संसद्मा सांसदहरू हाजिर गरेर हिँड्ने प्रवृत्ति अर्थात् हाटा अहिले पनि उस्तै छ । यस्तो प्रवृत्ति पुरानो संसद्मा पनि देखिने गर्थ्यो । परिवर्तित संसद्, परिवर्तित सांसद तर पनि त्यसमा कति पनि सुधार नहुनु दुर्भाग्यपूर्ण विषय हो । त्यसमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचण्ड बहुमत रहेको यो समयमा सकारात्मक राजनीतिक गति मान्न सकिँदैन । परम्परालाई निरन्तरतामात्र दिने हो भने अहिलेको संसद्ले नयाँ उपलब्धि के हासिल गर्यो त भन्ने प्रश्न खडा हुनसक्छ । तर वर्तमान प्रतिनिधिसभामा सत्तारुढ दलकै मात्र दुईतिहाइ निकटको बहुमत हुँदासमेत गणपूरक संख्या नपुग्ने समस्या देखियो । यस्तो अवस्थामा नागरिकहरूले परिवर्तनको महसुस कसरी गर्न पाउने हुन् त्यो विचारणीय छ । २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनबाट निर्वाचित भई प्रतिनिधिसभा गठन भएयताबीचमा कुनै राजनीतिक उपद्रव नभएको भए २०८४ सालको मंसिरमा मात्र प्रतिनिधिसभाको निर्वाचन हुने थियो ।
यस अर्थमा उक्त प्रतिनिधिसभाको समय अबको १४-१५ महिना बाँकी नै हुने थियो । लगभग साढे दुई वर्ष समयावधि बाँकी छँदै २०८२ सालको भदौ महिनामा जेनजी जेन-जी परिघटनाले पूरा राजनीतिक कम्पन पैदा गर्यो । उक्त परिघटनाले नियमित गतिमा हिँडिरहेको राजनीतिको बाटो मोडिदियो । त्यसपछि नेपालको राजनीति फरक ढंगले कसैले पनि नसोचेको बाटो समातेर अगाडि बढ्यो । जेन-जी परिघटनाकै परिणाम त्यसअघि निर्वाचित सरकार अपदस्त भयो । संविधान भने जोगिए पनि उक्त संविधानले व्यवस्था गरेको भन्दा फरक ढंगले अन्तरिम सरकार बन्यो । त्यस्तो सरकारको कल्पना २०७२ सालको संविधानले गरेको थिएन । त्यही अन्तरिम सरकारले प्रतिनिधिसभाका लागि निर्वाचन गरायो र निर्वाचनको परिणाम पनि अकल्पनीय रूपमै प्राप्त भयो ।
दुईतिहाइ निकटको बहुमत पुर्याएर सरकार बनाउने काम राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो । लामो समयदेखि पटक-पटक सत्तामा रहँदै आएका पार्टीहरू पाखा लागे । रास्वपाका तुलनामा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीको नयाँ संस्करणका रूपमा रहेको नेपाली कम्युनिष्ट पार्टीले अत्यन्त थोरै स्थानमा विजय हासिल गरे । प्रतिनिधिसभामा बहुमत ल्याउने पार्टीले सरकार संवैधानिक अधिकारकै कुरा हो । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनायो । पूर्वघोषित रूपमा निर्वाचन लड्न झापा पुग्नुभएका बालेन शाह प्रधानमन्त्री बन्नुभयो । नयाँ पार्टी, नयाँ सरकार, नयाँ प्रधानमन्त्री र मन्त्रीहरू आएका छन् र अवश्यै पनि अब देशमा सकारात्मक परिवर्तन हुन्छ भन्ने सोच नेपाली जनताले राखेका थिए ।
यो स्वाभाविक सोच पनि थियो तर पार्टी फेरियो, व्यक्ति फेरिए, प्रवृत्ति फेरिएन र राजनीतिको गति पनि फेरिएन । धेरैजसो युवाहरू विजयी भएर आउनुभएको हुँदा युवा जोश, जाँगर उमंग उहाँहरूमा हुनुपर्थ्यो र हुन्छ भन्ने अपेक्षा पनि थियो । नेपाली जनताले अवश्य पनि पुराना पार्टीहरूले थुपारेका कुडाकर्कट फालेर यस सरकारले छिट्टै नै परिवर्तनको आभास गराउँछ भन्ने सोचेका थिए । नेपाली जनतामा त्यस पार्टीलाई जिताएकोमा पश्चाताप नहुने गरी रास्वपाले काम गर्छ भन्ने अपेक्षा थियो । हाल त्यसमा तुषारापात भइरहेको छ । केही सांसदहरू अनावश्यक रूपमा विवादमा पर्नेगरी बढी बोल्ने छन् भने कतिपय सांसदहरू संसद्मा हाजिर गर्ने र जागिर खानेमात्र छन् ।
युवा र जोसजाँगरले भरिएका भनिएका सांसदमध्ये कतिपय सांसद माओवादी शान्ति प्रक्रियामा आउनासाथ विभिन्न क्षेत्रका व्यक्तिलाई समेट्ने भनेर अत्यन्त अशिक्षित र जे भने पनि ताली पिट्नेहरूलाई सांसद बनाउँदा जुन हरिबिजोक संसद्मा देखिएको थियो अहिले पनि लगभग त्यही स्थिति देखिँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूमध्ये नै पनि कति लेखेर ल्याएको कागज पढ्न नसक्ने खालका छन् । यसरी लिखित कागज पनि पढ्न नसक्दा र गलत उच्चारण गर्दा अर्थको अनर्थ भएर उनीहरू हाँसोका पात्र बनिरहेका छन् । यतिमात्र होइन संसद्मा उपस्थित भएर हाजिर गर्ने र बैठक भत्ता सुनिश्चित गरेर आफू अन्य काममा बाहिरिने प्रवृत्ति अहिले पनि व्यापक रूपमा देखिएको छ । पुराना दलहरूले राम्रो गरेनन्, हामी गर्छौं भनेर आएकाबाट यस्तै प्रकारको काम हुनुभनेको पुरानाहरूको कामकै निरन्तरता हो, परिवर्तन होइन ।
खैनी माड्ने र थुक्ने, बैठक चलिरहदा चमेनागृहमा बसेर चियाखाजा खाने, संसद्भित्र नबस्ने प्रवृत्ति निश्चय उचित हुनसक्दैन । एउटै पार्टीको दुईतिहाइ निकटको बहुमत हुँदासमेत गणपूरक संख्या पुग्न नसक्नु भनेको अत्यन्त हास्यास्पद अवस्था हो । संसद् कानुन बनाउने ठाउँ हो । त्यहाँ बनाएर पेश गरेका कानुनहरूका दफाबार छलफलमा सांसदहरू सहभागी हुनुपर्छ । त्यतिमात्र होइन आवश्यकताका आधारमा उहाँहरू आफैंले पनि विधेयक बनाएर पेश गर्न सांसदहरूले पाउँनुहुन्छ । त्यसका साथै विनियोजित बजेटमाथिको छलफल पनि त्यहाँ हुने गर्छ । बजेट विनियोजन गर्दा आफ्नो क्षेत्रमाथि न्याय हुनसकेको छैन भने त्यसमा पनि छलफल गराएर संशोधन गर्न सांसदहरूले सक्नुपर्छ तर संसद्को यस्तो न्यून उपस्थिति आलोच्यमात्र होइन अक्षम्य पनि छ ।
अल्लारे केटाकेटीहरू स्कुल कलेजबाट भागेको र सरकारी कर्मचारीहरू आफ्नो कार्यालयमा हाजिर गरेर हिँडेको जस्तो अवस्था निश्चय पनि यो होइन । सांसद भनेको नेतृत्व वर्ग हो । नेतृत्व वर्ग आफैं यसरी हाजिर गर्ने र भत्ता लिने कुत्सित मनोभावना राख्ने तर काम गर्ने बेलामा भने संसद्मा अनुपस्थित हुने कार्य दुःखद् अवस्था हो । सधैं यस्तै समस्या आइरहने भएको हुँदा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले पालो मिलाएर सांसदहरूको उपस्थिति गराउने र गणपूरक संख्या पुग्ने व्यवस्था गर्ने भनेर पालो मिलाएको अवस्थामा पनि सांसदहरूको यस्तो न्यून उपस्थिति आलोच्य पक्ष हो । प्रतिनिधिसभाको सबैभन्दा पछिल्लो पटकको निर्वाचन भएको ७ महिना अझै बितेको छैन ।
यसअवधिमा यस पार्टीले, सरकारले र यस पार्टीबाट निर्वाचित हुनुभएका सांसदहरूले देशको आवश्यकता बुझेर काममा तदारुकता देखाउँदै पुराना पार्टीहरूले गर्न नसकेका काम गरी देशलाई कायापलट गर्छन् भन्ने अपेक्षा उहाँहरूको कार्यशैलीले नै भ्रममा परिणत गराउँदै लगेको छ । जसले जुन काम गर्नुपर्ने हो त्यसले त्यो काममा इमानदारिता देखाउने हो भने देशको विकास हुन समय लाग्दैन तर बिहानले दिनको संकेत गर्ने गर्छ भन्ने भनाइलाई रास्वपाका सांसदहरूले नै देखाइसक्नुभएको छ । उहाँहरूको संसद्प्रतिको उदासीनता नै राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक बाटोको तुँवालो र अवरोध हो भन्ने देखिन आउँछ । उहाँहरूले आफूलाई सुधार गरेर अगाडि बढाउन सक्नुभएन भने यस पार्टीले छोटो समयमा आर्जन गरेको लोकप्रियता त्यसभन्दा छोटो समयमै ऋणात्मक बन्ने कुरा निर्विवाद छ ।







देशभर मनसुनी गतिविधि सक्रिय, यी
पहिराले खस्दा रोल्पाको सहिदमार्ग अवरुद्ध
अविरल वर्षासँगै बाजुरामा पहिरो, साँफे–मार्तडी
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
लेदुवा खोलाको पुल सात वर्षदेखि
चोरीको खसी खरिद–बिक्रीको आरोपमा चार