काठमाडौं । १५औँ महाधिवेशनको संघारमा पुगेको नेपालको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समानान्तर अभ्यासको चरणमा प्रवेश गरेको छ । गगनकुमार थापा नेतृत्वको कांग्रेसले आफ्नो कार्यतालिकाअनुसार अघि बढिरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पनि बिहीबारदेखि समानान्तर रूपमा वडा अधिवेशन सुरु गरेको छ । पार्टीभित्र दुई धार प्रष्ट रूपमा आमनेसामने हुँदा विगतमा महत्त्वपूर्ण मानिएको नेताद्वय डा. शेखर कोइराला र पूर्णबहादुर खड्का नेतृत्वको ‘तेस्रो धार’ भने अलमलका कारण खुम्चिन पुगेको छ ।
आधिकारिक रूपमा गगन थापा नेतृत्वको कांग्रेसले गत असोज ३ र ४ गते नै वडा अधिवेशन सम्पन्न गरिसकेको छ भने यही असोज १८ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ । तर, उक्त प्रक्रियामा सहभागी नभएको देउवा पक्षले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा १५औँ महाधिवेशन तयारी समिति गठन गरी बिहीबारबाट छुट्टै वडा अधिवेशन थालेको हो ।
अनुशासन समितिको चेतावनी
निवर्तमान सभापति देउवाको संरक्षणमा सुरु भएको भनिएको वडा अधिवेशन बिहीबार रसुवा बाहेकका ७६ वटै जिल्लामा प्रारम्भ भएको देउवा पक्षले दाबी गरेको छ । अधिवेशन गराउने जिम्मेवारी पाउनुभएका केन्द्रीय निर्वाचन अधिकृत एकराज पोखरेलका अनुसार देशभरबाट प्राप्त रिपोर्टिङका आधारमा तीन हजार पाँच सयभन्दा बढी वडामा अहिले अधिवेशन भएको छ । उहाँले दुई दिनभित्र बाँकी वडामा पनि अधिवेशन सम्पन्न हुने जानकारी दिनुभएको छ । देशभरका कुल ६ हजार ७४३ वडामा अधिवेशन गर्ने देउवा पक्षको लक्ष्य छ ।
आफ्नो पक्षको अधिवेशनलाई उत्साहजनक बनाउन निवर्तमान सभापति देउवाले बिहीबार एक अपिलसमेत जारी गर्नुभएको छ । उहाँले झण्डै आठ दशक लामो इतिहास बोकेको पार्टीका लागि यो अधिवेशन अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र विधिको शासनका लागि पार्टीले गरेको त्यागलाई थप मजबुत बनाउन नेता-कार्यकर्तालाई आह्वान गर्नुभएको छ । देउवा पक्षले असोज २० गते गाउँ/नगर, असोज २३ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र, कात्तिक १५ गते जिल्ला, मंसिर ४ गते प्रदेश र आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्नेगरी निर्वाचन आयोगमा समेत कार्यतालिका बुझाइसकेको छ ।
देउवा पक्षको यो अधिवेशनमा विधानको विगतको व्यवस्थालाई नै निरन्तरता दिइएको छ, जसअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् । जब कि, आधिकारिक मानिएको गगन थापा पक्षको कांग्रेसले जुनसुकै तहका नेता पनि वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने बाध्यात्मक व्यवस्था लागू गरेको छ । यसैबीच, पार्टीभित्र समानान्तर गतिविधि बढेपछि कांग्रेसको केन्द्रीय अनुशासन समितिले कडा चेतावनी दिएको छ । समितिका कार्यवाहक संयोजक रमेश धमलाले पार्टीका पदाधिकारी, निर्वाचित प्रतिनिधि र क्रियाशील सदस्यहरूलाई पार्टीको हित र मर्यादाविपरीतका गतिविधिमा संलग्न नहुन आग्रह गर्नुभएको छ । १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भइसकेपछि पनि कतिपय व्यक्ति कांग्रेसकै नाममा पार्टीविरोधी गतिविधिमा लागेको सूचना प्राप्त भएको भन्दै समितिले त्यस्ता गतिविधिमा संलग्न हुनेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
अलमलले कमजोर बन्दै ‘तेस्रो धार’
कांग्रेसभित्रको यो ध्रुवीकरणमा सबैभन्दा बढी नोक्सानी ‘तेस्रो धार’लाई भएको छ । कांग्रेस पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालाले निर्माण गरेको भनिएको तेस्रो धार यतिबेला निकै कमजोर अवस्थामा पुगेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ । उहाँहरू दुवै जनाले हालसम्म कतै पनि महाधिवेशनमा सहभागिता नजनाउने अडान राख्नुभएको छ । तर, नेताहरूले उपयुक्त निर्णय लिन नसक्दा उहाँहरू पक्षका अधिकांश नेता-कार्यकर्ता कि त गगन थापा पक्षमा खुलेका छन्, कि त देउवा पक्षमा समाहित भएका छन् ।
पार्टीमा आफ्नो छुट्टै अस्तित्व स्थापित गर्दै आउनुभएका डा. शेखर कोइरालाको भूमिकालाई लिएर यतिबेला गम्भीर प्रश्न उब्जिएको छ । उहाँ आफू कतै नखुल्ने तर आफ्ना समर्थक नेताहरूलाई भने देउवा पक्षको वडा अधिवेशनमा सहभागी हुन संकेत गर्ने गरेको आरोप लागेको छ । उहाँका सचिवालय सदस्य दिनेश थपलियाले बिहीबारबाट सुरु भएको वडा अधिवेशनमा शेखर पक्षका नेताहरू सहभागी हुने पुष्टि गर्नुभएको छ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीका अनुसार डा. कोइराला र देउवाबीच निरन्तर संवाद भइरहेको छ । डा. कोइरालाले गगन थापासमक्ष एकताको महाधिवेशनको प्रस्ताव राखेको तर थापा पक्ष एकलौटी रूपमा अघि बढेपछि उहाँ मौन बस्नुभएको कार्कीको भनाइ छ ।
तर, डा. कोइरालाको यो ‘बीचको बाटो’ उहाँकै लागि प्रत्युत्पादक बन्दै गएको छ । उहाँको साथ छाडेर उपसभापति धनराज गुरुङसहितका प्रभावशाली नेताहरू गगन थापाको पक्षमा उभिनुभएको छ भने कोइराला परिवारकै नेत्री सुजाता कोइरालाले पनि थापा पक्षलाई नै साथ दिनुभएको छ । यता, पूर्वसभापति देउवाका अत्यन्तै विश्वासपात्र मानिने पूर्णबहादुर खड्का पनि मौन अवस्थामा हुनुहुन्छ ।
गत पुसमा गगन थापाले गरेको विशेष महाधिवेशनको वैधानिकतालाई चुनौती दिँदै अदालत पुग्नुभएका खड्का हाल अदालतमा मुद्दा विचाराधीन रहेकाले नैतिक रूपमा कुनै पनि महाधिवेशनमा नजाने अडानमा हुनुहुन्छ । उहाँनिकट नेता मीन विश्वकर्माका अनुसार पार्टी एकताका लागि गम्भीर रहनुभएका खड्का अदालतको अन्तिम फैसला कुरेर बस्नुभएको छ । तर, उहाँले पनि आफ्ना कार्यकर्तालाई रोक्न नसक्दा धेरैजसो नेता गगन पक्षतिरै खुलेका छन् । उपसभापति पुष्पा भुसालले शीर्ष नेताहरूले अलमलमा पर्नुभन्दा आफ्नो निर्णयमा अडिग रहनुपर्ने वा अरूलाई बाधा गर्न नहुने भन्दै उहाँहरूको भूमिकाप्रति असन्तुष्टि जनाउनुभएको छ ।







चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर
भोटेकोशी बाढी : आठ जिल्लामा
एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी
पहिराले खस्दा रोल्पाको सहिदमार्ग अवरुद्ध
अविरल वर्षासँगै बाजुरामा पहिरो, साँफे–मार्तडी