय महत्वपूर्ण हो।
सडक निर्माण भएको केही वर्षमै भासिने र हरेक वर्ष पहिरोका कारण बन्द हुने अवस्था दोहोरिन्छ भने त्यसको डिजाइन, निर्माण गुणस्तर र जोखिम मूल्याङ्कनबारे प्रश्न उठ्नु स्वाभाविक हुन्छ। विकासको मूल्याङ्कन सडक कति किलोमिटर बन्यो र कति बजेट खर्च भयो भन्ने आधारमा मात्र होइन, त्यो सडक कति सुरक्षित, टिकाउ र जोखिम प्रतिरोधी छ भन्ने आधारमा पनि हुनुपर्छ।
हेटौँडा–११ को बुद्ध पार्कमा पहिरोले क्षति पुर्याएको घटनाले विकास निर्माणमा स्थान छनोट र जोखिम अध्ययनको महत्वसमेत देखाएको छ। नदी किनारमा पार्क वा अन्य संरचना निर्माण गर्दा बाढी, कटान र पहिरोको सम्भावनालाई ध्यान दिन आवश्यक हुन्छ। जोखिमयुक्त क्षेत्रमा बस्ती विस्तार भइरहेका छन् भने स्थानीय तहले भूगोल र जोखिमको अवस्था अध्ययन गरेर योजना बनाउनुपर्छ।
विपद् आएपछि होइन, पहिल्यै तयारी
विपद् आएपछि उद्धार र राहत महत्वपूर्ण हुन्छ। तर जोखिममा रहेका मानिसलाई विपद् आउनुअघि नै सुरक्षित बनाउनु अझ प्रभावकारी उपाय हो।
इन्द्रसरोवर ड्याममा पानीको अवस्थाबारे मोबाइल एसएमएसमार्फत सूचना पुग्नु सकारात्मक अभ्यास हो। यस्ता पूर्वसूचना जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने समुदायसम्म समयमै पुर्याउन सके सम्भावित क्षति कम गर्न सकिन्छ।
विपद्को समयमा जिल्ला प्रशासन, प्रहरी, स्थानीय तह, सडक विभाग, नेपाल विद्युत् प्राधिकरण र स्थानीय नागरिक सक्रिय हुन्छन्। पहिरो हटाउने, सडक खुलाउने, ढलेका विद्युत् पोल व्यवस्थापन गर्ने र मानिसको उद्धार गर्ने काम तत्कालका लागि अपरिहार्य हुन्छ।
तर विपद् व्यवस्थापन वर्षा सुरु भएपछि मात्र गर्ने विषय होइन।
वर्षाअघि नै जोखिमयुक्त सडक तथा बस्ती पहिचान गर्ने, पानीको निकास सुधार्ने, कमजोर संरचना मर्मत गर्ने र जोखिममा रहेका समुदायलाई पूर्वसूचना दिने काम नियमित हुनुपर्छ।
मकवानपुरमा वर्षेनी पहिरो जाने स्थानको तथ्यांक र जोखिम नक्सा तयार गरी स्थायी समाधानतर्फ जान आवश्यक छ। कतै सडकको संरचना सुधार्नुपर्ने हुन सक्छ, कतै पानीको निकास व्यवस्थित गर्नुपर्ने हुन्छ। कतै भिर संरक्षण आवश्यक पर्न सक्छ भने कतै जोखिममा रहेका बस्ती सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आउन सक्छ।
विपद् पूर्ण रूपमा रोक्न नसकिए पनि त्यसबाट हुने क्षति भने कम गर्न सकिन्छ। त्यसका लागि विकास निर्माण र विपद् व्यवस्थापनलाई अलग–अलग विषयका रूपमा होइन, एउटै योजनाको दुई पाटाका रूपमा हेर्नुपर्छ।
हरेक वर्ष पहिरो जाने ठाउँमा डोजर पठाएर बाटो खुलाउनु तत्कालको समाधान हो। तर त्यही ठाउँमा फेरि पहिरो नजाने अवस्था सिर्जना गर्नुचाहिँ दीर्घकालीन समाधान हो।







सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन
चितवनमा फेला परेका ३६२ शवमध्ये
बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना
भोटेकोशी-त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यबद्धता
आज साँझसम्म यातायात सञ्चालन गर्ने
देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र,