काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ र उनकी श्रीमती कमला श्रेष्ठविरुद्ध ४ करोड ७४ लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगले श्रेष्ठ सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५३ साल साउन २७ गतेदेखि २०८१ साल चैत २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी अनुसन्धान गरेको जनाएको छ।
अनुसन्धानका क्रममा श्रेष्ठ तथा उनका एकाघर परिवारका सदस्यको वैधानिक आय, खर्च र लगानी विश्लेषण गर्दा उक्त अवधिमा ७ करोड ७५ लाख ७८ हजार ८४० रुपैयाँ ८७ पैसा वैधानिक आय आर्जन गरेको देखिएको आयोगले जनाएको छ।
उक्त वैधानिक आयमा सरकारी सेवाबाट प्राप्त पारिश्रमिक तथा भत्ता, जग्गा बिक्रीबाट प्राप्त रकम, छोरीको पारिश्रमिक, ऋण तथा सापटी लिएको र फिर्ता गरेको रकम, घरजग्गा बहाल, सवारीसाधन बिक्री, बीमा परिपक्व हुँदा प्राप्त रकम तथा बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दातबाट करकट्टीपछि प्राप्त ब्याजसमेत समावेश छन्।
तर सोही अवधिमा श्रेष्ठ तथा उनका एकाघर परिवारका सदस्यले १२ करोड ५० लाख २५ हजार ६५४ रुपैयाँ ३६ पैसा खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
आयोगका अनुसार उक्त रकम जग्गा खरिद, घर निर्माण, सेयर खरिद, सवारीसाधन खरिद, छोरीहरूको अध्ययन खर्च, कर्मचारी सञ्चय कोष तथा व्यक्तिगत ऋण–सापटी तिर्न वा दिन र बैंक खातामा मौज्दात राख्नेलगायतमा खर्च भएको देखिएको छ।
वैधानिक आयबाट कुल खर्च तथा लगानी घटाउँदा ४ करोड ७४ लाख ४६ हजार ८१३ रुपैयाँ ४९ पैसा बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको आयोगको निष्कर्ष छ।
श्रेष्ठले पेस गरेको सम्पत्ति विवरणसमेत अमिल्दो र अस्वाभाविक देखिएको आयोगले जनाएको छ। सार्वजनिक पदमा रहँदा आफू तथा एकासगोलका परिवारका सदस्यको वैधानिक आम्दानीको तुलनामा अमिल्दो आर्थिक साधन तथा सम्पत्ति आर्जन गरेको पुष्टि भएको आयोगको दाबी छ।
गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति उनकी श्रीमती कमला श्रेष्ठको नाममा समेत रहेको देखिएपछि आयोगले दुवै जनाविरुद्ध प्रचलित कानुनबमोजिम सजायको मागदाबी गर्दै बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।







नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा
लागुऔषध खैरो हेरोइनसहित मकवानपुरमा तीन
कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य
भोटेकोशी बाढी : एक हजार
बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र,