१० भदौ, २०८३ को बिहान । नेपाल चीन सीमावर्ती क्षेत्रमा रहेका मानिस राम्ररी ब्युँझन पनि भ्याइसकेका छैनन् । लाङटाङ लिरुङ हिमालको उत्तरी मोहडामा नेपाली समय बिहानको ठ्याक्कै ८ः३७ बज्छ । त्यति नै बेला त्यसक्षेत्रको धर्ती एकाएक कम्पित हुन्छ । ५ दशमलव २ म्याग्निच्युडको भूकम्पीय संकेत नै दर्ता हुनपुग्छ तर त्यो भुइँचालोको कम्पन थिएन । त्यो त थियो, हजारौं हजार मानिसको इहलीला समाप्त पार्ने हिमाली सुनामीले हिमालय क्षेत्रमा ल्याएको त्रासद हलचल । जसले २४औं दिन असोज २ सम्म आइपुग्दा १,४५३ जनाको मृत्यु पुष्टि भएको छ । ५,२८५ जना महाप्रलयमा परेर हराइरहेका छन् । करिब १० हजार व्यक्ति घाइते हुँदा करिब १४ हजार मानिसलाई उद्धार गरेको सरकारी तथ्यांक छ ।
नेपाल चीन-तिब्बत सीमा क्षेत्रको समुद्र सतहदेखि करिब ५,२०० मिटर (१७,०६० फिट) को उचाइस्थित लाङटाङ लिरुङ हिमाल यसको उद्गमस्थल भएको पुष्टि भएको छ । हिमनदी (ग्लेसियर) र बेडरकको विशाल हिस्सा चोइटिएको हिम-चट्टानी पहिरो ५,२०० मिटरबाट खसेर हिमालको तल्लो भाग अर्थात् समुद्र सतहदेखि ३,८०० मिटरको उचाइस्थित उपत्यकाको पिँधमा बज्रिएको थियो । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार २२ किलोमिटर दूरीको मानव बस्ती भएको क्षेत्र नेपाल-चीन सीमा नाका रसुवागढी आइपुग्न यसलाई जम्मा सात मिनेट लाग्यो । अर्थात् ८ः३७ बजे बज्रिएको पहिरो ८ः४४ बजे ल्हेन्दे खोला हुँदै रसुवागढी आइपुग्न १८८ किलोमिटर प्रतिघण्टाको गतिमा दौडिएको थियो । बाढीका साक्षीहरू त यसलाई दौडेको मान्न तयार छैनन्, उनीहरू हिमपहिरो उडेको अर्थात् आँधी आएको बताउँछन् ।
बरफ, चट्टान र हिमनदी मिसिएर झरेको ठूलो हिस्साले केही समय थुनिएको ल्हेन्दे खोलाको बहाव फुट्यो र भोटेकोशीमा थपियो । बरफ, चट्टान, माटो, पानी तथा ठूलो परिमाणको गेग्रयान बोकेर तीव्र गतिमा हुइँकिएको भोटेकोशी त्रिशूली नदीमा मिसिँदा महाप्रलयको रूप धारण गरिसकेको थियो । जसले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँसम्मको नदी करिडोरको जनजीवनलाई तहसनहस बनाइदियो । २६ अगस्ट २०२६ को हिमाली सुनामीले केही बाँकी राखेन । मानिस बगायो । घर बगायो । सडक बगायो । पुल बगायो । विद्यालय बगायो । बजार बगायो । जलविद्युत् आयोजना बगायो । व्यवसाय बगायो । गाडीहरू बगायो । सुन्दर सपना र संसार क्षतविक्षत बनायो ।
त्यसभन्दा बढी र गहिरो विषय भदौ १० ले त्रिशूली नदी किनारमा पुस्तौंदेखि बन्दै आएको एउटा जीवन-व्यवस्थाको निरन्तरता नै तोडिदियो । अर्थात् सभ्यताको एउटा अध्याय नै समाप्त पारिदियो । थोरै ‘सभ्यता’ बारे सभ्यता भनेको दरबार र मन्दिरमात्र होइन । सभ्यता शब्द सुन्नासाथ हाम्रो दिमागमा प्रायः ठूला शहर, दरबार, मन्दिर, पुराना मूर्ति वा पुरातात्विक भग्नावशेष आउँछन् तर सभ्यता त्यसभन्दा विहंगम विषय हो । मानिस कुनै भूगोलमा लामो समयसम्म बस्छ । पानीको स्रोतसँग सम्बन्ध बनाउँछ । जमिन उपयोग गर्छ, खेती गर्छ, खाद्यान्न उत्पादन गर्छ । अतिरिक्त उत्पादन बजारमा लैजान्छ । व्यापार गर्छ, बाटो बनाउँछ, पुल बनाउँछ, घर बनाउँछ, विद्यालय खोल्छ, स्वास्थ्य संस्था बनाउँछ । धार्मिक तथा सांस्कृतिक परम्परा विकास गर्छ । शासन-प्रशासनको संरचना बनाउँछ । ज्ञान-सीप पुस्तान्तरण गर्छ । बाहिरी संसारसँग सम्पर्क स्थापित गर्छ ।
सडक भत्किनु भनेको राज्यको नसामा चोट लाग्नु हो । सडकलाई हामी प्रायः ‘पूर्वाधार’ भनेरमात्र बुझ्छौं तर सडकको अर्थ त्यसभन्दा धेरै ठूलो छ । सडकले, किसानलाई बजार पुर्याउँछ । बिरामीलाई अस्पताल । बालबालिकालाई विद्यालय पुर्याउँछ । व्यापारीलाई सीमासम्म पुर्याउँछ । सरकारलाई नागरिकसम्म पुर्याउँछ । राहतलाई विपद् क्षेत्रमा पुर्याउँछ ।
यी सबै प्रक्रिया पुस्तौंसम्म निरन्तर रहँदा एउटा मानव-भूगोल बन्छ । त्यही मानव-भूगोललाई सभ्यता भन्न सकिन्छ । यस अर्थमा सभ्यताका आधारभूत स्तम्भ हुन्, प्राकृतिक स्रोत, पानी, खाद्य उत्पादन, स्थायी बस्ती, अर्थतन्त्र, व्यापार, यातायात, सञ्चार, सामाजिक संस्था, शासन, ज्ञान, संस्कृति, धर्म, स्मृति र पूर्वाधार । कुनै एउटा घर भत्किनु विपत्ति हो । एउटा बजार भत्किनु ठूलो विपत्ति तर यी सबै संरचना बीचको सम्बन्ध नै टुट्यो भने त्यो सभ्यतामाथिको चोट हो । यही कारणले भदौ १० को भोटेकोशी-त्रिशूली विपत्तिलाई केवल ‘बाढीले गरेको क्षति’का रूपमा मात्र हेर्नु अपूर्ण हुन्छ । त्रिशूली पानीमात्र होइन, एउटा ऐतिहासिक करिडोर ।
रसुवागढीदेखि दक्षिणतर्फ एउटा रोचक भूगोल छ । उत्तरमा हिमाल । त्यहाँबाट तल झर्ने नदी । नदीसँगै विकसित हुँदै गएका बस्ती । बस्तीलाई जोड्ने बाटा । बाटोसँग जोडिएको व्यापार । व्यापारसँग जोडिएको बजार । बजारसँग जोडिएको कृषि । त्यससँग जोडिएको संस्कृति र समयसँगै त्यसै नदीको पानीमा आधारित आधुनिक जलविद्युत् केन्द्रहरू । अर्थात्, त्रिशूली एउटा नदीमात्र होइन, उत्तर र दक्षिणबीचको प्राकृतिक करिडोर हो । तिब्बततर्फबाट आउने मानिस, सामान र प्रभाव हिमाल पार गरेर नेपालतर्फ आउँथे । नेपालतर्फबाट मानिस र सामान उत्तरतर्फ जान्थे । पुरानो व्यापारिक मार्गपछि सडकमा बदलियो । पैदलमार्ग मोटरमार्गमा बदलियो । घाट बजारमा बदलियो । बजार आधुनिक व्यापारिक केन्द्रमा बदलियो, नदीको पानी जलविद्युत्को स्रोत बन्यो ।
एउटा पुरानो हिमाली सभ्यता आधुनिक आर्थिक करिडोरमा रूपान्तरण हुँदै गयो । त्यसैले रसुवागढी-टिमुरे-स्याफ्रुबेँशी-बेत्रावती-त्रिशूली-देवीघाट हुँदै नारायणी प्रणालीसम्मको भूगोललाई केवल प्रशासनिक जिल्लाहरूको समूह भनेर हेर्नु उचित हुँदैन । यो नदीले जोडेको मानव-सम्बन्धको लामो शृंखला हो । ‘त्रिशूली सभ्यता’ भन्ने नाम कुनै औपचारिक पुरातात्विक सभ्यताको नाम भने होइन । यसलाई सिन्धु सभ्यता वा मेसोपोटामिया जस्तो स्थापित पुरातात्विक सभ्यताको रूपमा दाबी गर्न खोजिएको पनि होइन । ‘त्रिशूली सभ्यता’ भन्नाले रसुवागढीदेखि त्रिशूली र नारायणीसम्म नदीसँग प्रत्यक्ष सम्बन्ध राखेर विकसित भएको बस्ती, व्यापार, कृषि, संस्कृति, धर्म, यातायात, ऊर्जा, पर्यटन र सामाजिक–आर्थिक जीवनको समग्र संरचनालाई बुझाइएको हो । यसरी हेर्दा भदौ १० को क्षतिको वास्तविक आकार घर र सडकको संख्याभन्दा धेरै ठूलो देखिन्छ ।
भदौ १० को घटना सामान्य मनसुनको बाढीमात्र होइन । यसमा बरफ थियो । चट्टान थियो । माटो थियो । ठूलो गेग्रान थियो । र अत्यन्त तीव्र गतिमा तलतर्फ आएको पानीको उछाल थियो । त्यसैले नदीले संरचनाहरूलाई बिस्तारै डुबाएन । आकाशबाट उडेर आयो । कतिपय ठाउँ जगैदेखि उखेल्यो । एउटा बिहान, सयौं वर्षको जीवनको अन्त्य । कुनै परिवारको घर त्यही ठाउँमा तीन पुस्तादेखि थियो । कसैको पसल बाबुले सुरु गरेका थिए । कसैको होटल छोराले विस्तार गरेको थियो । कसैको खेत हजुरबुबाको पालादेखि थियो । कसैको विद्यालयमा बाबु पढेका थिए र छोराछोरी पनि त्यही विद्यालयमा पढ्दै थिए । कसैको व्यापार चीनतर्फ जाने–आउने मालसामानसँग जोडिएको थियो । कसैको रोजगारी जलविद्युत् आयोजनामा थियो ।
अनि केही मिनेटमा ती सबैको भूगोल बदलियो । विपत्तिको वास्तविक अर्थ ‘कति घर भत्किए ?’ भन्ने प्रश्नले मात्र दिँदैन । कति परिवारको पुस्तागत निरन्तरता चुँडियो ? भन्ने हो । हजारौं मानिस मारिएका, हराएका छन् । बेपत्ता हुनु र मृत्यु हुनु एउटै कुरा होइन तर परिवारका लागि बेपत्ता पनि कहिलेकाहिँ मृत्युजत्तिकै पीडादायी हुन्छ । किनभने अन्तिम संस्कार गर्न शव चाहिन्छ । अन्तिम पटक अनुहार हेर्न मन लाग्छ तर यहाँ कतिपय परिवारले त्यो अवसर नै पाएनन् । कसैको शव नदीले सयौं किलोमिटर तल पुर्यायो । भारतीय सीमा क्षेत्रमा समेत शव फेला परेका छन् । कसैको शरीर बगरमा पुरिएको छ । कसैको अझै कुनै अत्तोपत्तो छैन ।
अर्कातिर यस विपत्तिको एउटा अत्यन्त मार्मिक अध्याय जलविद्युत् आयोजनाका सुरुङहरू बने । भोटेकोशी-त्रिशूली करिडोरमा ठूलो संख्यामा जलविद्युत् आयोजना निर्माण तथा सञ्चालनमा थिए । बाढीले आयोजनाका संरचनामात्र क्षति गरेन, कतिपय मजदुर र प्राविधिक सुरुङभित्रै फसे । फसेका/चेपिएकाहरूको बेलैमा उद्धार हुन नसक्दा कल्पनै गर्न नसकिने मृत्युवरण गर्न परेको छ । नवौं दिनमा दुई नेपाली र एक चिनियाँ कामदारको जीवितै उद्धार भए पनि बीसौं दिनसम्म बाढीले बन्द सुरुङ खोल्न नसक्दा चेपिएका अरूहरूको शवमात्र हात लागेको छ । यी घटना विपत्ति र उद्धारमा हाम्रो दयनीयताको अर्को पक्ष हुन् । हो, जलविद्युत् आयोजना हाम्रो विकासको प्रतीक थियो तर त्यही विकास संरचना मानिसको मृत्यु सुरुङ बन्ला भन्ने कल्पना गर्न सकिने विषय नै थिएन । नदी करिडोरको घरमात्र होइन, राज्यको ऊर्जा पूर्वाधारको ठूलो हिस्सा पनि एकैपटक स्वाहा भयो ।
सडक भत्किनु भनेको राज्यको नसामा चोट लाग्नु हो । सडकलाई हामी प्रायः ‘पूर्वाधार’ भनेरमात्र बुझ्छौं तर सडकको अर्थ त्यसभन्दा धेरै ठूलो छ । सडकले, किसानलाई बजार पुर्याउँछ । बिरामीलाई अस्पताल । बालबालिकालाई विद्यालय पुर्याउँछ । व्यापारीलाई सीमासम्म पुर्याउँछ । सरकारलाई नागरिकसम्म पुर्याउँछ । राहतलाई विपद् क्षेत्रमा पुर्याउँछ । अर्थात् सडक राज्य र समाजबीचको रक्तसञ्चार प्रणाली हो । भदौ १० मा त्यो रक्तसञ्चार प्रणालीको ठूलो हिस्सा काटियो । उद्धारमा ढिलाइ हुनुका कारणमध्ये एउटा भौगोलिक पहुँचको संकट थियो । सडक नभएपछि एम्बुलेन्स जाँदैन । पुल नभएपछि राहत ट्रक जाँदैन । सञ्चार संरचना बिग्रिएपछि परिवारले परिवारसँग सम्पर्क गर्न सक्दैन । त्यसैले पूर्वाधार विनाशको प्रभाव प्रत्यक्ष क्षतिभन्दा धेरै गुणा ठूलो हुन्छ ।
विद्यालय बग्दा एउटा पुस्ताको समय रोकिन्छ । भौतिक संरचनाको क्षतिमा विद्यालयलाई अरू भवनजस्तै हेर्नु हुँदैन । विद्यालय भनेको भवनमात्र होइन । त्यहाँ बालबालिकाको भविष्य हुन्छ । शिक्षकको पेशा हुन्छ । समुदायको सामाजिक केन्द्र हुन्छ । भोलिको जनशक्ति तयार हुन्छ । बाढीले त्रिशूली क्षेत्रका विद्यालयहरूमा ठूलो क्षति पुर्यायो । त्रिभुवन त्रिशूली उच्चमाध्यामिकलगायत नदी करिडोर क्षेत्रका अधिकांश विद्यालय नदीको बहावको लपेटमा परे । प्रारम्भिक चेतावनीका कारण ठूलो संख्यामा विद्यार्थीलाई सुरक्षित निकाल्न सकिएको घटना छ । युनिसेफलगायतका विवरणमा प्रभावित क्षेत्रमा विद्यालय पूर्ण वा आंशिक रूपमा नष्ट भएको उल्लेख छ । त्यसैले भन्न सकिन्छ, पूर्वसूचना प्रणाली केवल प्राविधिक उपकरण होइन, त्यो जीवन बचाउने सामाजिक संरचना हो ।
व्यापारको बाटो हराउँदा अर्थतन्त्रको एउटा धुरी हराउँछ । रसुवागढी नेपाल-चीन सीमाको महत्त्वपूर्ण र ऐतिहासिक व्यापारिक नाका हो । त्यसतर्फ जाने बाटो केवल स्थानीय सडक होइन । त्यो राष्ट्रिय अर्थतन्त्रको एउटा धुरी हो । चीनबाट आउने सामान, नेपालबाट जाने सामान, ढुवानी व्यवसाय, भन्सार राजस्व । स्थानीय होटल, गोदाम, बैंक, बीमा, खाद्यान्न आपूर्ति, रोजगारी यी सबै एकअर्कासँग जोडिएका छन् । त्यसैले रसुवागढी करिडोरको विनाशलाई ‘रसुवाको समस्या’मात्र भनेर हेर्न मिल्दैन । यसले काठमाडौंको बजारसम्म प्रभाव पार्छ । नेपालको आयात प्रणालीमा प्रभाव पार्छ । राजस्वमा असर गर्छ ।
स्थानीय रोजगारीमा असर गर्छ र सबैभन्दा महत्त्वपूर्ण-नेपालको उत्तरतर्फको आर्थिक पहुँचमा चोट पुर्याउँछ । जलविद्युत् नेपालको विकासको सपना हो । नेपालको आर्थिक भविष्यसँग जलविद्युत् जोडिएको छ । हामीले नदीलाई ऊर्जामा रूपान्तरण गरेर आर्थिक समृद्धिको सपना देखेका छौं । त्रिशूली र भोटेकोशी करिडोर त्यही सपनाको एउटा प्रमुख केन्द्र थियो तर भदौ १० ले एउटा गम्भीर प्रश्न उठाएको छ, हामीले हिमाली नदीको जोखिमलाई कति गहिराइसम्म बुझेका थियौं ?
परम्परागत बाढीको शैलीले विगतका वर्षाको तथ्यांकमा आधारित भएर भविष्यको बाढी अनुमान गर्न सक्छ । तर हिमचट्टान स्खलनपछि आउने हिउँ, चट्टान, गेग्रान र पानीको संयुक्त प्रहार कल्पना गरेभन्दा बढी हुँदो रहेछ । यही कारणले इसिमोडले यो घटनापछि नेपालको जलविद्युत् क्षेत्रमा जलवायु परिवर्तनको जोखिमबारे विशेष रूपमा प्रश्न उठाएको छ । अब जलविद्युत् आयोजना बनाउँदा केवल ‘कति वर्षको बाढी सहन्छ ?’ भन्ने प्रश्न पर्याप्त हुँदैन । अब प्रश्न हुनुपर्छ, यदि माथि हिमनदीको ठूलो भाग खस्यो भने के हुन्छ ? यदि खोलो केही समय थुनिएर अचानक फुट्यो भने के हुन्छ ?यदि गेग्रानसहितको हिमपहिरोले बाँध, इन्टेक, सुरुङ, विद्युतगृह सबैलाई एकैपटक प्रभावित गर्यो भने के हुन्छ ? यस्ता खराबस्थितिको आंकलन डिजाइनकै समयमा गरिनुपर्ने देखाएको छ ।
जुन परिवार विस्थापित भयो, उसको भूगोल बदलियो तर यसको अर्थ त्रिशूलीको भविष्य सकियो भन्ने होइन । बरू यही विनाशबाट नयाँ त्रिशूली निर्माण गर्ने अवसर आएको छ । सुरक्षित त्रिशूली । वैज्ञानिक त्रिशूली । जलवायु-अनुकूल त्रिशूली । मानवकेन्द्रित त्रिशूली । नदीसँग सहअस्तित्व गर्ने त्रिशूली ।
त्रिशूली सभ्यताको सबैभन्दा अदृश्य क्षति हो, स्मृति । घर/भवन पुनः बनाउन सकिन्छ । सडक पुनः बनाउन सकिन्छ । पुल पुनः बनाउन सकिन्छ । जलविद्युत् आयोजना पनि फेरि बनाउन सकिन्छ तर एउटा कुरा पुनःनिर्माण गर्न अत्यन्त कठिन हुन्छ त्यो हो, सामूहिक स्मृति । एउटा पुरानो घरमा परिवारको तीन पुस्ताको कथा हुन्छ । एउटा पुरानो पसलमा बुबाको श्रम हुन्छ । एउटा घाटमा हजुरबुबाको सम्झना हुन्छ । एउटा बजारमा स्थानीय मानिसहरूको सामाजिक इतिहास हुन्छ । एउटा विद्यालयमा हजारौं विद्यार्थीको बाल्यकाल हुन्छ । यी कुरा अभिलेखमा नआए बाढीसँगै हराउँछन् । त्यसैले अब पुनर्निर्माणसँगै त्रिशूली क्षेत्रको मौखिक इतिहास, पुराना तस्वीर, नक्शा, व्यापारिक इतिहास, स्थानीय कथा, धार्मिकस्थल, बस्तीको इतिहास र परिवारगत अभिलेख संकलन गर्नुपर्छ । नत्र हामी भौतिक त्रिशूली त बनाउँछौं तर स्मृतिको त्रिशूली हराउँछ ।
सभ्यता नष्ट भएको कसरी थाहा पाउने ?अब मूल प्रश्नमा फर्कौं । भदौ १० ले त्रिशूली सभ्यता नष्ट गर्यो भन्न मिल्छ ? यसको उत्तर दुई तहमा दिनुपर्छ । पुरातात्विक अर्थमा हामीले त्यस्तो दाबी गर्न पर्याप्त प्रमाण खोज्नुपर्छ तर सामाजिक-आर्थिक अर्थमा-यो घटनाले त्रिशूली नदीसँग जोडिएको मानव-जीवनको निरन्तरतामा गम्भीर विच्छेद ल्याएको छ । यसलाई पाँचवटा प्रश्नले परीक्षण गर्न सकिन्छ । पहिलो, मानिस बाँकी रहे ?धेरै बाँचे, धेरै मरे, धेरै बेपत्ता भए, धेरै विस्थापित भए । दोस्रो, बस्ती बाँकी रह्यो ? कतिपय बस्तीमा ठूलो भौतिक विनाश भयो । तेस्रो, अर्थतन्त्र बाँकी रह्यो ? व्यापार, पर्यटन, जलविद्युत्, कृषि र स्थानीय व्यवसायमा ठूलो चोट पर्यो ।
चौथो, पूर्वाधार बाँकी रह्यो ? सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, ऊर्जा र सञ्चार संरचनामा ठूलो क्षति भयो । पाँचौं, सामाजिक निरन्तरता बाँकी रह्यो ? यही प्रश्न सबैभन्दा कठिन छ । किनभने घर गुमाएका मानिसले फेरि घर बनाउन सक्छन् तर पुरानो ठाउँ नै नबचेपछि उनीहरूको सामाजिक भूगोल बदलिन्छ । त्यसैले त्रिशूली सभ्यताको ‘भौतिक शरीर’मा गम्भीर चोट पुगेको छ । अब त्यसको ‘आत्मा’ अर्थात् सामाजिक स्मृति, संस्कृति, सम्बन्ध र निरन्तरता बचाउने काम हाम्रो हो ।
दीर्घकालीन प्रभाव : आजभन्दा भोलि ठूलो संकट देखिनेछ । भदौ १० को क्षतिको पूरा परिणाम आज देखिँदैन । यसको वास्तविक प्रभाव पाँच, दश र बीस वर्षपछि देखिनसक्छ । जसमा एक हो, बसाइँसराइ । घर र रोजगारी गुमाएका परिवार सुरक्षित भूगोलतर्फ सर्न सक्छन् । यसले पहाडी तथा हिमाली बस्तीको जनसंख्या घटाउनसक्छ । अर्को, जनसांख्यिक परिवर्तन । युवा बाहिरिए भने स्थानीय अर्थतन्त्र वृद्ध र आश्रित जनसंख्यामा सीमित हुनसक्छ । कृषि संकट, खेतमा गेग्रान थुप्रिएको छ । उत्पादन घट्नेछ । व्यापारिक संरचनाको पुनर्संरचना त्यति सजिलो छैन । रसुवागढी व्यापार पुनः सुरु भए पनि पहिलेको संरचना तुरुन्त फर्कन सक्दैन । पर्यटनमा दीर्घकालीन असर पुगेको छ ।
पर्यटकको धारणा ‘जोखिमपूर्ण क्षेत्र’ बदलिन सक्छ । ऊर्जा लगानीमा जोखिम ह्वात्तै बढेको छ । जलविद्युत् क्षेत्रमा लगानीकर्ताले हिमाली जोखिमको नयाँ मूल्यांकन गर्नुपर्ने हुनेछ । अब सरकारी ऋण र पुनर्निर्माण खर्च बढ्नेछ । पुनर्निर्माणका लागि ठूलो सार्वजनिक स्रोत जुटाउनुपर्नेछ । चार खर्बभन्दा बढी क्षति अनुमान गरिएकामा साढे ७ खर्बभन्दा बढी नेपाली रुपैयाँ पुनर्निर्माणका लागि लाग्ने सरकारको प्रक्षेपण छ । स्थानीय संस्कृतिमा असर भयावह छ । विस्थापन बढेमा स्थानीय भाषा, परम्परा र सामुदायिक संरचना कमजोर हुन सक्छ ।
योसँगै भोटेकोशी बाढीले हामीलाई गम्भीर प्रश्न भने तेर्स्याएको छ, के हामीले जोखिमको भूगोलमा विकास गरिरहेका थियौं ? यस घटनापछि दोष प्रकृतिलाई मात्र दिएर उम्किन मिल्दैन । प्रकृति आफ्नो नियमानुसार चल्छ । हिमाल खस्नसक्छ । नदी बढ्नसक्छ । हिमनदी फुट्नसक्छ तर मानिसले कहाँ घर बनाउने । कहाँ सडक बनाउने ? कहाँ जलविद्युत् आयोजना बनाउने ? कति नजिक नदीमा जाने ?कुन ठाउँमा विद्यालय बनाउने ? कस्तो पुल बनाउने ? यी निर्णय मानवले गर्छ । त्यसैले अब विकासको एउटा पुरानो प्रश्न बदल्नुपर्छ । पहिले प्रश्न हुन्थ्यो, ‘यहाँ विकास गर्न सकिन्छ?’ अब प्रश्न हुनुपर्छ, ‘यहाँ विकास गर्दा सय वर्षपछि पनि मानिस सुरक्षित रहन्छन् ?’
त्रिशूलीलाई कसरी पुनर्निर्माण गर्ने ?
पुनर्निर्माणको अर्थ पुरानो ठाउँमा उस्तै घर बनाउनु होइन । यदि नदीले कुनै ठाउँलाई स्थायी रूपमा आफ्नो बहाव क्षेत्रमा ल्याएको छ भने त्यही ठाउँमा फेरि बस्ती बसाउनु मुर्खता हुनेछ । त्यसैले अब पुनर्निर्माणका कम्तीमा सात आधार हुनुपर्छ । १. नदीको प्राकृतिक क्षेत्र पहिचानः नदीको पुरानो र सम्भावित नयाँ धारको वैज्ञानिक रेखांकन गरिनुपर्दछ । २. जोखिम सूचना प्रणाली विकास : हिमनदीदेखि बस्तीसम्म जोडिएको रियल टाइम पूर्व–जोखिम सूचना प्रणालीको विकास गर्नुपर्दछ । ३. नयाँ जलविद्युत जोखिम मापदण्ड : विद्युत आयोजनाहरूले अब वर्षात्को बाढीमात्र होइन, हिमचट्टान/नदी खसेर आउनसक्ने र त्यसले पार्ने उच्चतम जोखिम अनुमान पनि डिजाइनमा समेट्ने । ४. सुरक्षित पुनर्वासः जोखिमयुक्त क्षेत्रमा “घर बनाइदिने” होइन, सुरक्षित भूगोलमा सम्मानजनक पुनर्वास गर्नुपर्छ । ५. पूर्वाधारको पुनर्कल्पना : सडक र पुल केवल पहिले जहाँ थिए त्यहीँ पुनः बनाउनु हुँदैन । ६. सांस्कृतिक अभिलेख : बाढीले नष्ट गर्नुअघि बाँचेका स्मृति, कथा, तस्बिर, दस्तावेज र मौखिक इतिहास संकलन गर्नुपर्छ । ७. हिमालयका लागि अन्तर्राष्ट्रिय जोखिम प्रणाली : यो नेपालले एक्लै गर्ने र गर्नसक्ने विषय होइन । हिमनदी सीमामा रोकिँदैन । नदी सीमामा रोकिन्न । विपत्ति पनि सीमामा रोकिन्न । त्यसैले नेपाल-चीनबीच रियल टाइम डाटा साझा, संयुक्त अनुगमन र क्रसबोर्डर जनाउ पद्धति विकास गर्नुपर्दछ ।
जलवायु परिवर्तनको प्रश्न :
भदौ १० को घटना ‘जलवायु परिवर्तनले नै गराएको हो’ भन्ने निष्कर्ष वैज्ञानिक तथ्यहरूले पुष्टि गर्दै लैजालान् तर हिमाली क्षेत्र तीव्र गतिमा बदलिरहेको, हिमनदीहरू पग्लिरहेका र पर्माफ्रोष्ट (चट्टान च्यापेर बसेको हिउँसहितको सतह) कमजोर भइरहेको प्रष्ट छ । हिमाली ढलान अस्थिर हुँदैछन् । नयाँ हिमताल बन्ने जोखिम बढिरहेको छ । यसले ग्लेसियरसम्बन्धित जोखिमको स्वरूप बदलिरहेको छ । नेपालले अब विकास र जलवायु नीतिलाई अलग-अलग हेर्न सक्दैन । हिमालको सुरक्षा नै पूर्वाधारको सुरक्षा हो । हिमनदीको अध्ययन नै जलविद्युतको सुरक्षा अध्ययन हो । नदीको भविष्य बुझ्नु नै बस्तीको भविष्य बुझ्नु हो । भदौ १० को बाढीले नेपाललाई एउटा कठोर पाठ सिकाएको छ । हामीले नदीलाई धेरैपटक केवल स्रोतका रूपमा हेरेका छौं ।
पानी, जलविद्युत्, सिँचाइ, पर्यटन, बालुवा तर नदी एउटा जीवित भौगोलिक प्रणाली हो । उसको आफ्नै ठाउँ हुन्छ । उसको आफ्नै शक्ति हुन्छ । उसको आफ्नै स्मृति हुन्छ । उसले पुरानो बाटो सम्झन्छ । कहिलेकाहीं त्यो बाटो दशकौंसम्म शान्त रहन्छ तर असाधारण घटना भयो भने नदीले आफ्नो पुरानो शक्ति पुनः देखाउनसक्छ । त्यसैले विकासको नयाँ दर्शन हुनुपर्छ, नदीलाई जित्ने होइन, नदीसँग सहअस्तित्व गर्ने ।
अब अन्तिम प्रश्न, के त्रिशूली फेरि उस्तै बन्नसक्छ ?
सक्दैन र सायद बन्नु पनि हुँदैन । किनभने जुन घर गयो, त्यो घर उस्तै फर्किंदैन । जुन मानिस गयो, फर्किंदैन । जुन बजारको सामाजिक सम्बन्ध टुट्यो, त्यो उस्तै हुँदैन । जुन खेतमा गेग्रान थुप्रियो, त्यसको इतिहास बदलियो । जुन परिवार विस्थापित भयो, उसको भूगोल बदलियो तर यसको अर्थ त्रिशूलीको भविष्य सकियो भन्ने होइन । बरू यही विनाशबाट नयाँ त्रिशूली निर्माण गर्ने अवसर आएको छ । सुरक्षित त्रिशूली । वैज्ञानिक त्रिशूली । जलवायु-अनुकूल त्रिशूली । मानवकेन्द्रित त्रिशूली । नदीसँग सहअस्तित्व गर्ने त्रिशूली ।
निष्कर्ष : भदौ १० केवल बाढीको मिति होइन । भदौ १० लाई हामीले भविष्यमा कुन नामले सम्झिने ? एउटा बाढी ? एउटा प्राकृतिक विपत्ति ? एउटा राष्ट्रिय शोक ? वा एउटा सभ्यताको मोड ? इतिहासले यसको उत्तर पछि दिनेछ तर आज हामीसँग एउटा कुरा स्पष्ट छ । भोटेकोशी–त्रिशूली करिडोरमा नष्ट भएको कुरा केवल हजारौं घरको छाना थिएन । त्यहाँ मानिसको पुस्तौंको श्रम थियो । व्यापार थियो । कृषि थियो । यात्रा थियो । तीर्थ थियो । संस्कृति थियो । विद्यालय थियो । रोजगारी थियो । जलविद्युत् थियो । सीमापार सम्बन्ध थियो र सबैभन्दा ठूलो कुरा, मानिस र नदीबीच बनेको एउटा लामो सम्बन्ध थियो ।
त्यसैले भदौ १० को विपत्तिको मूल्य केवल रुपैयाँमा निकाल्न सकिँदैन । रुपैयाँले पुलको मूल्य बताउनसक्छ तर पुलले जोडेको समाजको मूल्य बताउन सक्दैन । रुपैयाँले घरको मूल्य बताउनसक्छ तर त्यो घरभित्र तीन पुस्ताले बोकेको स्मृतिको मूल्य बताउन सक्दैन । रुपैयाँले जलविद्युत् आयोजनाको मूल्य बताउन सक्छ । तर त्यहाँ काम गर्ने मजदुरको जीवनको मूल्य बताउन सक्दैन र रुपैयाँले नदीको पानीको मूल्य बताउनसक्छ तर नदीसँगै जन्मिएको सभ्यताको मूल्य बताउन सक्दैन ।
त्यसैले अब हाम्रो काम केवल भग्नावशेष हटाउनु होइन । हामीले निर्णय गर्नुपर्नेछ, अबको त्रिशूली कस्तो बनाउने ? पुरानै जोखिममा पुरानै बस्ती ? पुरानै ढाँचामा पुरानै विकास ? कि भदौ १० बाट सिकेर नयाँ भूगोल, नयाँ विज्ञान, नयाँ पूर्वाधार र नयाँ चेतनासहितको त्रिशूली ? यो निर्णय केवल आजको सरकारको निर्णय होइन । यो आगामी पुस्ताको भविष्यको निर्णय हो । किनकि नदी फेरि बग्नेछ । हिमाल फेरि हल्लिन सक्छ । वर्षा फेरि हुनसक्छ । हिमनदी फेरि परिवर्तन हुनसक्छ तर यदि हामीले यसपटक पनि नबुझे, अर्को भदौ १० ले हामीलाई फेरि यही प्रश्न सोध्नेछ ।
त्यसैले भदौ १० को सबैभन्दा ठूलो स्मारक ढुंगाको स्मारक हुनु हुँदैन । त्यो स्मारक हुनुपर्छ, सुरक्षित बस्ती । वैज्ञानिक पूर्वाधार । पूर्वसूचना प्रणाली । नदीको सम्मान । हिमालको अध्ययन र मानिसको जीवनलाई विकासभन्दा माथि राख्ने नयाँ सोच । त्रिशूलीको पानी बगिरहनेछ तर अब प्रश्न यो हो, हामी त्यसको किनारमा कस्तो सभ्यता बनाउँछौं ?







सुर्खेतका जंगलबाट एकै दिन १८
सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक