प्रसिद्ध लेखक जोन स्टुअर्ट मिलले १८६३ मै भनेका थिए-सन्तुष्ट सुँगुर हुनुभन्दा असन्तुष्ट मानिस हुनु नै बेस हो । जोन मिलले सन्तुष्ट सुँगुरलाई यहाँ प्रतीकात्मक रूपमा प्रस्तुत गरेका छन् । आफूसँग जे छ त्यसैमा सन्तुष्ट भएर खाने, पिउने र सुत्ने कामलाई मात्रै आफ्नो लक्ष्य बनाएका मानिसहरूलाई सन्तुष्ट सुँगुरका रूपमा प्रस्तुत गरेका छन् । मानिसको काम जिउनुमात्रै होइन, त्यसका अलावा समाज, मुलुक र प्राणीजगत्का बारेमा सोच्नु पनि मानिसको कर्तव्य हो भन्ने अवधारणामा उनको यो भनाइ आएको हो । नितान्त आफ्ना बारेमा मात्रै सोच्ने र आफैंमा रमाउने व्यक्तिलाई निकृष्ट परिभाषित गर्ने तात्पर्यमा यो भनाइ आएको हुनुपर्छ ।
दलका नेताहरूले त आमनागरिकको सन्तुष्टिमा आफ्नो सन्तुष्टि देख्न सक्नुपर्ने हो । मुलुकको जति प्रगति र उन्नति हुन्छ, नेताहरूको हौसला उति नै बढ्दै गए नै देश र जनताको समुत्थान हुने हो । राजकीय पदमा आफू रहँदा आफूले गर्न सकेका सकारात्मक उपलब्धिमै सन्तुष्ट नभई अझ बढी कार्य गर्ने प्रेरणा नेताहरूले प्राप्त गरे नै राष्ट्रले अग्रगति लिने हो ।
आफ्ना कामप्रति विशेषगरी राजनीतिका माध्यमबाट देशसेवामा होमिएका र विद्यार्थीहरू सधैं असन्तुष्ट हुँदा उत्तम हुन्छ । त्यसैले होला कतिपय नेपाली नेताहरूले आफू प्रधानमन्त्री भएरमात्रै सन्तुष्टि लिँदैनन् । आफू असमर्थ भइसकेपछि आफ्नी पत्नीलाई प्रधानमन्त्री बनाउने योजना बुनिरहेका हुन्छन् । पार्टी सभापतिको आफ्नो कार्यकाल पूरा भइसकेपछि पत्नीलाई कसरी पद हस्तान्तरण गर्ने ध्याउन्न हुन्छ । पार्टी सभापतिका निकटस्थहरू आफू केन्द्रीय सदस्य भएरमात्रै चित्त बुझाउँदैनन्, श्रीमतीलाई समेत केन्द्रमा ल्याउने प्रयत्न गरिरहन्छन् । एकपटक मन्त्री भएको सांसद् अर्को पटकका लागि तानाबाना बुनिरहेको हुन्छ । पूर्णरूपेण सन्तुष्ट कोही पनि देखिँदैन । शायद यस्तो असन्तुष्ट मानिस हुनु बेस भनिएको चाहिँ पक्कै होइन ।
नेपालका नेताहरूले जोन मिलको यो भनाइ राम्रैसँग पढेर कण्ठै पारेजस्तो देखिन्छ । पाँचपटक प्रधानमन्त्री भएको नेता छैटौं पटक हुने मौका कुरेर बसेको हुन्छ र यसको अप्राप्यतामा भयंकर चिन्तित देखिन्छ । दुई पटक पार्टी सभापति भएको मानिस विधानले तेस्रो पटक हुनै नदिने भए पनि बाधा अड्चन फुकाउका उपायहरू खोजिरहेको पाइन्छ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नपाएको केही छैन र पनि उनलाई कसैले सन्तुष्ट देखेको छैन । एमालेका अध्यक्ष केपी शर्मा ओलीले त अनेक गरेर पार्टी अध्यक्ष छाडेकै छैनन् र उनी बाँचुञ्जेल अर्को अध्यक्ष हुने सम्भावना पनि क्षीण हुँदै गएको छ ।
नेकपाका संयोजक प्रचण्डको त कुरै गर्नु परेन । कहिले पार्टी महासचिव, कहिले अध्यक्ष, कहिले संयोजक जस्ता पदहरूबाट विभूषित भई सधैं नेतृत्वमै रहेका छन् । कहिले पार्टीको केन्द्रीय समिति विघटन, कहिले केन्द्रीय समिति निर्वाचन समितिमा परिणत, कहिले महाधिवेशनको घोषणा आदि जस्ता कार्यहरू गर्दै पार्टी नेतृत्वबाट बिदा हुने लक्षण देखाएका छैनन् । केही अघिसम्म नेपाली राजनीतिका शीर्ष व्यक्तित्वको उपाधि पाएका यी तीनैजना नेताहरू राजनीतिक तिकडमबाजीको खेलबाट कहिल्यै सन्तुष्ट होलान् जस्तो लाग्दैन । राजनीतिक नेतृत्व लिएकाहरू यसरी पदका लागि मरिहत्ते गर्दै असन्तुष्ट हुनु सन्तुष्ट सुँगुर हुनुभन्दा उत्तम हो भनेर जोन मिलले शायदै भनेका होइनन् होला जस्तो लाग्दछ ।
दलका नेताहरूले त आमनागरिकको सन्तुष्टिमा आफ्नो सन्तुष्टि देख्न सक्नुपर्ने हो । मुलुकको जति प्रगति र उन्नति हुन्छ, नेताहरूको हौसला उति नै बढ्दै गए नै देश र जनताको समुत्थान हुने हो । राजकीय पदमा आफू रहँदा आफूले गर्न सकेका सकारात्मक उपलब्धिहरूमै सन्तुष्ट नभई अझ बढी कार्य गर्ने प्रेरणा नेताहरूले प्राप्त गरे नै राष्ट्रले अग्रगति लिने हो । यस्ता कुराहरूमा दृष्टि नै नपुग्ने तर आफ्नो पदावधि लम्ब्याउने तथा आफ्ना नातागोता एवं वरपरका मानिसहरूको अवसरको खोजीमा मात्रै लाग्ने र यसमा असफल भए असन्तुष्ट हुने नेताहरूबाट देश बन्दै बन्दैन ।
मानिसले दुई किसिमका सन्तुष्टि प्राप्त गर्दछ-एउटा शारीरिक र अर्को मानसिक । बिहान-बेलुकी खान पाए, जाडामा ताता र गर्मीमा नयाँ लुगा लगाउन पाए, सुत्ने बेलामा आरामदायी बिछ्यौना पाए शारीरिक सुख प्राप्त भइहाल्छ । यसका लागि त्यति धेरै मिहिनित, बुद्धि र चिन्तनको आवश्यकता पर्दैन । केही शारीरिक श्रम खर्चिए जिउन सकिहालिन्छ । यसबाट मानिसले शारीरिक आनन्द त प्राप्त गर्दछ तर यत्तिले पुग्दैन । मानसिक आनन्द अत्यावश्यक हुन्छ । मानिस विवेकशील प्राणी हो र चेतनायुक्त जीवनप्राप्त जीव हो । जिउनुमात्रै लक्ष्य बनाएको मानिस वास्तवमै मानिसका रूपमा जिउन सकेको हुँदैन । ऊ कुनै न कुनै रूपमा चिन्तित भइरहेको हुन्छ ।
मानिस भएर जन्मिएपछि सही र गलतका बारेमा भिन्नता छुट्याउन सक्नुपर्दछ । विगतको मूल्यांकन गर्दै भविष्यका बारेमा सोच्ने ल्याकत राख्नैपर्दछ । नयाँ कुराको सिर्जना गर्ने खुबी प्रकृतिले मानिसलाई मात्रै दिएको छ भने नैतिक चरित्रवान् बन्ने कि अनैतिकताको मार्गमा अग्रसर हुने भन्ने निर्णय गर्ने सुविधा पनि मानिसलाई मात्रै प्राप्त छ । आफ्नो नैतिक आत्मसम्मानलाई बढाउँदै जाने प्रयत्नमा लीन मानिसले मात्रै चरम सुख प्राप्त गर्न सक्दछ न कि भौतिक सुविधाहरूको सम्पन्नताबाट मानिस सन्तुष्ट हुनसक्दछ । जुन मानिसले आफ्नो बौद्धिक विकास गर्न सकेको हुँदैन, ऊ शारीरिक सुखहरूका साधनबाट पर्याप्त रूपमा सन्तुष्ट भए पनि असन्तुष्ट नै हुन्छ ।
विद्यार्थी त सधैं असन्तुष्ट हुनैपर्दछ । बाबुआमाले पुर्याउन सकेको भौतिक सुविधाप्रति असन्तुष्ट होइन कि ज्ञानको भोकले असन्तुष्ट हुनु नै विद्यार्थीको सबैभन्दा ठूलो गुण हो । आफूले पढाइलाई दिएको समय, आफूले आर्जन गरेको ज्ञान र आफूले प्राप्त गरेको सीपमा विद्यार्थी असन्तुष्ट हुने हो न कि यो खान र यो लगाउन पाइन भनेर चित्त दुःखाउने हो । अन्य पेशा र वर्गका मानिस पनि सेवाभाव र समाज उत्थानमा सधैं असन्तुष्ट हुनैपर्दछ तर नेपालमा शारीरिक सुविधालाई लिएर असन्तुष्टहरूको जमात भेटिन्छ । राजनीतिक दलमा संलग्न व्यक्तिहरूको त कुरै गर्न पर्दैन, त्यहाँ सन्तुष्ट भेटिने भनेको त औंलामा गन्न सकिने नेताहरूमा मात्रै हो ।
मेरो पद गगनले खोसे भनेर देउवा असन्तुष्ट हुनु, विष्णु पौडेल र शंकर पोखरेल मिलेर मलाई हटाउन खोजे भनेर ओली असन्तुष्ट देखिनु, जनार्दन शर्माहरूले मेरो पदमा दागा धरे भनेर प्रचण्ड दुःखी देखिनु वा कतै रवि लामिछानेले मेराविरुद्ध षड्यन्त्र त गर्दै छैनन् भनेर बालेन चिन्तित हुनुजस्ता कुराहरूको कुनै अर्थ छैन ।
पुराना दलका बुढा नेताहरूमात्रै होइन कि नयाँ दलका नयाँ युवा नेताहरूमा पनि देश बनाउने हुट्हुटी छ भन्दै गर्दा पाँच महिनामा आफूले गरेका काममा विश्लेषण गर्ने मनसाय देखिएको छैन । आफ्नो कार्य सम्पादनमा आफू असन्तुष्ट भई नयाँ योजना र विकास निर्माणका नयाँनयाँ खाका कोर्ने कार्यतिर अग्रसर मन्त्री भेट्न सकिएको छैन । जति जे गरेका छन्, त्यसैमा सन्तुष्ट छन् जस्तो लाग्दछ । पुराना दल र बुढा नेताहरूलाई ३५ वर्षको विकृतिको अपजस भिराउँदै त्यसैमा रमाउनु नै असल मन्त्रीको लक्षण हुनसक्दैन । नयाँ सरकारले नयाँ माइलस्टोन खडा गरी त्यहीँबाट आफ्नो मूल्यांकन गर्नुपर्दछ ।
रमेश लेखक गृहमन्त्री हुँदा उनले खटाएका अध्यागमनका हाकिमले दैनिक पचास लाख उठाउने जिम्मा लिएका थिए भन्ने समाचार सत्य भए पनि वा असत्य भए पनि व्यापक रूपमा बाहिरिएको थियो । समाचार आएसँगै सहसचिवस्तरका ती हाकिम त छानबिनमा तानिएका छन् तर पर्दापछाडिका खलपात्रहरू चोखै छन् । यदि त्यो समाचार सत्य हो भने एउटा सहसचिवस्तरको कर्मचारीले त्यत्रो रकम उठाएर एक्लै पचाउने हिम्मत गर्नै सक्दैन भन्ने आमनेपालीलाई लागेको छ र पनि नयाँ भनिएको सरकारले त्यसमा कुनै कदम चालेको छैन । भ्रष्टाचारीलाई कारबाही गर्ने नारामै सीमित हुनपुगेको छ । नयाँ भनिएको सरकारकै मन्त्रीका बारेमा पनि छानबिन समिति बन्छ र प्रतिवेदन पनि तयार हुन्छ तर गुपचुपमै राखिन्छ र पनि नेपाली जनता मौन छन् भनौं वा सन्तुष्ट छन् । जनताको यस्तो सन्तुष्टिलाई के भन्ने ?
देशलाई नेताहरूले जति ध्वस्त बनाए पनि सन्तुष्ट हुने जनता, नागरिक जति मारमा परे पनि सिरानीमा शिर राखेर मस्त निदाउने नेता, शासकहरूले सारा अधिकार छिनेर नांगै बनाउँदा पनि नजुर्मुराउने मानिसहरू भएको समाज बाहिरीरूपले सन्तुष्ट देखिए पनि भित्रभित्रै असन्तुष्टिको ज्वालाले डढ्दै गएको हुन्छ । मानिसमा नागरिक अधिकारको चेत हुनैपर्दछ । मानिस भएर जन्मिएपछि स्वतन्त्रता र आत्मसम्मानको भोको हुनैपर्दछ र यो भोकका कारण दुःखी देखिए पनि वास्तविक दुःखी मानिँदैन । पद, पैसा र शक्तिका लागि मात्रै असन्तुष्ट भइरहेको हुन्छ भने त्यो मानिस कहिल्यै सुखी हुनसक्दैन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज हत्कडी लाउने हो कि भोलि भन्ने त्रासमा रहनुपर्ने गरी सम्पत्ति जोडेर बाँचेको धनीभन्दा दिनभरि खेतमा काम गरेर बेलुका ढिँडो रोटो खाई मस्त निदाउन पाउने जीवन नै सुखमय हुन्छ । फलानोले गृहमन्त्री भएर यति कमायो, मलाई विज्ञान प्रविधि मन्त्री दिएर कमाउनै पाइन भन्ने चिन्ताले सताएको पदधारीभन्दा दिनभर सार्वजनिक यातायात चलाएर राति परिवारसँग दुःखसुखका कुरा गरेर बस्न पाउने मजदुर नै सुखी देखिन्छ । सुखका अनेक प्रकार हुन्छन् र सन्तुष्टिका पनि एउटै मापक हुँदैन । कसैले एउटा कुरामा सन्तुष्टि प्राप्त गरिरहेको हुन्छ भने कसैले अर्कै कुरामा सन्तुष्टि प्राप्त गर्दछ ।
जसले जे कुरामा सन्तुष्टि प्राप्त गरे पनि राजनीतिक दलका नेताहरूको सन्तुष्टिको आधार देश र जनताको समुन्नति नै हुनुपर्दछ । आफ्नो व्यक्तिगत महत्त्वाकांक्षा परिपूर्तिभन्दा अगाडि जनताका समस्या देख्ने नेता नै चाहिन्छ । मुलुकमा विद्यमान् अव्यवस्था, जनताका पीडा, भ्रष्टाचारका आँकडा र मुलुकको विकास अभावमा असन्तुष्ट नेता नै अहिलेको आवश्यकता हो । मेरो पद गगनले खोसे भनेर देउवा असन्तुष्ट हुनु, विष्णु पौडेल र शंकर पोखरेल मिलेर मलाई हटाउन खोजे भनेर ओली असन्तुष्ट देखिनु, जनार्दन शर्माहरूले मेरो पदमा दागा धरे भनेर प्रचण्ड दुःखी देखिनु वा कतै रवि लामिछानेले मेराविरुद्ध षड्यन्त्र त गर्दै छैनन् भनेर बालेन चिन्तित हुनुजस्ता कुराको कुनै अर्थ छैन । बौद्धिक र गरिमापूर्ण जीवनका लागि असन्तुष्ट मानिस शारीरिक रूपमा सन्तुष्ट मानिसभन्दा जहिल्यै उच्च हुन्छ ।







देशभर मनसुनी गतिविधि सक्रिय, यी
पहिराले खस्दा रोल्पाको सहिदमार्ग अवरुद्ध
अविरल वर्षासँगै बाजुरामा पहिरो, साँफे–मार्तडी
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
लेदुवा खोलाको पुल सात वर्षदेखि
चोरीको खसी खरिद–बिक्रीको आरोपमा चार