काठमाडौं । विश्व पर्यटन दिवस २०२६ को अवसरमा बागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत प्रदेश पर्यटन कार्यालय काठमाडौंले चित्रकला तथा फोटो प्रदर्शनी, अन्तर्क्रिया र साइकल यात्रा आयोजना गरेको छ । धुम्बाराहीस्थित स्मार्ट दरबार होटलमा आयोजित प्रदर्शनी तथा अन्तर्क्रियाको उद्घाटन गर्दै वागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले पर्यटनको आधार कला र संस्कृति भएकाले पर्यटन व्यवसायी तथा संस्कृतिकर्मीबीच समन्वय आवश्यक रहेको बताउनुभयो । स्थानीय कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा राज्यसँगै सबै पक्षको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।
एक्सपोलर नेपाल नेटवर्क काठमाडौंको सहकार्यमा आयोजित प्रदर्शनीमा १५ कलाकारका २० भन्दा बढी कलाकृति राखिएका थिए । नेपाल तथा बागमती प्रदेशका सभ्यता, सम्पदा, संस्कृति, प्रकृति, जनजीवन र पर्यावरणलाई विषय बनाइएका चित्र तथा फोटो प्रदर्शनीमा राखिएको थियो ।
मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले पर्यटनलाई कला र संस्कृतिसँग जोडेर नेपालको विविधता प्रवर्द्धन गर्न मन्त्रालयले काम गरिरहेको बताउनुभयो । प्रदेश पर्यटन कार्यालय काठमाडौंका प्रमुख पवनकुमार पोखरेलले प्रकृति, संस्कृति र कलालाई सँगसँगै अघि बढाएर पर्यटनको दिगो विकासमा जोड दिइएको बताउनुभयो ।
कार्यक्रममा संस्कृतिविद्, पर्यटन व्यवसायी, कलाकार तथा पर्यटन क्षेत्रका विभिन्न व्यक्तिले कला र संस्कृतिमार्फत नेपालको मौलिक पहिचानलाई विश्वसामु चिनाउनुपर्ने धारणा राखेका थिए । यसै अवसरमा वर्ल्ड साइकलिस्ट क्लब नेपालको सहकार्यमा आइतबार बिहान पाटन दरबार क्षेत्रदेखि धुम्बाराहीसम्म साइकल यात्रा पनि गरिएको थियो । यात्रामा डेढ सयभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।







एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी
पहिराले खस्दा रोल्पाको सहिदमार्ग अवरुद्ध
अविरल वर्षासँगै बाजुरामा पहिरो, साँफे–मार्तडी
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
लेदुवा खोलाको पुल सात वर्षदेखि