सर्वस्वार्थं समीहते
पौरस्त्य जगत्का शुक्रतारा ऋषि याज्ञवल्क्यले मन्छेले जेसुकै अभिनय गरोस्, जस्तोसुकै त्याग र तितीक्षाका कुरा गरुन् तिनीहरू सधैं स्वार्थको पिण्डका रूपमा आफ्ना परिचय चिह्न लिएर देखापरेका हुन्छन् । शिक्षक, विद्यार्थी, पतिपत्नी, प्रेमी प्रेयसी, किसान, व्यापारी, उपदेशक, योगी, सन्यासी, वैष्णव शाक्त, सौर्य, गाणपत्यमात्र होइन चोर, डाका लाटालफंगासम्म पनि सबै नै स्वार्थका जालमा आबद्ध हुन्छन् भने । याज्ञवल्क्य जनकपुर निवासी थिए र उनी कमला खुँजका वनमा बसेर शुक्लयजुर्वेद लेख्दैथिए । कमला खुँजका वनमा देखेको एउटा वन्यजीवको उदाहरणबाट समग्र जीवका स्वभावमाथि प्रकाश पारेका छन् उनले ।
अहिले कांग्रेसमा देश जनतालाई सत्ताको ‘बालो’ दान गर्न नदीकिनारमा बसेको एउटा घाइते बुढो बाघ र अर्को भर्खरै हुर्कंदै गरेको पट्ठो बाघका बीचमा सुनको बालो मेरो/मेरोको घोर तर परिणामदायी युद्ध चलेको देखिन्छ । ‘युद्धेषु सर्व समीचीनं भवति’ भन्ने सिद्धान्तका आधारमा कानुनी दाउपेच पनि चलाएकै छन् ।
वानर र उसको बच्चाका बीचको व्यवहारका माध्यमले पौरस्त्य दार्शनिक परम्परामा उनले जमेका पोखरीमा तरंग ल्याउने र सत्य स्थापित गर्ने उद्देश्यले फालेको एउटा दार्शनिक ढुंगो हो बृहदारण्य कोपनिषद् । यस ढुंगाका अनेकौं आयाम छन् । आ–आफ्ना मुण्डानुसार अरूले व्याख्या गरे पनि उनले चाहिँ एउटा साधारण जैविक स्वार्थपूर्ण गतिविधिका माध्यमले दुनियाँलाई जीव निस्वार्थ हुँदैन भन्ने प्रमाणित गराएको देखिन्छ । याज्ञवल्क्यका दुइटी पत्नी थिए यौनको दुर्निवार आवश्यक्ता र वेदनिर्माणका वेलाको स्वार्थका कारणले पनि दुई पत्नी जम्मा गरेका थिए । उनी मिथिलाका थिए । उनका पिता अनिकालका बेला गरिबलाई विनाशुल्क हजारौं मुरी धान बाँड्थे ।
वैशम्पायन यिनका मामा र गुरु दुवै थिए । मामासँग सामान्य मतभेद भएपछि मामाको गुरुकुल परित्याग गरेर सूर्यसँग शुक्लयजुर्वेदको शिक्षा लिएका कुराहरू भेटिन्छन् । ठीक यस्तै प्रसंग कांग्रेसको पनि छ । नेपालको तत्कालीन आवश्यक्ताका कारणले बाघ, स्याल, सर्प, बिच्छी र भ्यागुताका मेलमिलापका बलमा नेपाली कांग्रेस पार्टी खुलेको थियो । ‘अहिंसा प्रतिष्ठायां तत्सन्नि धौवैरत्यागः’ भन्ने पतञ्जलीको योगसूत्रका अनुसार नै विश्वेश्वरप्रसाद कोइरालाको उच्चबौद्धिक क्षमता र निर्लोभी त्याग र मूल्यप्रतिको निष्ठाका अगाडि सबै निष्तर्क भए । कतिपय सिकारमा बाँच्ने र बाँचेर आएका जीव पनि लुरुक्क परेका थिए ।
अहिले सबै लोभी स्याल, हुँडार आफैं सिकार गर्न नसक्ने तर बाघ सिंहले गरेका सिकारलाई हुल बाँधेर झम्टा मार्ने र सक पुगे सिंह र बाघलाई झम्टा दिएर भगाई आफैं सिकार लुछेर पेट भर्ने प्रकृतिका जीव यस दलमा भरिएका छन् । शायद यसैलाई हाइना भन्छन् क्यारे (रूपरङ हाइना र हुँडारको)उस्तै देख्छु । अहिले कांग्रेसमा देश जनतालाई सत्ताको ‘बालो’ दान गर्न नदीकिनारमा बसेको एउटा घाइते बुढो बाघ र अर्को भर्खरै हुर्कंदै गरेको पट्ठो बाघका बीचमा सुनको बालो मेरो/मेरोको घोर तर परिणामदायी युद्ध चलेको देखिन्छ । ‘युद्धेषु सर्वर् ंसमीचीनं भवति’ भन्ने सिद्धान्तका आधारमा कानुनी दाउपेच पनि चलाएकै छन् ।
क्रियाकेबलमुत्तरम्
एकातिर बुढो बाघ जो जीवनभरिका सिकारबाट थकित गलित नखदन्त भएको हुनाले बैंसमा आफूले सिकार गर्दा फेला परेको सुनको बालो दान गर्छु भनेर लोभी बटुवालाई आकर्षण गरेर एकै पटक भए पनि पेट भर्ने योजना अनुसार दानको समय अलिकति फरक पारेर स्नान गरेर बालो दान गर्न तयार देखिन्छ भने अर्कोतिर उम्दो उमेरका बाघले सुनका डल्ला र हीरामणिमाणिक्य मैदानमा फालेर गर्जंदैछ । अब मान्छे को कता लाग्ने हुन् अनुमान सजिलो छैन । दुवै बाघ जातिकै हुन् । दुवै वनकै राजा मानिन्छन् । दुवै मांसाहारी नै हुन् । यी दुईमध्ये कुनै एक पनि चान्द्रायणव्रती भएको भए एउटा आधार हुन्थ्यो त्यो छैन । सुनिन्छ दक्षिणी वन र उत्तरी वनबाट बाघ नचाउने बघारी आएका छन् रे । तिनकै इसारामा नाच्तै आएका हुन् पनि भन्ने सुनिन्छ ।
उत्तरी बघेरीले आफ्नो बाघ नचाउन नजान्दा वनमा बुढा बाघका अघि सबै नयाँ जति बाघ नभएर चितुवा निक्लेको सबै जन्तुले देख्न पाइसके । अब त्यहाँ बाघका डरले चितुवा ओडार पसे । बुढो बाघले हाई गरेर मुख बाउन थालेको देखिन्छ । महाभारतका पाखाको वन भनेको निगाले चितुवा र वनढाडेको क्रीडास्थलमात्रै हो । चारकोसे झाडी भनेको फाटेबाघ र जगरे सिंहको व्रीडास्थल हो । त्यसैले असोज र मंसिर महिना विशेष रोचक महिना बन्नेवाला छन् । एकातिर ब्राण्डको गर्जन सुनिन्छ भने अर्कातिर नवयौवनवालाको भेलछ भन्ने पनि सुनिन थालेको छ । मुखले र सञ्चारले जति जे भने पनि परिणाम नदेखिएसम्म कसैले कसैका विज्ञापनमा लाग्ने अवस्था देखिएको छैन । आजको कांग्रेस बरमझियाको पेडाका अवस्थामा पुगेको छ ।
एकातिर एकथरी ब्राण्ड जम्मा गरिएको छ भने अर्कातिर मूक असली ब्राण्ड प्रदर्शन गरेको देखिन्छ । क्रेता कता लाग्छन् हेर्न बाँकी नै छ । दुवै पसले मुनाफा पनि कमाउने नाम पनि कमाउने भनेर नै पसल खोल्न पुगेका देखिन्छन् । बाघ जुधाउने बघेरीका रूपमा रहेको असली बघेरी न्यायका नौ सिङ प्रदर्शनतिर लाग्नसक्ने सम्भावना पनि रहेको छ भन्छन् अगुल्टाले हिर्काइएकाहरू । बाघबाघ मिल्दाको दुष्परिणाम मेरा मित्र दीपकराज जोशीले जुन प्रकारले भोगेका थिए त्यो अन्यत्र देख्न नपाउने अवस्था हुनसक्छ । त्यस बेलाका महत्त्वाकांक्षी बाघ अहिले मैदानमा नै छन् ।
आ-आफ्नो सिकारको खेतीमा पनि लागिरहेकै रहेछन् भन्ने चाहिँ २०८३ असोज ११ गतेको पूर्वप्रधानन्याधीश पक्राउ प्रसंगले प्रजातान्त्रिक विधिनियम कति निरीह र हात्तीको देखाउने दाँत तथा हराम से राम डरे भन्ने दुवै लोकोक्तिको सान्दर्भिकता लाटाले पनि बुझ्ने गरी स्पष्ट्याएको छ । वर्तमान सरकारको नियत र नियतिको उत्तर तिनकै कार्यशैलीले दिएन र ? उमेरको पार्थक्यबाहेक बुढा बाघमध्येका दुई ओली चोलेन्द्र र बालेन्द्रमा फरक के दखियो र ?
येनाहं नामृता स्यां किमहं तेन कुर्याम्
जेले म अमर बन्छु त्यो धन मलाई दिनुहोस् । महर्षि याज्ञवल्क्यका दुईवटी पत्नी थिए । एकदिन उनले आफू तपस्यामा जाने बेला भएपछि भएको धनसम्पति भाग लाएर आफू तपस्याका लागि उत्तरापन्थतिर जाने कुरो गर्दा मैत्रेयीले यो वाक्य भनेकी थिइन् । पतिपत्नीका बीचमा भएको लामो संवादपछि याज्ञवल्क्यका कुरा सुनेर मैत्रेयीले सोधिन् त्यो अथाह वा स्वल्पधनले म अजरअमर बन्छु ? होइन धनले अजरअमर कहिल्यै कोही पनि हुँदैन त्यसका लागि त ब्रह्मचिन्तन र आचरणयुक्त योगको आवश्यक्ता पर्दछ भनेपछि त्यसो भए मलाई त्यस्तो धन दिनुस् जसले म अजरअमर बन्न सकूँ । यो नासवान् धनतिर मलाई आशक्ति छैन भनेपछि बृहदारण्यक उपनिषद् गम्भीर बनेर अघि बढ्छ ।
कृष्णप्रसाद कोइराला र चन्द्र शमशेरदेखि आरम्भ भएको द्वन्द्वले मोहन शमशेरसम्म पनि हारजित हुनसकेन । यो लडाइँ धन र मनको थियो एकातिर भने अर्कातिर मानवीय अहं जनता, देश र तिनका हकअधिकारसम्म पनि फैलिएर गयो । आज नेपाली कांग्रेसमा मच्चिएको द्वन्द्व अहं/अहंको हो तर जनता, देश प्रजातन्त्र, संघसंगठनका विधिनियमको आवरणले ढाकेर दुनियाँ दंग्याउने खेल खेलिरहेको देखिन्छ ।
कृष्णप्रसाद कोइराला र चन्द्र शमशेरदेखि आरम्भ भएको द्वन्द्वले मोहन शमशेरसम्म पनि हारजित हुनसकेन । यो लडाइँ धन र मनको थियो एकातिर भने अर्कातिर मानवीय अहं जनता, देश र तिनका हकअधिकारसम्म पनि फैलिएर गयो । आज नेपाली कांग्रेसमा मच्चिएको द्वन्द्व अहं/अहंको हो तर जनता, देश प्रजातन्त्र, संघसंगठनका विधिनियमको आवरणले ढाकेर दुनियाँ दङ्ग्याउने खेल खेलिरहेको देखिन्छ । आजका कांग्रेसमा न याज्ञवल्क्य छन् न त मैत्रेयी नै । आज त आत्मैवप्रियःनान्यत । आफूलाई आफैं प्रिय हुन्छ नकि अर्को/अरू । किनभने ‘नवा अरे भवत्यात्मनस्तु कामायपतिः प्रियो भवति । न वा अरे जायायै कामायजायाप्रियाभवत्यात्मनस्तु कामायजायाप्रियाभवति... ।’
मैत्रेयी ! आफ्नै स्वार्थका कारणले तिमीले पतिलाई माया गरेकी हौ । पत्नीका लागि मैले पनि तिमीलाई माया गरेको होइन । मेरै स्वार्थका कारणले तिमी मेरी प्यारी बनेकी हौ । यही लेनदेन एकजना कांग्रेसी नेताले र कम्युनिष्टका नेताले बुझेका हुनाले आज पनि एकअर्कामा प्रिय रहेका छन् । यो प्रियता चाहिँ न कम्युनिष्ट-कम्युनिष्टमा देखियो न त कांग्रेस-कांग्रेसमा नै देखियो । यसबाट के अवगत हुन्छ भने यी मूल्य, दर्शन, संगठन, प्रजातन्त्र भनेर गाइएका गीत छद्म हुन् । इन्द्रले वृत्रलाई मार्न समुद्रका फिँजमा वज्र लुकाएर भ्रममा पारेर मारेजस्तै गरी मान्छेलाई सम्मोहनपूर्ण मूर्ख बनाएर स्वार्थको दुनामा घ्यू पिउने उपक्रम मात्र रहेछन् भनेर दुनियाँले बुझेका दिन न सुल्फानन्द, न भ्युटावरानन्द, न त सत्तानन्द न त गन्गनानन्द नै आकर्षक तत्व रहनेछन् ।
सबै फुस्साको त्रिभुज हुनेछन् । यसैले त ‘बालुवाको फब्वारा उठेर त्रिभुजाकार बनाएर बिलायो’ । मानव जीवनका नियतिलाई विप्रले भनेका थिए । आज उनकै मूर्धन्य अनुयायी र सन्तानका क्रियाकलाप, चिन्तन, आचरण तथा व्यवहारले सत्य साबित गरिदिएको छ । शुक्लयजुर्वेद निर्माता याज्ञवल्क्यले ईशापूर्व ६ हजार वर्षदेखि ८ हजार वर्षका बीचमा स्थापित गरेको सर्वस्वार्थवादी चिन्तनमा आज विश्व उभिएको छ । अमेरिकाको डेमोक्य्राटिक, रिपब्लिकन, इरानका शासक र नेपालका कांग्रेस, कम्युनिष्ट, रास्वपा, राजाका धुपौरे, मधेसका जमिनदार, पहाडका श्रमसंस्कृति हुन् कि उज्यालो, अँध्यारो, बोटबुट्यान दल सबैलाई न देश प्रिय रहेछ न जनता न दलीय विधिविधान ? सबैलाई कुर्सी, पैसा र भजनमण्डली नै त चाहिएको देखियो । गरिब तार्ने भनेर आएको बालेनले डोजर चलाएर अथला पार्दा र हिमपहिराले अथला पार्दाको पीडितको पीडामा अन्तर हुन्छ र ?
गोठालाका लागि गाई लडेर मरेको र बाघले खाएको फरक देखिएला तर गोधनीलाई त पीडा एकै न हो किलो रित्तियो । देश गोठ हो जनता गोधनी, बाँकी सबै गोठाला । लेखनाथ पौड्यालको गौंथली बोल्यो चिरीबिरी च्यार्र शीर्षक कवितामा ‘...म पनि भन्छु यै घर मेरो कति कति दल्थे रंग कमेरो ...विधिवश अहिले नाता पर भो...भन्ने वाक्यलाई सम्झेर शान्त, संयत जीवनमा सबै फर्कौं भन्ने सोच्न नसक्ने मानवीय चरित्रभन्दा अलि पर पो पर्छ कि भन्ने ख्याल गर्ने कि ? आधा रातमा सुल्फाका सुरमा सपना देखेर रक्सी नखाई सुतेको प्रहरीलाई आदेश दिएर मान्छे थुन्ने एकादेशका नपाउनेले केरा पाएर बोक्रैसित खाए जस्तो नगर्ने कि नेताजी हो ? यसका लागि एक हुलले चिसै पानीले नुहाउनु पर्ला ।







एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी
पहिराले खस्दा रोल्पाको सहिदमार्ग अवरुद्ध
अविरल वर्षासँगै बाजुरामा पहिरो, साँफे–मार्तडी
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
लेदुवा खोलाको पुल सात वर्षदेखि