ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरभित्रका अधिकांश सम्पदाको संरक्षण तथा पुनर्निर्माणको काम सम्पन्न भइसकेको दाबी गर्नुभएको छ ।
शनिबार ललितपुरमा ज्यापु समाजले आयोजना गरेको कार्यक्रममा उहाँले पुनर्निर्माण गर्न बाँकी रहेका अधिकांश सम्पदाको कामसमेत अन्तिम चरणमा पुगेको बताउनुभयो । केही सम्पदामा फिनिसिङको काम मात्रै बाँकी रहेको उहाँको भनाइ छ ।
महर्जनले ललितपुर महानगरपालिका र ज्यापु समाजबीचको सहकार्यमा ललितपुरको संस्कृति, संस्कार तथा मूर्त र अमूर्त सम्पदाको संरक्षणको काम भइरहेको बताउनुभयो ।
उहाँले ललितपुरका मठ, मन्दिर, शिवालय र देवालीलगायत अधिकांश सम्पदाको संरक्षण तथा पुनर्निर्माणको काम सम्पन्न भएको दाबी गर्नुभयो । केही सम्पदाको काम भने करिब ९५ प्रतिशत पूरा भएको उहाँले जानकारी दिनुभयो ।
“ज्यापु समाज र ललितपुर महानगरपालिका अन्योन्याश्रित सम्बन्ध भएका दुई पक्ष हुन् । महानगरपालिका र ज्यापु समाजको सहकार्यमा यहाँका संस्कृति, संस्कार, सम्पदा र अमूर्त सम्पदाको संरक्षण गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।
अमूर्त सम्पदाको संरक्षणका लागि विगतमा बजेट अभावका कारण रोकिएका केही कामलाई समेत अघि बढाउन लागिएको उहाँले बताउनुभयो । सम्पदाभित्र मूर्तसँगै अमूर्त सम्पदा पनि पर्ने भएकाले दुवैको संरक्षणलाई प्राथमिकता दिइने उहाँको भनाइ छ ।
कार्यक्रममा प्रमुख महर्जनले ज्यापु समाजले निर्माण गरेका भौतिक संरचनाको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार ज्यापु समाजको भवन १६ हजार ५०० वर्गफिट र वृद्धाश्रम भवन २३ हजार ५०० वर्गफिट क्षेत्रफलमा निर्माण भएको छ ।
वृद्धाश्रममा ११० शय्याको क्षमता रहे पनि हाल सीमित क्षमतामा मात्रै सञ्चालन भइरहेको भन्दै उहाँले आगामी ६ देखि १२ महिनाभित्र पूर्ण क्षमतामा सञ्चालन गर्ने लक्ष्यका साथ अघि बढ्न ज्यापु समाजलाई आग्रह गर्नुभयो ।
वृद्धाश्रम सेवा २४ घण्टा सञ्चालनका लागि महानगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गरेको उहाँले जानकारी दिनुभयो । त्यस्तै, वृद्धाश्रममा देखिएको पानीको समस्या समाधान गर्न ‘डिप ट्युबवेल’ निर्माणका लागि समेत महानगरपालिकाले बजेट छुट्याएको उहाँको भनाइ छ ।
ज्यापु समाजको उद्देश्य पूरा गर्न उपलब्ध भौतिक संरचना र स्रोतसाधनको प्रभावकारी उपयोग आवश्यक रहेको बताउँदै महर्जनले वृद्धाश्रमलाई पूर्ण क्षमतामा सञ्चालन गर्न महानगरपालिका सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो।







बिदाइ खेलमा मेसीकाे गोल, अर्जेन्टिनाकाे
पाँच पाण्डव’मा द्रौपदीको भूमिकामा इभा
जलवायु न्याय माग्ने नेपालको आधार
कञ्चनपुरमा १६ लाख ८७ हजार
वेस्ट बैंकमा यहुदी बस्ती विस्तारकको
पार्टीभित्रको गुटगत असन्तुष्टि र असहमतिलाई