गतवर्ष भदौ २३ र २४ गतेका विध्वंसात्मक राजनीतिक घटनाक्रम र जेन–जी विद्रोहको रापले वर्तमान संवैधानिक व्यवस्थाको सान्दर्भिकतामाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ तर यस सन्दर्भभन्दा पनि गम्भीर र अर्थपूर्ण दृश्य अहिले देशको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसभित्र सानेपा र चुनदेवीबीच देखिएको वैचारिक तथा सांगठनिक ध्रुवीकरणमा प्रकट भइरहेको देखिन्छ ।
आधुनिक नेपालको निर्माणदेखि २००७ सालको जनक्रान्ति र त्यसपछिका प्रत्येक ऐतिहासिक राजनीतिक तथा सामाजिक परिवर्तनका रूपान्तरणकारी एजेन्डा नेपाली कांग्रेसले नै निर्माण गर्दै आएको इतिहास छ तर आज सानेपा र चुनदेवीबीच सुरु भएको नयाँ एजेण्डाको निर्माणमा एकातिर सानेपा कांग्रेसका नयाँ नेतृत्व आफ्नो वैचारिक सान्दर्भिकता गुमाएर घोर अलमलमा परेका देखिन्छन् भने अर्कातिर कांग्रेसको त्यही ऐतिहासिक भूमिकालाई जीवित राख्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई अग्रगामी छलाङ मार्ने नयाँ राजनीतिक एजेण्डाको नेतृत्व चुनदेवी सम्पर्क कार्यालयमार्फत लिन थाल्नुभएको देखिन्छ ।
राजनीतिमा उमेरले होइन, ‘एजेण्डा’ ले नेतृत्वको दिशा निर्धारण गर्छ । अमेरिकाका राष्ट्रपतिहरूको उमेर होस् वा चीन र रुसका शक्तिशाली राष्ट्रप्रमुखहरूको उमेर, विश्व राजनीतिमा नेतृत्वको सान्दर्भिकता उनीहरूले बोक्ने विचार र भूराजनीतिक आवश्यकताले तय गर्छ भन्ने कुरा स्थापित सिद्धान्त हो । यही कसौटीमा हेर्दा शेरबहादुर देउवाको राजनीतिमा पुनरागमन भएको देखिन्छ ।
सानेपाको सकस
विशेष महाधिवेशनका नाममा भिड जुटाएर सानेपा कांग्रेसको नेतृत्व सम्हाल्न पुगेका सभापति गगन थापा विद्यार्थीकालदेखि नै गणतन्त्रवादी नेताका रूपमा स्थापित भएका हुन् । उनले प्रत्येक सार्वजनिक सभा, समारोह र आमसभाहरूलाई सम्बोधन गर्ने क्रममा ‘नेपाल धर्मनिरपेक्ष राज्य हुनेछ’ भन्दै निरन्तर वकालत गरे तर गतवर्षको भदौ २४ गतेको संकटपूर्ण परिस्थितिमा आफ्नै थलो छोडेर भागेका र पछि फर्केका नेताहरू आज जब मुलुक पुनः सन्तनेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा निर्माण भएको २०४७ सालको संविधानका आधारशीलाहरूकै सेरोफेरोमा फर्किन लागेको देखेर गगन थापा र उनको समूह घोर वैचारिक सकसमा फसेको देखिन्छ ।
सानेपा नेतृत्वको सिद्धान्त र कार्यशैलीमा चरम ढुलमुलेपन र वैचारिक विचलन देखिएको छ । बीपी कोइरालाको कालजयी विचार र सिद्धान्तलाई विनिर्माण गर्ने दुष्प्रयास गर्दै गगन थापाले नेपाली कांग्रेसको मौलिक सिद्धान्त ‘प्रजातान्त्रिक समाजवाद’ र ‘सनातन पहिचान’लाई तिलाञ्जलि दिएका छन् । वैदिक सनातन रङ र संस्कृतिको ठाउँमा सस्ता पपुलिजम र पश्चिमा ‘सामाजिक लोकतन्त्र’ अँगाल्दै सानेपाका भित्ताहरू, पार्टीको आधिकारिक वेबसाइट र लेटरहेडहरू सम्ममा अन्य धर्मको प्रतीक झल्किने हरियो रङ पोत्ने काम गरेको देखिन्छ । यसले कांग्रेसको ऐतिहासिक पहिचानमाथि नै गम्भीर आघात पुर्याएको छ ।
कांग्रेसभित्र बाह्य शक्तिको निर्देशनमा स्थापित र ऐतिहासिक नेताहरूलाई विस्थापित गर्ने खेल नयाँ भने होइन । इतिहासलाई हेर्ने हो भने देश सशस्त्र युद्ध र ज्ञानेन्द्र शाहको तानाशाही शासनमा परेको बेलामा एमालेलगायत सात दल र विद्रोही माओवादीलाई एक ढिक्का बनाएर देशलाई हिंसात्मक युद्धबाट बाहिर ल्याउने र शान्ति प्रक्रिया स्थापित गराउने ऐतिहासिक नेता गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो । प्रतिनिधिसभाको पुनर्वहाली गराएर गणतन्त्रको जग बसाल्ने गिरिजाप्रसाद कोइरालाको त्यो अतुलनीय योगदान थियो तर २०६४ सालको पहिलो संविधानसभा चुनावपछि बोलाइएको संसदीय दलको पहिलो बैठकमा, गिरिजाप्रसाद स्वयंले मनोनित गर्नुभएका युवा नेता गगन थापा र साहित्यकार नेता नरहरि आचार्यले बाह्य शक्तिको इसारा र निर्देशनमा ‘अब गिरिजाबानुले विश्राम लिनुपर्छ’ भन्दै कडा भाषण गरेर उहाँलाई पाखा लगाउने प्रयास गरेका थिए ।
आज नेपाली कांग्रेसमा इतिहास पुनः दोहोरिएको छ । १४औं महाधिवेशनबाट वैधानिक रूपमा स्थापित भएका शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, शशांक कोइराला र विमलेन्द्र निधिजस्ता परिपक्व नेताहरूको भूमिका र सान्दर्भिकतालाई नै समाप्त पार्ने बाह्य शक्तिको अमुक जिम्मेवारी पूरा गर्नका लागि गगन थापाले विशेष महाधिवेशनका नाममा भिड जुटाउने काम गरे तर केवल सांगठनिक भिड जुटाएर वा सस्ता पपुलिस्ट भाषण गरेर राजनीति अगाडि बढ्दैन । सिद्धान्त र एजेण्डाबिनाको भिडले नेतालाई सान्दर्भिक बनाउन सक्दैन । आज पपुलिजमको आधारशीलामा उभिएका सानेपाका नेताहरूसँग न त जनभावनाको समर्थन देखिन्छ न त राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने कुनै स्पष्ट एजेण्डा नै ।
चुनदेवीको नयाँ एजेण्डा
राजनीतिमा उमेरले होइन, ‘एजेण्डा’ ले नेतृत्वको दिशा निर्धारण गर्छ । अमेरिकाका राष्ट्रपतिहरूको उमेर होस् वा चीन र रुसका शक्तिशाली राष्ट्रप्रमुखहरूको उमेर, विश्व राजनीतिमा नेतृत्वको सान्दर्भिकता उनीहरूले बोक्ने विचार र भूराजनीतिक आवश्यकताले तय गर्छ भन्ने कुरा स्थापित सिद्धान्त हो । यही कसौटीमा हेर्दा, चुनदेवीस्थित सम्पर्क कार्यालयबाट राजनीतिक रणनीति निर्माण गरिरहेका समूह र स्वयं शेरबहादुर देउवाको राजनीतिमा अभूतपूर्व पुनरागमन भएको देखिन्छ । जेन–जी आक्रमणका क्रममा घर ध्वस्त भएर, धर्मपत्नीमाथि अमानवीय दुर्व्यवहार भएर र स्वयं मरणासन्न हुने गरी कुटाइ खाएर पनि मृत्युको मुखबाट बाँच्नुभएका देउवाको जीवन र राजनीति पौराणिक ‘फिनिक्स’ चरा झैँ खरानीबाट पुनः ब्युँझिएको छ ।
‘फिनिक्स’ चराको कथाको मुख्य सन्देश हो, ‘हार वा विनाश नै अन्तिम होइन, कठिन परिस्थितिबाट फेरि उठ्न सकिन्छ ।’ जसरी, जेन–जी विद्रोहको त्यो भयंकर हिंसात्मक आक्रमणबाट बचेर पुनर्जन्म पाउनुभएका देउवामा ईश्वरप्रति प्रगाढ श्रद्धा र विश्वास बढेर गएको देखिन्छ । आफू बच्नुका पछाडि भगवानको कुनै विशेष मनसा र राष्ट्रिय कार्यभार पूरा गर्ने दायित्व रहेको महसुस गर्दै देउवाले ६ महिनाको विदेश बसाइ र उपचारपछि फर्किने क्रममा ‘सम्पूर्ण लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य, समन्वय, एकता र धार्मिक पहिचान’ को स्पष्ट आह्वान गर्नुभयो ।
प्रत्यक्ष रूपमा नभने तापनि उहाँको भित्री आशय र गन्तव्य वास्तवमा २०४७ को संविधानले निर्धारण गरेका बहुदलीय प्रजातन्त्र र हिन्दु राष्ट्रका आधारशीलालाई पुनः जागृत गराउनु नै हुनपर्छ । उहाँले आफ्ना नजिकका साथीहरूसँग ‘जनताले चाहेमा संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रलाई पनि स्वीकार गर्न सकिन्छ’ भन्दै नेपालको राजनीतिमा ठूलो नीतिगत फड्को मार्नुभएको देखिन्छ । हालै चुनदेवी समूहले आयोजना गरेको नेपाली कांग्रेसको विशेष राष्ट्रिय भेलामा देउवाले मञ्चबाटै तीनपटक ‘हिन्दु, हिन्दु, हिन्दु’ भनेको दृष्य देखिएको थियो । जसलाई नेपाल बुझ्न र बुझाउन खोज्नेहरूले बडो आश्चर्यजनक र अर्थपूर्ण रूपमा लिएको देखिन्छ । सोही भेलामा देउवाकै उपस्थितिमा प्रस्तुत गरिएको राजनीतिक कार्यपत्रमा ‘सनातन पहिचान’ पारित गरियो ।
यो प्रस्ताव पारित गर्ने क्रममा मञ्चमा रहेका केही नेताहरूका बीच अस्वाभाविक असहजता, ठेलाठेल र धकेलाधकेलसमेत भयो । देशका मिडियाहरूले मञ्चको यही ठेलाठेललाई हाइलाइट गरेपछि जनताले यस ‘सनातन पहिचान’को मुद्दा कति असाधारण र शक्तिशाली रहेछ भन्ने कुरा प्रष्टसँग बुझ्न पाए । सानेपा पक्षको असहजताका बीच चुनदेवी सम्पर्क कार्यालयले अघि सारेको यो सनातन एजेण्डाको महत्त्व जनस्तरमा ह्वात्तै बढेर गयो । यसप्रकार, देउवा आज पूर्ण दृढता र प्रष्ट एजेण्डाका साथ ‘फिनिक्स’ सरह राजनीतिमा फर्किनुभएको छ ।
भूराजनीतिक यथार्थ र अबको बाटो
संविधानसभाबाट जारी वर्तमान संविधानमा कम्युनिष्टहरूको रणनीति अनुसार चलाखीपूर्वक ‘समाजवाद उन्मुख’ भन्ने शब्दावली राखिएको छ । यसको भित्री आशय र गन्तव्य वास्तवमा समाजवाद हुँदै साम्यवाद उन्मुख नै हुने हो भन्ने कुरा यसको संवैधानिक संरचनाले नै प्रष्ट पार्छ । यही संवैधानिक छिद्रप्रति अमेरिकी लगायतका पश्चिमी राष्ट्रहरूको ठूलो संशय रहँदै आएको छ । अर्कातिर, विशाल हिन्दु बाहुल्य समाज र मुलुकमा जबरजस्ती थोपरिएको धर्मनिरपेक्षताले ठूलो सामाजिक र सांस्कृतिक असन्तुलन पैदा गरेको छ । भारत पनि नेपालसँगको ऐतिहासिक धार्मिक, सांस्कृतिक र संवैधानिक सम्बन्ध चुँडिएकाले २०४७ सालको संविधानका मूल तत्वहरूतर्फ नेपाल फर्कियोस् भन्ने चाहन्छ । यस्तै, चीनले पनि साना–साना पपुलिष्ट दलहरूसँग डिल गर्नुभन्दा कुनै एक भरपर्दो संस्थापन शक्तिसँग काम गर्न खोजेको देखिन्छ ।
विशाल हिन्दु बाहुल्य समाज र मुलुकमा जबरजस्ती थोपरिएको धर्मनिरपेक्षताले ठूलो सामाजिक र सांस्कृतिक असन्तुलन पैदा गरेको छ । भारत पनि नेपालसँगको ऐतिहासिक धार्मिक, सांस्कृतिक र संवैधानिक सम्बन्ध चुँडिएकाले २०४७ सालको संविधानका मूल तत्वहरूतर्फ नेपाल फर्कियोस् भन्ने चाहन्छ । यस्तै, चीनले पनि साना–साना पपुलिस्ट दलहरूसँग डिल गर्नुभन्दा कुनै एक भरपर्दो संस्थापन शक्तिसँग काम गर्न खोजेको देखिन्छ ।
आजको राजनीति एउटा प्रष्ट दोबाटोमा उभिएको छ । सानेपा कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशनमार्फत कार्यकर्ता र कार्यसमितिमा नेताको भिड त जुटाउनुभयो तर बाह्य शक्तिको निर्देशनमा आफ्नै पार्टीको इतिहास, स्थापित नेताहरूको योगदान र सनातन परम्परालाई भुल्दा उहाँको वैचारिक सान्दर्भिकता निरन्तर स्खलित हँदै गइरहेको छ । हिजोसम्म धर्मनिरपेक्षता र गणतन्त्रको नारा लगाएका गगन थापा अब न त हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको नयाँ परिदृश्यलाई अँगाल्नसक्ने अवस्थामा देखिन्छन् न त आफ्नै पुरानो अडान जोगाउनसक्ने स्थितिमा छन् । यस्तो वैचारिक भित्तोमा पुगेपछि सानेपा कांग्रेससँग अब देशलाई लोकतान्त्रिक आधारमा उभ्याउने कुन गन्तव्य र एजेण्डा बाँकी रहन्छ ?
यसको ठीकविपरीत, राजनीति उमेरले होइन एजेण्डा र परिपक्वताले चल्छ भन्ने कुरालाई प्रमाणित गर्दै शेरबहादुर देउवा र उहाँको चुनदेवी टिमले २०४७ सालको संविधानको मूल अवधारणाको जगमा राष्ट्रिय एकता र सनातन पहिचानलाई अगाडि बढाएर ऐतिहासिक फड्को मारेको देखिन्छ । देउवाले लिनुभएको यो बोल्ड निर्णय, उहाँको सन्तुलित कार्यशैली र नजिकका साथीहरूसँगको संवादमा देखिएको आत्मविश्वासबाट के स्पष्ट हुन्छ भने उहाँले भूराजनीतिक शक्तिहरूको पूर्ण विश्वास र साथ प्राप्त गर्नुभएको छ । नेपाल–भारतबीचको परापूर्वकालदेखिको सांस्कृतिक सम्बन्धलाई पुनः जोड्ने भारतको चाहना, साम्यवादी संविधानको जोखिम अन्त्य हुने अमेरिकी अपेक्षा र एक भरपर्दो संस्थापन शक्तिसँग सहकार्य गर्ने चिनियाँ नीति यी तीनैवटा भूराजनीतिक शक्तिहरू देउवाको यो कदमबाट पूर्णरूपमा आश्वस्त र सन्तुष्ट रहेका देखिन्छन् ।
बाह्य इसारामा स्थापित नेताहरूलाई सिध्याउने र आफ्नै एजेण्डामा अल्झिने सानेपाको अलमलिएको राजनीतिभन्दा, देउवा समूहले अघि बढाएको राष्ट्रिय एकता, सनातन पहिचान र २०४७ को संविधानलाई प्रस्थानबिन्दु बनाउने चुनदेवीको एजेण्डा अबको नेपालका लागि कत्तिको निर्विकल्प, दिगो र सान्दर्भिक राजनीतिक बाटो हुन्छ भन्ने कुराको अन्तिम निर्णय भने नेपाली जनता र सर्वोच्च निकायले गर्ने स्वविवेकीय निर्णयले निर्धारण गर्नेछ ।







देशभर मनसुनी गतिविधि सक्रिय, यी
पहिराले खस्दा रोल्पाको सहिदमार्ग अवरुद्ध
अविरल वर्षासँगै बाजुरामा पहिरो, साँफे–मार्तडी
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
लेदुवा खोलाको पुल सात वर्षदेखि
चोरीको खसी खरिद–बिक्रीको आरोपमा चार