देउवा नेतृत्वको कांग्रेसले आफ्नो नियमित महाधिवेशन ग्रामीणतहबाट प्रारम्भ गरेको छ । विशेष महाधिवेशन पक्षधरहरूको १५औं महाधिवेशनका लागि प्रतिनिधिको निर्वाचन सकिएसँगै नियमित महाधिवेशन पक्षधरको १५औं महाधिवेशन मिति तय भएको थियो । यतिखेर दुई कांग्रेस चुनावी मैदानमा देखिएका छन् । यही १८ गतेदेखि विशेष महाधिवेशन पक्षधरद्वारा १५औं महाधिवेशन राजधानीमा उद्घाटित हुनेछ । उता नियमित पक्षधरहरू भने वडा, पालिकादेखि क्षेत्रीय सम्मको अभियानमा जुट्ने भएका छन् । निर्वाचन आयोगमा देउवाको हस्ताक्षरित सभापतित्वको पत्र अभिलेखबद्ध भएसँगै नियमित पक्ष अलि उत्साहित देखिएको छ । नियमित पक्षमा कति सदस्यहरू जुट्छन् थाहा छैन । तर सात लाखभन्दा बढी सदस्य रहेको दाबी देउवा पक्षले सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेसको विम र निमको पक्ष-विपक्ष भएर अहिले महाधिवेशनको महायज्ञमा होमिएको अवस्था छ । गत वर्षदेखि कांग्रेस दुई धाँजामा विभाजित हुँदै आएको थियो र दुवै धाँजाले एकअर्काको अस्तित्वलाई स्वीकार गरिरहेका छैनन् । त्यही किसिमले आफ्नो ढंगले अगाडि बढिरहेका छन् । एकथरी कांग्रेसले अर्को थरी कांग्रेसलाई कांग्रेसका रूपमा लिएका छैनन् । दुबैले दुबैको अस्तित्वलाई नस्वीकारी अगाडि बढ्ने क्रममा नेपाली कांग्रेस दिनप्रतिदिन कमजोर बन्दै गएको छ । गत वर्षको भदौ २३ र २४ गतेको रहस्यमय परिघटनापछि त्यसलाई राजनीतिक वृत्तमा र जनस्तरमा समेत जेन–जी विद्रोह नामकरण गरिएको छ । यद्यपि यसरी नामकरण गर्नु सही वा गलत स्पष्ट भएको छैन । तर यही प्रकरणबाट कांग्रेसभित्रको सामान्य चिसोपनमा बढी ठूला धाँजा फाट्न पुग्यो र कांग्रेसका तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत उहाँहरूको पक्षधरहरूका तर्फबाट पार्टीभित्र विशेष महाधिवेशनको माग भएको थियो । महाधिवेशनका लागि बहुमत दाबी गरेको हस्ताक्षर पनि पार्टीमा बुझाइयो । तर पार्टीको केन्द्रीय समितिले उक्त विशेष महाधिवेशन गर्न सहमति दिएन ।
यसपछि भने कांग्रेस पार्टीभित्रको असहमति र मनमुटावको धाँजा झनै फराकिलो बनेर फाट्न पुग्यो । गगन थापा तथा विश्वप्रकाश शर्माको अगुवाइमा २०८२ साल पुसको अन्तिममा विशेष महाधिवेशन सम्पन्न भयो । यसपछि कांग्रेसभित्रको राजनीतिक समीकरण अझै बदलिएर गयो । पार्टी कुनै पनि अवस्थामा एक भएर अगाडि बढ्नसक्ने परिस्थिति निर्माण हुनसकेन । त्यसबेला निर्वाचनको पूर्वसन्ध्यामा नेपालको राजनीति अगाडि बढिरहेको थियो र निर्वाचन आयोगबाट विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले विशेष महाधिवेशन माग भएको हस्ताक्षर सनाखत विना नै मान्यता पायो र पछि सर्वोच्च अदालतबाट पनि निर्वाचन आयोगकै निर्णयलाई मान्यता दिइयो । तर पनि नेपाली कांग्रेस भावनात्मक रूपमा मात्र नभएर कार्यगत रूपमा एक हुनसकेन । कांग्रेस दुई पक्षका रूपमा अहिले पनि कार्यरत छ र दुवै पक्ष महाधिवेशनलाई तीव्रताका साथ अगाडि बढाइरहेका छन् ।
विशेष महाधिवेशनबाट छनोट भएको कार्यसमितिले १५औं महाधिवेशनको कार्यक्रम जोडतोडका साथ अगाडि बढाउनेक्रममा वडास्तरीय अधिवेशन समाप्त भएर हाल क्षेत्रीय अधिवेशन पनि भइसकेको अवस्था छ । तर यसबेलासम्ममा उक्त पार्टीमा निर्विवाद रूपमा प्रतिनिधिहरू छनोट हुनसकेका छैनन् । धेरै ठाउँमा क्षेत्रीय अधिवेशन भइसके तापनि कतिपय ठाउँहरूमा मतमतान्तर, झगडा, वादविवाद र केही ठाउँमा भौतिक रूपमै उम्मेदवारहरू माथि आक्रमण हुनुका साथै समान समूहमा रहेका तर फरक मत राख्नेहरूसँगको भिडन्त पनि भएको छ । यसले गर्दा विमभित्र पनि दुई तीन चिरा देखिन लागेको छ र आपसमा नै भिडन्तको अवस्था विद्यमान भएकै देखिन्छ । चर्चामा रहँदै आउनुभएका र सांसद तथा अन्य यस्तै उच्च पदमा समेत पुगिसक्नुभएका व्यक्तिसमेत क्षेत्रीय अधिवेशनबाट प्रतिनिधिमा पराजित बन्नुभएका केही उदाहरण छन् तर यसलाई प्रतिस्पर्धाको राजनीतिमा आफू पछाडि परेको रूपमा स्वीकार्नुपर्ने हुन्छ ।
गगन थापा पक्षधर कांग्रेस वडा अधिवेशन सकेर क्षेत्रीय अधिवेशन पनि सम्पन्न गरिसकेको अवस्थामा पुगेको छ भने पर्सी १८ गते आइतबारदेखि महाधिवेशन गर्नेगरी अगाडि बढिरहेको छ । १६ गतेदेखि १९ गतेसम्म हुने भनिएको अधिवेशन दुई दिन पर सारेर १८ गतेबाट सुरु हुने महाधिवेशनपछि केन्द्रीय समितिको छनोट उक्त अधिवेशनले गर्नेछ । अहिले त्यसका लागि जिल्ला जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू छनोट हुने क्रम जारी छ । धेरैजसो ठाउँको मतगणना सम्पन्न भइसकेको छ भने कति ठाउँको परिणाम आइसकेको छैन । अर्कोतिर निम पक्ष छुट्टै महाधिवेशनको तयारीमा छ । मंसिरमा महाधिवेशन गर्ने गरी कार्यतालिका जारी गरेको उक्त पक्षले वडा अधिवेशन गर्दैछ त्यसपछि उसका अरू कार्यक्रमहरू अगाडि बढ्नेछन् ।
निर्वाचन आयोगबाट पार्टीको महाधिवेशन गर्न अनुमति प्राप्त गरिसकेको छ । गगन थापाको नेतृत्वको कांग्रेसको क्षेत्रीय महाधिवेशनमा जहाँजहाँ वादविवाद र झगडाहरू भए त्यसको आरोप निमपक्ष कांग्रेसलाई विमपक्षले लगाइरहेको छ । अर्कातिर वडास्तरीय अधिवेशन, क्षेत्र र प्रदेशस्तरीय अधिवेशनलगायत विभिन्न ठाउँबाट स्थान नपाएका र पराजित भएकाहरूलाई समेत आफ्नो पक्षमा समेटेर अगाडि बढ्ने रणनीति निम पक्षले अपनाएको हुनसक्छ । त्यसैले विमका नेता गगन थापा पक्षधरले अधिवेशन गर्दैगर्दा त्यसभन्दा तल्लोस्तरका अधिवेशनबाट निमपक्षधर कांग्रेसले ती–ती तहको अधिवेशन गर्दै अगाडि बढेको देखिन्छ । यी दुई पक्षधर कांग्रेसको यस प्रकारको कार्यशैलीले नेपाली जनतामा कुनै पनि प्रकारको उत्साह भने भर्न सकेको छैन । यसलाई प्रहसन वा निरर्थक सत्ताखेल भन्न थालिएको छ ।
सर्वसाधारण नागरिक कुनै पार्टीलाई भन्दा पनि समग्र जनताको हितको चाहना राख्छन् । राजनीतिक पार्टीहरू आफ्नो स्वार्थमा संलग्न भएको पाउनासाथ नागरिकले उनीहरूको साथ छोडिदिन्छन् । कांग्रेसको लामो वादविवाद र झगडाले नेपाली जनता अब कांग्रेसप्रति त्यति आकर्षित छैनन् । कांग्रेस पुरानो पार्टी हो र यसले लामो समयसम्म नेपालको राजनीतिको नेतृत्व गर्यो । यतिमात्र होइन नेपाली कांग्रेसले देशमा प्रजातन्त्र स्थापनार्थ पटकपटक आन्दोलन गर्यो र आफू यसको मियो भनेर अरूलाई यस्ता आन्दोलनमा संलग्न गरायो । त्यस अर्थमा कांग्रेसप्रति अझै पनि नेपाली नागरिकहरू कौतुहल र जिज्ञासाको नजरले हेर्ने गर्छन् । कांग्रेसले यो जनभावना बुझ्न सक्नुपर्छ, स्वार्थ, आफू र आफ्ना मान्छेको हात समातेर माथि पुर्याउने प्रवृत्ति हावी भएका कारणले नै कांग्रेस बिस्तारै जनस्तरमा अलोकप्रिय बन्दै गएको हो ।
इतिहासमा नेपाली कांग्रेसका संस्थापक नेता तथा त्यसयता कांग्रेसलाई नेतृत्व दिएर अगाडि बढाउने नेताहरूको नाम लिँदा नेपाली कांग्रेसमात्र होइन अन्य पार्टी र समग्र राष्ट्र नै उहाँहरू प्रतिको श्रद्धाले नतमस्तक बन्न पुग्छ । तर समयान्तरमा नेता र नेतृत्वप्रतिको आस्था, सम्मान र दृष्टिकोण पूर्णरूपमा बदलिएको छ । यस कुरालाई बुझेरमात्र कांग्रेस अगाडि बढ्दा उसको हित हुनसक्छ । अबको नेतृत्व चयनमा कांग्रेसले यसतर्फ ध्यान पुर्याओस् । यो पक्षधर कांग्रेस र त्यो पक्षधर कांग्रेस भन्नुभन्दा समग्र नेपाली कांग्रेस भनेर सबैले उक्त पार्टीलाई सम्मान गर्न सकून् । यस प्रकारको वातावरण अरूले सिर्जना गर्ने होइन नेपाली कांग्रेस आफैंले सिर्जना गर्न सक्नुपर्छ ।







देशभर मनसुनी गतिविधि सक्रिय, यी
पहिराले खस्दा रोल्पाको सहिदमार्ग अवरुद्ध
अविरल वर्षासँगै बाजुरामा पहिरो, साँफे–मार्तडी
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
लेदुवा खोलाको पुल सात वर्षदेखि
चोरीको खसी खरिद–बिक्रीको आरोपमा चार