गत फागुनमा सम्पन्न आमचुनावमा पुराना भनिएका दलहरू नराम्ररी बढारिए । नयाँ नारा र नयाँ आशा बाँडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झण्डै दुई तिहाइ मतसहित उदायो । चुनावमा निर्वाचित युवा र नयाँ अनुहारले जनतामा आशाको सञ्चार गरेको थियो । चुनावपछि युवा अनुहार बालेन्द्र शाह ‘बालेन’ प्रधानमन्त्री बन्नुभयो । सरकार बनेलगत्तै मन्त्रालयको संख्या घटाएर राम्रो कामको छनक दिनुभयो । त्यसपछि आएको सयबुँदे प्रतिबद्धता पत्रले पनि थप आशा जगाएको थियो । अहिले नयाँ सरकार गठन भएको ६ महिना पूरा भइसकेको छ । दुई-तिहाइ नजिकको बलियो जनमत र ठूलो जनअपेक्षाका साथ बनेको यो सरकारले आफ्ना काम-कारबाही कसरी अगाडि बढाइरहेको छ ? के सरकारले जनअपेक्षाअनुरूप काम गरिरहेको छ ? सरकारले जनमुखी काम गर्न सक्यो वा पुरानै प्रवृत्ति दोहोरियो ? केही आलोचनाका स्वरहरू पनि सुनिएका छन् । सत्ताधारी दलभित्रको आन्तरिक किचलो, मन्त्रीहरूको कार्यसम्पादन र राजीनामा तथा प्रधानमन्त्रीको नेतृत्वदायी क्षमतालाई विश्लेषकहरूले कसरी हेरिरहेका छन् ? यिनै विषयमा केन्द्रित रहेर सरकारको ६ महिने कार्यकालको लेखाजोखा गर्न हिमालय टाइम्सका लागि डिबी शर्माले चर्चित राजनीतिक विश्लेषक प्राडा. सुरेन्द्र केसीसँग कुराकानी गर्नुभएको छ । प्रस्तुत छ प्राडा. केसीसँग गरिएको संवादको सम्पादित अंश :-
दुई तिहाइको बलियो सरकार बनेको पनि ६ महिना पुग्यो । आधा वर्षमा सरकार सही बाटोमै छ कि बाटो बिरायो ? तपाईको मूल्यांकन के छ ?
त्यस्तो उत्पातै केही गरेजस्तो त लाग्दैन । पुराना र यिनीहरूमा मैले त्यस्तो भिन्नता केही पनि देखेको छैन । पारा पुरानै जस्तो छ । एउटा कुरा चाहिँ भिन्न के हो भने प्रधानमन्त्री विगतको भन्दा फरक छन् । उनले घुस खाए रे भन्ने चाहिँ सुनेको छैन । त्यत्ति नै हो फरक, अरू सबै उस्तै हो ।
पुरानो र नयाँ सरकारमा मैले त्यस्तो भिन्नता केही पनि देखेको छैन । पारा पुरानै जस्तो छ । भिन्न चाहिँ के हो भने प्रधानमन्त्री विगतको भन्दा फरक छन् । उनले घुस खाए रे भन्ने चाहिँ सुनेको छैन । त्यत्ति नै हो फरक, अरू सबै उस्तै हो । सरकार बनेको भर्खर ६ महिना हुँदैछ, पाँच वर्षको अवधि छ, राम्रो भइहाल्छ कि !
योभन्दा अगाडिका प्रधानमन्त्रीले के घुसै खान्थे र ? उनीहरूले पनि घुस खाएकै भनेर त सुनिँदैनथ्यो नि हैन र ?
घुसै खाएको त सुनेको छैन । तर, अहिलेको प्रधानमन्त्री काठमाडौं महानगरपालिकाको मेयर भएदेखि प्रधानमन्त्रीसम्मको यात्रामा उनले घुस खाए, कमिसन खाए, पैसा खाएर मान्छेको नियुक्ति गरे भन्ने कुरा सुनिनँ । सुनेको छैन । अरू चाहिँ परम्परागत रूपमा यथावत् छ । पहिलेको सरकार जस्तो थियो, अहिले पनि त्यस्तै छ ।
अनि मन्त्रीहरूको पारा पनि पुरानैको जस्तो छ त ?
नयाँ के छ त ? मन्त्रीहरू अनेक किसिमले विवादमा परेको नै सुनिएको छ । विवादकै कारण तीन जनाले त राजीनामा नै दिइसके । के फरक भयो त ? तर, अमूक मन्त्रीले यो काम चाहिँ गरे, यस्तो खत्रै भयो भन्ने मेरो कानमा परेको छैन ।
बलियो जनमत, संसद्मा दुई तिहाइ बहुमत अनि आमअपेक्षा पनि निकै ठूलो थियो र छ । शक्तिशाली सरकार पनि किन परम्परागत जस्तै भएको होला ?
यिनीहरू आधारभूत मान्छे नै होइनन् । चुनावमा एउटा बाढीका रूपमा पुराना दललाई हटाउनुपर्छ, जोसुकै आओस् भन्ने एउटा भावनाले काम गर्यो । एक खालको भेलको बाढी भनौँ न, त्यस्तो खालको बाढी भएको हुनाले उहाँहरू चुनाव जितेर आउनुभयो । अब त्यो बाढीले कसलाई कहाँ पुर्याउँछ, को के हुन्छ, को बाँच्छ, को मर्छ के थाहा हुन्छ ।
भनेको अहिलेको सरकारमा काम गर्ने खालका मान्छे नै छैनन् भन्न खोज्नुभएको हो ?
त्यसो पनि नभनिहालौँ । सरकार बनेको भर्खर ६ महिना त हुँदैछ । अब पाँच-पाँच वर्षको अवधि छ, बा राम्रो भइहाल्छ कि ! अथवा अनुभव सिक्दैछन् कि ! गर्लान् कि !
प्रधानमन्त्री राम्रो पनि भन्नुहुन्छ । आशा पनि छ भन्नुहुन्छ । काम पनि भएन भन्नुहुन्छ । यो सबै त विरोधाभाषी कुरा भएन र ?
यो प्रणालीको नेता भनेको प्रधानमन्त्री हुन्छ । प्रधानमन्त्रीको शुद्धताका बारेमा मैले माथि नै पनि भनेँ । अब योभन्दा अगाडि पनि उनले नाम कमाएरै आएको हो । अब विश्वव्यापी रूपमा पनि चर्चा भएको भन्ने पनि भयो । अब यही किसिमले अगाडि बढ्यो भने केही न केही परिणाम निस्किन्छ । होइन भने अब नेपाली हुन्, कथा जोडिन्छ, हामी हिसाब गर्छौँ, हिसाब बराबर ।
तर, बिहानीले दिनको संकेत गर्छ भन्छन्, हुने बिरुवाको चिल्लो पात त देखिनुपर्ने होइन र ? त्यस्तो देखिएको छ र ?
अब संकेत त अघि भनिहालेँ नि, यो एउटा बाढीका रूपमा, एउटा प्रतिक्रियाका रूपमा उत्पन्न भएको परिस्थिति हो । अब ट्रोलिङ र थप्पडको प्रकरण तपाईंले सुनिहाल्नुभयो । अब सत्ताधारी दलभित्रकै खेलौलो हो कि भन्ने पनि छ । विवादका विषयहरू आएका छन् । त्यो पुरानै कुरा त हो, नयाँ कुरा त केही पनि भएन ।
नयाँमा किन पुरानै पारा देखियो होला ?
घर नयाँ भएर मात्रै हुन्छ र ? मान्छे त पुरानै छन् । मैले सुनेको २८ जना कांग्रेसबाट छन् रे, २२ जना एमालेबाट छन् रे, १८ जना माओवादीबाट निर्वाचित भएका छन् रे । तिनीहरू त तिनै हुन् नि ।
भनेपछि नयाँ बोतलमा पुरानै रक्सी भनेको जस्तो भयो ?
हो, घरमात्रै नयाँ भयो । भावना त पुरानै भयो । त्यसकारणले पुरानोबाट नयाँ अपेक्षा गर्नु बेकार हुन्छ । अब हिम्मत गर्यो भने गर्न चाहँदा नहुने भन्ने कुरा छैन । त्यसको नेता चाहिँ गर्ने खालको भन्ने भएको र अहिलेसम्म विवाद नआएको हुनाले समय थुप्रै छ, पर्खिऔँ, हामी अहिले हतार नगरौँ ।
दलभित्रको आन्तरिक किचलोले पनि सरकारले भनेजस्तो काम गर्न नसकेको हो कि त ? राम्रो गर्न खोज्दा पनि पार्टीभित्रैबाट समस्या उत्पन्न भएको हो त ?
हुन सक्छ । किनभने पाइलटले जहाज लगेर ल्याण्डिङ गर्न चाह्यो, तपाईंले भर्खरै जहाजको कुरा सुन्नुभयो नि दुबई फ्लाइटमा ? सानो पाइलटले हान्न नै खोजेको थियो रे, तर ठूलो पाइलटले नडराइकन कमाण्ड लियो, आखिर सुरक्षित अवतरण गरायो । क्याप्टेनले चाह्यो भने नहुने कुरा केही छैन । आधा बाटोबाट घुमाएर भए पनि गन्तव्यमा पुर्याउन सकिन्छ । सुरक्षित अवतरण गराउन सक्छ तर गराउने चाहना चाहिँ हुनुपर्यो, त्यो मात्रै कुरा हो ।
त्यसमा त पार्टीसँग समन्वय गर्ने प्रधानमन्त्रीकै अलि बढी भूमिका होला । उहाँले समन्वय गर्नुभएको छ त ?
पाइलट भनेको त्यही हो । उनले चाह्यो भने गर्न सक्छन् । जस्तो तीन जना मन्त्री बाहिरिए, अब तीन मन्त्रीमध्ये एक जनालाई त थुन्न नै खोजेको थियो प्रधानमन्त्रीले भन्ने पनि सुनियो । अब अर्को एक जनाले राजीनामा नै दिन बाध्य हुनुपर्यो, राजीनामा दिएको १५–२० दिन पनि भएको छैन । त्यो प्रधानमन्त्रीकै कारणले होला, नत्र बस न त भइगो, म हेरौँला भनेको भए पनि त हुन्थ्यो होला नि ! तिनीहरू त्यहाँ बसी नै रहन्थे र डुङ्डुङ्ती गनाउँथे । अब यसले केही संकेत चाहिँ गरेको छ तर यो अनुसार हुनुपर्यो । पर्खेर हामीले हेर्नुपर्छ ।
तर नेपालको राजनीतिमा नेताहरू अर्थात् प्रधानमन्त्रीले मात्रै चाहेर हुँदैन भन्छन्, अरू बाह्य प्रभाव पनि हुन्छ भन्छन् । त्यसले चाहिँ कत्तिको प्रभाव पार्ला अथवा केही पारेको छ अहिले ?
त्यो चाहिँ सहायक तत्त्व हो । अब जुनसुकै कुरामा प्राथमिक तत्त्व र सहायक तत्त्व भन्ने हुन्छ । नेपालमा चाहिँ राजा त ठीकै हो, वरिपरिका गलत छन्, प्रधानमन्त्री त ठीकै हो, वरिपरिका गलत छन्, सचिवजी त ठीकै हो, सहसचिवहरू गलत छन् भन्ने खालको एउटा भाष्य बनाउने गरिन्छ । तर त्यो कुरा होइन, मुख्य कुरा त्यसको क्याप्टेन सही वा गलत हुनाले हुने हो । बाँकी कुरा निर्देशित हुन्छ । अब अघि पनि हामीले भन्यौँ, प्रधानमन्त्री ठीकै जस्तो भएको हुनाले अझै लामो अवधि छ, केही न केही परिणाम आउन सक्छ ।







कति छ आज विदेशी मुद्राको
दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक
चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर
भोटेकोशी बाढी : आठ जिल्लामा
एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी