काठमाडौं । शैक्षिक बोर्डको मान्यतामाथि प्रश्न उठ्दैमा परीक्षा उत्तीर्ण गरेका व्यक्तिको शैक्षिक योग्यता नक्कली ठहर गर्न नमिल्ने व्याख्या सर्वोच्च अदालतले गरेको छ । कुनै शैक्षिक बोर्डको वा संस्थाको मान्यता, वैधानिकता वा अस्तित्वमाथि पछि प्रश्न उठ्दैमा त्यहाँ अध्ययन गरी परीक्षा उत्तीर्ण गरेका व्यक्तिको शैक्षिक योग्यता स्वतः नक्कली ठहर गर्न नमिल्ने व्याख्या सर्वोच्चले गरेको हो ।
न्यायाधीशहरू सपना प्रधान मल्ल, शारङ्गा सुवेदी र बालकृष्ण ढकालको पूर्ण इजलासले २०८२ साल फागुन १४ गते गरेको उक्त फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो । कुनै बोर्डको वैधानिकतामाथि पछि विवाद उठेको वा सम्बन्धित निकायको सूचीमा बोर्डको नाम नभेटिएको मात्र आधारमा त्यहाँबाट प्राप्त प्रमाणपत्रलाई नक्कली ठहर गरी फौजदारी कसुर कायम गर्न नमिल्ने व्याख्या सर्वोच्चले गरेको छ । तर, कुनै व्यक्तिले अध्ययन नै नगरी वा परीक्षा नै नदिई प्रमाणपत्र बनाएको, अथवा वास्तविक प्रमाणपत्रमा अंक, श्रेणी, जन्ममिति, नाम वा अन्य विवरण सच्याएर आफूलाई योग्य देखाएको अवस्थामा भने त्यस्तो प्रमाणपत्र नक्कली मानिने सर्वोच्चले स्पष्ट गरेको छ ।
के थियो विवाद ?
धनुषाको साबिक घोडघाँस गाउँ विकास समिति-५, हाल नगराइन नगरपालिका-५ का इन्द्रेश झा नेपाल खानेपानी संस्थानमा सहायक प्रशासन अधिकृत छैटौँ तहमा कार्यरत थिए । उनले भारतको सेन्ट्रल बोर्ड अफ हाई एजुकेसन, नयाँ दिल्लीबाट सन् १९८४ मा म्याट्रिकुलेसन स्ट्याण्डर्ड एक्जामिनेसन उत्तीर्ण गरेको र बिहार इन्टरमिडियट एजुकेसन काउन्सिल, पटनाबाट सन् १९८७ मा आईएस्सी उत्तीर्ण गरेको प्रमाणपत्र पेस गरेका थिए ।
उनका शैक्षिक प्रमाणपत्रको छानविन गरी आवश्यक कारबाहीका लागि नेपाल खानेपानी संस्थानले २०६१ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र पठाएको थियो । म्याट्रिक तहको प्रमाणपत्र प्रमाणीकरणका क्रममा सेन्ट्रल बोर्ड अफ सेकेण्डरी एजुकेसन, भारतले इन्द्रेश झाको रोल नम्बरको प्रमाणपत्र आफ्नो बोर्डसँग सम्बन्धित नभएको जानकारी दिएको थियो । त्यसपछि उच्च माध्यमिक शिक्षा परिषद्, सानोठिमीबाट भएको पत्राचारमा सेन्ट्रल बोर्ड अफ हाई एजुकेसन, नयाँ दिल्लीलाई ‘फेक बोर्ड’ भनिएको र राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीबाट पनि उक्त बोर्ड खोज्दा नभेटिएको विवरण आएको थियो । यही आधारमा अख्तियारले झाविरुद्ध नक्कली तथा झुटा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको अभियोग लगाएको थियो ।
उक्त अभियोगमा विशेष अदालतले २०७४ साल जेठ १७ गते फैसला गर्दै झालाई नक्कली एवं झुटा म्याट्रिक तहको शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको कसुरमा दोषी ठहर गरेको थियो । विशेष अदालतले उनलाई ५ सय रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । तर, आइएस्सी तहको प्रमाणपत्रको हकमा पुनः प्रमाणीकरण गर्दा सम्बन्धित निकायबाट प्रमाणपत्र ‘भेरिफाइड’ भएको देखिएको थियो । झाको दाबी पनि आफूले सम्बन्धित कलेजमा नियमित अध्ययन गरी परीक्षा दिएको र सोही प्रक्रियाबाट प्रमाणपत्र प्राप्त गरेको भन्ने थियो । त्यसैले विशेष अदालतको फैसलामा चित्त नबुझेर झा सर्वोच्च अदालत पुगे ।
मुद्दा सर्वोच्चमा पुगेपछि प्रमाणपत्र जारी गर्ने भनिएको सेन्ट्रल बोर्ड अफ हाई एजुकेसन, नयाँदिल्लीको मान्यता र अस्तित्वमाथि उठेको प्रश्नका आधारमा मात्र झालाई नक्कली प्रमाणपत्र प्रयोग गरेको कसुरमा दोषी ठहर गर्न मिल्ने वा नमिल्ने मुख्य विषय बन्यो । पूर्ण इजलासले यही फरक छुट्याएर मुद्दाको निर्णय गरेको छ । ‘कुनै व्यक्तिले सम्बन्धित कलेजमा नियमित अध्ययन गरेको, परीक्षा दिएको, प्रवेशपत्र प्राप्त गरेको र परीक्षा परिणाम प्रकाशित भएको तथ्य प्रमाणित हुन्छ भने पछि गएर उक्त बोर्डको मान्यता वा वैधानिकतामा विवाद उठेको मात्र आधारमा उसले प्राप्त गरेको शैक्षिक योग्यतालाई स्वतः नक्कली भन्न मिल्दैन,’ सर्वोच्चले गरेको फैसलामा उल्लेख छ, ‘फौजदारी दायित्व सिर्जना गर्न प्रमाणपत्र भौतिक रूपमा कृत्रिम वा जालसाजीपूर्ण रहेको र त्यसको असत्यता थाहा हुँदाहुँदै सम्बन्धित व्यक्तिले प्रयोग गरेको तथ्य पनि प्रमाणित हुनुपर्छ ।’ फैसलामा ‘नक्कली प्रमाणपत्र हुनु र बोर्ड नै फेक हुनु फरक कुरा हो’ भन्ने अवधारणालाई स्पष्ट गरिएको छ । इन्द्रेश झाको हकमा उनले सम्बन्धित कलेजमा अध्ययन गरेको, परीक्षा दिएको, प्रवेशपत्र प्राप्त गरेको र परीक्षा परिणाम प्रकाशित भएको तथ्य देखिएको सर्वोच्चले उल्लेख गरेको छ ।
त्यस्तै, उनले त्यही शैक्षिक योग्यताको आधारमा उच्च तहको आइएस्सी अध्ययन गरेको प्रमाणसमेत फैसलामा उल्लेख छ । आइएस्सी प्रमाणपत्र पुनः प्रमाणीकरण गर्दा सम्बन्धित निकायबाट ‘भेरिफाइड’ भएको पनि देखिएको थियो । अर्कोतर्फ, अभियोजन पक्षले झाले प्रमाणपत्र आफैँ जालसाजीपूर्वक बनाएको वा प्रमाणपत्रको असत्यताबारे जानकारी हुँदाहुँदै प्रयोग गरेको तथ्य शंकारहित रूपमा प्रमाणित गर्न नसकेको सर्वोच्चको निष्कर्ष छ ।
‘आपराधिक मनसाय प्रमाणित नभई बोर्डको वैधानिकतालाई आधार नमानिने’
सर्वोच्चले फौजदारी कसुरका लागि आवश्यक आपराधिक मनसाय प्रमाणित नभएको अवस्थामा केवल प्रमाणपत्र जारी गर्ने बोर्डको वैधानिकतामाथि उठेको विवादलाई आधार बनाएर दोषी ठहर गर्न नमिल्ने ठहर गरेको हो । तर, सर्वोच्चले झाको म्याट्रिक तहको प्रमाणपत्रलाई वैध शैक्षिक योग्यताको प्रमाणपत्र भने मानेको छैन ।
फैसलाअनुसार उक्त प्रमाणपत्र कानुनबमोजिम मान्यता प्राप्त शैक्षिक बोर्डबाट जारी भएको प्रमाणित हुन नसकेकाले त्यसले वैध शैक्षिक योग्यता कायम गर्न नसक्ने सर्वोच्चले भनेको छ । त्यसलाई ‘भ्वाइड अब इनिसियो’ अर्थात् सुरुदेखि नै कानुनी मान्यता प्राप्त गर्न नसक्ने अवस्थाको प्रमाणपत्रका रूपमा व्याख्या गरिएको छ । तर, त्यही प्रशासनिक वा कानुनी अमान्यतालाई मात्रै आधार बनाएर झालाई फौजदारी कसुरमा दोषी ठहर गर्न नमिल्ने सर्वोच्चको निष्कर्ष छ । पूर्ण इजलासले यही आधारमा विशेष अदालतले २०७४ जेठ १७ गते गरेको फैसला केही उल्टी गर्दै इन्द्रेश झालाई आरोपित कसुरबाट सफाइ दिएको छ ।
प्रमाणपत्र नक्कली हो वा होइन भन्ने निर्धारण गर्दा सम्बन्धित शैक्षिक संस्थाको मान्यता मात्रै नभई प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया, परीक्षा दिएको तथ्य, प्रमाणपत्र जारी गर्ने निकायको आधिकारिकता तथा प्रमाणपत्रधारी व्यक्तिको आचरण र मनसायसमेत हेर्नुपर्ने सर्वोच्चको पूर्ण इजलासको निष्कर्ष छ । त्यस्तो कसुरमा व्यक्तिले प्रमाणपत्र झुटो वा अवैध हो भन्ने जानकारी हुँदाहुँदै जानीजानी प्रयोग गरेको आपराधिक मनसाय पनि प्रमाणित हुनुपर्ने फैसलामा उल्लेख छ ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं