काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको दीर्घकालीन विकास र औद्योगिकीकरणका लागि दलीय राजनीतिभन्दा बढी नीतिगत सुधार तथा नयाँ विचारमा केन्द्रित हुन सांसदहरूलाई आह्वान गर्नुभएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिएको विशेष छलफलमा प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक तथा इञ्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग परामर्श गर्दै आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम् उपयोग देश हितमा गर्न आग्रह गर्नुभएको हो ।
बुधबार मध्याह्न १२ बजेदेखि दिउँसो सवा २ बजेसम्म चलेको सवा दुई घण्टा लामो छलफलमा विभिन्न राजनीतिक दलका गरी १७ जना सांसदहरूको सहभागिता रहेको थियो । छलफलमा नेपाली कांग्रेसका तर्फबाट रसुवाका सांसद मोहन आचार्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको उपस्थिति रहेको थियो । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीमा इञ्जिनियरिङ पृष्ठभूमिका सांसदहरू नभएकाले ती दलबाट प्रतिनिधि सहभागी नगराइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रधानमन्त्री शाह स्वयं पनि सिभिल तथा स्ट्रक्चरल इञ्जिनियरिङ पृष्ठभूमिका हुनुहुन्छ ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले निर्वाचन वा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा सांसदहरूले आफ्नो व्यावसायिक दक्षता र प्राविधिक पहिचानलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । ‘तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ र मुलुकको नीति निर्माण गर्ने मुख्य ठाउँमा हुनुहुन्छ,’ प्रधानमन्त्री शाहले भन्नुभयो, ‘देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम् उपयोग गर्नुहोस् ।’ प्रधानमन्त्री शाहले संसद्मा सांसदहरूले उठाउने विषय र उहाँहरूको अभिव्यक्तिका आधारमा सांसदहरूलाई तीन स्वरूपमा वर्गीकरण गर्दै व्याख्या गर्नुभएको थियो । उहाँका अनुसार पहिलो वर्गमा सामान्य (एभरेज), दोस्रो वर्गमा सामान्यभन्दा तल र तेस्रो वर्गमा विशिष्ट (एक्स्ट्रा अर्डिनरी) सांसदहरू पर्दछन् । उहाँले इञ्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई विशिष्ट श्रेणीका रूपमा प्रस्तुत गर्नुभयो ।
छलफलमा सहभागी एक सांसदका अनुसार प्रधानमन्त्रीले भन्नुभएको थियो, ‘सामान्य मानिसहरू घटनाको मात्र कुरा गर्छन् । त्योभन्दा तलका मानिसहरू मलाई यो गरिदेऊ वा त्यो गरिदेऊ भन्छन् । तर, प्राविधिक पृष्ठभूमिका मानिसहरू विशिष्ट हुने भएकाले तपाईंहरूले नयाँ आइडिया र सिर्जनशीलताको कुरा उठाउनुपर्छ । नयाँ सोच र विचारले मात्र देश बन्नसक्छ ।’
प्रधानमन्त्री शाहले औद्योगिकीकरण र विकास निर्माणका क्षेत्रमा सरकारले के-कस्ता काम गर्नुपर्छ भन्ने विषयमा स्पष्ट र ठोस अवधारणा लिएर आउन सांसदहरूलाई आग्रह गर्नुभयो । देश विकासका लागि उपयोगी हुने कुनै नयाँ योजना वा नीतिसम्बन्धी विचार भए सिधै प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्न सकिने र त्यस्ता प्रस्ताव लिएर आउने सांसद वा व्यक्तिहरूसँग सहजै भेटघाट गर्ने आश्वासन पनि उहाँले दिनुभयो । आगामी दिनमा संसद्मा महत्त्वपूर्ण विधेयकहरू पेस हुने जानकारी दिँदै प्रधानमन्त्रीले तिनमा सांसदहरूको प्रत्यक्ष सुझाव र योगदानको अपेक्षा गरिएको बताउनुभयो । ‘हामीले देखेको र भोगेको यथार्थका आधारमा कानुन निर्माण गर्दै छौँ’, उहाँले भन्नुभयो, ‘यस प्रक्रियामा तपाईंहरूको साथ र सहकार्य अनिवार्य छ ।’ संसद्मा उठ्ने विषयहरूलाई सम्बन्धित मन्त्रालय, मन्त्री र प्रधानमन्त्री कार्यालयले गम्भीरताका साथ सुनिरहेको उहाँको भनाइ थियो ।
छलफलका क्रममा मुलुकभित्रै रासायनिक मल कारखाना स्थापना गर्ने र विद्युत् खपत बढाउने योजनाबारे पनि विस्तृत कुराकानी भएको थियो । प्रधानमन्त्री शाहले नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि सरकार द्रुत गतिमा अघि बढिरहेको जानकारी गराउनुभयो । उहाँले मल कारखाना स्थापनाका लागि सरकारले चाँडै नै औपचारिक प्रस्ताव आह्वान गर्ने तयारी गरिरहेको बताउनुभयो ।
वर्तमान सरकारले निजी क्षेत्रसँगको सहकार्यमा नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेको छ । यसका लागि आवश्यक नीतिगत, कानुनी तथा भन्सारसम्बन्धी सुधारका कामहरू अघि बढाइएको छ । विगतका सरकारहरूले वार्षिक बजेटमा मल कारखानाका लागि बजेट विनियोजन गरे तापनि स्थापना हुन सकेको थिएन । तर, वर्तमान सरकारले यसलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको प्रधानमन्त्रीको भनाइ छ ।
यसैगरी, देशभित्रै विद्युत् उत्पादन बढाउनेसँगै उत्पादित विद्युत्को आन्तरिक खपत बढाउने विषयमा पनि सरकार गम्भीर रहेको प्रधानमन्त्री शाहले बताउनुभयो । रासायनिक मल कारखाना स्थापना गर्ने तथा धेरै विद्युत् खपत गर्ने अन्य औद्योगिक आयोजनाहरूलाई सरकारले आवश्यक सहुलियत दिने योजना बनाएको जानकारी उहाँले दिनुभयो ।
छलफलको सुरुवातमा सहभागी सांसदहरूले हालैको बाढी-पहिरोपछिको वस्तुस्थिति र जनजीवनबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । छलफलमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. राम लामाले देशको आर्थिक तथा भौतिक विकासका लागि विद्यमान कानुनहरूमा व्यापक सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले वन ऐन लगायतका प्रावधानहरूलाई संशोधन गरी ठूला विकास आयोजनाहरू सञ्चालन गर्न सहज वातावरण बनाउनुपर्ने र विद्युत् खपत बढाउने खालका योजना ल्याउनुपर्ने सुझाव दिनुभयो । जवाफमा प्रधानमन्त्री शाहले कानुन सुधारका विषयमा सरकार सचेत रहेको र सोहीअनुसार अघि बढिरहेको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको गरिमा बढायो : परराष्ट्रमन्त्री खनाल
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर खनाल बुधबार स्वदेश फर्किनुभएको छ । स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री खनालले महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुभएको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव, कूटनीतिक छवि र गरिमालाई थप उचो बनाएको दाबी गर्नुभयो । मन्त्री खनालका अनुसार प्रधानमन्त्री शाहको सम्बोधन अन्तर्राष्ट्रिय वृत्तमा व्यापक चासोको विषय बनेको छ । ‘यस वर्षको संयुक्त राष्ट्रसंघीय महासभामा सबैभन्दा बढी हेरिएको र चासो लिइएको भिडियोमध्ये प्रधानमन्त्रीको सम्बोधन एक बनेको छ,’ परराष्ट्रमन्त्री खनालले भन्नुभयो । मुलुकमा भएको राजनीतिक परिवर्तनपछिको नयाँ परिस्थितिमा युवा प्रधानमन्त्रीले नेपालको प्रतिनिधित्व कसरी गर्नुहुन्छ ? भन्ने कौतूहल नेपाल र अन्तर्राष्ट्रिय समुदाय दुवैमा रहेकाले यसपटकको सहभागिता विशेष र फलदायी रहेको उहाँले बताउनुभयो ।
महासभाका क्रममा भएका द्विपक्षीय तथा बहुपक्षीय छलफलहरूमा नेपालले जलवायु वित्त र जलवायु न्यायका मुद्दाहरूलाई जोडदार रूपमा उठाएको जानकारी मन्त्री खनालले दिनुभयो । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पग्लिने दर तीव्र हुनु र आकस्मिक विपत्का घटनाहरू बढ्नु नेपालका लागि राष्ट्रिय सुरक्षा र विकासको मुख्य चुनौतीका रूपमा रहेको विषय विश्व मञ्चमा स्पष्टसँग राखिएको उहाँको भनाइ थियो । यस सहभागिताले नेपालको क्षेत्रीय तथा वैश्विक कूटनीतिलाई थप सुदृढ र सशक्त बनाएको सरकारको ठहर छ ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं