सिर्जना संसारलाई नै आफ्नो मूल ध्येय ठान्ने स्रष्टाका लागि कुनै पनि विधा हुन् वा प्रविधा अगम्य हुन्नन् । जागिरको समाप्तिपछि समय कसरी बिताऊँ भन्ने अधिकांश व्यक्ति धेरैजसो जुवातास खेलेर आफ्ना समय जिते खुसीमा, हारे तनावमा व्यतीत गरिरहेका छन् । एकाध व्यक्ति जागिरमा कमाएको अकूत सम्पत्तिको ठूलो हिस्सा तारे पाँचतारे होटलमा खर्च गरेर विवादित गजल साँझका लहरमा नाचिरहेका छन् । नाच्नेलाई आनन्दै हो चाहेझैँ खाना, सोचेजस्ता साथीसङ्गीसँग कुम हल्लाउन पाउँछन् । घुमिफिरी पैसा आफ्नै हो । जमानादेखि कर तिरेको पैसा आफ्नै मुखमा आउँदा यसलाई नराम्रो भन्न मिल्दैन बरु राम्रै कुरा हो ।
यो साहित्यिक स्रष्टा भ्रष्ट राजनीतिक दलदलको गन्धमा नफसेको भए, सामान्यभन्दा बढी भौतिक लालसाको भूत बन्नुको साटो साधनालाई हृदयको जन्तर बनाइदिएको भए सम्भवतः यस व्यक्तित्वलाई अहिले हामीले पूजा गर्नुपर्ने थियो जहाँ जीवनको मीठो अनुभव छ, जगत्को चौडा यात्रा छ, अभिव्यक्तिको स्वच्छन्द स्वरूप छ, कलात्मक सौन्दर्यको अनुराग छ, प्रस्तुतिको मिठास छ ।
कतिपयः यस अवस्थाका व्यक्तिहरू भट्टीमा सुरासुन्दरी विलासका मस्तीमा वा सुरासुन्दर अनुहारका गस्ती गरेर यमपुरको यात्राका साइतमा रमाउनेको सङ्ख्या पनि कम छैन । यिनै भिडका व्यक्तिमध्ये साँच्चै साधनाका ओच्छ्यानमा समाधि कसेर सिर्जनाको निकै माथिल्लो स्तर छोएका व्यक्तिका रूपमा देखिन्छन् महेश खरेल । गद्यकविता लेखनको निकै राम्रो र मिठो महक छोइसकेका खरेल आत्मवृत्तान्तकार त हुन् नै त्यत्तिकै सशक्त निबन्धकार पनि हुन् । उनका फुट्कर रूपमा मात्र प्रकाशित निबन्धको अवलोकनले यसको प्रमाण प्रस्तुत गर्दछ । लगभग शङ्कर लामिछाने हुँदै भैरव अर्यालसम्म आएर विकसित व्यङ्ग्य मिश्रित कलात्मक हाँस्य निबन्धलेखनको मिठास महेश खरेलका निबन्धमा सजिलै पाउन सक्छौँ ।
राजनीतिको भूत सवार अझै छ उनको मनमस्तिष्कमा र नै उनी ती भेडाहरू जसमा कुनै मानवीय विवेकको बास छैन कृति लोकार्पणका प्रमुख नायक बनाएर पाएसम्म राष्ट्रपति प्रधानमन्त्री नपाए सभामुखै भए पनि लगेर आसनमा राख्नु, महेशको मात्र होइन कामचोर, भ्रष्ट, कालाधनका साहित्यिक संस्थाका मालिकमा प्रशस्त देखापरेको छ । यस निर्विवेकीहरूका सानलाई आसनमा सजाएर साहित्यको अपमान गर्नबाट महेश पनि अछुत छैनन् । यसबाट यो सशक्त साहित्यिक कलमवाहक महेशमन अलग हुनु पर्छ । यो मेरो व्यक्तिगत मान्यता होइन । शाश्वत सार्वकालिक साहित्यिक मान्यताको मुटु हो ।
महेश खरेलद्वारा प्रकाशित पछिल्लो ‘यात्रा जिन्दगीको’ भीमकाय कृतिभित्र पसेर अक्षर अक्षरसँग डुबुल्की मार्ने हो भने अतीतका स्मृतिहरू त साधारणीकृत भएर सबैका मानसपटलमा उभिन्छन् नै । त्यसमा पनि सुदूरपूर्वी पहाड जहाँ आधुनिक सुविधाका खोजमा मान्छेहरू बसाइँ सराइमा व्यस्त छन् । यसको तस्वीर उतार्ने क्रममा बोलिएका वाक्यहरू, एकअर्कामा भएका संवादात्मक विचार विनिमयका क्रममा यति मिठा उपमा उपमेयका प्रस्तुति छन् जसलाई टपक्क टिपेर कवितामा सजाउन मन हुन्छ । यो क्षमता उनमा कविता लेखनको प्रभावको परिणाम हो । त्यसमा पनि गद्य कविता लेखनको । यस अर्थमा त उनलाई गाथाकार, आत्मवृत्तान्तकार, आत्मकथाकार अझ उपन्यासकार भन्नुभन्दा मात्र कवि भन्नु उपयुक्त हुन्छ अझ मुक्त कविता लेखनका कवि ।
गद्यकविता लेखनको परिष्कृत मुडमा पुगेपछिको छट्पटीले निबन्ध लेखन प्रोत्साहित गर्दछ । नैवान्धिक क्षेत्रका विशाल फाँटमा परिभ्रमण गरिसकेपछि लेखक फेरि सूक्ष्म बिम्बात्मक गद्यकविता लेखनका गाढा संसारमा हाम फाल्न पुग्छ । महेश खरेलको ‘ड्रोगो’ निबन्धलाई पङ्क्ति भँचाइ मिलाएर वाक्यमा रहेका समापक क्रियालाई निकालिदिने हो भने सुन्दर लामो गद्य कविता बन्न पुग्छ । यात्रा जिन्दगीको कृतिभित्र पनि कैयौँ अनुच्छेदहरू यस्ता छन् जसलाई यसैगरी मिलाउनासाथ कलात्मक गद्यकविताका कृतिहरू जन्मन पुग्छन् । यो साहित्यिक स्रष्टा भ्रष्ट राजनीतिक दलदलको गन्धमा नफसेको भए, सामान्यभन्दा बढी भौतिक लालसाको भूत बन्नुको साटो साधनालाई हृदयको जन्तर बनाइदिएको भए सम्भवतः यस व्यक्तित्वलाई अहिले हामीले पूजा गर्नुपर्ने थियो जहाँ जीवनको मिठो अनुभव छ, जगत्को चौडा यात्रा छ, अभिव्यक्तिको स्वच्छन्द स्वरूप छ, कलात्मक सौन्दर्यको अनुराग छ, प्रस्तुतिको मिठास छ ।
नभएको एउटै चिज हो नहुनु पर्ने ठाउँप्रतिको अनावश्यक आकर्षण । म कुनै नेतालाई पूजा गर्छु भने मेरो मूर्खता हो । हो, राज्यव्यवस्था निर्माण भएपछि नेता चाहिन्छ, राज्य चलाउने उनीहरूको कर्तव्य हो । तिनका पुच्छर बनेर झुम्मिनु सात्यिकारको काम होइन, नाकाम हो । यसमा लामो समय खर्चिनु महेशको साहित्यिक मूर्खता हो ।
महेश खरेलका लागि साहित्य लेखनतिर उन्मुख गराउने जाम्बवान् जस्तै देखिएका प्राडा.गोविन्दराज भट्टराईले समयमै कडा शब्दमा यो ऊर्जा दिएको भए पनि महेशको साहित्यिक क्षेत्रको यात्रा अहिलेसम्म अर्कै भइसक्ने थियो नै । दुवै अन्तरमुखी मनको कुरा मनले नै बुझुन् भन्ने स्वभावकाले महेशले समयमा सही यात्रामा पाइला राख्न नसकेको हुनसक्छ । आत्मवृत्तान्त लेखन महेशका लागि त्यति महत्वको थिएन जति कविता र निबन्ध लेखनको थियो र छ । आत्मलेखन त ती व्यक्तिका लागि आवश्यक हुन्छ जसले विराट् विश्व आयतन ओगट्ने खालका अस्मिताका आलोक फैलाएका हुन्छन् चाहे ती आयाम साहित्यिक क्षेत्रबाट फैलाएका हुन् चाहे राजनीतिक चाहे सामाजिक मानवीय कार्यबाट फैलिएका किन नहुन् । तिनीहरूका उचाइको महत्त्व अर्कै हुन्छ । जस्तो बिपीको जेलजर्नल, गोविन्दराज भट्टराईको भलै यो क्षेत्रको होइन नभए पनि ‘सुकरातको डायरी’ ।
हो, सामान्य हामीजस्ता खाने, बस्ने, लाउने, राम्रो छाना छाउने, धन कमाउने मात्रका घेराभित्र रहेका व्यक्तिसमूहलाई यो पढ्दा आनन्द आउँछ । नातानालाका सम्बन्ध, त्यसभित्रका अन्तरद्वन्द्व, मनमुटाव, झैझगडा पढ्दै जाँदा ए, मेराजस्तै रहेछन् भनेर मख्ख परिन्छ, पर्छ । बिरामी हुँदा महेशले भोगेका कारुणिक कहानी पढ्ने एउटा पाठक एकातिर सान्त्वना लेला अर्कातिर त्यसभन्दा बढी खतरा–यस्तो बिरामी होइँदो रहेछ । यसबेला उपचारका लागि अथाह भौतिक सञ्चयका सुरमा ज्यादा तर भ्रष्ट बन्ने सम्भावना पनि अझ बढी रहन्छ । एउटा कञ्चन निबन्ध लेखनका प्रवाहमा यी कुनै पनि नकारात्मक सम्भावनाहरू रहन्नन् । कवित्व चेतनाको उछाल तरङ्गमा कवि पुगेपछि यी कुनै पनि सामान्य व्यवहारिक तनावले उसलाई छोएकै हुन्न ।
अहिलेसम्मको महेशको लेखनको क्षेत्र आमाका विलौना, बाबुका हिम्मत, बुहारीद्वारा उचालिएको भाइ वा भाउजूद्वारा उचालिएको दाजुबाट उत्पन्न घरायसी तनाव, त्यसबाट उत्पन्न वैमनष्यता, आफ्नो दुर्घटना, उपचारार्थ बगाउनु परेको श्रम, शक्ति र वैवभ, सरुको अपरेसन हालत उही । यिनै पारिवारिक इर्दगिर्दका सीमित दायरा अझ थपौँ सङ्कीर्ण सीमित दायरामा मात्र आत्मवृत्तान्त लेखन सीमित छ ।
महेशसँग कविता र निबन्ध लेखनका सामग्री पनि समयले प्रशस्त जुटाइदिएको छ । बैंकमा जागिरे हुँदा यिनी धेरै विदेश भ्रमणमा पनि गएका छन् तर यसका कुनै झिल्का यस कृतिमा देखिँदैनन् किन ? यसमा महेश गहिरिनुपर्छ । अहिलेसम्मको महेशको लेखनको क्षेत्र आमाका विलौना, बाबुका हिम्मत, बुहारीद्वारा उचालिएको भाइ वा भाउजूद्वारा उचालिएको दाजुबाट उत्पन्न घरायसी तनाव, त्यसबाट उत्पन्न वैमनष्यता, आफ्नो दुर्घटना, उपचारार्थ बगाउनु परेको श्रम, शक्ति र वैवभ, सरुको अपरेसन हालत उही । यिनै पारिवारिक इर्दगिर्दका सीमित दायरा अझ थपौँ सङ्कीर्ण सीमित दायरामा मात्र आत्मवृत्तान्त लेखन सीमित छ ।
खोइ महेशले भ्रमण गरेका विकसित देशका चमकदार उदाहरण ? खोइ ती देशका असल नेताका आचरणसँग यहाँका भ्रष्टतानाशाह सधैँ कुर्सीमा घुमी गुण्डा पालेर बस्ने अपराधीका अनुहारको तुलना प्रतितुलना ? यस पारिवारिक जञ्जालको घेराबाट एउटा स्रष्टा सधैँ माथि उठ्नुपर्छ । परिवार चाहिन्छ स्वार्थका लागि । परिवारले पनि उसका स्वार्थका लागि आफूलाई उपयोग गरेको हुन्छ । भाषिक रूपले पनि महेशको कलम सम्पन्न देखिन्छ । यी तीनवटा कृति–मनको किरण कविता सङ्ग्रह, देशविदेश नियात्रा सङ्ग्रह र यात्रा जिन्दगीको जस्ता भीमकाय कृति पढिसक्दा ।
भाषा दुरुह छैन । सरल तर कलात्मक भाषामा जीवन सीमित पारिवारिक, नाताकुटुम्ब, छरछिमेक र गाउँठाउँसम्मका अनि जगत् यो पनि आफ्नै वरिपरि जेजति भोगिएको छ त्यतिकै सेरोफेरामा रहेर कतै तिनै क्षेत्रका उपमा/उपमेयको प्रयोग गर्दै कतै आफ्नै पारिवारिक व्यक्तिका शान्तपन, आक्रोशित अवस्था द्वन्द्वग्रस्त मनोविज्ञानलाई भरमार रूपमा प्रयोग गर्दै आलङ्कारिक रूपमा प्रस्तुत गर्नु पनि उनको भाषासँग खेल्ने मिठो कला हो । हुन त कति नियात्राकार, संस्मरणकार, आत्मवृत्तान्तकार महेश खरेल आफ्नो लेखनको जाम्बवान् वैचारिकविपरीतता भए पनि प्रा.डा.गोविन्दराज भट्टराईलाई नै मान्छन् । अब गोविन्दराज भट्टराईले पनि खरेललाई जाम्बवान्ले हनुमानलाई लङ्का पुग्ने शक्ति देखाएझैँ निबन्धसङ्ग्रह लेखी प्रकाशित गरेर दुर्गन्धे नेतालाई आसनको सानमा नसजाई विशुद्ध साहित्यिक व्यक्तित्वको जनसागरमा त्यसलाई लोकार्पण गराउने सद्बुद्धि भरिदिऊन् भन्ने कामनाका साथ उनका अक्षरसँग विश्राम लिन्छु ।







बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या