काठमाडौं । ‘मैथिली गद्य अर्चनाकृत सम्पूर्ण महाभारत’ लोकार्पण गरिएको छ । एक कार्यक्रमबीच प्रमुख अतिथि पूर्वउपराष्ट्रपति परमानन्द झाले कृति लोकार्पण गर्नुभएको हो । करिब एक लाख २१ हजार बढी शब्द र ६१३ पृष्ठमा तयार ग्रन्थमा महाभारतका १८ वटै पर्व समेटिएको जनाइएको छ । मैथिली लोकभाका तथा मिथिला चित्रकलासमेत समावेश गरिएको यस कृतिका प्रकाशक विनयकुमार झा र सम्पादक प्रेमनारायण झा रहनुभएको छ ।
कृति सार्वजनिक गर्दै प्रमुख अतिथि पूर्वउपराष्ट्रपति झाले मैथिली भाषाभाषीका लागि यो ऐतिहासिक तथा उपयोगी ग्रन्थ भएको बताउनुभयो । उहाँले महाभारतजस्तो गहन ग्रन्थलाई सरल र सहज मैथिली गद्यमा प्रस्तुत गरेकोमा कृतिकार अर्चना झालाई साधुवाद दिनुभयो । उहाँले महाभारतलाई ‘पाँचौं वेद’का रूपमा समेत लिइने उल्लेख गर्दै यो ग्रन्थ मैथिलीभाषीको घर–घरमा पुग्नुपर्ने धारणा राख्नुभयो ।
पशुपतिनाथ मन्दिरका मूलभट्ट (अर्चक) रावल गणेश भट्टले मैथिली भाषा, संस्कृति र धर्मको संरक्षण तथा प्रवर्धनमा ग्रन्थले महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । उहाँले विश्वमा महाभारतको स्थानबारे चर्चा गर्नुभयो ।
कृतिकार अर्चना झाले गहन अध्ययन, अनुसन्धान, मनन र साधनापछि महाभारतलाई आफ्नै शैलीमा सरल, सहज र पठनीय मैथिली गद्यमा प्रस्तुत गरेको बताउनुभयो । उहाँले कृति कुनै पुस्तकको हुबहु अनुवाद नभएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सांसद नितिमा कार्की, प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य रूपा झा, विश्व हिन्दू महासंघ नेपालका अध्यक्ष अरुणकुमार पाण्डे, विश्लेषक सीके लाललगायतले आ-आफ्ना धारणा राख्नुभएको थियो ।







लागुऔषध खैरो हेरोइनसहित मकवानपुरमा तीन
कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य
भोटेकोशी बाढी : एक हजार
बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र,
क्यासिनोमा नेपाली प्रवेश गराई जुवा
पहिरोको जोखिम मोलेर बजारसम्म कृषि