विगतका पानाहरू पल्टाउँदा कहिलेकाहीँ केही दृश्यहरू यति जीवन्त भएर अगाडि उभिन्छन् कि समयको दूरी आफैं बिलाएर जान्छ । २०६६/६७ सालतिर म ललितपुर जिल्ला अदालतको न्यायाधीश थिए । न्यायको आसनमा बसेको मान्छेले अनेकौं अनुहार देख्छ- आशा, निराशा, पीडा, क्रोध, आग्रह, प्रतिवाद । तर, ती सबैमध्ये एउटा अनुहार आजसम्म मनको भित्र कतै अड्किएर बसेको छ- एक वृद्ध महिलाको ।
समाजमा यस्ता कथाहरू थुप्रै छन् । धेरै मुखर हुँदैनन् । धेरै अदालतसम्म पुग्दैनन् । धेरैले आफ्नो पीडाभित्रै थामेर राख्छन् । तर, त्यो दिन अदालतको इजलासमा एक वृद्ध महिलाले सार्वजनिक रूपमा आफ्नो सत्य बोलिन् । उनले परम्पराको सम्मान गर्दै पनि आफ्नो स्वतन्त्रताको माग गरिन् । उनले कसैसँग बदला लिएनन्, केवल आफूलाई मुक्त गरिन् ।
उमेरले डाँडो काटिसकेकी, सम्भवतः पचहत्तर वर्षकी थिइन् उनी । अनुहारमा समयका गहिरा रेखाहरू, आँखामा अनुभवका हजार कथा र बोलीमा असाधारण शान्त दृढता । उनी सम्बन्ध विच्छेदको निवेदन लिएर आएकी थिइन् ।
म अलिक चकित भए । यत्रो उमेरमा सम्बन्ध विच्छेद ?
इजलासको औपचारिकता भित्रैबाट मैले सोधेँ-
‘तपाईं यो उमेरमा किन सम्बन्ध विच्छेद गर्न चाहनुहुन्छ ?’
उनले टाउको झुकाइन्, केही क्षण मौन बसिन् । अनि शान्त तर काँपिरहेको स्वरमा भनिन्, ‘म बिहे गरेर श्रीमान्को घर एक दिन पनि बसेकी छैन, हजुर । नाताले श्रीमान्-श्रीमती भए पनि उहाँसँग मेरो भौतिक सम्बन्ध एक रत्तिभर पनि छैन ।’ उनका शब्दहरू इजलासको चिसो हावामा फैलिँदै मेरो मनको गहिराइमा पुगिरहेका थिए । ‘म माइतमै बसेँ,’ उनले भनिन्, ‘हुर्केँ, बढेँ, बुबाआमासँग बसेँ । दाजुभाइसँग बसेँ । अहिले भदासँग बस्छु । उहाँसँग कहिल्यै बसिन । कहिल्यै जीवन बाँडिन ।’ म स्तब्ध थिए । कागजका अक्षरहरूभन्दा अगाडि एउटा जीवन उभिएको थियो ।
‘तर,’ उनले फेरि भनिन्, ‘कानुनी रूपमा उहाँ मेरो श्रीमान् हुनुहुन्छ । जब उहाँको मृत्यु हुन्छ, हाम्रो धार्मिक संस्कार अनुसार मैले तेह्र दिन क्रिया बस्नुपर्छ । काजक्रिया गर्नुपर्छ । मसँग उहाँको कुनै सम्बन्ध छैन भने त्यो दायित्व किन बोकूँ ?’ उनका आँखामा आँसु थिएन, तर त्यहाँ एक जीवनभरको असन्तोषको शान्त उज्यालो थियो । त्यो उज्यालो चिच्याइरहेको थिएन, कराइरहेको थिएन-तर अत्यन्त स्पष्ट थियो ।
सानैमा उनको विवाह भएको रहेछ । बाल्यकालमै गाँसिएको नाता, जुन सामाजिक परम्पराले बाँधिदियो तर जीवनले स्वीकारेन । परिस्थितिले उनी कहिल्यै श्रीमान्को घर पुगिनन् । न सँगैको दैनिकी, न सुख–दुःखको साझेदारी, न दाम्पत्यको निकटता । केवल कागज र संस्कारले बाँधिएको एउटा सम्बन्ध थियो ‘जब सम्बन्ध नै भएन,’ उनले गम्भीर स्वरमा भनिन्, ‘त्यसको अन्त्यमा आउने कर्म म किन बेहोर्ने ? तेह्र दिन क्रिया बस्नु पनि त एउटा दायित्व हो । जसको म प्रतिको कुनै दायित्व मैले कहिल्यै पाएन, उसको दायित्व किन लिऊँ ?’
इजलासमा बसेको म न्यायाधीश थिए । मेरो काम भावना होइन, कानुन हेर्नु थियो । तर, त्यो दिन कानुनका दफाहरूभित्र पनि म मानवताको सास सुनिरहेको थिए । सत्य के थियो भने, यदि दुवै पक्ष सम्बन्ध विच्छेद गर्न चाहन्छन् भने, म रोक्न सक्दिनँ थिए । अदालतको अधिकार त्यहाँ समाप्त हुन्थ्यो । उनीहरूलाई सम्बन्धमा बाँधेर राख्ने कुनै कानुनी कारण थिएन । तर, त्यो निर्णय केवल कागजी प्रक्रियामात्र थिएन, त्यो एक वृद्ध महिलाको जीवनभर बोकेको अदृश्य बोझ हटाउने क्षण थियो ।
मैंले उनलाई अन्तिम प्रश्न गरेँ,
‘के तपाईंले सोचेर नै यो निर्णय गर्नुभएको हो ?’
उनले दृढ स्वरमा उत्तर दिइन्
‘धेरै सोचेर । अब जीवनको साँझमा अरूको नामको छायाँ बोकेर बस्न चाहन्न श्रीमान् ।’ त्यो वाक्य आज पनि कानमा गुञ्जिरहन्छ । मैले फैसला सुनाए, सम्बन्ध विच्छेद गर्ने । इजलासबाट बाहिरिँदै गर्दा उनी एकछिन् फर्केर हेरेझैँ लाग्यो । त्यो दृष्टिमा न विजय थियो, न पराजय । केवल मुक्तिको शान्त अनुभूति थियो । मानौं उनले जीवनको एउटा अदृश्य बोझ खोलेकी थिइन् ।
पछि विभिन्न पत्रपत्रिकाहरूले यो घटनालाई निकै हाइलाइट गरेर लेखे-‘७५ वर्षमा सम्बन्ध विच्छेद’ भनेर । तर, त्यो समाचारका शीर्षकहरूभन्दा गहिरो कुरा के थियो भने-त्यो एक नारीको आत्मसम्मानको कथा थियो । एक यस्तो नारी, जसले जीवनभर मौन बसेर पनि अन्तिम क्षणमा आफ्नो अस्तित्वको घोषणा गरिन् ।
समाजमा यस्ता कथाहरू थुप्रै छन् । धेरै मुखर हुँदैनन् । धेरै अदालतसम्म पुग्दैनन् । धेरैले आफ्नो पीडाभित्रै थामेर राख्छन् । तर, त्यो दिन अदालतको इजलासमा एक वृद्ध महिलाले सार्वजनिक रूपमा आफ्नो सत्य बोलिन् । उनले परम्पराको सम्मान गर्दै पनि आफ्नो स्वतन्त्रताको माग गरिन् । उनले कसैसँग बदला लिएनन्, केवल आफूलाई मुक्त गरिन् । आज पनि जब म त्यो घटना सम्झन्छु, लाग्छ–मानिसको जीवन कति संवेदनशील र जटिल हुन्छ । कानुनले समाधान दिनसक्छ, तर पीडाको गहिराइ नाप्न सक्दैन । त्यो नाप्ने काम जीवनले आफैं गर्छ ।
ती महिला मेरो नजरमा साँच्चै महान् थिइन् । किनकि उनले सम्बन्ध तोडेर कुनै घर भत्काइनन्, उनले केवल एक असत्य नाता त्यागिन् । उनले देखाइन्– सम्बन्ध केवल संस्कारले होइन, सहअस्तित्वले बाँचिन्छ । र, जब सहअस्तित्व हुँदैन, त्यहाँ दायित्वको नाममा जीवनभरको बोझ बोक्नु आवश्यक छैन । तेह्र दिनको क्रिया नबस्नका लागि उनले एउटा जीवनभरको मौनता तोडिन् । र, त्यही मौनताको भंगले उनको जीवनको साँझमा एउटा उज्यालो कोरिदियो ।
कहिलेकाहीँ न्यायको सबैभन्दा गहिरो अर्थ कागजमा होइन, मान्छेको आत्मामा लेखिन्छ । त्यो दिन मैले एउटा निर्णयमात्र गरेको थिइन-मानव जीवनको संवेदनशीलताको एक अमिट पाठ पढेको थिए ।
(लेखक उच्च अदालतका पूर्वन्यायाधीश हुनुहुन्छ । उहाँले आफ्नो जीवन भोगाइको क्रममा सत्य घटनामा आधारित भएर यो कथा लेख्नुभएको हो ।)







पश्चिमी र मनसुनी वायुको प्रभाव
नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित
अण्डाको उत्पादन र खपत बढाउन
पुरानो बस नचलाउन भनेका थियौँ
कति छ आज विदेशी मुद्राको
आश्विन कृष्ण औँसी : सोह्र