तीन दशकभन्दा बढी समय तेक्वान्दो र खेलकुदमा बिताउनुभएका राकेशकुमार राई अहिले खेलाडी, प्रशिक्षक, शिक्षक, लेखक र अभिनेताका रूपमा सक्रिय हुनुहुन्छ । तेक्वान्दोबाट सुरु भएको उहाँको यात्रा खेल विज्ञानको अध्ययन-अध्यापन हुँदै चलचित्रको पर्दासम्म पुगेको छ । पछिल्लो समय चलचित्र ‘चंगुल’ मा फरक चरित्र निर्वाह गर्नुभएका राकेशकुमार राईसँग खेलकुद, अभिनय र शिक्षणका क्षेत्रमा हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नुभएको संवादको संक्षिप्त अशःं-
तपाईंको व्यावसायिक यात्राको सुरुवात तेक्वान्दोबाट भयो । तेक्वान्दोसँगको यो लामो यात्रा कसरी सम्झनुहुन्छ ?
तेक्वान्दो मेरो व्यावसायिक यात्राको महत्त्वपूर्ण आधार हो । खेलाडीका रूपमा सुरु गरेको यात्रापछि प्रशिक्षक र नेतृत्वदायी भूमिकासम्म आइपुगेको छ । तीन दशकभन्दा बढी समय खेलकुद र तेक्वान्दोसँग जोडिँदा मैले धेरै कुरा व्यवहारबाट सिक्ने अवसर पाए । अहिले म अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एकेडेमी नेपालमा संस्थापक तथा प्रमुख प्रशिक्षकका रूपमा काम गरिरहेको छु । साथै राष्ट्रिय तेक्वान्दो संघ नेपालमा महासचिवको जिम्मेवारीमा रहेर तेक्वान्दोको विकास, खेलाडीका अवसर विस्तार, प्रतियोगिता आयोजना तथा प्रशिक्षक र रेफ्री विकासलगायत क्षेत्रमा काम गरिरहेको छु । मेरो लागि तेक्वान्दो केवल खेलमात्र होइन । यसले अनुशासन, आत्मनियन्त्रण, धैर्य र निरन्तर अभ्यास सिकाएको छ ।
खेलकुदसँगै तपाईं खेल विज्ञानको अध्ययन र अध्यापनमा पनि जोडिनुभएको छ । यसको कारण के हो ?
खेलकुदलाई व्यवहारबाट मात्र होइन, अनुसन्धान र शैक्षिक दृष्टिकोणबाट पनि हेर्नुपर्छ भन्ने मेरो विश्वास हो । त्यसैले मैले त्रिभुवन विश्वविद्यालयबाट खेल विज्ञानमा स्नातकोत्तर पूरा गरेको हुँ । अहिले त्यही क्षेत्रमा अध्यापनसँग पनि जोडिएको छु । विशेषगरी खेल व्यवस्थापन तथा खेलकुदसम्बन्धी विषय अध्यापन गर्ने क्रममा खेलकुदलाई वैज्ञानिक र अनुसन्धानात्मक विषयका रूपमा बुझ्ने अवसर मिलिरहेको छ ।
विद्यालय उमेरका बालबालिकामा संरचित शारीरिक गतिविधिले संज्ञानात्मक क्षमता, कार्यकारी क्षमता, शैक्षिक उपलब्धि तथा समग्र विकासमा पार्नसक्ने प्रभाव मेरो रुचिको विषय हो । आगामी दिनमा खेलकुद र शिक्षाबीचको सम्बन्धलाई अनुसन्धानमार्फत अझ गहिराइमा बुझ्ने योजना छ ।
खेलकुद र अभिनय दुई फरक क्षेत्र भए पनि केही आधारभूत कुरा समान छन् । खेलकुदमा जस्तै अभिनयमा पनि नियमित अभ्यास, अनुशासन, धैर्य, आत्मविश्वास र असफलताबाट सिक्ने क्षमता चाहिन्छ । तेक्वान्दोमा एउटा प्रविधिलाई राम्रो बनाउन हजारौं पटक अभ्यास गरिन्छ । अभिनयमा पनि एउटा चरित्रलाई विश्वसनीय बनाउन निरन्तर अभ्यास आवश्यक हुन्छ । त्यसैले खेलकुदको अनुभवले अभिनयमा मलाई धेरै सहयोग गरेको छ ।
खेलकुदको अनुभवलाई पुस्तकमार्फत पनि दस्तावेजीकरण गर्नुभएको छ । पुस्तक लेख्नुको उद्देश्य के थियो ?
तीन दशकभन्दा बढी समय खेलकुद र तेक्वान्दोसँग जोडिँदा मैले धेरै कुरा व्यवहारबाट सिक्ने अवसर पाए । त्यही अनुभवलाई व्यवस्थित रूपमा नयाँ पुस्ता, प्रशिक्षक, खेलाडी र विद्यार्थीसमक्ष पुर्याउने उद्देश्यले ‘तेक्वान्दोको सन्दर्भ पुस्तक’ लेखेको हुँ । पुस्तकमा तेक्वान्दोको सिद्धान्त, प्रविधि, शारीरिक चालढालको वैज्ञानिक अध्ययन, खेल मनोविज्ञान, नियम, प्रशिक्षण, पुम्से र क्योरुगीलगायत विषय समेटिएका छन् । व्यावहारिक अनुभव र अध्ययनलाई एउटै सामग्रीमा व्यवस्थित गर्ने मेरो प्रयास हो ।
यहाँ कला क्षेत्रमा पनि हुनुहुन्छ, अभिनयप्रतिको रुचि कहिलेदेखि थियो ?
अभिनयप्रतिको मेरो रुचि बाल्यकालदेखिकै हो । मेरो दाजु रामेशकुमार राई पनि चलचित्र निर्देशनमा हुनुहुन्छ । घरको वातावरण नै फिल्मी भएकाले जानी-नजानी यो क्षेत्रमा लागियो जस्तो लाग्छ । मैले दर्जनौं चलचित्रमा सानो-ठूलो भूमिकामा अभिनय गरेको छु । प्रमुख चरित्रका रूपमा भने मेरो पहिलो टेलिफिल्म ‘तलास’ थियो । त्यसपछि ‘गोरे’, ‘मुग्लान’लगायतका चलचित्रमा काम गरेँ । यस क्रममा केही नाटकमा पनि अभिनय गरेको छु । अभिनयलाई अझ गम्भीर रूपमा बुझ्न अनुप बराल सरसँग प्रशिक्षण लिने अवसर पाए । पछि अभिनय प्रशिक्षणमा समेत संलग्न भए । त्यसैले मेरो अभिनय यात्रा पर्दामा देखिने यात्रामात्र होइन, निरन्तर सिक्ने, अभ्यास गर्ने र आफूलाई सुधार्दै जाने प्रक्रिया हो ।
पछिल्लो चलचित्र ‘चंगुल’मा तपाईंले कस्तो भूमिका निर्वाह गर्नुभएको छ ?
‘चंगुल’मा मैले निर्वाह गरेको भूमिका मेरो लागि निकै महत्त्वपूर्ण र चुनौतीपूर्ण छ । चरित्रलाई मैले मनस्थितिमा छिटो परिवर्तन आउने, छिट्टै रिसाउने र अत्यधिक महत्त्वाकांक्षी स्वभावको रूपमा बुझेको छु । चरित्रलाई पर्दामा विश्वसनीय बनाउन संवाद, हाउभाउ, शारीरिक भाषा र चरित्रको मनोविज्ञानमा विशेष ध्यान दिएको छु । मेरो खेलकुद र मार्सल आर्ट्सको अनुभवले दृश्यमा गरिने द्वन्द्व तथा शारीरिक प्रस्तुतिमा केही सहजता दिएको छ । तर, अभिनयमा केवल शारीरिक क्षमता पर्याप्त हुँदैन । चरित्रको भावना र कथालाई बुझेर प्रस्तुत गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।
‘चंगुल’लाई तपाईं कसरी परिभाषित गर्नुहुन्छ ?
राम गौतमको निर्देशन, रबि कार्कीको कथा र मालती कार्कीको निर्माणमा बनेको ‘चंगुल’ मनोरञ्जनात्मक चलचित्रमात्र होइन । यसले हाम्रो समाज, देशप्रेम, राष्ट्रिय भावना र बदलिँदो सामाजिक परिवेशलाई कथामार्फत छुने प्रयास गरेको छ । चलचित्रमा मनोरञ्जनसँगै दर्शकलाई सोच्न बाध्य बनाउने विषयवस्तु पनि छ । कथा, अभिनय, संगीत र प्रस्तुतिको संयोजनमार्फत दर्शकलाई फरक अनुभव दिने हाम्रो प्रयास हो । त्यसैले सम्पूर्ण दर्शकलाई चलचित्र हलमै पुगेर ‘चंगुल’ हेर्न र आफ्नो प्रतिक्रिया दिन आग्रह गर्दछु ।
कस्तो चलचित्र हो ‘चंगुल’ ?
देश परिवर्तन गर्ने हुटहुटी बोकेको एक व्यक्तिले निश्वार्थ रुपमा अघि बढे के के गर्नसक्छ भन्ने विषय यस चलचित्रमा देखाउन खोजिएको छ । साथै जेन-जी आन्दोलनअघि अनि पछिको परिस्थिति पनि चलचित्रमा देख्न सकिने छ । मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्रमा मसँगै रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगानालगायत कलाकारको अभिनय छ । चलचित्रमा बालकलाकार रिम्शा कार्कीको समेत अभिनय छ । चलचित्रका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत छ । त्यस्तै, देव महर्जनले द्वन्द्व निर्देशन छ भने छायांकन तथा सम्पादन दीपेन बस्न्यातको छ ।
खेलकुद र अभिनय दुई फरक क्षेत्र हुन् । तपाईंले यी दुईबीच कस्तो समानता पाउनुभएको छ ?
सुरुमा फरक अनुभव भयो, तर केही आधारभूत कुरा समान रहेछन् । खेलकुदमा जस्तै अभिनयमा पनि नियमित अभ्यास, अनुशासन, धैर्य, आत्मविश्वास र असफलताबाट सिक्ने क्षमता चाहिन्छ । तेक्वान्दोमा एउटा प्रविधिलाई राम्रो बनाउन हजारौं पटक अभ्यास गरिन्छ । अभिनयमा पनि एउटा चरित्रलाई विश्वसनीय बनाउन निरन्तर अभ्यास आवश्यक हुन्छ । त्यसैले खेलकुदको अनुभवले अभिनयमा मलाई धेरै सहयोग गरेको छ ।
खेलकुदले अभिनयमा तपाईंलाई सबैभन्दा ठूलो के सिकायो ?
तेक्वान्दोले मलाई शरीरसँगै मन र भावनालाई नियन्त्रण गर्न सिकाएको छ । अभिनयले भने मानिसको भावना र चरित्रलाई बुझेर त्यसलाई पर्दामा प्रस्तुत गर्न सिकाएको छ । मेरो विचारमा खेलकुद र अभिनय दुवैमा अनुशासन, निरन्तर अभ्यास, आत्मविश्वास, धैर्य र प्रस्तुति अत्यन्त महत्त्वपूर्ण हुन्छन् । त्यसैले मेरो खेलकुदको लामो यात्राले अभिनयमा पनि सकारात्मक आधार तयार गरेको छ ।
‘चंगुल’को चरित्रलाई पर्दामा स्वाभाविक बनाउन तपाईंले कस्तो तयारी गर्नुभयो ?
मेरो लागि मुख्य चुनौती चरित्रलाई केवल अभिनय गरेको जस्तो नदेखाई स्वाभाविक बनाउनु थियो । दर्शकले कलाकारलाई होइन, चरित्रलाई महसुस गर्नुपर्छ भन्ने मेरो मान्यता छ । त्यसका लागि संवाद, शारीरिक हाउभाउ, भावनात्मक अवस्था र दृश्यको परिस्थितिलाई बुझेर काम गर्नुपर्यो । केही दृश्यमा शारीरिक तयारी पनि आवश्यक थियो । समग्रमा ‘चंगुल’ले मलाई कलाकारका रूपमा अझ धेरै सिक्ने अवसर दिएको छ ।
तपाईंका लागि अभिनयको वास्तविक अर्थ के हो ?
अभिनय भनेको अर्को व्यक्तिको जीवन र भावना केही समयका लागि आफूभित्र महसुस गरेर दर्शकसमक्ष प्रस्तुत गर्ने कला हो । कलाकारले आफूलाई मात्र देखाउने होइन, चरित्रलाई देखाउने हो । त्यसैले अभिनयमा आत्मविश्वाससँगै संवेदनशीलता, अध्ययन र निरन्तर अभ्यास आवश्यक हुन्छ ।
खेलकुद, शिक्षण, लेखन र अभिनय-यी सबैलाई एकसाथ अघि बढाउन समय व्यवस्थापन चुनौतीपूर्ण हुँदैन ?
पक्कै पनि समय व्यवस्थापन आवश्यक हुन्छ । समय व्यवस्थापन र अनुशासन नै यसको मुख्य आधार हो । खेलकुदले मलाई अनुशासन सिकायो, शिक्षाले ज्ञान र अनुसन्धानको दृष्टिकोण दियो भने अभिनयले सिर्जनशीलता तथा मानवीय संवेदनालाई अझ नजिकबाट बुझ्ने अवसर दिएको छ । यी क्षेत्रहरू एकअर्काका विरोधी होइनन्, बरू एकअर्कालाई सहयोग गर्ने क्षेत्र हुन् । त्यसैले आफूलाई एउटै क्षेत्रमा सीमित राख्नुभन्दा विभिन्न क्षेत्रमा सिक्दै र योगदान गर्दै अगाडि बढ्न चाहन्छु ।
आगामी दिनमा तपाईंको प्राथमिकता के हुनेछ ?
खेलकुदको क्षेत्रमा मैले सिकेको र अनुभव गरेको कुरा नयाँ पुस्तासम्म पुर्याउने, खेलकुदलाई अझ व्यवस्थित र व्यावसायिक बनाउन योगदान गर्ने तथा शिक्षण र अनुसन्धानलाई अगाडि बढाउने मेरो निरन्तर प्रयास हुनेछ । सँगसँगै अभिनयमा आफूलाई अझ चुनौतीपूर्ण भूमिकामा प्रस्तुत गर्दै सिक्ने र सुधार्ने चाहना छ । मेरो लागि यात्रा भनेको कुनै एउटा क्षेत्रमा पुगेर रोकिने कुरा होइन, निरन्तर सिक्ने र योगदान गर्ने प्रक्रिया हो ।
अन्त्यमा ?
‘चंगुल’ यही शुक्रबार अर्थात् असोज १६ गतेदेखि प्रदर्शनमा आउँदैछ । तपाईंहरूको माया, साथ र प्रतिक्रियाको हामीले अपेक्षा गरेका छौं । चलचित्र हेर्न नछुटाउनुहोला भन्न चाहन्छु ।







एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी
पहिराले खस्दा रोल्पाको सहिदमार्ग अवरुद्ध
अविरल वर्षासँगै बाजुरामा पहिरो, साँफे–मार्तडी
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
लेदुवा खोलाको पुल सात वर्षदेखि