अत्यन्त संदिग्ध र रहस्यमय परिघटनाहरूको वृत्तबाट निर्मित वर्तमान सरकार समयस-मयमा आफ्ना सन्दिग्ध गतिविधि गर्न बिर्सिरहेको छैन । नेपाली जनतालाई त्यस्तै संदिग्ध र चमत्कारी रहस्यमयी कृत्यमार्फत मनोरञ्जन प्रदान गर्ने, अल्मल्याउने र मूलमुद्दाबाट भड्काउने काम गरिरहन्छ । यस क्रममा पछिल्लो समयमा प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरेर करिब ११ घण्टा आफ्नो नियन्त्रणमा राखेपछि छोडेको छ । सरकारको यो एउटा पछिल्लो सन्दिग्ध व्यवहार हो । किनभने उहाँलाई पक्राउ गर्नुको कारण कसैलाई थाहा छैन, फेरि छोड्नुको औचित्य र कारण कसैलाई जानकारी छैन । यसकारण सरकारको चोलेन्द्र शमशेरलाई पक्राउ गरी छोडेको व्यवहार सरकारका विभिन्न समयमा देखिँदै आएका सन्दिग्ध व्यवहारमध्येको एक हो । प्रधानन्यायाधीश प्रधानमन्त्रीपछिको दोस्रो वरियताको पद हो ।
चोलेन्द्रशमशेर जबरा उक्त पदमा पुगिसक्नुभएका व्यक्ति हुनुहुन्छ । उहाँको समयमा विभिन्न विरोधाभासपूर्ण कार्यहरू भए भन्ने आलोचना उहाँले प्रशस्त मात्रामा भोग्नुभएको हो । उहाँको कार्यकाल विवादहरूको कुण्ढली नै बनेको थियो । पूर्ववर्ति प्रधानन्यायधीशविरुद्ध उहाँबाट निष्पन्न खेल न्यायिक इतिहासमा दुर्भाग्यपूर्ण र अभिसप्त दस्तावेज भएर बसेको छ ।
उहाँविरुद्ध सरकारका प्रधानमन्त्रीसँग मिलेर विभिन्न समयमा सेटिङमा काम गर्नुभएको भन्ने शंकासहित आरोप लाग्ने गरेको छ । सरकारका प्रधानमन्त्रीहरू र मन्त्रीहरूलाई समय-समयमा उहाँहरूका विरुद्धका मुद्दा मिलाएर आफ्ना माग उहाँहरू पूरा गराउन समक्ष बार्गेनिङ गर्नुभयो र सेटिङका आधारमा काम गर्नुभयो भन्ने आरोप लागिरहन्थे । प्रमाणित गर्ने चासो र चिन्ता कसैलाई देखिएन । बाहिर प्रजातान्त्रिक धारका शक्तिहरूलाई सघाएको जस्तो देखाएर आफू प्रजातान्त्रिक बन्न खोज्नुहुन्थ्यो तर उहाँको निकट सम्बन्ध भने वामपन्थी सरकारहरूसँग अझ प्रगाढ हुन्थ्यो भन्ने चर्चा थियो ।
उहाँका यस्ता क्रियाकलापहरूका विरोधमा सबैभन्दा प्रखर रूपमा प्रजातान्त्रिक विचार निकटका कानुन व्यवसायीहरू उभिन पुगेका थिए । पछिल्लो समयमा उहाँले आफ्नो कार्यकक्षमा रहेर काम गर्न पनि असहज भएका कारण राजीनामा गरेर बाहिरिनुभएको थियो । उहाँका विरुद्धमा प्रतिनिधिसभामा महाअभियोगको प्रस्ताव पनि पेश गरिएको थियो तर त्यसको कुनै निर्णायक छिनोफानो भएन । नेपालको इतिहासमै सबैभन्दा विरोधाभासपूर्ण र सन्दिग्ध प्रधानन्यायाधीशका रूपमा उहाँलाई हेरियो । तर यसो भन्दैमा उहाँले पाउने न्यायिक हक छिन्न मिल्दैन । न्यायिक हकबाट उहाँलाई वञ्चित गरिनु हुँदैन । उहाँमात्र होइन कसैप्रति अन्याय हुनु हुँदैन । ठूलै कानुनी अपराध गरेको व्यक्ति रहेछ भने पनि उसले आफ्नो सुरक्षाको हक अधिकार पाउनुपर्छ ।
त्यत्रो माथिल्लो स्तरको पदमा रहिसक्नुभएका व्यक्तिलाई बिनाकारण मौलिक हकसमेत खण्डित हुनेगरी मध्यरातमा बिना पक्राउपुर्जी प्रहरीले आफ्नो नियन्त्रणमा लिएर राखेको र ११ घण्टापछि छोडेको कारण आमनागरिकहरूलाई मात्र होइन उहाँलाई समेत जानकारी छैन । चोलेन्द्रशमशेर जबराका विरुद्धमा खनिएका सबै शक्तिहरू अहिले पुनः उहाँमाथि अन्याय भयो भनेर आवाज उठाइरहेका छन् । यसको कारण हो प्रहरीको सन्दिग्ध व्यवहार । उहाँलाई किन मध्यरातमा पक्राउ गर्नुपर्यो ? त्यसको कारण प्रहरीले सार्वजनिक गरेको छैन । ११ घण्टा टेकूको प्रहरी हिरासतमा राखेर उहाँलाई पुनः किन छोडियो ? त्यसको कारण कसैलाई थाहा छैन । नागरिकले आफू पक्राउ पर्नुको कारण थाहा पाउनुपर्छ ।
त्यसका लागि पक्राउ गर्ने पक्षले पक्राउपुर्जी उसलाई दिनुपर्ने हुन्छ । चोलेन्द्रशमशेरलाई पक्राउ गर्दा पक्राउपुर्जी दिएको छैन र कारण बताइएको छैन । छोड्दा पनि यस्तो कुनै भरपर्दो र विश्वसनीय तर्क छैन । प्रहरीले भनेको केवल नागरिक भयको पर्याय होइन भन्ने पुष्टि यस घटनाबाट पनि हुनसकेन । नेपाली जनमानसमा प्रहरीप्रतिको जुन दृष्टिकोण छ त्यसलाई अझ बढावा दिन प्रहरीको यस व्यवहारले मलजल गरेको छ । प्रहरी भन्नु आखिर सरकार हो । सरकारले किन यसो गर्यो त्यसको कुनै कारण छैन । सरकारलाई अपरिपक्व, उरन्ठ्यौला र अल्लारेपन देखाउनेहरूको जमात हो भन्ने जुन सोचाइ नागरिकहरूमा रहेको छ त्यसलाई यस्ता घटनाले अझै पुष्टि गर्दै जान्छ ।
यो सरकार बनेयता नै यसरी वरिष्ठ व्यक्तिहरूलाई पक्राउ गर्ने र छोड्ने कार्य पटकपटक दोहोरिएका छन् तर ती कुनैमा पनि सरकार सफल बन्नसकेको छैन । अहिले पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरेर सरकारले आफूमाथिका आरोपमा अर्को एउटा सिँढी थपेको छ । भन्न त सुरक्षा थ्रेटका कारण उहाँलाई नियन्त्रणमा लिइएको हो भनिएको छ तर प्रहरीले सुरक्षा थ्रेटको त्यस्तो सुराक पाएको भए उहाँकै निवासमा प्रहरीशक्ति थप्न सक्थ्यो र राम्रो सुरक्षा प्रबन्ध मिलाउनु पर्थ्यो । उहाँलाई सुरक्षा थ्रेट थियो नै भने पनि नियन्त्रणमा लिएको ११ घण्टामा त्यो थ्रेट कसरी हट्यो ? त्यो पनि एउटा गम्भीर प्रश्न हो । सम्पूर्ण प्रतिपक्षी पार्टीका नेताहरूबाट चोलेन्द्र शमशेरमाथि भएको यस्तो व्यवहारको आलोचना र भर्त्सना भएको छ ।
प्रतिपक्षी दलमात्र होइन सत्तारुढ दलकै सांसदहरूले समेत सरकारको यस्तो व्यवस्थाको कडा शब्दमा आलोचना गरेका छन् । पत्रकारिताको पृष्ठभूमिबाट रास्वपाकै सांसद बन्न पुग्नुभएका राजीव खत्रीले त हालैको मौसमी चक्रसँग जोडेर सरकारलाई कठोर व्यंग्य गर्नुभएको छ । हालै परेको अविरल वर्षाका कारण आएको भेलले लैजाने डरले प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको र भेल घट्दै गएपछि सुरक्षा थ्रेट समाप्त भएका कारण छोडिएको भनेर व्यंग्य गर्नुभएको छ । अहिले उहाँलाई सुरक्षित ठाउँमा राखिएको भनिएको छ । उहाँका लागि त्यस्तो सुरक्षित स्थान कहाँ हो भनेर खुलाइएको छैन । परिवारको जिम्मा लगाइएको सार्वजनिक गरिएको थियो । हिजो अस्ति पनि उहाँ परिवारसँगै हुनुहुन्थ्यो होला । सार्वजनिक रूपले विवाद र आलोचनापछि जवराका परिवारले सुरक्षा माग गरेको भन्ने पत्र अनायास सामाजिक सञ्जालमा प्रकट भएको छ । तर यो मागको कुनै अर्थ देखिँदैन ।
प्रधानमन्त्री बालेन साह संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेर फर्किंदाफर्किंदै पूर्वप्रधानन्यायाधीशलाई यसरी नियन्त्रणमा लिनु र पुनः छोडेर सुरक्षित ठाउँमा राखिएको भनेर कतै लगेर राखिनुलाई संयोगका रूपमा मात्र होइन एउटा योजनाबद्ध कार्य हो भनेर पनि विश्लेषण भएको छ । यस्ता अनेक कुरामा सरकार चुकिरहेको छ । आधिकारिकता र प्रमाणित हुने कार्यमा मात्र हात हाल्नु उचित हुन्छ । मानवअधिकार आयोगका आयुक्तहरू जाँदा पनि उहाँहरूलाई बाहिर लामो समयसम्म कुराएर जबरासँग भेट्न नदिई फर्काउनु भनेको सरकारले कसैलाई पनि नटेर्नु हो । यस्ता घटनाहरू जो कोहीमाथि भएका हुन् ती उचित हुन् भनेर मान्न सकिँदैन ।







कति छ आज विदेशी मुद्राको
दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक
चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर
भोटेकोशी बाढी : आठ जिल्लामा
एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी