काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले यो वर्षको साफ च्याम्पियनसिप गुमाउने पक्का भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले नेपाललाई प्रतियोगितामा सहभागी हुन दिएको सेप्टेम्बर ३० सम्मको समयसीमा सकिएसँगै नेपालको सहभागिता नहुने निश्चित भएको हो । बंगलादेशमा आगामी नोभेम्बर ५ देखि १७ सम्म हुने १५औँ साफ च्याम्पियनसिपको समूह विभाजन गर्दा नेपाललाई सहभागी गराइएको थिएन ।
अखिल नेपाल फुटबल संघ (एन्फा) माथि फिफाले लगाएको निलम्बन फुकुवा भए नेपाललाई समूह ‘ए’ मा समावेश गर्ने विकल्प साफले खुला राखेको थियो । तर, बुधबारसम्म पनि एन्फामाथिको फिफा निलम्बन फुकुवा नभएसँगै साफ च्याम्पियनसिपमा नेपालको सहभागिताको सम्भावना पनि समाप्त भएको हो । नेपालले साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक प्रतियोगिता गुमाउने भएको हो ।
यसअघि स्थापना भएदेखि नै नेपालले साफको हरेक संस्करणमा सहभागिता जनाउँदै आएको थियो । सन् २०२१ मा नेपाली टोली साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो ।
फिफाले गत जुन २४ मा एन्फालाई निलम्बन गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हस्तक्षेपलाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा व्याख्या गर्दै फिफाले एन्फामाथि कारबाही गरेको हो । निलम्बनका कारण नेपाली राष्ट्रिय टोली र क्लबले फिफा तथा एएफसीअन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाएका छैनन् ।







कृष्णभीरमा खोलिएको ‘ट्रयाक’ लाई फराकिलो
खेतमा पानी तान्ने क्रममा करेन्ट
वर्षासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम
भोटेकोशी बाढी : शिक्षण अस्पतालमा
पाल्पाको लोपउन्मुख लाखे संस्कृति जोगाउँदै
कृष्णभीरमा खोलिएको ट्र्याक फराकिलो बनाइँदै,