मेरिल्याण्ड (अमेरिका) । नेपाली कला, संस्कृति, परम्परा तथा सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकाको मेरिल्याण्ड राज्यमा ‘नेपाल सडक महोत्सव-२०२६’ आयोजना गरिएको छ । नेपाली समुदायको साझा संस्था बाल्टिमोर एसोसिएसन अफ नेपालीज इन अमेरिका (बाना)को अगुवाइमा आयोजित महोत्सवमा मेरिल्याण्डसहित आसपासका विभिन्न राज्यमा बसोवास गर्ने नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
‘हाम्रो संस्कृति, सम्पदा र समुदायको उत्सव’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा नेपाली समुदायका विभिन्न जातीय तथा क्षेत्रीय संघसंस्थाले आ-आफ्ना ब्यानरसहित सहभागिता जनाएका थिए । सहभागी संस्थाले आफ्ना मौलिक संस्कृति, परम्परा र पहिचान झल्काउने विभिन्न झाँकीसमेत प्रस्तुत गरेका थिए ।
महोत्सवमा नेपाली कला, संस्कृति, परम्परा, संगीत, नृत्य तथा हस्तकलाका साथै विभिन्न नेपाली खानाका परिकार प्रदर्शन गरिएको थियो । कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारले सांस्कृतिक प्रस्तुति दिएका थिए ।
नेपालको कला, संस्कृति, परम्परा तथा सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बानाका वरिष्ठ उपाध्यक्ष जनकबहादुर थापाले बताउनुभयो । बानाले विगत सात वर्षदेखि प्रत्येक वर्ष नेपाल सडक महोत्सव आयोजना गर्दै आएको छ । यस वर्षको महोत्सव यसको आठौं संस्करण हो ।
नेपालको कला, संस्कृति, प्राकृतिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्दै विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ । नेपाली कला तथा संस्कृतिलाई अमेरिकी समुदायमाझ परिचित गराउँदै नेपाल र अमेरिकाबीचको सांस्कृतिक सम्बन्ध थप सुदृढ बनाउन महोत्सवले योगदान पुर्याउने आयोजकको विश्वास छ ।
यसैबीच, हालै भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउनसमेत महोत्सवका माध्यमबाट आह्वान गरिएको थियो । महोत्सव नेपाली दूतावास, वासिङ्टन डीसी, गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका तथा नेपाल पर्यटन बोर्डलगायतका संस्थासँगको सहकार्यमा आयोजना गरिएको आयोजकले जनाएको छ ।







क्यासिनोमा नेपाली प्रवेश गराई जुवा
पहिरोको जोखिम मोलेर बजारसम्म कृषि
बाढीपछि रसुवामा हैजाविरुद्ध २१ हजार
कृष्णभीरमा खोलिएको ‘ट्रयाक’ लाई फराकिलो
खेतमा पानी तान्ने क्रममा करेन्ट
वर्षासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम