काठमाडौं । मकवानपुरको बकैया-६, तल्लो ज्यामिरेमा जमिन भासिन थालेको छ । पछिल्लो तीनदिने झरीपछि ज्यामिरे गाउँमा जमिन चिरा पर्न थालेको हो । स्थानीयका अनुसार कतै १२ फिटसम्म जमिन भासिएको छ भने कतै जमिन चिराचिरा परेको छ । जमिन भासिँदा अनौठो आवाजसमेत सुनिएको उनीहरू बताउँछन् । जमिन नै चिरा पर्न थालेपछि स्थानीयहरू सुरक्षित स्थानमा जान थालेका हुन् । पछिल्लो एक महिनामा निम्तिएको यो अन्तिम विपत्ति होइन, बुधबार बिहानै सुदूरपश्चिमको कञ्चनपुरमा महाकाली नदीमा बनेको दोधारा-चाँदनी झोलुंगे पुल एकाएक चुँडिएको थियो । महाकाली नदीमा आएको बाढीले पुलको केही भाग चुँडिएको हो । दोधारा-चाँदनीलाई नेपालसँग जोड्ने ऐतिहासिक पैदल पुलको एउटा महत्त्वपूर्ण हिस्सा क्षतिग्रस्त भएको छ ।
पछिल्लो समयका यी दुई विपत्ति मात्रै होइनन्, गतसाता लगातार तीन दिन परेको झरीले पनि ठूलै जनधनको क्षति गरेको छ । लगातारको झरीले मानवीयसँगै सडक पूर्वाधारमा समेत ठूलो क्षति गरेको हो । त्यसअघि गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले विध्वंश निम्त्याएको थियो । बाढीले रसुवासहित नुवाकोट र धादिङमा अकल्पनीय क्षति गरेको थियो । बाढी ठूलो मानवीयसहित भौतिक क्षति गरेको थियो । बाढीमा परेर ज्यान गुमाउनेमध्ये करिब १५ सयको मात्रै शव फेला परेको छ । बाँकी साढे पाँच हजार अझै बेपत्ताको सूचीमा छन् । बाढीले सिंगै बस्तीसहित सडक, पुल, जलविद्युत्मा पुर्याएको क्षति यकिन विवरण त अझै आइसकेको छैन । त्यति मात्रै होइन, बाढीपहिरोले चीनसँग जोडिएका प्रमख नाकाहरू नै अवरुद्ध छन् ।
एकाएक जमिन भासिएपछि ज्यामिरेमा त्रास
मकवानपुरको ज्यामिरेमा एकाएक जमिन भासिएपछि स्थानीय त्रसित भएका छन् । बस्तीमा एकाएक जमिन फाट्न थालेसँगै स्थानीय त्रसित बनेका हुन् । दुई वर्गकिलोमिटर क्षेत्रको ठाउँ-ठाउँमा जमिन चिरा परेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ज्यामिरेका आठवटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । झण्डै ४० घरधुरी प्रभावित भएको उहाँले बताउनुभयो । जमिन चिरा परेको सूचना प्राप्त हुनेबित्तिकै स्थलगत अनुगमन गरेर प्रभावित स्थानीयलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको बताउनुभयो । दिउँसो खेतबारीमा काम गरे पनि राति घरमा नबस्न आग्रह गरेको उहाँको भनाइ छ । उहाँका अनुसार जमिन फाट्नुका साथै सडक र विद्युत्का खम्बासमेत ढलेका छन् । यहाँको बस्ती विकास २०२० सालदेखि नै भएको हो । गाउँमा विशेषगरी तामाङ र विक समुदायका मानिसको बाहुल्यता छ । यसअघि २०६८ सालमा पनि यहाँको जमिनमा यस्तै चिराचिरा परेको थियो । तर, यसपालि विगतको भन्दा फरक दृश्य देखिएको उहाँले बताउनुभयो ।
विस्तृत अध्ययन गर्न भूगर्भविद्को टोली बोलाएका छौँ : प्रजिअ अधिकारी
मकवानपुरका प्रमख जिल्ला अधिकारी वसन्त अधिकारीले ज्यामिरेमा जमिन भासिएको बारेमा अध्ययन गर्न भूगर्भविद्लाई बोलाएको जानकारी दिनुभयो । आफूले स्थलगत रूपमै अध्ययन गरेपछि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भूगर्भविद्को टोली मगाएको बताउनुभयो । अध्ययनपश्चात् यहाँको बस्ती नै अन्यत्र सार्नुपर्ने हुनसक्ने उहाँको भनाइ छ । ‘खबर पाएपछि म आफैँ पनि स्थलगत अनुगमनमा गएँ । करिब दुई वर्ग किलोमिटरको भासिएको कतै धाँजा परेको, कतै भासिएको पाइयो’, हिमालय टाइम्ससँग उहाँले भन्नुभयो, ‘अवलोकनपश्चात् मैले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा जानकारी गराएको छु । अध्ययनका लागि भूगर्भविद्को टोली पठाउन भनेको छु । अध्ययनपछि विस्तृत विवरण आउला । मलाई लाग्छ यहाँबाट बस्ती नै सार्नुपर्छ होला जस्तो देखिन्छ ।’
स्थलगत अवलोकनका क्रममा प्रजिअ अधिकारीले जमिन चिराचिरा परिरहेको अवस्थामा पहिलो प्राथमिकता आफ्नो ज्यानको सुरक्षा भएको भन्दै स्थानीयवासीलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेको बताउनुभयो ।
दोधारा-चाँदनी झोलुंगे पुल चुँडियो
कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकालाई जोड्ने झोलुंगे पुल महाकाली नदीमा आएको बाढीका कारण बीच भागबाट चुँडिएको छ । बुधबार बिहान करिब ८ बजे महाकाली नदीमा आएको तीव्र बाढीले पुलको एउटा पिलर भत्काएपछि पुलको संरचनासमेत नदीमा बगेको हो । स्थानीयका अनुसार नदीको बहाव अत्यधिक बढेपछि पुलको बीच भागमा रहेको पिलरमा दबाब परेको थियो । पिलर भत्किएसँगै पुलको एक भाग नदीमा खसेर बगेको बताइएको छ । पुल भत्किएपछि दोधारा-चाँदनी र भीमदत्त नगरपालिका बीचको आवतजावत प्रभावित भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौँ नम्बर र दोधारा-चाँदनीतर्फबाट तेस्रो नम्बरको भागमा क्षति पुगेको हो । पुलको बीच भागमा रहेको पिलर भत्किँदा दुवैतर्फको संरचनामा समेत असर परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक रावतले पिलर भत्किएपछि पुल चुँडिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहितको टोलीले घटनास्थलमा निरीक्षणसमेत गरेका छन् । महाकाली नदीमा पछिल्लो समय पानीको बहाव बढेसँगै नदी आसपासका संरचनामा जोखिम बढेको स्थानीयले बताएका छन् । झोलुंगे पुलमा क्षति पुगेपछि पुलको अवस्था र थप जोखिमबारे स्थलगत निरीक्षण तथा प्राविधिक मूल्यांकन आवश्यक देखिएको छ ।
सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले पुलमा पुगेको क्षतिको अध्ययनका लागि प्राविधिक टोली घटनास्थलमा पठाउने तयारी गरेको छ । प्राविधिक टोलीको स्थलगत अध्ययनपछि पुलमा भएको क्षतिको वास्तविक अवस्था, पुल पुनः सञ्चालन गर्न आवश्यक प्रक्रिया तथा मर्मत वा पुनर्निर्माणका लागि आवश्यक उपायबारे निर्णय हुने बताइएको छ ।
पुल चुँडिएपछि स्थानीय बासिन्दा तथा दैनिक आवतजावत गर्ने सर्वसाधारणलाई वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था आएको छ । विशेषगरी दोधारा-चाँदनी र भीमदत्त नगरपालिकाबीच आवतजावतका लागि पुल प्रयोग गर्दै आएका स्थानीय प्रभावित भएका छन् । घटनापछि सुरक्षाकर्मीले घटनास्थलको अवस्थाबारे निगरानी गरिरहेका छन् । नदीमा पानीको बहाव अझ बढ्नसक्ने सम्भावनालाई ध्यानमा राख्दै क्षतिग्रस्त पुल आसपास सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।
प्राविधिक टोलीको अध्ययनपछि पुलको क्षतिको विस्तृत विवरण आउने र त्यसका आधारमा आगामी प्रक्रिया अघि बढाइने सम्बन्धित निकायले जनाएको छ । दोधारा-चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने यो पुल सन् २००४ अर्थात् २०६१ सालमा निर्माण गरिएको हो । करिब नौ करोड ४२ लाख ४१ हजार रुपैयाँ लागतमा निर्माण भएको पुलको लम्बाइ एक हजार ४५२ मिटर छ । पुल यसअघि पनि मर्मत गरिएको थियो । २०७६ सालमा करोडभन्दा बढी रुपैयाँ खर्च गरेर पुलको मर्मत गरिएको थियो । तर, अहिले पुनः पुलको महत्त्वपूर्ण संरचनामै क्षति पुगेको छ ।
कोरला नाका खुलाउने प्रयास, तातोपानीको अवस्था के छ ?
पछिल्लो वर्षा र बाढीपहिरोले सञ्चालनमा रहेको नेपाल-चीन नाका कोरला बन्द भएको छ । यससँगै नेपाल र चीनको अन्तर्राष्ट्रिय व्यापार ठप्प छ । रसुवागढी नाका भदौको बाढीले बगाएको छ । तातोपानी नाका भने चीनले एकतर्फी बन्द गरेको छ । यता, बेनी–जोमसोमका विभिन्न खण्डमा सडक र पुल क्षतिग्रस्त बन्दा यो नाकासमेत बन्द हुन पुगेको हो । घासा–कोरला सडक पहिरो हटाई दुईतर्फी सुरु भएको छ । मुस्ताङ-बेनीको बीचमा भने विभिन्न स्थानमा सडक बगेको छ । यी स्थानमा भित्तो काट्ने र आवश्यक स्थानमा पर्खाल लगाएर यातायात सुरु गर्न काम भइरहेको सडक विभागले जनाएको छ । यो खण्डमा बिहीबार बेलुकासम्म यातायात पुनः सुरु हुनेगरी काम भइरहेको विभागले जनाएको छ । उता, तातोपानी क्षेत्रमा भएको कटानसमेत मर्मत गरी यातायात सुरु गर्ने तयारी रहेको विभागको भनाइ छ । पोखरेबजार पुलका एप्रोचसमेत बिहीबार बेलुकीसम्म निर्माण सम्पन्न गरी यातायात सञ्चालन गरिने भएको छ ।
यसैगरी, सडक डिभिजन चरिकोटले तातोपानी नाका सञ्चालन गर्न सडकको समस्या नरहेको जनाएको छ । सडकका कारण सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेको डिभिजन प्रमुख इञ्जिनियर नारायणदत्त भण्डारीले बताउनुभयो । चिनियाँ पक्षले सडकको कारण देखाउँदै तातोपानी नाका बन्द गरेको छ । बन्द रहेको नाका खुलाउन चिनियाँ टोलीसहित परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार कार्यालय, सडक विभाग, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक तथा सुरक्षा निकायका प्रतिनिधिको संयुक्त टोलीले नेपालतर्फको पहिरो प्रभावित सडकको अनुगमन गरेको थियो । अनुगमनका क्रममा प्रमुख भण्डारीले सडकका कारण सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।






अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा
एमालेको केन्द्रीय कमिटीमा १३ जना
गेरुवा नदीमा माछा मार्न गएकी