उन्नाइसौं शताब्दीमा फ्रान्सबाट सुरु भएको सौन्दर्यवादको सिद्धान्तलाई बेलायतका ओस्कर वाइल्ड, दाँते ग्याब्रिल रोसेटी, वाल्टर पेटर जस्ता केही अभियन्ताहरूले ‘कला कलाका लागि’ भन्ने सिद्धान्तको प्रचारप्रसार गरे । उनीहरूले कला भनेको समाज निरपेक्ष हुन्छ र कुनै प्रकारका सामाजिक द्वन्द्वहरूसँग यसको सम्बन्ध हुँदैन भन्ने तर्क गरेका थिए तर त्यसपछिका समालोचकहरूले यो विचारलाई अनुसरण नगरी साहित्यलाई समाज सापेक्ष व्याख्या र विश्लेषण गर्दै आएका छन् । समकालीक समालोचकहरूले साहित्यलाई हेर्ने विभिन्न साहित्यिक समालोचनात्मक सिद्धान्तको प्रतिपादन गर्दै त्यसको आलोकमा समकालीन साहित्यको व्याख्या विश्लेषण गर्नुपर्ने तर्क गर्दै आएका छन् । यस आलेखमा राजनीतिक-सांस्कृतिक समालोचनात्मक सिद्धान्तको आलोकमा साहित्यको वर्गीय चरित्रको संक्षिप्त चर्चा गरिनेछ ।
मूलप्रवाहको साहित्यिक इतिहास लामो समयदेखि अभिजात वर्गका प्रभावशाली संकथनमा आधारित छ । युरोपेली-अमेरकी मूल प्रवाहको साहित्यले माथि भने जस्तै अश्वेत जाति, विशेष गरी अफ्रिकी मूलका काला जातिको आवाजलाई बेवास्ता गर्छ । नेपालमा उच्च जातका पहाडी अभिजात वर्ग वा भारतका उच्च जातका समूहका लेखकहरूद्वारा लेखिएको साहित्य मूलप्रवाहको साहित्य मानिन्छ यस्तो साहित्यले अल्पसंख्यक र उत्पीडित समूहहरूलाई बाहिर राख्छ ।
साहित्य भन्ने बित्तिकै हामी संस्कारयुक्त, प्रतिभासम्पन्न, धनी देशका, शहरबासी पुरुषहरूले विशेषगरी सम्भ्रान्त वर्गका मानिसलाई पात्र बनाएर स्तरीय भाषामा लेख्ने विशेष प्रकारको लेखन भनेर बुझ्छौं । त्यस्तो विशिष्ट लेखनमा पनि उच्चकोटिका विधामा कविता र नाटकलाई मानिन्छ भने मध्यम कोटिको विधामा कथा, उपन्यास र निबन्धलाई लिइन्छ । त्यसबाहेक यात्रासाहित्य, संस्मरण साहित्य, गीत, गजल, लोककथा, किम्बदन्ती, गाउँघरका स्थानीय कथन इत्यादिलाइ निम्न कोटिको साहित्य भनेर बुझिन्छ । यसरी विषयवस्तु र विधा दुवै हिसाबले उच्चकोटिको साहित्यलाई मात्र साहित्य भनेर बुझ्ने गरिएको छ । यसरी परिभाषित गरिने साहित्य मूल प्रवाहको साहित्य हो ।
मूलप्रवाह साहित्य
साहित्यलाई मूलप्रवाहको दृष्टिकोणबाट हेर्दा प्राचीन साहित्यमा पूर्वीय वाङ्मयका वेद, उपनिषद्, पुराण उच्च कोटिका आदि साहित्य हुन् यद्यपि आजसम्म पनि धेरै मानिसहरूले यी ग्रन्थलाई साहित्य नभनेर देववाणी भन्ने ठान्छन् । पाश्चात्य जगतमा भने पवित्र बाइबल अर्को महत्त्वपूर्ण आदि साहित्य हो जसले पश्चिमको सबभन्दा बढी जनसंख्यालाई प्रभाव पारेको छ । त्यसो त प्राचीन ग्रीसका होमर, भर्जिल, सोफोक्लिज जस्ता प्रसिद्ध साहित्यकारहरूले पहिले नै उच्च कोटिको साहित्य लेखिसकेका थिए ।
शायद प्राचीनकालका साहित्यकारलाई नै पछ्याएर पाश्चात्य जगतमा शेक्सपियर, मार्लो, मिल्टन, वर्डजवर्थ, कलेरिज, किट्स, शेली, बाइरङ, येट्स, एलियट जस्ता अङ्ग्रेजी साहित्यकार र ह्विटमन, थोरो, ट्वेन जस्ता अमेरिकी साहित्यकार अनि युरोपेली महाद्वीपमा पर्ने रुसका टाल्सटाय, चेखोभ र दोस्तोब्स्की, फ्रान्सका ह्युगो, फ्लौबर्ट र भोल्टेयर, इटालीका दाँते, पेट्रार्क र बोकासिओ, जर्मनीका गोथे, स्किलर, र लेसिङ जस्ता अनगिन्ती साहित्यकारहरूले माथि भनिए जस्तो उच्च कोटिको साहित्य लेखे । यस्तो साहित्यलाई नै मूलप्रवाहको साहित्य भनियो ।
दक्षिण एशियामा पनि भारतवर्षका वाल्मीकि र कालिदास जस्ता कविहरूले उच्चकोटिका साहित्य लेखे यद्यपि ती साहित्यका पात्र पनि पौराणिक नै ज्यादा थिए । यसबाहेक आधुनिक भारतका टेगोर, प्रेमचन्द, आरके नारायन, मुल्कराज आनन्द, राजा राओ पनि मूलप्रवाहकै साहित्यकार भए । त्यसै गरी नेपालमा पनि पौडेल, देवकोटा र सम मूलप्रवाहका महान् साहित्यकार मानिएका छन् । पिंजडाको सुगा, मुनामदन जस्ता केही कृतिबाहेक यी मूलप्रवाहका साहित्यकारहरूले उत्कृष्ट साहित्य त लेखे तर मूलतः अभिजात वर्गकै बढ्ता प्रतिनिधित्व गरे । यीबाहेक पनि अरू धेरै नेपाली साहित्यकारहरू मूलप्रवाहकै साहित्यकार मानिन्छन् ।
मूलप्रवाहको साहित्यिक इतिहास लामो समयदेखि अभिजात वर्गका प्रभावशाली संकथनमा आधारित छ । युरोपेली-अमेरकी मूल प्रवाहको साहित्यले माथि भनेजस्तै अश्वेत जाति, विशेषगरी अफ्रिकी मूलका काला जातिको आवाजलाई बेवास्ता गर्छ । नेपालमा उच्च जातका पहाडी अभिजात वर्ग वा भारतका उच्च जातका समूहका लेखकहरूद्वारा लेखिएको साहित्य मूलप्रवाहको साहित्य मानिन्छ यस्तो साहित्यले अल्पसंख्यक र उत्पीडित समूहहरूलाई बाहिर राख्छ । यसबाट बुझ्नुपर्ने कुरा के छ भने उपरोक्त साहित्यकारहरूको साहित्यमा प्रसिद्ध दार्शनिक अरस्तुले भनेझैँ केवल उच्च वर्गका पात्रहरूको प्रतिनिधित्व भएको छ, पितृसत्ताको प्रतिनिधित्व भएको छ, पठितहरूको प्रतिनिधित्व भएको छ, शहरियाको प्रतिनिधित्व भएको छ । यी सबै खाले साहित्यमा निमुखा जनताको प्रतिनिधि छैन, आर्थिक रूपले विपन्न वर्गको प्रतिनिधित्व भएको छैन, सामाजिक रूपले सीमान्तकृत समुदायको प्रतिनिधित्व भएको छैन, महिलाको समुचित प्रतिनिधित्व भएको छैन र गाउँले जनजीवनको पनि उचित प्रतिनिधित्व भएको छैन ।
सीमान्तकृत साहित्य
बीसौं शताब्दीको उत्तरार्द्धदेखि पाश्चात्य जगतमा साहित्यलाई हेर्ने दृष्टिकोणमा परिवर्तन देखापर्यो । यसअघिको ठूलाबडाहरूको साहित्यिक साम्राज्य भत्कियो, सीमान्तकृत साहित्य पनि फाटफुट देखापर्न थाले, समलोचकहरूमा पनि साहित्यलाई हेर्ने दृष्टिकोणमा बदलाव आयो । विषयवस्तुका हिसाबले साहित्यको दायरा फराकिलो बन्दैगयो । विधाको हिसाबले पनि साहित्यका विभिन्न रूपहरू देखापर्न थाले । त्यसयताका साहित्यमा जाति, वर्ग, लिंग र क्षेत्रका हिसाबले साहित्यलाई हेर्नु र बुझ्नुपर्छ भन्ने राजनीतिक-सांस्कृतिक चेतको विकास भयो जसअनुसार तल्लो जात, निम्न वर्ग, महिला, अल्पसंख्यक समुदाय र पिछडिएको क्षेत्रको प्रतिनिधित्व भएको साहित्यको पनि चर्चा हुन थाल्यो । केही साहित्यकारहरू त त्यस खाले साहित्यको अभियन्ता नै भए ।
सीमान्तकृत साहित्यले मूलप्रवाहका शक्तिशाली समूहले दवाएर राखेका आदिवासी जनजाति, महिला र जातीय अल्पसंख्यक समूहहरू र अझ भनौँ सामाजिक रूपले नै बहिष्कृत दलित समूहहरूको प्रतिनिधित्व गर्छ । यसले मूलप्रवाहका राजनीतिक र सांस्कृतिक सिद्धान्तहरूलाई चुनौती दिन्छ र शक्तिशाली समूहले गर्ने थिचोमिचोको प्रतिरोध गर्छ । यसरी सीमान्तकृत साहित्यले मूलप्रवाहमा स्थापित साहित्यिक सिद्धान्तलाई चुनौती दिन्छ । सीमान्तकृत साहित्यिक समालोचनात्मक सिद्धान्तको प्रतिपादन भएपछि पिछडिएका समुदायमा पनि लेखकहरू देखापर्न थाले ।
नेपालमा पनि सीमान्तकृत साहित्यको उदय भएको छ । यो अभियानमा केवल सीमान्तकृत समुदायमात्र संलग्न छैनन् बरू उच्च जातका भनिएका ब्राम्हण-क्षेत्री समुदायका लेखकहरूले पनि सीमान्तकृत साहित्यिक चेतनाको विस्तार गर्न थालेका छन् । यीमध्ये दलित सौन्दर्यशास्त्र र वर्ग-जातीय उत्पीडनविरुद्ध सशक्त रूपमा लेख्ने लेखक आहुति हुन् ।
युरोप, अमेरिकालगायत अधिकांश स्थानहरूमा सीमान्तकृत वर्ग र समुदायको दुःख दर्द र पीडालाई साहित्यमा प्रतिबिम्बन गरिँदैछ तर यो प्रकारका साहित्यिक कृतिहरूले केवल पीडित समुदायका पीडामात्र प्रदर्शन गर्दैनन् तिनीहरूले राजनीतिक चेतना, सांस्कृतिक अस्तित्व र मुक्तिका लागि प्रतिरोध पनि व्यक्त गर्छन् । उदाहरणका लागि भारतका अम्बेडकरले दलित साहित्यमार्फत दक्षिण एसियामा जातमा आधारित भेदभाव र छुवाछूतविरुद्ध चेतना निर्माण र विस्तार गर्ने काम गरेका छन् ।
नेपाली सन्दर्भ
नेपालमा पनि यस प्रकारको सीमान्तकृत साहित्यको उदय भएको छ । यो अभियानमा केवल सीमान्तकृत समुदायमात्र संलग्न छैनन् बरू उच्च जातका भनिएका ब्राह्मण–क्षेत्री समुदायका लेखकहरूले पनि सीमान्तकृत साहित्यिक चेतनाको विस्तार गर्न थालेका छन् । यीमध्ये दलित सौन्दर्यशास्त्र र वर्ग-जातीय उत्पीडनविरुद्ध सशक्त रूपमा लेख्ने लेखक आहुति हुन् । त्यसै गरी पदम सुन्दास, मोदनाथ प्रश्रित, रत्नबहादुर विश्वकर्मा आदि पनि दलित आन्दोलन र चेतनालाई साहित्यमार्फत अगाडि बढाउने प्रारम्भिक लेखकहरू हुन् ।
आदिवासी जनजाति र क्षेत्रीय पहिचानका लेखकहरूमध्ये वैरागी काइँलाले साहित्यमा जनजातीय मिथक, संस्कृति र बहुलतालाई स्थापित गरेका छन् भने उपेन्द्र सुब्बा ‘लाटो पहाड’ कथासङ्ग्रह र कवितामार्फत लिम्बु जनजीवन, संस्कृति र ग्रामीण सीमान्तकृत भोगाइलाई स्थानीय रङसहित प्रस्तुत गर्ने लेखक हुन् । त्यसैगरी राजन मुकारुङले आफ्नो उपन्यास ‘दामिनी भीर’ मार्फत मुन्धुमी दर्शन, पहिचान र पहिचानवादी आन्दोलनका मुद्दालाई प्रखर रूपमा उठाएका छन् । त्यसै गरी श्रवण मुकारुङ, बिना थिङ तामाङ र स्वप्निल स्मृतिः पहिचान, संस्कृति र राज्यको केन्द्रबाट सीमान्तकृत पारिएका समुदायको आवाज कविता र आख्यानमा उराल्ने समकालीन स्रष्टा हुन् ।
मधेसी र मधेसको सीमान्तकृत भोगाइ लेख्ने लेखकहरूमध्ये धीरेन्द्र प्रेमर्षि मैथिली तथा नेपाली भाषामा मधेसको लोकजीवन, संस्कृति र त्यहाँको सामाजिक सीमान्तकरणलाई प्रस्तुत गर्ने लेखक हुन् भने रामभरोस कापडी ‘भ्रमर’ ः मधेसी पहिचान र अधिकारका सवाललाई साहित्यमा उतार्ने स्रष्टा हुन् । यसबाहेक प्रखर रूपमा वर्गीय, जातीय तथा सामाजिक सीमान्तकरणविरुद्ध प्रगतिवादी धारबाट निरन्तर तीखो प्रहार गर्ने चिन्तक तथा आख्यानकार खगेन्द्र संग्रौला हुन् । श्रवण मुकारुङ विशेषगरी ‘बिसे नगर्चीको वयान’ जस्ता कवितामार्फत ऐतिहासिक रूपमा सीमान्तकृत पारिएका श्रमजीवी वर्गको आवाजलाई मूलधारमा ल्याउने कवि हुन् भन्ने मानिन्छ ।
महिलाको प्रतिबिम्बन गर्ने साहित्यकारमध्ये पारिजातले समग्र महिलाको हक अधिकारबारे लेखेकी छन् भने झमक घिमिरे शारीरिक अशक्तताका बाबजुद आत्मसंस्मरण ‘जीवन काँडा कि फूल’मार्फत सीमान्तकृत शारीरिक अवस्था र लैङ्गिक विभेदको जीवन्त चित्रण गर्ने स्रष्टा हुन् । समकालीन नेपाली साहित्यमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुधीर क्षेत्रीलगायत युवा स्रष्टाहरूले कविता र कथामार्फत समलैङ्गिक तथा तेस्रो लिङ्गी समुदायका पीडा र अस्तित्वका सवालहरू उठाइरहेका छन् । यस अभियानमा केवल कविता, कथा र नाटकमात्र होइन गीत, गजल, चलचित्र जस्ता साहित्यका अन्य विधामा पनि यी स्वरहरू निस्कन थालेका छन् । यस्ता लेखनको उद्देश्य समाजलाई केवल ऐनामा उतारी दिनेमात्र नभई वर्गीय समाजको स्वरूप र चरित्रलाई नै बदलेर समतामूलक समाजको स्थापना गर्नु हो ।







भोटेकोशी बाढीपछि एक हजार ३९९
भक्तपुरमा पनि रात्रिकालीन सार्वजनिक यातायात
रसुवा बाढीपछि मकवानपुरका ६२ जना
मन्त्री नआएपछि शिक्षा समितिको बैठक
खर्क व्यवस्थापनबाट जलवायु र बेरोजगारीको
अपहरणमा परेको १२ दिनपछि १५